कोभिड-१९ महामारीका कारण गरिएको करिब दुई वर्षे सीमा बन्दी पछि अस्ट्रेलिया भित्रन पाएका भिसा वाहकहरू खुसी देखिएका छन्। बुधबार १५ डिसेम्बरदेखि, दक्ष कामदार तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरू यात्रा छुटबिना देश प्रवेश गर्न पाएका हुन्।
ओमिक्रन भेरिएन्टका कारण अन्तर्राष्ट्रिय सीमा खोल्ने मितिलाई सङ्घीय सरकार दुई हप्तालाई सार्दै १५ डिसेम्बर पुराएको हो।
अस्ट्रेलियामा व्यवस्थापन विषयमा स्नाकोत्तर पढ्नका लागि ज्याड्ली फ्लोरेसले लगभग दुई वर्ष पर्खनु परेको थियो।
सिंगापूरबाट मनिला हुँदै, बुधबार बिहान सिड्नी आइपुग्दा निकै खुसी भएको, फ्लोरेस र उनका पार्टनरले बताए।
"महामारीका कारण क्वारेन्टिन लम्बिएको देख्दा निकै दुःख लाग्थ्यो, तर अहिले हामी यहाँ आउन पाएकोमा निकै खुसी छौँ," उनले भने।
यहाँ आफ्नो शिक्षा अगाडी बढाउन र "अस्ट्रेलियाली जिन्दगी" सुरू गर्न आफ्नो उत्सुक रहेको उनले बताए।
"अरू देशमा पर्खिरहेका विद्यार्थीहरूलाई म यही भन्न चाहन्छु - आशा नहार्नुहोस्। आफू यहाँ आउन पाउँ, र अस्ट्रेलियाली जिन्दगी बाँच्न पाउँ भनेर प्रार्थना गर्नुहोस्।"
अंकित घिमिरेले दुई वर्ष अघि अस्ट्रेलियामा आफ्नो स्नातक तहको पढाइ सकेका थिए।
पढाइ सकिएको उत्सव मनाउन बाहिर गएका उनी, महामारीका कारण अस्ट्रेलिया फर्कन पाएका थिएनन्।
"मैले यहाँ फर्किने कोसिस गरेको थिएँ। यात्रा छुट र अरू सबैको लागि आवेदन हालेको थिएँ, तर केही पनि भएन," उनले भने।
अहिले उनी दक्ष कामदार भिसामा अस्ट्रेलिया फर्किएका छन्।
"मलाई निकै खुसी लागिरहेको छ," उनले भने। "अब अस्ट्रेलियामा छँदा म काम गर्छु, अनि रमाइलो पनि गर्छु। मैले दुई वर्ष अगाडी आफ्नो पढाइ सकेको थिएँ, तर रमाइलो गर्ने मौका पाएको थिइँन।"
आफूले अस्ट्रेलिया फर्कन पहिले बुक गरेका उडानहरू रद्द गर्दा आफ्नो हजारौँ डलर खर्च भएको पोख्रेलले बताए।
"मैले अन्तर्राष्ट्रिय सीमा डिसेम्बर १ मा खुल्ने भन्ने समाचार देखेको थिएँ। मैले २ डिसेम्बरको उडान बुक गरेको थिएँ, तर प्रधानमन्त्रीले सीमा फेरी बन्द हुने भनेर घोषणा गरे, त्यसैले मैले त्यो उडान रद्द गर्नु पर्यो। त्यसो गर्दा मेरो सबै पैसा खर्च भयो," उनले भने।
"अन्त्यमा मैले अस्ट्रेलिया आउन क्वान्टासको फ्लाइट बुक गर्नु पर्यो, जसको लागि मलाई लगभग २००० डलर लाग्यो। अस्ट्रेलिया आउन उडानमा मात्रै मेरो लगभग ५००० डलर खर्च भयो।"
आफ्नो भिसाको म्यादमा केवल एक महिना बाँकी रहेका अर्भिन्द पर्चुरा, भारतको हाइदेराबादबाट बुधबार बिहान अस्ट्रेलिया आएका हुन्।
पेसाले सफ्टवेर इन्जिनियर रहेका पर्चुरा, दुई वर्ष पर्खेर बल्ल अस्ट्रेलिया भित्रन पाएका हुन् एर अब आफ्नो भिसाको म्याद थप्ने आशामा रहेका छन्।
"कोभिड प्रतिबन्धका कारण उडानहरू बन्द हुँदामैले दुई वर्ष आफ्नो देशमा पर्खेर बिताउनु पर्यो ... यसले मेरो करियरको दुई वर्ष खर्च भयो," उनले भने।
"म यो महामारी अन्त्य भए पछि आफ्नो सामान्य जीवन अघि बढाउने पर्खाइमा थिएँ। यसको असर म र मेरो परिवारले निजी रूपमा भोग्नु परेको छ।
"म बल्लबल्ल यहाँ आउन पाएको छु, र म त्यसको लागि खुसी छु। म तीन दिन क्वारेन्टिनमा बस्छु, परीक्षण गर्छु, अनि आफ्नो काम पुनःसुरु गर्छु।"
करिब २,३५,००० भिसा वाहक अब अस्ट्रेलिया भित्रन योग्य रहेको अस्ट्रेलियाली सरकारले अनुमान गरेको छ, जस मध्य १,३३,००० जना अन्तर्राष्ट्रिय विद्यार्थीहरू हुने आङ्कलन गरिएको छ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरू बल्लबल्ल अस्ट्रेलिया भित्रन पाएकोमा आफू निकै खुसी रहेको, युनिभर्सिटिज अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत क्याट्रियोना ज्याक्सनले बताइन्।
"उनीहरूको अनुपस्थितिले खल्लो भएको थियो, अब उनीहरूको स्वागत गर्दा हामी निकै खुसी छौँ," ज्याक्सनले भनिन्।
"कोभिड-१९ का कारण उनीहरूले भोगेका कठिनाइहरू, र यसको समयमा उनीहरूले देखाएको हिम्मतको बारेमा हामी जानकार छौँ।"
यस सँगै, बुधबारदेखि अस्ट्रेलियाले जापान र दक्षिण कोरियासँग ट्राभल बबल (यात्रा योजना) पनि सुरू गर्दै छ, र अस्ट्रेलिया भर खोप लगाएका मानिसहरूका लागि तास्मेनियाले आफ्नो सीमा खोल्ने भएको छ।
यद्यपि, बढी जोखिम रहेका क्षेत्रहरूबाट तास्मेनिया जानेहरू भने आफ्नो प्रवेशको ७२ घण्टा अघि गरिएको कोभिड-१९ परीक्षणमा नेगेटिभ आएको, अर्थात् सङ्क्रमण नरहेको देखाउन पर्दछ। कोभिड नभएको देखिए तापनि, खोप नलगाएका मानिसहरूले प्रवेशका लागि यात्रा अनुमतिको लागि आवेदन हाल्नु पर्ने हुन्छ।
त्यस्तै, न्यु साउथ वेल्सका केही प्रतिबन्धहरू हटाइएका छन्। अब खोप नलगाएका मानिसहरू रिटेल तथा आतिथ्य स्थलहरूमा जान पाउने छन्।
राज्यमा पछिल्लो समयमा ओमिक्रन सङ्क्रमितहरूको सङ्ख्या बढ्दो देखिएकोमा, खोप नलगाएका मानिसहरूका लागि प्रतिबन्ध खुकुलो गरिँदा, सङ्क्रमण झनै बढ्ने डर देखिएको छ।
अब आठ वटा अफ्रिकी मुलुकबाट अस्ट्रेलिया आउने मानिसहरूले पूर्ण खोप लगाएको खण्डमसा १४ दिन क्वारेन्टिनमा बस्न नपर्ने, मङ्गलबार घोषणा गरिएको छ। ती आठ राष्ट्रहरू हुन् - दक्षिण अफ्रिका, लेसोथो, जिम्बाब्वे, बोत्सवाना, मोजाम्बिक, नामिबिया, इस्वाटिनी र मलावी।
यससँगै सबै अन्तर्राष्ट्रिय यात्रुहरूका लागि एउटै नियम लागु भएका छन्।
पूर्ण खोप लगाएका सबै अन्तर्राष्ट्रिय यात्रुहरूले ७२ घण्टाका लागि सेल्फ-आइसोलेट गर्नु पर्ने न्यु साउथ वेल्सका प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले बताएका हुन्।
अस्ट्रेलिया भर १६ वर्षभन्दा माथि उमेर समूहका ८९.५% मानिसहरूले खोपको पूर्ण मात्रा लगाइसकेका छन् भने, ९३.४% ले एउटा मात्रा लगाएका छन्।
त्यस्तै, ७,७१,००० जनाले आफ्नो बुस्टर खोप लगाएका छन्।
डायना डामियानोभिक र एएपीद्वारा थप रिपोर्टिङ।