Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

अपिल पछि २८ हजार डलर फिर्ता माग्ने आफ्नो निर्णय अस्ट्रेलियाली कर कार्यालयले उल्ट्यायो

Hassan Jaber was asked to repay almost $28,000 Source: Hassan Jaber

जबकीपर वापत २७,९०० डलर भुक्तानी पाएका एक मानिसलाई उक्त रकम फिर्ता गर्न भनी पहिले आफूले गरेको निर्णय एटीयोद्वारा उल्टाइएको छ।

गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएको केही हप्तामा प्रधानमन्त्री स्कट मोरिसनले सङ्घीय ट्रेजरर जस फ्राइडेनबर्गसँगै उभिएर जबकीपर लगायतका राहत प्याकेजहरूको घोषणा गरेका थिए।

मेलबर्न निवासी हसन जबर यस्तै अस्थायी भिसामा रहेर गिग इकोनोमी अन्तर्गतको एक उद्योगमा काम गर्थे।

तर अस्ट्रेलियामा ठुलो सङ्ख्यामा रहेका अस्थायी भिसा वाहकहरू योग्य ठहर नहुने गरी भएको उक्त घोषणाले, जबर जस्ता थुप्रै मानिसहरूलाई अन्योलमा पारिदियो।


मुख्य बुँदाहरू:

  • हसन जबरलाई जबकीपर बापतको २७,९०० डलर गर डिसेम्बरमा फिर्ता गर्न एटीओको आदेश

  • जानी बुझी गल्ती नगरेका कारण जबरले उक्त निर्देशन विरु‌द्ध अपिल

  • अस्थायी भिसामा रहेकाहरूलाई रोजगारी सम्बन्धी केही पनि समस्या भए नि:शुल्क सहयोग उपलब्ध

  • सामाजिक भत्ता योग्यता बारे आवेदक स्वयम्ले नै बुझेर काम गर्नुपर्ने अस्ट्रेलियाली कर कार्यालयको भनाई


 

अस्थायी संरक्षण भिसामा केही समययतादेखि अस्ट्रेलियामा रहेका हसन जबरको कोभिड-१९ महामारी भन्दा अघिसम्म प्रमुख आयस्रोत एक उबर चालकको रूपमा थियो।

उक्त राहतका लागि आफ्नो योग्यताबारे बुझ्न उनी आफ्नो ट्याक्स एजेन्टकहाँ पुगेको जबरले एसबीएस नेपालीलाई बताए।

हसन जबर र उनका कर सल्लाहकारले अस्ट्रेलियाली कर कार्यालय (एटीओ) लाई सम्पर्क गरेर सोधे, "के हसन जबकीपरका लागि योग्य छन्?"

Hassan Jaber was asked to repay almost $28,000
हसन जबर एटीओको पत्रका साथ
Hassan Jaber

जबरका अनुसार निकै बेरको छलफल पश्चात् आवेदन हाल्न एटीयोले सुझाव दियो।

"हामी फोनमा यसै हो भनेर भन्न सक्दैनौ, आवेदन हाल्नुहोस् - तपाईँ योग्य हुनुहुन्छ भने जबकीपरको भुक्तानी हुनेछ," एसबीएस नेपालीसँग कुरा गर्दै सामाजिक कार्यकर्ता बनेका हसन जबरले सुनाए।

आफ्ना अन्य केही साथीहरूको आवेदन अस्विकृत भएता पनि उनले भने जबकीपर वापतको भुक्तानी प्राप्त गर्न थाले।

तर, जब डिसेम्बर आयो, उनी तर्से। 
Australian Taxation Office
AAP

कर कार्यालयले जब उनलाई पत्राचार गर्दै झन्डै २८ हजार डलर फिर्ता गर्न भन्यो।

"म निकै तनावको स्थितिमा पुगेँ किनभने मैलै केही गल्ती गरेको जस्तो लागेन," हसन जबरले भने।


"एटीओका अधिकारीकारीले मलाई योग्य भए जबकीपर पाउँछौ नत्र पाउँदैनौ स्पष्टसँग भनेका थिए।"

फेरी आफ्ना ट्याक्स एजेन्टको सहयोगमा उनले कर कार्यालयलाई आफूबाट कुनै गल्ती नभएको कारण उक्त रकम कसरी बक्यौता भयो भनेर सोधेर पठाए।

"म गल्ती नै नगरेको कामको सजाय भोग्ने सोचमा थिइनँ," उनले स्पष्ट पारे।

जब एटीओ र जबर बिच पत्राचार भयो, कर कार्यालयले उनको दलिल स्विकारेन।

तर जबरले एटीओको निर्णय प्रति पुनः अपिल गरे।

अन्ततोगत्वा अस्ट्रेलियाली कर कार्यालयले आफूमा निहित अधिकारको प्रयोग गर्दै हसन जबरले तिर्नुपर्ने भनेर गरिएको अघिल्ला निर्णयहरू फिर्ता लियो।

हसन जबर यस्ता अनगिन्ती सरकारी निर्णयको परिबन्दमा परेका अस्ट्रेलियाका अन्य हजारौँ आप्रवासी तथा अस्थायी भिसामा रहेका मानिसहरू हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

साथै, आफूबारे समाचार सार्वजनिक भएपछि त्यस्तै अवस्थामा परेका अन्यले आफू कार्यरत स्थित माइग्रेन्ट वर्कर्स सेन्टरमा सम्पर्क गरेको बताउँछन्।

Hari Shrestha from Migrant Workers Centre in Melbourne
हरि श्रेष्ठ
Hari Shrestha
आप्रवासीहरूको कार्यस्थल सम्बन्धी मामिलामा नि:शुल्‍क काम गर्ने उक्त संस्थामा नेपाली भाषी हरि श्रेष्ठ सामुदायिक संयोजक (कम्युनिटी अर्गानाइजर)का रूपमा कार्यरत छन्।

श्रेष्ठका अनुसार उक्त संस्थाले माथि उल्लेखित लगायत आप्रवासीहरूलाई उनीहरूको कार्यस्थलमा उत्पन्न हुने विविध समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्छ।

उनी भन्छन् कि माइग्रेन्ट वर्कर्स सेन्टरले आप्रवासी कामदारहरूलाई प्राप्त हुने सर-सुविधाका बारेमा पनि जानकारी उपलब्ध गराउँदै आइरहेको छ।

हसन जबरको मामिला तर्फ इङ्गित गर्दै उनी अगाडी भन्छन् कि कर कार्यालय आफू स्वयम्ले जबकीपर वापतको भुक्तानीका लागि आवेदकलाई पहिले योग्य ठहर गर्ने अनि निकै समय व्यथित भइसकेपछि रकम फिर्ता माग गर्ने कार्य उचित होइन।

महामारीका कारण सबैभन्दा बढी पीडित बनेका कामदारहरूलाई सरकारी कार्यालयले पनि बारम्बार प्रताडित गर्दा समस्या थप जटिल बनेको पनि हरि श्रेष्ठले बताए।

यस्तै समस्या भोगेका र भिक्टोरियामा बसोबास गरिरहेका नेपाली पृष्ठभूमिका मानिसहरूलाई माइग्रेन्ट वर्कर्स सेन्टरमा सिधै सम्पर्क राख्न समेत उनले आह्वान गरे।

भिक्टोरिया बाहिर बस्नेहरूका हकमा भने, श्रेष्ठले आफ्नो ट्याक्स एजेन्टसँग समन्वय गरेर कर कार्यालयको निर्णय चित्त नबुझेकाले पुनर्विलोकनका लागि दर्खास्त हाल्न सुझाव दिए।



माइग्रेन्ट वर्कर्स सेन्टरले निम्न विषयहरू बारे पनि श्रेष्ठ बताउँछन्:

• रोजगार सम्बन्धित प्राय: सबै किसिमका समस्याहरू हल गर्न पहल
• तलब ठगीका घटनाहरू सम्बोधन र सहयोग
• रोजगारदाताबाट उचित सेवा-सुविधा प्राप्त नभएमा सो सम्बन्धी मद्दत
• कार्यस्थल सुरक्षित नभएर काम गर्दा घाइते वा बिरामी भए त्यस बारे परामर्श तथा सल्लाह
• कार्यस्थलमा हुने कुनै पनि किसिमका शारीरिक तथा मानसिक उत्पीडनका घटनामा न्याय दिलाउन सहयोग
• बिना कुनै उचित कारण रोजगारीबाट बर्खास्त भएर २१ दिन भित्र फेयरवर्क अम्बड्समनमा जानु परेमा आवश्यक परामर्श



के रोजगारदाता विरुद्ध उजुरी गरे भिसामा समस्या आउँछ त?

अस्ट्रेलियामा न्यूनतम ज्याला दरभन्दा पनि कममा काम धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले गर्ने कुरा बेला-बखतमा आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक भई नै रहेका हुन्छन्।

विशेष गरी, तलब ठगी वा नियम सङ्गत हिसाबले पाउनुपर्ने सर-सुविधाको माग गर्दा रोजगारीबाटै विमुख हुनुपरेको र त्यसको विरुद्ध आवाज उठाउँदा भिसाको नियम मिचेर काम गरेको आरोप लाग्ने डरले विद्यार्थी भिसामा रहेका थुप्रै मानिसहरू पीडित बन्ने गरेका छन्।

हरि श्रेष्ठ भन्छन् कि रोजगारदाताको खराब नियतका कारण पीडित बनेका मानिसहरूले भिसा गुम्ने वा सो सम्बन्धी कुनै समस्यामा पर्ने डर नलिए हुन्छ।

"कामबाट पाउनुपर्ने कुनै पनि सेवा वा सुविधा नपाएमा उजुरी गर्न मिल्छ र त्यसरी उजुरी गरेको भरमा भिसा रद्द हुने, कामबाट हटाए कुनै सुनुवाइ नहुने भन्ने चाहिँ हुँदैन, यसको बारेमा एकदम प्रस्ट हुनु जरुरी छ।"

एटीओको भनाई के छ त?

उता, अस्ट्रेलियाली कर कार्यालयले भने जबकीपर लगायतका सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताहरू बारेको योग्यता आवेदक स्वयम् कै जिम्मेवारी हुने भन्दै पन्छिएको छ।

एसबीएस नेपालीद्वारा यस विषयमा राखिएको जिज्ञासाहरूको उत्तर दिँदै एटीओकी एक प्रवक्ताले बताइन् कि कर कार्यालयलाई आवेदकहरूको बारेमा सबै जानकारी उपलब्ध नहुने भएकाले आवेदकले दिएको आश्वासनलाई नै आफूहरूले आधार मानेर भुक्तानी प्रदान गर्ने गरेको छ।

"एटीओले नियमसंगत रूपमा आफ्ना भुक्तानीहरूको समीक्षा गर्ने गर्छ र यसो गर्दा हामीलाई कुनै कुराको बारेमा बुझ्न परेमा - विशेष गरेर - रेसिडेन्सीको योग्यताका बारेमा - हामी आवेदकलाई सम्पर्क गरेर उनीहरूको योग्यता पुष्टि गर्छौँ," उनले भनिन्।

"तथ्य र उपलब्ध परिस्थितिहरूका आधारमा आवेदक भुक्तानी पाउन योग्य नभएको ठहर भएमा चाहिँ हामीले त्यस्ता मानिसहरूलाई उनीहरूले जबकीपर बापत प्राप्त गरेको रकम फिर्ता गर्न भन्न सक्छौँ।"

ती प्रवक्ताका अनुसार एटीओले पहिले भुक्तानी भइसकेको रकम फिर्ता माग्न केही आधारहरू छन्, जस्तै कि अन्जानमा नै आवेदकद्वारा भुलवश आवेदन दिएमा - जस्तो कि आवेदकका रोजगारदाताले नामाङ्कन पत्रमा अन्य योग्य कामदारहरूसँगै अयोग्य ठहर हुने कर्मचारीको नाम पनि राखेर सिफारिस गरिदिएको खण्डमा।

यसका साथै, आवेदकहरूलाई जबकीपर लगायतका सामाजिक भत्ताका लागि योग्य छु भन्ने विश्वास छ र कर कार्यालयको भुक्तानी फिर्ता माग्ने निर्णय सही नलागेमा उनीहरूले त्यस विरुद्ध अपिल गर्न सक्ने पनि ती प्रवक्ताको भनाई छ।

उनका अनुसार कर कार्यालयबाट यो वर्षको २८ फ्रेब्रुअरीका दिनसम्म कुल २८ करोड ४० लाख डलर योग्यता नपुगेका मानिसहरूले भुक्तानी पाएका थिए जसमध्ये हाल १३ करोड ८० लाख डलर फिर्ता भइसकेको छ भने ८ करोड २० लाख डलर उठाउन अझै बाँकी छ।

जानी बुझी गल्ती नगरीकनै जबकीपरका लागि आवेदन हालेका तर अयोग्य ठहर भएका करिब ६ करोड ४० लाख भुक्तानीहरूका हकमा भने अस्ट्रेलियाली कर कार्यालयले रकम फिर्ता नमागेको पनि एटीओले स्पष्ट पारेको छ।

 

सम्बन्धित सामाग्री: