Coming Up Sun 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

"मर्यादित महिनावारी": के हो र के यसले नेपालमा महिनावारीसंग सम्वन्धित मृत्यु सङ्ख्यालाई घटाउन सक्ला?

Dignified Menstruation campaigner Radha Paudel spoke to SBS Nepali. Source: Supplied

"जात, धर्म, भाषा, धनी, गरीब, पढेको, नपढेको, शहर, गाउँ, सबै ठाउँमा महिनावारी हुँदाखेरी छोरीहरूले वा महिलाहरूले केही न केही बार्ने चलन छ।"

जुम्लामा थुप्रै वर्ष काम गरेकी राधा पौडेल मर्यादित महिनावारी सम्बन्धी अभियानकर्ता हुन्। पेशाले नर्स पौडेलले जुम्लामा माओवादी आक्रमण भएको बयान समेटेर लेखेको पुस्तक खलंगामा हमलाले मदन पुरस्कार समेत जितेको थियो।

त्यसपछि पौडेलले महिला स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएकी छिन्। हालसालै मध्य र सुदूर पश्चिम नेपालमा छाउपाडी गोठ भत्काएर छाउपाडी प्रथा हटाउने नेपाल सरकारको अभियान विवादित बनेको छ।

यसै सन्दर्भमा नेपालभर महिनावारी बार्ने समस्या, महिलाहरूमाथि यसको नकारात्मक असर, र संभावित समाधानहरूका बारेमा सेवा भट्टराईले उनीसँग गरेको कुराकानी।

महिनावारी बार्ने चलन र त्यो समस्या कस्तो देख्नुभएको छ नेपालमा?

जात, धर्म, भाषा, धनी, गरीब, पढेको, नपढेको, शहर, गाउँ, सबै ठाउँमा महिनावारी हुँदाखेरी छोरीहरूले वा महिलाहरूले केही न केही बार्ने चलन छ। विशेषगरी खान हुने कि नहुने, छुन हुने कि नहुने अथवा सहभागी हुन, हिँडडुल गर्न हुन कि नहुने भन्ने कुराहरू सँग सम्बन्धित छन्।

प्रायः मानिसले चाहिँ गोठमा बस्ने कि नबस्ने भन्ने कुरालाई मात्रै महिनावारी बार्ने भनेर लिएको हुन्छन्।

पश्चिम नेपालमा भएको चाहिँ झट्ट हेर्दा देखिने भयो। उनीहरू चाहिँ कतिपय जिल्लामा छुट्टै घर बनाएर वा गोठ बनाएर बस्ने अनि कतिपय चाहिँ घरको भुइँतलामा बस्ने।

जुम्ला, मुगुको हकमा त्यस्तो हुन्छ भने काठमाण्डुको हकमा एउटा कोठा भाडामा लिएर बसेको छ भने पनि एउटा कुनामा बस्ने।

कार्पेट पनि छोइन्छ भनेर कार्पेट फर्काएर छुट्टै बसेर बच्चाहरूलाई खान लगाइराको हुन्छन्। भनेपछि झण्डै ४० भन्दा बढी प्रकारका बार्ने कुराहरू छन्।

नेपालको मुस्लिम समुदायहरू, मदरसाहरूमा पनि गएर हेरेको छु। त्यहाँ पनि १५-१६ वटा बार्ने तरीकाहरू छन्। महिनावारी भएको बेलामा वहाँहरूले लगाउने पेटिकोट अथवा कट्टु अथवा टाला जे लगाउनुहुन्छ, त्यो चाहिँ छायाँमुनि, कटेरोमा अथवा रूखमुनि लुकाएर धुने सुकाउने गर्नुहुन्छ।

धेरै मानिसले तराईमा छैन, मधेसमा छैन भन्नुहुन्छ। त्यो पनि असत्य हो।

Dignified Menstruation campaigner Radha Paudel spoke to SBS Nepali.
Dignified Menstruation campaigner Radha Paudel spoke to SBS Nepali.
Supplied

 

तपाईंले यस्तो चलनको विरूद्धमा काम गरिरहनुभएको छ। किन? यसले महिलालाई के कस्तो नकारात्मक असर पारेको छ?

यो चाहिँ एकदमै अन्याय हो भन्ने बुझेको चाहिँ म करिब ७ वर्ष हुँदाखेरी मेरो आमाको तिघ्रामा रगत देखें। त्यो चाहिँ भगवानको पापले गर्दा भयो र म पनि ठुलो भएपछि हुन्छु भन्ने कुरा जुन आमाले भन्नुभयो, त्यो कुराले शुरूमा एकदम व्यक्तिगत तहमा भावनात्मक हिसाबले मलाई चोट लाग्यो।

मलाई हेपेको जस्तो अनुभुति भयो। म छोरा भएर जन्मिन पाए हुन्थ्यो जस्तो लाग्यो।

नर्सिङ क्याम्पसमा गएर पढ्दा महिनावारी भनेको के हो भनेर थाहा पाएँ। यो त हाम्रो गौरव गर्नु पर्ने कुरा रहेछ। महिनावारी नहुने हो भने संसारै नरहने रहेछ भन्ने थाहा पाइसकेपछि यसको पछाडि बार्नुपर्ने कुराहरू किन आए त?

त्यो सबैको पछाडि चाहिँ मैले दुइटा कुरा देखें। एउटा अज्ञानता थियो, वहाँहरूलाई महिनावारी भनेकै के हो थाहा थिएन। अर्को कुरा चाहिँ डरको कुरा हो, पापको कुरा हो भनेर स्थापित गरिएको थियो। सबभन्दा पहिला घर फर्केर आमा बा लाई राखेर महिनावारीको बारेमा पढाएँ।

नेपाको संविधानमा उल्लेख भएका मौलिक अधिकारका धाराहरू: खानाको अधिकार, शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, बासको अधिकार, मर्यादापुर्वक जिउन पाउने अधिकार, छुवाछुत विरूद्धको अधिकार, महिलाको हकको अधिकार, समानताको अधिकार।

यी सबै अधिकारहरू चाहिँ महिनावारी भएको बेलामा बार्ने चलनले हनन भएको अवस्था हुँदो रहेछ। भनेपछि त हाम्रा छोरीहरू साना भएर, पीडित भएर, म केही गर्न सक्दिन, मैले बोल्न हुँदैन, प्रश्न गर्न हुँदैन, जे भए पनि मैले सहनुपर्छ भन्ने सामाजिकीकरणमा हुर्किएका कारणले गर्दा छोरीहरू चाहिँ बलात्कार र हिंसामा पर्दा रहेछन्।

तपाईंले मर्यादित महिनावारीको कुरा गर्नुभएको छ। तपाईंले भन्न खोज्नुभएको मर्यादित महिनावारी के हो? स्वास्थ्य र सरसफाई बाहेकका के कुरा पर्छन् यसमा?

सिद्धान्ततः यो मानव अधिकारको सवाल हो।

दोस्रो, व्यवहारिक दृष्टिकोणबाट हेर्ने हो भने यो स्वास्थ्य र सरसफाईको मात्रै कुरा होइन। स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण र कानुन मन्त्रालयले एकीकृत रूपमा काम गरेको अवस्था हो।

तेस्रो दृष्टिकोण चाहिँ मनोवैज्ञानिक दृष्टिकोण हो, जहाँ छोरीहरूसँग आत्मविश्वास भएको अवस्था हो। उसले आफ्नो शरीरका बारेमा निर्णय गर्न सक्ने, आफ्नो शरीरको पहिचान गर्न सक्ने, आफ्नो अधिकारहरू बोल्न सक्ने अवस्था हो।

नेपालमा अहिले प्याड बाँड्ने कार्यक्रम छ, अथवा कतिपय मानिसले सरसफाईका कुरा गर्छन्।

तर, संसारमा उत्पादन भएका एकदम गुणस्तरीय राम्रो प्याड दिनुभयो अथवा पाँचतारे होटल जस्तो घरमा राख्नुभयो भने पनि मैले भोक लागेका बेलामा भान्सामा गएर खान पाउँदिन र तिर्खा लागेका बेला पानी खान पाउँदिन भने त्यो अवस्था मर्यादित महिनावारी भएन।

मर्यादित महिनावारीको भित्री मर्म भनेको २५ दिन र ५ दिनमा केही फरक हुनु हुँदैन। अथवा महिनावारीका कारणले गर्दा कुनै पनि किसिमको विभेद, हिंसा, हेला, होचो, छुइ, छाइ, तल, माथि, केही पनि गर्न हुँदैन।

Dignified Menstruation campaigner Radha Paudel spoke to SBS Nepali
Dignified Menstruation campaigner Radha Paudel spoke to SBS Nepali
Supplied

 

महिनावारीसँग धेरै धार्मिक सामाजिक मान्यताहरू पनि जोडिएका छन्। भान्सामा जानु हुँदैन र मन्दिरमा जानु हुँदैन भन्ने मुख्य मान्यताहरू हुन्। त्यो समस्याको समाधान कसरी गर्न सकिन्छ?

महिनावारीका बारेमा भएको जुन मौनता छ, त्यो मौनता नेपालमा मात्रै होइन संसारभर छ। यसलाई मानव अधिकारका रूपमा स्थापित गर्नुपर्छ भन्ने हिसाबले सन् २०१४ सम्म यसका बारेमा केही पनि कुरा भएको छैन।

सबै धर्म संस्कृतिमा यो चलन छ, र यी धर्म संस्कृतिहरू समय अनुसार परिमार्जन भएनन्।

अर्कोतिर महिनावनरीलाई विज्ञानले कसरी परिभाषित गरेको छ, यो कसरी प्राकृतिक कुरा हो, यो किन अपरिहार्य छ भन्ने कुरामा बहस वार्ता नभएका कारणले गर्दा यो मनमनै गुपचुप राखेर यस्तो अपभ्रंशहरू आएका हुन्।

जति धेरै हामीले व्यक्ति व्यक्तिबीच, परिवा परिवार बीच यस्ता कुराका बारेमा बहस कुराकानी गर्छौं, त्यसले मौनता तोड्दै जान्छ।

तर हाम्रोमा चाहिँ योसँग अलिकति शक्ति पनि जोडिएको छ। धर्म संस्कृति अथवा पण्डित गुरू, धामी झाँक्री भएकै कारणले केही ठाउँ र समुदायहरूमा वहाँहरूको एउटा पकड छ, पहुँच छ, शक्ति छ।

तर हामीले धार्मिक ग्रन्थ, परम्परा र संस्कृतिलाई परिमार्जन गर्दै जानुपर्छ। युवाहरूलाई इंगेज गर्दै महिनावारीका बारेमा छलफल गर्यौं भने पनि धर्म संस्कृतिसँग जोडिएका जुन हाउगुजी र डर छन्, त्यो तोड्दै जान सक्छौं जस्तो मलाई लाग्छ।

छाउपाडी घर भत्काएर भौतिक संरचना मात्रै विनाश गरेर झन् बढी समस्या आएका छन् भन्ने कुरा पनि सुनिएको छ।महिलाहरू झनै असुरक्षित वावतावरणमा गएर बार्दै हुनुहुन्छ भन्ने समाचारहरू आएका छन्। त्यसको समाधान चाहिँ के हुन सक्छ?

गोठहरू नबन्नु थियो, बनिसकेपछि भत्काउनु पर्दैन। त्यो गोठहरू त मानिसहरूले मानिसहरूले बुझिसकेपछि, मनको गोठ भत्किसकपछि अथवा आत्मविश्वास भइसकेपछि त्यो गोठलाई वैकल्पिक रूपमा प्रयोग गर्न सकिन्छ।

गोठ भत्किए तर महिलाहरू चाहिँ नयाँ गोठ बनाउने, गुफामा गएर बस्ने, त्रिपाल टाँगेर बस्ने, त्यस्तो अवस्था छ, नभएको होइन। स्वभाविक हो। भुइँचालो आउँदा घर भत्किन सक्छ तर वहाँहरूको विश्वास भत्काउन सजिलो छैन।

परामर्श केन्द्रहरू स्थापना गर्ने, प्रचारपसारका कुरा गर्ने, अनि विशेषगरी धामी झाँक्री, पुरूषहरू, राजनीतिक पार्टी जसलाई हामीले नमुना भनेर मानिराखेको हुन्छौं, वहाँहरूलाई अगाडि लिएर आउने।

जनप्रतिनिधि र अभियन्तालाई हामीले अगुवाई गर्न सक्यौं भनेदेखि सरकारले यसलाई सतीप्रथा जस्तै उन्मूलन गर्ने घोषणा गरेको छ, त्यो सजिलै प्राप्त हुन्छ जस्तो लाग्छ।

आजको दिनमा सगरमाथा र गौतम बुद्धले चिनिएको छैन हाम्रो देश, छाउपाडीले चिनिएको छ।

यो तीतो यथार्थ हो।

यसलाई चाहिँ हामीले टक्कर दिनलाई पनि, मर्यादित महिनावारीको जुन बहस शुरू भएको छ, यो एकदमै सुखद पक्ष हो, राम्रो पक्ष हो। यसलाई अवसरका रूपमा प्रयोग गर्नुपर्छ भन्ने मैले महसुस गरेको छु।

A Nepalese woman looks at a Chhaupadi hut during her menstruation period in Surkhet District, west of Kathmandu.
A Nepalese woman looks at a Chhaupadi hut during her menstruation period in Surkhet District, west of Kathmandu.
Getty

Coming up next

# TITLE RELEASED TIME MORE
"मर्यादित महिनावारी": के हो र के यसले नेपालमा महिनावारीसंग सम्वन्धित मृत्यु सङ्ख्यालाई घटाउन सक्ला? 16/02/2020 08:36 ...
सरकारको पछिल्ला निर्णयबाट अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी दङ्ग! 21/01/2022 11:44 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २१ जनवरी २०२२ 21/01/2022 07:59 ...
नेपालमा चरा बचाउन अस्ट्रेलियाले कसरी सहयोग गरिरहेको छ त? 21/01/2022 08:59 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीबार २० जनवरी २०२२ 20/01/2022 35:59 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २० जनवरी २०२२ 20/01/2022 14:51 ...
गएका दुई वर्षमा आफ्नो सम्पति 'डबल' बनाएका ४७ अस्ट्रेलियाली अर्बपतिहरू 20/01/2022 03:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार १९ जनवरी २०२२ 19/01/2022 09:37 ...
कोभिड-१९ बाबजुद भिक्टोरियाको न्याभ क्रिकेट कप सफल हुने दाबी 19/01/2022 08:59 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार १८ जनवरी २०२२ 18/01/2022 07:50 ...
View More