न्यु साउथ वेल्समा भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा विजयी हुँदै भद्रा वाइबा काउन्सीलर बन्न सफल भएकी छिन्।
पश्चिमी सिड्नी स्थित क्यान्टबेरी–ब्याङ्क्सटाउन स्थानीय सरकार क्षेत्रको नगर पार्षद् बन्न उनी सफल भएकी हुन्।
वाइबाले काउन्सिलमा रोजल्याण्ड्स वार्डलाई प्रतिनिधित्व गर्ने छिन्।
सन् २०१३ मा अस्ट्रेलियन लेबर पार्टीको सदस्यता लिएर अस्ट्रेलियाली राजनीतिमा प्रवेश गरेको उनले एसबीएस नेपालीलाई बताइन्।
यसै क्रममा न्यु साउथ वेल्समा पहिलो पटक नेपाली मूलको काउन्सीलर बन्न पाएकोमा आफूलाई निकै हर्ष लागेको बाइवाको भनाई छ।
“सबै नेपालीहरूको प्रतिनिधित्व गर्न पाउनु सुवर्ण अवसर हो, मेरा लागि,” उनले भनिन्।
“यो जित मेरो मात्र (नभएर) सम्पूर्ण नेपालीको जित (हो) जस्तो लागेको छ।”
पेसाले नर्स रहेकी बाइवाले आफ्नो पेसा र राजनीतिलाईसँगै लिएर जाने योजना बनाएकी छिन्।
उनी भन्छिन् कि आफूले पाएको अवसरको उचित प्रयोग गदै नेपाली समुदायको नाम थप उचाइमा पुर्याउने धोको छ।
यहाँको राजनीति व्यक्तिवादी नभएर समुदायको हकहित वरपर घुम्ने पनि बताइन्।
वाइबासँगको हाम्रो कुराकानी सुन्नुहोस्: हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
उनका अनुसार अस्ट्रेलियाली नेताहरू माझ नेपाल तथा नेपाली समुदाय प्रतिको दृष्टिकोण राम्रो छ।
“नेपाली (समुदाय) प्रति (नेताहरूको) धारणा राम्रो छ... (उहाँहरू नेपाली मूलका मानिसहरूलाई) काममा निरन्तर लाग्ने ठान्नुहुन्छ,” उनले भनिन्।
निर्वाचित क्षेत्र रोजल्याण्ड्सलाई बहुसांस्कृतिक समाज बनाउनमा जोड दिने उनले बताएकी छन्।
भद्रा वाइबाका अलावा न्यु साउथ वेल्सका विभिन्न स्थानबाट ९ जना नेपाली भाषीले स्थानीय निर्वाचनमा भाग लिएका थिए।
नेपालीहरूको राम्रै उपस्थिति रहेको क्याम्बेलटाउन, लिभरपुल, हिल साइड र नर्थ सिड्नीमा पनि नेपाली भाषीको उम्मेदवारी परेको थियो।
नोट: निर्वाचनको अन्तिम नतिजा २० डिसेम्बरसम्ममा प्रकाशित गरिने कार्यक्रम छ। वाइबाको टोलीले हालसम्म गणना भएको मत सङ्ख्याको ५१.३७ प्रतिशत पाएको छ।