विगतका दुई वर्ष यता थुप्रै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा सहभागी भइसकेका सन्दीप लामिछाने यसपालिको बिग ब्याश लिगमा अघिल्लो सिजनमा झैँ मेलबर्न स्टार्सबाटै मैदानमा ओर्लने छन्।
भर्खरै आँखाको शल्यक्रिया सम्पन्न गराएका लोकप्रिय युवा क्रिकेटर सन्दीप लामिछाने यस वर्ष पनि बिग ब्यास लिगमा भाग लिन अस्ट्रेलिया आइपुगेका छन्।
गत वर्ष मेलबर्न स्टार्सको एक प्रमुख खेलाडीका रूपमा उदाएका नेपाली स्पिन बलर लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शनका कारण वाह वाही बटुल्न निकै सफल भएका थिए।
विगतका दुई वर्ष यता थुप्रै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा सहभागी भइसकेका सन्दीप लामिछाने यसपालिको बिग ब्याशमा अघिल्लो सिजनमा झैँ मेलबर्न स्टार्सबाटै मैदानमा ओर्लने छन्।
आँखाको समस्या
“भर्खरै सर्जरीबाट रिकभर भा’को, … एक दुई दिन अझै लाग्छ; उता (मेलबर्न) गएर पनि एक दुई दिन रेस्ट हुन्छ,” उनले अस्ट्रेलिया उड्नु अघि एसबीएस नेपालीसँग कुरा गर्दै भने।
“अलि विक्नेस थियो आँखामा (र) विक्नेसले गर्दा कहिलेकाहीँ बल देख्न अप्ठेरो हुन्थ्यो,” सन्दीप लामिछानेले आफ्नो समस्याबारे खुलाए।
विगत केही महिना देखि नै आफू उक्त समस्याबाट पीडित रहेको र विभिन्न प्रतियोगिताहरूमा भाग लिन अनुबन्धित भइसकेका कारण उत्पन्न समयाभावका कारण हालसालै मात्र शल्यक्रिया गर्न मौका मिलेको पनि उनको भनाई थियो।
स्वास्थ्यमा ९५ प्रतिशत सुधार भइसकेका कारण लामिछानेले मैदानमा ओर्लने समयसम्म अवस्था सहज हुने अपेक्षा राखेका छन्।
“अब प्राक्टिस सेसनमा आफूलाई हेर्छु, कतिसम्मको हुन्छ र लेट्स सी फर्दर कसरी जान सकिन्छ,” उनले हामीसँगको कुराकानीका क्रममा भने।
“आफू पुनः मेलबर्न फर्किन पाउँदा निकै उत्साहित रहेको बताउँदै लामिछानेले भने,“फर्स्ट टाइम राम्रो भयो र सेकेन्ड टाइम कसरी आफूले इम्प्रुभ गर्न सकिन्छ भन्ने च्यालेन्ज छ।”
अस्ट्रेलियाको च्यालेन्ज
विशेष गरेर २० ओभर फर्म्याट भएको टी-२० का खेलहरूमा संयमित तरिकाबाट बलिङ गर्नु आफ्नो निम्ति निकै राम्रो चुनौती भएको पनि सन्दीप लामिछानेको धारणा रहेको छ।
“आफ्नो लेन्थहरू, आफ्नो लाइनहरू एकदमै कन्ट्रोल गरेर (बल) फाल्नुपर्छ,” फरक-फरक स्थानहरूमा नितान्त भिन्नै स्वरुपका मैदान र पिचहरू हुने बताउँदै उनले ले अस्ट्रेलियाको चुनौतीबारे भने।
यसका साथै, राम्रो नतिजाका लागी आफू माथि टिमले धेरै भरोसा राखेको हुनाले पनि थप चुनौतीहरू रहेको लामिछानेले बताए।
“धेरै कुराहरूमा टिम म माथि डीपेण्ड हुन्छ”
एडम जाम्पा र आफू गरेर दुईजना मात्र विशेषज्ञ स्पिनर टिममा भएकाले पनि यसपालिको प्रतियोगितामा आफ्नो कार्यभार अलिक बढ्ने आंकलन लामिछानेको छ।
पावर प्ले लगायत म्याचको कुनै पनि मोडमा बलिङ गर्न आफू तयारी अवस्थामा रहनुपर्ने पनि उनको भनाई छ।
“लिडिङ्ग बलर टिममा हुँदा चाहिँ … (तपाईँ) माथि रेस्पन्सिबिल्टिहरु हुन्छ कि (तपाईँ)ले टिमलाई कसरी एउटा राम्रो बाटो खोल्दिने, अरू प्लेयरहरू अरू बलरहरूलाई पनि सजिलो बनाउने…,” उनले भने।
“नेपालको आफ्नै लिग नखेलेर बाहिर खेल्यो भन्ने आरोप लगाउनु ठिक होइन”
नेपाल वा अन्य कुनै पनि स्थानमा गएर राम्रै खेल्ने भनेर नाम कमाएका सन्दीप लामिछानेले अघिल्लो वर्ष अस्ट्रेलिया आउँदा निकै वाह वाही कमाएका थिए।
तर, एक वर्षको अन्तरालमा उनले पानी उल्टो बगेको महसुस गर्नुपर्दा साह्रै दुख लागेको हामीसँगको संवादका क्रममा बताए।
विशेष गरेर सामाजिक सञ्जालहरूमा उनले घरेलु लीग सुरु हुन लाग्दा गरेको आफ्नो आँखाको शल्यक्रिया र पैसाको मुख मात्र हेरेको भन्ने आरोपहरू व्याप्त रहेको तर्फ इङ्गित गर्दै लामिछानेको उक्त भनाइ आएको हो।
“लास्ट टाइम म विग व्याश खेल्न आउँदा … सबैलाई लागेको थियो कि नेपाली प्लेयरलाई अपर्चुनिटि छ…तर अहिलेको पालि चाहिँ देआर टेकिङ्ग इट एज नेगेटिभ,” उनले भने।
आफ्नो निर्णयमा पैसाको भूमिका स्वीकार गरेता पनि सन्दीप लामिछानेले त्यो भन्दा पनि आफूले चाहिँ ‘एक्स्पोजर’ खोजेको कुरा अगाडी सारे।
यहाँ अस्ट्रेलियामा आफूले पाउने अनुभव नेपाल फिर्ता लगेर अन्य नेपाली खेलाडीहरूसँग बाँड्न पाइने तथ्यलाई पनि सजिलै नकार्न नहुने उनले उल्लेख गरे।
“हारमा गाली, जितमा ताली… हामीले भोगेका छौँ तर कुनै प्लेयरको केही कुरा थाहा नभईकन त्यत्तिकै आलोचना गर्दा भने चाहिँ चित्त दुख्छ।”
जहाँ गए पनि आफ्नो नामसँग नेपालको नाम पनि जोडिने तथ्यलाई आत्मसाथ गरिदिन पनि लामिछानेले आफ्ना समर्थकहरूलाई अनुरोध छन् - “खुसी रहौँ र माया बाँडौँ!”
“अस्ट्रेलियाका नेपाली समुदाय प्रति आभारी छु”
अस्ट्रेलियामा विभिन्न सहरहरूमा गएर उच्च स्तरको प्रदर्शन गर्नुपर्ने भएकाले त्यसका लागि अनवरत रूपमा हुने अभ्यासका र भ्रमण तालिकाका कारण यसपालि अघिल्लो वर्ष झैँ नेपाली सामुदायिक कार्यक्रमहरूमा भाग लिन नसकिने चिन्ता सन्दीप लामिछानेको छ।
“म एकदमै आभारी छु…नेपाली समुदायका भनौँ न जति पनि एनआरएनदेखि जति पनि साथ दिने मित्रहरू…हुनुहुन्छ, उहाँहरू सबै जना आएर हौसला बढाई दिनुभयो, गेम हेर्न आइ दिनुभयो; म एकदमै खुसी थिएँ।”
नेपाली फ्यानहरूको अस्ट्रेलियामा ठुलो उपस्थिति देखेर आफू संलग्न टिम पनि निकै दङ्ग परेको पनि उनले बताए।
“नेपाली समर्थकहरूले यसरी नै मलाई लगायत हाम्रो टिमलाई दिएको सपोर्टले गर्दा म मात्र होइन सबै प्लेयरहरू नै एकदम खुसी थिए…आसा छ कि यो यर पनि त्यसरी नै कन्टिन्यु हुनेछ,” लामिछानेले अगाडी भने।
मेहनत गरे फल अवश्य पाइन्छ
अस्ट्रेलियामा पहिलो र दोस्रो पिँढीका खेलाडीहरू बिस्तारै माथि आउँदै गर्दा सन्दीप लामिछानेले नतिजा भन्दा पनि विधिमा ध्यान दिएर मेहनत गर्दै गए अवश्य सफल हुन सक्ने पनि हाम्रो संवादका क्रममा बताए।
“हामी (जस्तो अग्रपङ्क्तिका खेलाडी) एउटा बाटो देखाउन सक्छौँ, (अगाडी बढ्न चाहने खेलाडीले) मेहनत गर्न सक्नुपर्यो, त्यो एउटा काम प्रति इमानदार हुनुपर्यो…समय लाग्छ,” उनले स्पष्ट पार्दै भने।
“सफा मनले मेहनत गरे एक दिन (तपाईँ) अवश्य त्यो उचाईंमा पुग्नुहुन्छ।”