अघिल्लो वर्ष अत्यधिक गर्मीका कारण बुशफायर र हिटवेब्सको सामना गरेको अस्ट्रेलियामा यस वर्ष भने मौसमी घटनामा केही परिवर्तन आएको छ । गत महिना देखि अस्ट्रेलियाको न्यु साउथ वेल्स, क्विन्सलयाण्ड लगायत उत्तरी र पूर्वी क्षेत्रहरूमा वर्षाको अनुभव गरिएको छ । ला निना भनिने मौसमी घटनाका कारण यो वर्षका सुरुवाती केही महिना बर्षामय हुने छ।
वर्षामय गर्मी अर्थात् ला निनाको प्रभाव ।
ला निना अधिकांश मानिसहरूका लागि नयाँ शब्दावली हो ।
समुन्द्रले छोएका देशमा देखिने यो मौसमी प्रभाव अधिकांशका लागि नौलो लाग्न सक्छ ।
गर्मी महिनामा औसत भन्दा बढी वर्षाको स्थिति सिर्जना भएमा र यसको प्रभाव स्वरूप बाढी र चक्रवत जस्ता मौसमी घटना घटेमा यसलाई ला निना भन्ने गरिन्छ ।
नेपाली मूलका मौसमविद् विमल के सी यो तिन देखि सात वर्षका बिचमा देखिने मौसमी प्रक्रिया भएको बताउँछन् ।
ला निनाले ल्याउने मौसम परिवर्तनका बारेमा उनी भन्छन् “सेन्ट्रल र इस्र्टन प्यासिफिक ओसन चिसो भयो भने उत्तरी र पूर्वी क्षेत्रमा ज्यादा बादल लाग्ने हुन्छ,चिस्यान हुने गर्दछ र सामान्य भन्दा बढी ओसिलो हुन्छ, औसत भन्दा बढी पानी पर्दछ । ”
ला निनाको प्रभाव स्वरूप अस्ट्रेलियाका तटीय क्षेत्रमा अझै केही महिना पानी पर्ने सम्भावना अधिक भएको उनको भनाई छ ।
ला निनाको प्रभाव स्वरूप दिनको समयमा तापक्रम पनि औसत भन्दा बढी हुने ।
“अहिले अस्ट्रेलिया ला निनाको चरम अवस्थामा छ यसको अर्थ सन् २०२१ पहिलो त्रैमासिक सम्म यसको असर रही रहन सक्छ ।” उनले भने ।
हिट वेभ
गत वर्ष अस्ट्रेलियामा तापक्रम निकै उच्च बिन्दुमा पुगेको थियो । यस वर्ष गत वर्ष झैँ तापक्रम नरहेता पनि हिट वेभको भने चेतावनी दिइएको छ ।
के हो हिट वेभ
औसत भन्दा बढी तापक्रम केही दिन सम्म लगातार चलीरर्यो भने यसलाई हिट वेभमा परिभाषित गरिन्छ ।
मौसम विद् विमल भन्छन् “औसत भन्दा असाधारण किसिमले दिन र रातको समयमा पनि तापक्रम उच्च रही रर्यो भने यसलाई हिट वेभ भनिन्छ ।”
हिट वेभका कारण बर्सेनि थुप्रै अस्ट्रेलियालीहरूको ज्यान जाने गरेको छ ।
कतिपय नेपाली समुदायका मानिसहरू प्रत्यक्ष घाममा गर्ने भएकाले हिट वेभका बेला अलि बढी सतर्क रहन जरुरी रहन्छ ।
हिट वेभका कारण अघिल्लो वर्ष अस्ट्रेलियामा थुप्रै स्थानमा आगलागी पनि भयो ।
“मौसम सम्बन्धी जानकारी लिएर आफ्नो दैनिक काममा कसरी कम प्रभाव पर्न सक्छ यसका लागि पहिले नै तैयारी हुन जरुरी छ ।”
ला निना घटना
ला लिना यस्तो जटिल मौसमी प्रभाव हो जो केही वर्षको अनुपातमा प्रशान्त महासागरको भूमध्ये रेखामा रहेको समुन्द्री तापक्रममा आएको भिन्नताका कारण प्रशान्त महासागरको तातो हावालाई साउथ अमेरिका भन्दा टाढा इन्डोनेसिया तर्फ धकेल्दछ ।
अस्ट्रेलियामा ला निनाका कारण वर्षा बढी हुने र बादल लाग्ने जसका कारण बाढी,चक्रवत र मनसुन आगमनको समयलाई पनि प्रभावित पार्ने बताइन्छ ।
अस्ट्रेलियामा सन् १९९० देखि ला निनाको प्रभाव परेको देखिन्छ ।
१८ वटा ला निनाका मौसमी घटना मध्ये १२ वटामा बाढीको प्रकोप परेको इतिहासका घटनाक्रमले देखाउछ् ।
सन् २०१०/११ मा आएको ला निनाको घटना सबैभन्दा शत्तिशालि रेकर्ड गरिएको छ ।
सन् २०१० र ११ अस्ट्रेलियाको इतिहासमै तेस्रो र दोस्रो ठुलो पानी परेको वर्षको रूपमा रहेको छ ।
उक्त समयमा १४ सय ११ मिलिमिटर वर्षा भएको मौसम विभागले जनाएको छ ।
अप्रिल २०१० देखि मार्च २०१२ सम्म अस्ट्रेलियाको इतिहासमै सबैभन्दा ओसिलो महिनाका रूपमा दर्ता भएको छ ।
यस अघि सन् १९७३ देखि १९७४ सम्म १४ सय ७ मिली लिटर वर्षाको मापन गरिएको थियो ।
उक्त अवधिमा क्विन्सल्याण्ड,भिक्टोरियाको पश्चिमी र उत्तरी क्षेत्र,वेस्टर्न अस्ट्रेलिया ,न्यु साउथ वेल्स,तास्मेनियाको पूर्वी क्षेत्रमा अत्यधिक वर्षा सँगै बाढी आएको थियो ।
अत्यधिक वर्षाका कारण लामखुट्टेले सार्ने रोगहरूको पनि वृद्धि भएको बताइन्छ ।
एल निना र ला निना
ला निनाको उल्टो मौसमी स्वरूपलाई एल निना भन्ने गरिन्छ । जसको प्रभाव स्वरूप सुख्खा मौसमी अबस्थाको सिर्जना हुन्छ ।