नेपालबाट अस्ट्रेलिया आएमा अभिभावकहरू उचित स्वास्थ्य बीमा नहुँदा समस्यामा परेको देखिएको छ।
नेपालबाट कुनै पनि भिसामा अस्ट्रेलिया आउने व्यक्तिले एक निजी स्वास्थ्य बीमा किन्नु पर्छ, जसलाई अस्ट्रेलिया बसोबासको क्रममा बिरामी पर्दा प्रयोग गर्न सकिन्छ।
यात्रुहरूले आफ्नो भिसाको माग अनुसार ओभरसिज भिजिटर हेल्थ कभर (ओभीएचसी), ओभरसिज स्टुडेन्ट हेल्थ कभर (ओसएचसी) या अन्तर्राष्ट्रिय स्वास्थ्य बीमा खरिद गर्नु पर्ने हुन्छ।
अस्ट्रेलिया आएर स्थायी बासिन्दा भएकाहरूका लागि अस्ट्रेलियाली सरकार अन्तर्गत रहेको मेडिकेयर नाम गरेको राष्ट्रिय हेरचाह कार्यक्रमले अधिकांश उपचार तथा सार्वजनिक अस्पताल खर्च तिर्न सहयोग गर्दछ।
निजी स्वास्थ्य बीमा लिने कि नलिने भन्ने विषयमा उनीहरूले आफैँ निर्णय लिन सक्दछन्।
तर धेरै जस्तो अस्थायी भिसावाहकहरूलाई मेडिकेयरको सुविधा नहुने भएकाले यहाँ रहँदा गरिने स्वास्थ्य उपचारको सबै खर्च बेहोर्न उनीहरू आफैँ जिम्मेवार हुन्छन्।
उचित निजी स्वास्थ्य बीमा नभएमा के-के समस्या आउन सक्छन्?
नेपालबाट अस्ट्रेलिया आउने अभिभावकहरूको खण्डमा उचित या पर्याप्त स्वास्थ्य बीमा नभएका मानिसहरू समस्यामा पर्ने गरेको अस्ट्रेलियाका लागि कार्यवाहक राजदूत दुरापदा सापकोटाले बताइन्।
“अभिभावकहरूको केसमा अनिवार्य नहुँदा [बीमा] नलिएको धेरै पाइएको छ,” एसबीएस नेपालीसँग उनले भनिन्।
‘३ महिना, ६ महिना, १ वर्ष मात्र बसेर फर्किनु हुने हो - केही हुँदैन’ भन्ने, र कोही [अभिभावक] यसै पनि स्वस्थ हुनु हुन्छ भने, उहाँहरूको औषधी नेपालबाटै लिएर आउने, र यहाँ बीमा नगर्ने एकदमै धेरै देखिन्छ।'
कोरोना भाइरस महामारी सुरु भए पछि धेरै अभिभावकहरूले बीमा नभएका कारण छिटो नेपाल फिर्ता पठाउन, या नेपालबाट थप औषधीहरू मगाउन आग्रह गर्न थाले पछि यो समस्या छर्लङ्ग भएको सापकोटाको भनाई छ।
त्यस्तै, नेपालबाट अस्ट्रेलिया आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको खण्डमा स्वास्थ्य बीमाले निकै सीमित कुराहरूलाई मात्र समावेश गर्ने भएकाले समस्या हुने गरेको पनि उनी बताउँछिन्।
यस विषयमा नजिकैबाट समुदायमा संलग्न रहेकी पुनम पन्त भन्छिन् कि दुर्घटनामा परेका धेरै फोन सम्पर्कहरू आउने गरेका छन्।
“कति चोटि त आफू बेहोस, एम्बुलेन्सले लैजान्छ - त्यो खर्च त बेहोर्नु पर्यो,” उनले भनिन्।
हामीले अस्ट्रेलियाका लागि नेपाली राजदूत दुरपदा सापकोटा र यस क्षेत्रमा सक्रिय रूपमा कार्यरत डाक्टर अनुपम पोखरेल र पुनम पन्तसँग गरेको कुराकानी सुन्नुहोस्:
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
स्वास्थ्य बीमा किन्दा ध्यान दिनु पर्न कुराहरू
बीमाले चिकित्सक खर्च, आकस्मिक एम्बुलेन्स खर्च, आफूमा पहिलेदेखि नै रहेको कुनै स्वास्थ्य अवस्था या रोगको खर्च जस्ता विषयवस्तु बेहोर्छ कि बेहोर्दैन भनेर हेर्न निकै जरुरी हुन्छ।
कुनै पनि स्वास्थ्य सेवा लिनु भन्दा अगाडि त्यसको आइटम नम्बर सोधेर, आफ्नो बीमाले कति रकम बेहोर्छ, र आफ्नो खल्तीबाट कति तिर्नु पर्छ भनेर जानकारी लिन सकिन्छ।
सबै सेवा प्रदायकहरूले एकै किसिमका योजनाहरू बेच्दैनन्।
तपाईँले आफ्नो आवश्यकता हेरी आफूलाई मन परेको कुनै पनि बीमा योजना छान्दा त्यसका सर्त तथा अन्य विवरणहरू बुझ्न जरुरी हुन्छ।
अस्ट्रेलिया सरकारले मेडिकेयर स्केजुल शुल्क अन्तर्गत सबै किसिमका स्वास्थ्य सेवाहरूको आइटम नम्बर तोकेको हुन्छ। त्यसको विस्तृत जानकारी मेडिकेयर बेनेफिट्स स्केजुलको वेबसाइटमा पाउन सक्नु हुन्छ।
अस्ट्रेलेसियन नेप्लीज मेडिकल एन्ड डेन्टल एसोसिएसनकी कार्यकारी अधिकृत पन्त भन्छिन् कि सस्तो र महँगो तिर नजाऔँ, आफ्नो खल्ती सुहाँउदो बिमा योजना लिउँ।
सार्वजनिक अस्पतालका शुल्कहरू मेडिकेयर स्केजुल अनुसार समान हुने र निजी अस्पतालका शुल्क स्वतन्त्र हुने डाक्टर पोखरेलले जानकारी दिए।
बीमा रकम अलि सस्तो बनाउन जीपीको पैसा कटाउन सकिने पन्तको सल्लाह रहेको थियो।
यही विषयमा डाक्टर अनुपम पोखरेल भन्छन् कि अस्ट्रेलियामा प्राथमिक उपचार जीपीबाट सुरु हुने भएकाले जीपी खर्च समावेश गर्ने बीमा लिन अत्यावश्यक हुन्छ।
अन्तर्राष्ट्रिय विद्यार्थीका लागि: ओभरसिज स्टुडेन्ट हेल्थ कभर (ओसएचसी)
अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो विद्यार्थी भिसाको माग अनुसार ओसएचसी बिमा योजना किन्नु पर्छ।
यस बीमाले उनीहरूलाई यहाँ रहँदा आवश्यक पर्ने चिकित्सा र अस्पताल खर्चहरू बेहोर्न मद्दत गर्दछ।
बीमा कम्पनी र खरिद गरिएको बीमाको नियम अनुसार एम्बुलेन्स खर्च र सीमित औषधीहरू पनि समावेश हुन्छन्।
बीमाले के-के खर्च बेहोर्छ भन्ने बारे विस्तृत जानकारीका लागि आफ्नो निजी स्वास्थ्य बीमा कम्पनीलाई सम्पर्क गर्न उचित हुन्छ।
अस्ट्रेलियामा स्वास्थ्य विभागसँग ‘डीड’ भनिने सम्झौता गरेका ६ वटा कम्पनीहरूले ओसएचसी प्रदान गर्ने गरेका छन्:
- अस्ट्रेलियन हेल्थ म्यानेजमेन्ट
- अलियान्ज केयर अस्ट्रेलिया (पिपललेयर)
- बुपा अस्ट्रेलिया
- सीबीएच इन्टरनेशल हेल्थ
- मेडिब्याङ्क प्राइभेट
- एनआइबी ओसएचसी
थप जानकारीका लागि अस्ट्रेलिया सरकारको निजी स्वास्थ्य बीमा सम्बन्धी वेबसाइटमा हेर्न सक्नु हुन्छ।
अस्थायी भिसा वाहकका लागि: ओभरसिज भिजिटर्स हेल्थ कभर (ओभीएचसी)
भिसामा ८५०१ सर्त भएका मानिसहरूले ओभरसिज भिजिटर्स हेल्थ कभर (ओभीएचसी) नामक बीमा योजना लिनुपर्दछ।
ओभरसिज भिजिटर्स हेल्थ कभरमा के-के पर्दछन् त?- चिकित्सकीय रूपमा अत्यावश्यक रहेको अस्पताल भर्ना
- चिकित्सकको शुल्कको केही भाग
- एम्बुलेन्स बोलाउँदा लाग्ने खर्च
- सीमित मात्रामा औषधि किन्नुपर्दा लाग्ने खर्च
तर, तपाईँलाई दन्त, नेत्र वा फिजियोथेरापी जस्ता अन्य सेवाहरूको आवश्यकता छ भने त्यस्ता सेवाका लागि अतिरिक्त बिमा योजना लिनुपर्ने हुनसक्छ। तर पनि ओभीएचसी बीमा योजनाले सम्पूर्ण रूपमा तपाईँको उपचारको खर्च समेट्दैन।
विशेषतः अनावश्यक ठहर भएका इलेक्टिभ भनिने ऐच्छिक किसिमका उपचारहरू ओभीएचसीको दायरा भित्र पर्दैनन्।
जस्तै मेडिकेयरले मान्यता प्रदान नगरेका उपचारहरू, ऐच्छिक रूपमा गरिने कस्मेटिक सर्जरी तथा आपत्कालीन अवस्था भएको समय बोलाइएको एम्बुलेन्स।
समस्या परेमा कहाँबाट मद्दत पाइन्छ?
कमनवेल्थ अम्बड्सम्यानका सुशासन, सञ्चार र सम्पत्तिका सहायक निर्देशक स्टुवार्ट हेन्लीका अनुसार सन् २०२० देखि २०२१ को अवधिमा भिजिटर र विद्यार्थी निजी स्वास्थ्य बीमा सम्बन्धी ३६६ वटा गुनासो तथा उजुरीहरू आएको थियो।
कमनवेल्थ अम्बड्सम्यानले निजी स्वास्थ्य बीमा सम्बन्धी समस्या र गुनासो समाधानको विषयमा काम गर्दछ।
निजी स्वास्थ्य बीमा सम्बन्धी समस्या र गुनासो समाधान गर्ने संस्था कमनवेल्थ अम्बड्सम्यानको अनुसार सन् २०२० देखि २०२१ को अवधिमा ३,४९६ वटा गुनासोहरू आएका थिए।
यी मध्य धेरै जसो बीमा रकम फिर्ता आउन समय लागेको र एक बीमाकर्ताबाट अर्कोमा परिवर्तन गर्दा समय लागेको बारे रहेको हेन्लीले बताए।
त्यस्तै, कतिले महामारीका कारण आर्थिक समस्याका कारण बीमा निलम्बन गर्न पनि सम्पर्क गरेको उनको भनाइ छ।
निजी स्वास्थ्य बीमा सम्बन्धी कुनै समस्या परेमा सबै भन्दा पहिले आफ्नो बीमा कर्ता, अस्पताल या डाक्टरलाई सम्पर्क गर्न सकिने अम्बड्सम्यानका हेन्लीले बताए।
थप सहयोगका लागि अम्बड्सम्यानको वेबसाइटमा उजुरी दर्ता गर्न सकिन्छ तर अम्बड्सम्यानले अस्ट्रेलिया बाहिरका या अन्य सामान्य बीमा कर्ताबारे समस्यालाई भने हेर्दैन।