Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

कोभिड-१९: अस्ट्रेलियामा हुनुहुन्छ भने तपाईले थाहा पाउनु पर्ने कुराहरू

Woman in quarantine. Source: Getty image:Jasmin merdan

कोभिड-१९ प्रकोप बारे विश्वसनीय रिपोर्टिङ साथ तपाईँलाई - तपाईँको आफ्नै भाषामा - सुसूचित राख्न एसबीएस समर्पित छ। यस पेजमा समुदायका सबै जनाले जान्नै पर्ने कुराहरू समावेश गरिएको छ।

घरमै बस्नुहोस्। सुरक्षित रहनुहोस्। सम्पर्कमा रहिरहनु होस्।
जीवन जोगाउनु होस्।

आर्थिक कठिनाइ

यदि तपाईँ आर्थिक कठिनाइ भोगिरहनु भएको छ भने www.moneysmart.gov.au जानुहोस् वा नेशनल डेब्ट हेल्पलाइन (राष्ट्रिय ऋण सहयोग सम्पर्क सेवा)लाई १८०० ००७ ००७ मा सम्पर्क गर्नुहोस्।
 

कोभिड-१९ भुक्तानी

बिरामी बिदासम्म पहुँच नभएका कर्मचारी यदि कोभिड-१९ सङ्क्रमित भए वा सङ्क्रमित पुष्टि भएका मानिसहरूसँग सम्पर्क रहेका कारण आइसोलेसनमा बस्नु परे संघीय सरकारले १,५०० डलर एकमुष्ट प्रदान गर्ने व्यवस्था गरेको छ। हाल भिक्टोरिया, तास्मेनिया, वेस्टर्न अस्ट्रेलिया र न्यु साउथ वेल्समा उक्त योजना लागु भइसकेको छ । 

थप जानकारी लागि
https://www.servicesaustralia.gov.au/individuals/services/centrelink/pandemic-leave-disaster-payment


क्विन्सल्याण्डले पनि यस विषयमा संघीय सरकारसँग सम्झौता समायोजन गर्दै छ र छिट्टै यस भुक्तानी योजनामा सामेल हुने अपेक्षा गरिएको छ।

यसमा जबकीपर र जबसीकर योजनाका लागि योग्य नठहरिएका र अस्थायी भिसा धारकहरूको पनि पहुँच रहनेछ।

जबकीपर र जबसीकर भुक्तानीहरू

जबकीपर भनिने तलब बापतको सरकारी आर्थिक सहायता भुक्तानी कम्तिमा सोह्र  वर्ष उमेरका व्यक्तिहरूलाई लागू हुन्छ, जो एकल व्यापारी, पूर्ण-समय, अंशकालिक, वा दीर्घकालीन रुपमा वा आकस्मिक कामदारका रुपमा  १ मार्च २०२० सम्म १२ महिनाभन्दा बढीको नियमित आधारमा काममा रहेका हुन्छन । १६ वा १७ वर्ष उमेर समूहका लागि भने योग्य हुनका  लागि आर्थिक रूपमा स्वतन्त्र हुनै पर्छ।

जबकीपर भनिने तलब बापतको सरकारी आर्थिक सहायता घटेर मार्च २०२१ सम्म पाक्षिक रूपमा १,२०० डलर कायम हुनेछ र तत्पश्चात् १,००० डलर कायम हुनेछ।

प्रति हप्ता २० घण्टा भन्दा कम काम गर्नेको हकमा भने सो भुक्तानी पाक्षिक रूपमा (मार्च २०२१ सम्म) ७५० डलर पुग्नेछ र तत्पश्चात् ६५० डलर कायम हुनेछ ।

हाल : १२०० डलर 
जनवरी देखि १००० डलर
 
अंशकालिक कामदारका हकमा 
हाल : ७५० डलर 
जनवरी देखि  : १००० डलर

तपाई बेरोजगार हुनुहुन्छ र काम खोजिरहनु भएको छ, वा रोजगार खोज्नका लागि अनुमोदित गतिविधिहरू गरिरहनु भएको छ भने जबसिकर भुक्तानी प्राप्त गर्न सक्नु हुन्छ। जबसिकर  २२ वर्ष र पेन्सन उमेरका बीचका व्यक्तिको लागि हो।  यदि तपाईं बिरामी वा घाइते हुनुहुन्छ र तपाईंले  सामान्य काम वा अध्ययन गर्न सक्नुहुन्न भने पनि यो पनि लागू हुन्छ।

  • एकल :  ८१५  डलर
  • एकल आश्रित बच्चासँग :  ८६२ डलर
  • एकल ६० वर्ष  वा अधिक: ८६२ डलर
  • पार्टनर सहित :  ७६० डलर
थप जानकारीका लागि

https://www.servicesaustralia.gov.au/individuals/services/centrelink/jobseeker-payment/how-much-you-can-get

जबसीकर भनिने बेरोजगार भत्तामा भने हाल जोडिँदै आएको कोरोनाभाइरस पूरक रकम ५५० डलरबाट घटेर २५० डलर कायम हुनेछ। जस अनुसार, हाल प्राप्त हुने १,११५ डलर सेप्टेम्बरको आखिरीबाट ८१५ डलर (पाक्षिक) कायम हुनेछ।

यो भुक्तानी योजना हाललाई डिसेम्बर २०२० मसान्तसम्म कायम रहने छ।

यसका साथै, जबसीकर भुक्तानी पाउने मानिसहरूले अगस्ट ४ तारिखदेखि रोजगारी सेवा (इम्प्लोइमेन्ट सर्भिसेस)लाई सम्पर्क गर्नै पर्छ र कम्तीमा पनि चार पटक काम खोजेको हुनुपर्नेछ अन्यथा यो भुक्तानी रोक्का हुनेछ।

जबसीकरमा रहेका मानिसहरूले पाक्षिक रूपमा ३०० डलरसम्म कमाउने पाउने व्यवस्था कायम भएको छ, यस अघि तपाईंले जबसीकर पाउनु हुन्थ्यो भने तपाईँको कमाई (पाक्षिक) १०६ डलरमा सीमित गरिएको थियो।

अस्ट्रेलियालीहरूको केही कुराहरूमा प्रतिबद्धता हुनु जरुरी छ :

  • जहाँ र जति बेला पनि सम्भव भए सम्म १.५ मिटरको भौतिक दुरी कायम राख्ने
  • राम्रोसँग हात धुने र खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने 
  • अस्वस्थ अवस्थामा घरमा नै बस्ने र श्वासप्रश्वास सम्बन्धित लक्षणहरू वा ज्वरो आए स्वास्थ्य जाँच गराउने
  • कोभिड सेफ एप डाउनलोड गर्ने ताकि छिट्टै भाइरस पत्ता लागोस् र
  • कार्यस्थल र अन्य योजनाहरू बनाउँदा कोभिड सुरक्षित योजनाहरूको विकास गर्ने। 

कोभिड-१९ कसरी फैलन्छ?

कोभिड-१९ मानिसहरू बिच एक आपसमा हुने सम्पर्कले सर्छ।

विशेष गरी, मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमणको लक्षण देखा पर्नु भन्दा २४ घण्टा अगाडी वा उनीहरू सङ्क्रमित अवस्थामा रहँदा नै उठबस गर्दा, सङ्क्रमित मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा नजिकै बसे पनि कोरोनाभाइरस सर्ने डर हुन्छ।

सङ्क्रमित मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा मुखको र्‍याल, थुक वा सिँगानले उनीहरू वरपर रहेको सरसामान तथा सतहहरू (जस्तै टेबल वा ढोकाको ह्यान्डल) दूषित हुनसक्छ।

त्यसलाई तपाईंले समातेर हात नधोई आफ्नो मुख वा अनुहारमा छुनुभयो भने पनि तपाईँलाई सङ्क्रमण हुनसक्छ।

Infection of a person by respiratory viruses, illustration. Conceptual image.
Getty Images

अस्ट्रेलिया सरकारले आफ्ना सबै बासिन्दाहरूलाई कोभिड-सेफ एप डाउनलोड गर्न सुझाव दिएको छ। थप पढ्न यहाँ जानुहोस्।   

कोभिड-१९ का लक्षणहरू के-के हुन्?

सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख भए अनुसार, कोरोनाभाइरसका लक्षणहरूमा हल्का बिसन्चो महसुस हुनेदेखि निमोनियासम्म लाग्न सक्छ।

कोभिड-१९ का लक्षणहरु अन्य रुगा, खोकी वा फ्लु लगायत निम्न पनि रहन सकनेछन्:

  • ज्वरो
  • स्वासप्रस्वासको समस्या
  • खोकी
  • घाँटी दुखेको
  • दम
  • सिंगान बग्ने, टाउको दुख्ने, मांसपेशी वा हाड दुख्ने, रिङ्गटा लाग्ने, वाक-वाक आउने, झाडा पखाला, बान्ता हुने, सुँघ्ने वा स्वाद महसूस गर्ने क्षमता गुमाउने, खाना खान मननलाग्ने र थाकान महसूस हुने लगायतका अन्य लक्ष्यणहरु पनि रहन सक्नेछन्।
  • कोरोनाभाइरसको लागी कुनै खास उपचार छैन तर प्राय जसो लक्षणहरू उचित चिकित्सा स्याहारबाट निर्मूल पार्न सकिन्छ। यो भाइरस भएकाले एन्टीबायोटिक औषधीहरूले काम गर्दैनन्। 

अधिकारीहरूले कोभिड-१९को लक्षणहरू जाँच गर्ने एक वेब पेज विकसित गरेका छन् जुन तपाईंले घरै बसी-बसी प्रयोग गर्न सक्नुहुनेछ: https://www.healthdirect.gov.au/syptom-checker/tool/basic-details

Woman Working from Home And Sneezing For Cold
Element envato

ममा यी लक्षणहरू देखियो भने मैले के गर्नुपर्छ त?

यदि तपाईँ अस्ट्रेलिया आएको १४ दिन वा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको व्यक्तिसँग उनीहरूलाई उक्त रोग लागेको पहिलो दुई हप्ता भित्र तपाईँको भेटघाट भएको छ भने तपाईंले डाक्टरलाई तत्काल जाँचका लागि सम्पर्क गर्नुपर्छ।

 

आफ्नो साबिकको जीपी वा नजिकैको डाक्टरसँग भेट्ने समय मिलाउनुहोस् वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइनलाई १८०० ०२० ०८० मा फोन गर्नुहोस्। यो विशेष टेलिफोन सुविधा २४ घण्टा सातै दिन उपलब्ध छ र यहाँ फोन गरेर तपाईंले आफ्नो लक्षणहरूबारे सोध खोज गर्न सक्नुहुनेछ।

 

तपाईँको क्षेत्र वरिपरि ती श्वास प्रश्वास क्लिनिकहरू कहाँ छन् भनेर थाहा पाउन र जँचाउने समयका लागि दर्ता गर्न थिच्नुहोस्।

यदि तपाईँ बसोबास गर्न स्थान नजिकै श्वास प्रश्वास क्लिनिकहरू नभए अन्य उपलब्ध सुविधाहरू बारे थाहा पाउन आफ्नो हेर्नुहोस्।

आफूलाई कोभिड-१९ को लक्षण देखिएको बारे पूर्व सूचना नदिई स्वास्थ्य क्लिनिक वा अस्पताल नजानुहोस्।

covid clinic, coronavirus, fever clinic
SBS News

तपाईँ ती स्थानमा पुग्नु अगावै उनीहरूलाई तपाईँको यात्रा विवरण वा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको मानिस भेटेको बारेमा भन्नुहोस्।

स्वास्थ्य अधिकारीहरूले तपाईँलाई सामान्य जीवनमा फर्कन नभनेसम्मका लागि तपाईंले आफ्नै निवास, होटेल वा स्वास्थ्य सेवा प्रदायक संस्थामा नै आइसोलेसनमा बस्नुपर्छ।

तपाईँलाई सास फेर्न गाह्रो अनुभव भए वा आपतकालिन चिकित्सकीय सेवाको आवश्यकता परे ००० (ट्रिपल जिरो) मा फोन गर्नुहोस्।  

कोरोनाभाइरसका कारण सबैभन्दा गम्भीर खतरा कसलाई छ?

सङ्क्रमित हुने केही मानिसहरू त बिरामी नै पर्दैनन्, अरू केहीले भने अत्यन्त मन्द लक्षणहरू देखाउँछन् जसबाट उनीहरू छिट्टै निको पनि हुन्छन् र बाँकी मानिसहरू भने एकदमै चाँडो निकै बिरामी हुन्छन्।

If the majority is expected to recover, why is coronavirus considered dangerous?
Getty Images

कोरोनाभाइरसको अन्य प्रकारबाट सङ्क्रमित भएका मानिसहरूको अनुभवबाट हामीले निम्न व्यक्तिहरूलाई गम्भीर सङ्क्रमण हुनसक्छ भनेर भन्न सक्छौं:

  • विभिन्न रोग व्याधका कारण स्वास्थ्य प्रतिरक्षा प्रणालीमा कमजोर भएका मानिसहरू (जस्तै: क्यान्सर लागेको व्यक्ति)
  • वृद्धावस्थाका ज्येष्ठ नागरिकहरू
  • एबोरिजिनल तथा टरेस् स्ट्रेट आइल्याण्डर समूहका मानिसहरू (उनीहरूमा विविध पुराना रोग व्याध लाग्ने दर ज्यादा भएकाले)
  • पुरानो रोग व्याधको इतिहास बोकेका अन्य मानिसहरू
  • आवासीय भवन तथा व्यवस्थामा बस्ने मानिसहरू
  • बन्दी गृहमा राखिएका मानिसहरू

कोभिड-१९ लाई फैलनबाट रोक्न म के गर्न सक्छु त?

stay at home and rest
Getty Images/django

सर्वप्रथम त आफ्नो हातलाई सदैव सफा राख्नुहोस् अनि खोक्दा वा हाच्छ्युँ गर्दा पाखुरा वा रुमालले आफ्नो मुख छोप्नुहोस्।

यसको साथै तपाईँ आफूलाई सन्चो छैन भने अरूहरू भएको ठाउँमा नजानुहोस् वा उनीहरूभन्दा टाढै रहनुहोस्; यो नै भाइरस विरुद्ध सबैभन्दा सर्वोत्तम रक्षा उपाय हो।

माथि उल्लेख गरे बाहेक निम्न कुराहरूको पनि पालना गर्नुहोस्:

  • बारम्बार साबुन पानीले आफ्नो हात धोई राख्नुहोस्, खाना खानु अघि र खाइसकेपछि। त्यसै गरी शौचालयको प्रयोग पछि पनि हात धुन नछोड्नुहोस्।
  • खोक्दा वा हाच्छ्युँ गर्दा कागजको रुमाल (टिस्यु) प्रयोग गर्नुभएको छ भने त्यसलाई राम्ररी फ्याँक्ने प्रबन्ध मिलाउनुहोस्।
  • हात धुन नमिले, अल्कोहल भएको ह्याण्ड स्यानीटाइजरको प्रयोग गर्नुहोस्।
  • सामाजिक दुरी सम्बन्धी नियमहरूको पालना गर्नुहोस्।

Coronavirus Shopping Infographics Nepali COVID-19
SBS Nepali

आइसोलेसन कसको लागि बाध्यात्मक छ?

१) सङ्क्रमित व्यक्तिसँग तपाईँको उठबस वा त्यस्ता मानिससँग संसर्ग भएको छ भने तपाईँ १४ दिने सेल्फ आइसोलेसनमा अनिवार्य रूपमा बस्नुपर्छ।

२) अस्ट्रेलिया आउने जो कोहीले अनिवार्य रूपमा उनीहरूका लागि भनेर तोकिएको स्थानमा (होटेल वा त्यस्तै अन्य खानपिनको र बस्ने सुत्ने सुविधा भएको ठाउँ)  १४ दिन सेल्फ आइसोलेसनका रूपमा बिताउनु पर्नेछ।

अध्यागमन, भन्सार र परिष्कृत स्वास्थ्य परीक्षण पश्चात् यात्रुहरूलाई सिधै उनीहरूका निम्ति तोकिएको स्थानमा अधिकारीहरूले पुर्‍याइदिनेछन्।

राज्य एवम् प्रादेशिक सरकारहरूद्वारा निर्दिष्ट अस्ट्रेलियालीहरूको घर र घरहरू भ्रमण गर्न स्थानीय पुलिसको प्रयासलाई प्रोत्साहित गर्नेछन् र पहिचान गरिएको व्यक्ति उक्त निवासमा थिए कि थिएनन् भनेर स्थानीय प्रहरीलाई रिपोर्ट गर्नेछन्।

 

 

३) कोभिड-१९ सङ्क्रमित हुनुभएको पुष्टि भइसकेको छ भने तपाईँले घरमा बस्नुका अलावा निम्न कुराहरूमा ध्यान दिनुपर्छ:

  • काम, स्कुल, किनमेल गर्ने ठाउँ, चाइल्ड केयर वा विश्वविद्यालय जस्ता सार्वजनिक स्थानहरूमा जानु हुँदैन।
  • खाना तथा अन्य अत्यावश्यक सामानहरू ल्याएर आफ्नो घरको मूल ढोका बाहिरै राख्न साथीभाइलाई अनुरोध गर्नुहोस्।
  • घरमा नियमित बस्ने मानिसहरू बाहेक पाहुना तथा अन्यलाई मानिसहरूलाई घरभित्र आउन नदिनुहोस्। 

सामाजिक दुरी भन्नाले के बुझ्ने?

A commuter sits on a tram bench next to an LCD screen with an Australian Government directive regarding Coronavirus and social distancing
Getty Images

कोभिड-१९ लाई बृहत् रूपमा अझ फैलनबाट रोक्ने एक उपाय हो, सामाजिक दुरी। 
सामाजिक दुरीका नियमानुसार तपाईँलाई सन्चो छैन भने घरमै आराम गरेर बस्नुपर्छ। 

एक आपसबाट जति शारीरिक दुरी कायम गरेर बस्न सक्यो, त्यही अनुपातमा भाइरस सरेर सङ्क्रमण हुने मौका कम हुन्छ। 

यसको साथै, अत्यावश्यक बाहेक ठुला सार्वजनिक भेलाहरूमा सरिक हुनु हुँदैन र आफू वरपर रहेका अन्य मानिससँग कम्तीमा पनि १.५ मिटरको दुरी कायम गर्नुपर्छ भने साथीभाइ भेट्दा हात मिलाउने वा अँगालो हाल्ने काम नगर्नुहोस्।

दुई व्यक्तिमा सीमित भेटघाट

अस्ट्रेलियाको राष्ट्रिय मन्त्रिपरिषद्ले सामाजिक जमघट केवल दुई व्यक्तिमा सीमित गर्न सहमति जनाएको अवस्था हाल रिजनल भिक्टोरियामा विद्यमान छ।

तर, यो दुई व्यक्तिमा सीमित नियममा केही अपवादहरू पनि छन्:

    • एकै घरमा बस्ने मानिसहरू भए दुई व्यक्ति सम्बन्धी नियम लागू हुँदैन
    • मलामी जान अधिकतम १० जनाको सङ्ख्या निर्धारण गरिएको छ
    • विवाहमा ५ जनासम्मले भाग लिन पाउने छन्।

घरमै बस्नुहोस्

माथी उल्लेखित स्थानका बासिन्दालाई कडा मार्गदर्शन दिँदै भिक्टोरियाली सरकारले निम्न लिखित अवस्थामा बाहेक घरमै बस्न भनेको छ:

    • खाद्यान्न लगायत अत्यावश्यक सामानको खरिददारी गर्न
    • चिकित्सकीय एवं स्वास्थ्य स्याहारको आवश्यकता परेमा
    • सामाजिक दुरीको पालना गर्दै व्यायाम तथा कसरत गर्न
    • दूर शिक्षा वा कार्य गर्न नमिल्ने भए

यी नियमहरूको पालना नगरे भिक्टोरियामा कम्तीमा पनि १,६०० डलर जरिवाना तिर्नुपर्नेछ।  

मेलबर्न महान‍गरीय क्षेत्रमा भने हाल चौथौ चरणको प्रतिबन्ध लागू छ र यस बारे थप जानकारीका लागी यहाँ थिच्नुहोस्।

ज्येष्ठ अस्ट्रेलियालीहरू र पूर्ववर्ती रूपमा स्वास्थ्य समस्या देखिएकाहरू

७० वर्ष भन्दा बढी उमेर भएका अस्ट्रेलियालीहरू जो पहिलेदेखि नै बिरामी छन् वा ६० वर्ष भन्दा ज्यादा उमेर भएका र एक भन्दा बढी रोग व्याधले सताइएका मानिसहरूलाई घरमा अलग्गै बस्न राष्ट्रिय मन्त्रिपरिषद्ले बलियो रूपमा सिफारिस गरेको छ।

के एज केयरमा भएका साथी वा परिवारका अन्य सदस्यलाई भेट्न जान सक्छु?

Aged Care
Getty

वृद्ध स्याहार केन्द्रहरूमा कुनै पनि भाइरसको सङ्क्रमण देखापर्यो भने त्यसले एकदमै ठुलो समस्या ल्याउन सक्छ।

करोनाभाइरसले त वृद्दावास्थाका मानिसहरूलाई ठुलै जोखिम पारिरहेको रहेको छ, त्यसैले वृद्ध स्याहार केन्द्रहरूमा पाका उमेरका मानिसहरूलाई भेट्न जाँदा केही प्रतिबन्धहरू लागू हुन्छन्, जस्तै:

गएका १४ दिनमा तपाईँ विदेश यात्रा सकेर अस्ट्रेलिया फर्कनुभएको छ वा उक्त अवधिमा कोभिड-१९ सङ्क्रमित मानिससँग उठबस गर्नुभएको छ भने वा तपाईँलाई ज्वरो अथवा श्वास-प्रश्वास सम्बन्धी समस्या देखिएको छ भने वृद्ध स्याहार केन्द्र नजानुहोस्।

तपाईंले इन्फ्लुएन्जा विरुद्धको खोप नलगाईकन कुनै पनि एज्ड केयर संस्था जान पाउनु हुन्न।

राज्य तथा प्रादेशिक सरकारहरूको पनि यस बारे आफ्नै नियमहरू हुन सक्छन् तर ती नियमहरूले राष्ट्रिय मन्त्रिपरिषद्को सिफारिससँग बाझिन सक्दैनन्। 

के मैलै शल्यक्रियामा प्रयोग हुने सर्जिकल मास्क लगाउनु पर्छ?

Federal Government distributing surgical mask
File

अस्ट्रेलियामा कोभिड-१९ को सामुदायिक सङ्क्रमण बढेसँगै केही राज्य तथा प्रदेशहरूले मास्कको प्रयोगलाई आवश्यक भनेका छन् भने अन्यले यसको प्रयोग गर्न सिफारिस गरेका छन्।

विशेष गरेर, भिक्टोरियामा बस्ने मानिसहरूलाई यसको प्रयोग अनिवार्य गरिएको छ। यस बारे थप जानकारी यहाँ उपलब्ध छ।

सामाजिक दुरी कायम गर्न नसकिने अवस्थामा न्यु साउथ वेल्सका बासिन्दाहरूलाई मास्क लगाउने बारे सोच्न आग्रह गरिएको छ।

मास्कको प्रयोग अतिरिक्त सावधानीको उपाय मात्र हो, तपाईँलाई आराम नभए:

  • तपाईँ घरमा नै आराम गरेर बस्नुपर्छ,
  • घर बाहिरका अरू मानिससँग कम्तीमा पनि १.५ मिटर दुरी कायम गर्नुपर्छ,
  • ठुला भेला तथा मानिसहरूको भिडभाड हुने ठाउँमा जानु हुँदैन,
  • हात तथा नाक एवं मुख सदैव स्वच्छ राख्नुपर्छ।

थप तथा अद्यावधिक जानकारीका लागि यहाँ थिच्नुहोस्।

 

अस्ट्रेलियाबाट विदेश भ्रमणमा जाँदा वा विदेशबाट अस्ट्रेलिया फर्कँदा

Passengers arriving at airport wearing masks
EPA

अस्ट्रेलियाका बासिन्दाहरूले अत्यावश्यक बाहेकका भ्रमणमा निस्कन हुँदैन।

राज्य तथा प्रादेशिक सरकारहरूले आ-आफ्नो सिमाना बन्द गर्ने लगायतका प्रतिबन्धहरू लागू गर्न सक्छन्।

अनिवार्य तथ्याङ्क सङ्कलन

अक्टोबर १ २०२० देखि सबै आन्तरिक उडानहरूमा अनिवार्य रूपमा यात्रुहरूको विवरण सङ्कलन गरिने छ - नाम, इमेल ठेगाना, सम्पर्क नम्बर र बसाइ गर्ने राज्य। राज्य र टेरिटोरीहरूलाई सम्पर्क ट्रेसिंग गर्न सजिलो हुनका लागि यो कदम चालिने छ।

सार्वजनिक यातायात राष्ट्रिय सिद्धान्तहरू

सार्वजनिक यातायात सेवाहरू राज्य र प्रादेशिक सरकारको उत्तरदायित्व हो।

राष्ट्रिय मन्त्रिपरिषद्ले सार्वजनिक यातायात सञ्जाल प्रयोग गर्ने कामदार र यात्रुहरूको स्वास्थ्य एवं सुरक्षालाई प्रदान गर्न ल्याइएका विभिन्न सिद्धान्तहरूको समर्थन गर्दछ, जसमा:

  • अस्वस्थ महसुस भएको बखत यात्रा नगर्ने,
  • चालक तथा अन्य यात्रुहरूबाट भौतिक दुरी कायम राख्ने र
  • नगद प्रयोग गर्नबाट जोगिने जस्ता उपायहरू छन्।

सार्वजनिक यातायात प्रयोगकर्ताहरूले मास्क लगाउन आवश्यक छैन तर स्वैच्छिक आधारमा त्यसो गर्न सकिने छ। कोभिड-१९ सार्वजनिक यातायात सञ्चालनका लागि सिद्धान्तहरूको बारे थप जानकारी यहाँ उपलब्ध छ: : https://www.infrastructure.gov.au/transport/files/COVID19_public_transport_principles_29052020.pdf

अस्ट्रेलिया आउने सबै जनाले तोकिएको स्थान - होटेल वा त्यस्तै अन्य खानपिनको र बस्ने सुत्ने सुविधा भएको ठाउँ)मा १४ दिन सेल्फ आइसोलेसनका रूपमा अनिवार्य रूपमा बिताएर मात्र आफ्नो गन्तव्य जान सक्नेछन्।

कम्तिमा २ अक्टूबर २०२० सम्म अन्तर्राष्ट्रिय यात्रीहरूको आगमनमा यी नियमहरु लागु हुनेछन्:

  • मेलबर्नमा अन्तर्राष्ट्रिय यात्री आउन निषेध गरिएको छ
  • सिड्नीमा एक दिनमा ३५० यात्री आगमनको सीमा रहेको छ।
  • पर्थमा प्रति हप्ता ५२५ यात्रीको सीमा निर्धारण गरिएको छ।
  • ब्रिस्बेनमा ५०० यात्री प्रति हप्ताको सीमा।
  • एडिलेडमा - प्रति हप्ता ५०० यात्री आगमनको सीमा।
  • क्यानबेरा र डार्विनमा प्रत्येक उडानमा यात्रीहरूको संख्या छलफल गरि र अवस्था हेरेर निर्धारण हुने छ।
  • होबर्टमा अन्तर्राष्ट्रिय उडानहरू हुने छैनन् ।

पछिल्लो अद्यावधिक
अस्ट्रेलिया  भित्रने  अन्तर्राष्ट्रिय यात्रीहरूको संख्यामा रहेको राष्ट्रिय क्यापमा परिबर्तन  गरीएको छ। आगमनको कुल संख्या दुइ हजारले बढेको छ, प्रति हप्ता चार हजार बाट  ६ हजार पुर्याइएको  छ ।

  • न्यु साउथ वेल्सले २७ सेप्टेम्बर २०२० देखि प्रत्येक हप्ता थप ५०० यात्रुलाई भित्रन दिने भएको छ।
  • क्विन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलियाले २७ सेप्टेम्बर देखि आफ्ना राज्यको साप्ताहिक यात्रु सङ्ख्यालाई २०० ले बढाउने छ।
  • क्विन्सल्याण्डले ४ अक्टोबरदेखि उक्त सङ्ख्यालाई थप ३०० ले बढाउने छ र वेस्टर्न अस्ट्रेलियाले ११ अक्टोबरदेखि अझै ५०० जनालाई प्रत्येक हप्ता आफ्नो राज्यमा भित्रन दिने भएको छ।

अस्ट्रेलियामा फर्किने सबै यात्रुहरूको क्वारेन्टिनमा प्रवेश गर्दा र क्वारेनटिनबाट निस्कँदा कोरोनाभाइरसको परीक्षण गरिनेछ। 

केही विशेष अवस्थामा बाहेक सम्पूर्ण अस्ट्रेलियालीहरूलाई विदेश भ्रमण गर्नबाट रोक लगाइएको छ। तपाईँ माथि निम्न लिखित अवस्थाहरू लागू हुन्छन् र तपाईँलाई विदेश जानु अति अनि नै आवश्यक छ भने तपाईंले उक्त छुटका लागि निवेदन हाल्न सक्नुहुनेछ:

  • यदि तपाईँ कोभिड-१९ प्रकोप सम्बन्धी सहायता वितरण गर्ने टोलीको सदस्य हुनुहुन्छ भने
  • अत्यावश्यक उद्योग सञ्चालन तथा त्यससँग सम्बन्धित कार्यका लागि (आयात निर्यात उद्योग सहित)
  • अस्ट्रेलियामा उपलब्ध नरहेको अत्यन्त जरुरी चिकित्सकीय उपचारका लागि
  • अत्यन्त जरुरी र अपरिहार्य निजी कामकाजका लागि
  • मानवीय आधारमा र
  • तपाईँको यात्रा राष्ट्रिय हितमा छ भने।

केवल अस्ट्रेलियाली नागरिक, स्थायी बसोबास गर्ने अनुमति पाएका व्यक्तिहरू र उनीहरूका प्रत्यक्ष सम्बन्धीहरूमात्र अस्ट्रेलिया आउन पाउने विशेष प्रावधान हाल यहाँ कायम छ। यसबारे अधिक जानकारीका लागि गृह मामिला मन्त्रालयको वेबसाइट हेर्नुहोस्।

अनि, अस्ट्रेलिया आउने सबैले १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्छ, घरमा वा होटेलमा।

१४ दिने क्वारेन्टाइन नियम पालना नगरेको पाइएमा त्यस्ता व्यक्तिहरूको अन्तिम मुकाम रहेको राज्य वा प्रदेशमा यस सम्बन्धी नियम अनुसार दण्डको भागीदार हुनुपर्नेछ।

क्वारेन्टिनको खर्च तपाईँ स्वयम्ले पनि व्यहोर्नु पर्ने हुन सक्छ। यी सम्बन्धी व्यवस्था मिलाउने कार्य राज्य तथा प्रादेशिक सरकारहरूले गर्छन्:

न्यु साउथ वेल्स: https://www.nsw.gov.au/covid-19/travel-and-transport-advice 
भिक्टोरिया: https://www.dhhs.vic.gov.au/information-overseas-travellers-coronavirus-disease-covid-19 
एसीटी: https://www.covid19.act.gov.au/community/travelling-and-transport     
नर्दर्न टेरोटेरी: https://coronavirus.nt.gov.au/stay-safe/quarantine     
क्विन्सल्याण्ड: https://www.qld.gov.au/health/conditions/health-alerts/coronavirus-covid-19/protect-yourself-others/quarantine     
साउथ अस्ट्रेलिया: https://www.covid-19.sa.gov.au/restrictions-and-responsibilities/travel-restrictions     
तास्मानिया: https://www.coronavirus.tas.gov.au/travellers-and-visitors     
वेस्टर्न अस्ट्रेलिया:https://www.wa.gov.au/organisation/department-of-the-premier-and-cabinet/covid-19-coronavirus-travel-wa 

ट्रान्जिट हब

यात्रा सम्बन्धी नियमहरू एकदमै चाँडो परिवर्तन हुन सक्छन् भन्ने बारे हेक्का राख्नुहोस्।

यदि तपाईंले अस्ट्रेलिया फर्कने निर्णय गर्नुभयो भने:

  • तपाईँको रूट ध्यानपूर्वक जाँच गर्नुहोस् र एयरलाइन्स वा ट्राभल एजेन्टको साथ सम्पर्कमा रहनुहोस्
  • ट्रान्जिट एयरपोर्ट र आधिकारिक घोषणाहरूको पालना गर्नुहोस्
  • यदि तपाईँसँग यात्रा सम्बन्धी केही केही प्रश्नहरू छन् भने तपाईंले प्रवेश गरिरहनु भएको देशहरूमा रहेका दूतावास वा कन्सुलेट कार्यालयलाई सम्पर्क गर्नुहोस्।

थप जानकारी www.smartraveller.gov.au मा उपलब्ध रहेको छ।


अस्ट्रेलियामा कोरोनाभाइरस प्रकोपसँग लड्न के-कस्तो कार्यहरू भइरहेको छ त?

प्रधानमन्त्रीले नोवेल कोरोनाभाइरस (कोभिड-१९) आपत्कालीन प्रतिक्रिया योजना लागू गरेका छन्।

धेरै भन्दा धेरै अस्ट्रेलियालीहरू माझ टेलिहेल्थ सेवा प्रदान गर्ने उद्देश्यले अक्टोबर २०२० देखि मार्च २०२१ सम्म २ अर्ब अस्ट्रेलियाली डलर लगानी गरिने छ। अन्य स्वास्थ्य सेवा र मुख्यतः मानसिक स्वास्थ्यलाई लक्षित
गरी उक्त योजना तयार पारिएको हो।

अस्ट्रेलियन सरकारले कसरी कोभिड-१९ महामारी विरुद्ध लडिरहेको छ भन्ने थाहा पाउन यो लिङ्कमा जानुहोस्।

अङ्ग्रेजीमा थप जानकारी पाउन यो लिङ्कमा जानुहोस्।

 

बिजुली बत्ती, पानी र अन्य दर तथा महशुल तिर्न कठिनाइ भए के प्रावधानहरू छन् त?

वित्तीय तनावका कारण बिजुली बत्ती, पानी र अन्य दर तथा महशुल तिर्न कठिनाइ भोगिरहेका मानिसहरूका निम्ति अधिकारीहरूले लचिलो रूपमा भुक्तान गर्न मिल्ने विकल्पहरू दिएका छन्। यस्ता विकल्पहरू साना व्यवसायी लगायत सबै किसिमका घरबार गर्ने मानिसहरूलाई उपलब्ध छन्।

ती सुविधाहरू निम्न लिखित छन्:

    • वित्तीय तनाव भोगिरहेका मानिसहरू कहाँ महसुल नतिरेको भन्दै बिजुली बत्ती वा पानीको आपूर्ति वा लाइन बन्द गरिने छैन
    • ऋण असुलउपर गर्ने कार्यलाई पछि सारिने छ र कर्जा भाका नाघेको खण्डमा त्यस्ता कर्जा तिरिनुपर्ने समय सीमालाई पनि बढाइने छ
    • महसुल ढिलो तिरे लाग्ने अतिरिक्त शुल्क र ऋणको ब्याज मिनाहा हुनेछ
    • अत्यावश्यक कार्यहरूका लागी योजनाबद्ध रूपमा गरिने बन्दलाई कम पारिनेछ

बिल तिर्न सक्नेहरूले आफ्नो महसुल ठिक समयमा तिर्नु अत्यन्त जरुरी छ। यसो गर्दा, अत्यावश्यक सेवा प्रदायकहरूलाई आफ्नो सेवा सुचारु राख्न ठुलो सहयोग पुग्छ।

केही भिसा धारकहरूका लागी नियमहरूमा लचकता

यदि अस्थायी स्किल्ड भिसा धारकहरूलाई उनीहरूको काममा भिसा प्रायोजित गरेर राखिएको छ भने त्यस्ता मानिसहरूलाई नयाँ प्रायोजक खोज्न ६० दिनको समय सीमा उपलब्ध गराइएको छ अन्यथा उनीहरूले अस्ट्रेलिया छाडेर जानुपर्छ।

पारिवारिक सहयोग वा बचत छ भने पनि स्पन्सर नभएको खण्डमा अस्थायी स्किल्ड भिसा धारकहरूले अस्ट्रेलिया छाड्नुपर्ने नियम हाल विद्यमान रहेता पनि नेपाली एवम् भारतीय नागरिकहरू हकमा लागू छैन।

नेपाल र भारत दुवै देशका सीमाहरू हाललाई बन्द भएकाले ती देशका नागरिकहरूलाई आफ्नो भिसाको शर्तहरू उल्लङ्घन भएको शङ्का लागेमा तत्काल अध्यागमन विभागमा सम्पर्क राख्न भनिएको छ। यो यी देशहरूबाट आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हकमा पनि लागू गरिएको छ।

अस्थायी स्किल्ड भिसा धारकहरूलाई कामबाट निष्कासित गर्नुका साटो निलम्बित मात्र गरिएको भए वा उनीहरूले काम गर्नुपर्ने अवधि घटाइएको भए त्यसलाई उनीहरूले भिसा शर्तको उल्लङ्घन गरिएको मानिने छैन।

अस्ट्रेलियामा रहन अनुमति प्राप्त अस्थायी धारकले सुपरएन्नुएसन भनिने आफ्नो निवृत्तिभरणबाट १०,००० डलरसम्म झिक्न पाउने व्यवस्था पनि हाल लागू गरिएको छ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरू

रोजगारी, पारिवारिक सहयोग वा ब्याङ्कमा बचत भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अस्ट्रेलिया बस्न कुनै अवरोध छैन तर खर्च पानी नभएकाहरूका हकमा भने आफ्नै देश फर्कन सरकारले सल्लाह दिएको छ। 

नेपाल तथा भारतबाट अस्ट्रेलिया आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हकमा भने माथि उल्लेख भए बमोजिम हुनेछ - भिसाका सर्त उल्लङ्घन नहोस् भन्नका लागि अध्यागमन विभाग कहाँ सम्पर्क गर्नुपर्छ।

एज्ड केयर भनिने वृद्ध स्याहार क्षेत्रमा कार्यरत तथा नर्सको रूपमा तालिम लिँदै गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई २० घण्टा भन्दा बढी काम गर्न अनुमति प्रदान गरिएको छ।

कम्तीमा पनि १२ महिना भन्दा बढी अवधि अस्ट्रेलियामा बिताएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले, आफ्नो सुपरएन्नुएसनबाट रकम झिक्न पाउनेछन्।

कोरोनाभाइरस महामारीका कारण गहिरो आर्थिक सङ्कटमा परेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्ने हेतुले भिक्टोरिया सरकाले एक विशेष राहत प्याकेज घोषणा गरेको छ।

उक्त घोषणा अनुसार भिक्टोरियाका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सहायता स्वरुप एक पटकको लागि अधिकतम १,१०० डलरसम्म प्राप्त गर्न सक्नेछन् र यस कार्यका लागि भिक्टोरियाली सरकारले ४ करोड ५० लाख डलर बराबरको अन्तर्राष्ट्रिय विद्यार्थी राहत कोष गठन हुने बताएको छ।

पर्यटकहरू

अस्ट्रेलियामा पर्यटक भिसामा रहेका र पारिवारिक सहयोग उपलब्ध नभएका मानिसहरूले आफ्नो देश फर्किने व्यवस्था गर्न सरकारले सल्लाह दिएको छ। 

चाइल्ड केयर (बाल स्याहार)
कोरोनाभाइरस महामारी अवधि भर करिब १० लाख परिवारहरूले निःशुल्क बाल स्याहार सुविधा पाउनेछन्।

सरकारी घोषणा अनुसार, बाल स्याहार केन्द्रहरूको यथोचित शुल्क सीमाको आधा हिस्सा सरकारले आगामी छ महिनाका लागि तिरिदिने छ।

बोर्डिङ स्कुलहरू

सेप्टेम्बर-अक्टोबर २०२० को विद्यालय बिदामा देश भरका, र मुख्यतः दुर्गम क्षेत्रहरूमा घर भएका
बोर्डिङ स्कुलका विद्यार्थीहरू घर फर्कन पाउनेछन्।

घरेलु हिंसा सहायता

कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण घरेलु, पारिवारिक र यौन हिंसाको अनुभव गर्ने अस्ट्रेलियालीहरूलाई सहयोग पुर्‍याउन १५ करोड डलर उपलब्ध हुनेछ।

मानसिक स्वास्थ्य सेवा सहायता

सरकारले थप १० मनोवैज्ञानिक थेरपीहरूलाई मेडिकेयर अनुदानको लागी योग्य करार गरेको छ। यो विशेष रुपमा कोभिड-१९ को दोस्रो लहरले प्रभाव पारेको क्षेत्रका मानिसहरू प्रति लक्षित छ।

तर यसरी मानसिक स्वास्थ्य सुविधा प्राप्त गर्न तपाईँसँग मेन्टल हेल्थ ट्रिटमेन्ट प्लान भनिने मानसिक स्वास्थ्य उपचार योजना हुन जरूरी छ। यो योजनाका साथै तपाईँको स्वास्थ्य जीपीले समिक्षा गर्नुपर्नेछ - मानसिक स्वास्थ्य सेवा पाउन।

सबै अस्ट्रेलियालीहरूको मानसिक स्वास्थ्य तथा तन्दुरुस्तीका लागि सरकारले ७ करोड ४० लाख डलर विनियोजन गरेको छ।

हेड टु हेल्थ (www.headtohealth.gov.au) नामक सरकारी वेबसाइट कोरोनाभाइरस महामारीको समयमा कसरी राम्रो मानसिक स्वास्थ्य बनाउने भन्ने बारे आधिकारिक जानकारी र मार्गदर्शनको एक मात्र स्रोत हो।

र, यसले सेल्फ आइसोलेसन, बच्चा र प्रियजनहरूलाई सहयोग कसरी गर्ने भन्ने बारे लगायतका थप मानसिक स्वास्थ्य सेवाहरू एवम् स्याहारसम्म कसरी पहुँच बनाउने भन्ने बारे जानकारी उपलब्ध गराउने छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: