यो बुधवार, ८ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।
मुख्य बुँदाहरू:
- अन्तर्राष्ट्रिय कोभिड भ्याक्सिन पासपोर्ट अक्टोबरदेखि वितरण हुने,
- मध्य उत्तर न्यु साउथ वेल्समा भाइरसका जीवाणु फेला पर्यो,
- शेपर्टन बाहेक रिजनल भिक्टोरियामा प्रतिबन्ध खुकुलो हुँदै र
- एसीटीद्वारा १२ कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई फोनद्वारा खोप बुकिङ गर्न आग्रह।
न्यु साउथ वेल्स
मङ्गलवार साँझ आठ बजेसम्मको अवधिमा न्यु साउथ वेल्सले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १,४८० मामिलाहरू दर्ता गरेको छ।
सोही अवधिमा थप ९ जनाको मृत्यु दर्ता गरिएको पनि प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बताएकी छिन्।
राज्यभर हाल करिब ११,००० मानिसहरू न्यु साउथ वेल्स हेल्थको रेखदेखमा रहेको बताइँदै गर्दा न्यु साउथ वेल्स प्रिमियरले राज्यका ७५ प्रतिशत योग्य बासिन्दाहरूले खोपको पहिलो मात्रा पाइसकेको भन्दै खुसी पनि व्यक्त गरेकी छिन्।
उनले पश्चिमी सिड्नीमा खोप सम्बन्धी हिचकिचाहटमा बिस्तारै सुधार भइरहेको पनि बताएकी छिन्।
“पहिले त्यहाँका बासिन्दाहरू माझ निकै हिचकिचाहट थियो र अहिले ती समुदायहरू यस कुरामा अगाडी बढ्दै, राज्यमा नै सबैभन्दा उच्च दरमा खोप लगाउन आइरहेको हामीले देखेका छौँ,” उनले भनिन्।
“ब्ल्याकटाउनमा झन्डै ८८ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेका छन्।”
यसको पछाडि सामुदायिक नेताहरूको ठुलो हात रहेको भन्दै प्रिमियर बेरिजिक्लियनले उनीहरूलाई धन्यवाद दिएकी छिन्।
“म ती समुदाय तथा सामुदायिक नेताहरू प्रति गर्व गर्छु।”
न्यु साउथ वेल्सका अस्पतालहरूमा कोभिड-१९ सम्बन्धी जटिलताका कारण हाल १,१३६ जनाको उपचार भइरहेको छ।
ती मध्ये १९४ जना आइसियुमा छन् भने ७८ बिरामीहरूलाई भेन्टिलेटरमा राखिएको सरकारी भनाई छ।
स्वास्थ्य अधिकारीहरुका अनुसार सघन उपचारका लागि भर्ना गरिएका १९४ सङ्क्रमित मध्ये १५८ जनाले खोप लगाएका छैनन्।
एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्: हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यसका साथै, आफूहरू पश्चिमी तथा दक्षिण-पश्चिम सिड्नीमा कोभिड-१९ को बढ्दो सङ्क्रमित सङ्ख्यालाई लिएर चिन्तित बनेको उनीहरूले बताएका छन्।
ग्लेबे, वाटरलू, रेडफर्न र म्यारिकभीलमा बसोबास गरिरहेका राज्यवासीहरूलाई कोरोनाभाइरसका लक्षण देखिए, तत्काल परीक्षण गराउन पनि न्यु साउथ वेल्स हेल्थले आग्रह गरेको छ।
ती स्थानको ढल परीक्षण गर्दा भाइरस फेला परे पछि राज्यको स्वास्थ्य विभागले खोप लगाउन र परीक्षण गराउन मानिसहरुलाई भनेको हो।
उता, दैनिक कोरोनाभाइरस अपडेटका क्रममा बोल्दै डेपुटी प्रिमियर जोन बारिलारोले रिजनल न्यु साउथ वेल्स लकडाउन मुक्त हुने बारे कुनै निर्णय नभइसकेको जानकारी दिएका छन्।
उनी भन्छन् कि शहरी इलाकाकै जस्तै गरी खोप दरमा प्रगति भएपछि मात्र यसबारे थप कदम चालिनेछ।
“फेरी लकडाउन खुले पछि पनि जनजीवन पहिले कै अवस्था जस्तो भने हुने छैन,” उनले भने।
तर, ग्लाडिस बेरिजिक्लियनले यसबारे थप घोषणा भोलि हुने बताएकी छिन्।
साथै उनले भिक्टोरिया र न्यु साउथ वेल्स बिच यात्रा छिट्टै सुचारु हुने आसा व्यक्त गर्दै भनिन् कि आन्तरिक सीमा सम्बन्धी संवाद पछिल्लो केही समययता परिवर्तित हुँदै छ।
“मानिसहरूले अब त हामीले खोप लगायौँ र कोभिडसँग बाच्न हामी तयार छौँ भन्न थाल्नेछन्,” उनले भनिन्।
भिक्टोरिया
भिक्टोरियामा मध्यरातसम्मको २४ घण्टामा, कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप २२१ नयाँ मामिलाहरू पुष्टि भएको र ती मध्ये ९८ सङ्क्रमितलाई पहिले नै जानकारीमा आइसकेका प्रकोपसँग स्थापित गरिएको छ।
हाल राज्यभर सक्रिय सङ्क्रमणको सङ्ख्या १,९२० रहेको पनि प्रिमियर ड्यानिएल एन्ड्रुजको भनाई छ।
उनी भन्छन् कि हाल राज्यभरका अस्पतालहरूमा कोरोनाभाइरसबाट सङ्क्रमित बनेका १२० बिरामीहरू भर्ना छन् जसमा ३३ जनाको सघन उपचार जारी छ।
यसै गरी १५ जना बिरामीलाई भेन्टिलेटरमा राखिएको पनि उनले बताए।
“अस्पतालमा भर्ती भएका बिरामीहरूमा ८७ प्रतिशतले खोप लगाएका छैनन्,” उनले भने।
“आंशिक खोप लगाउने १३ प्रतिशत छन् भने खोपको पुरै मात्रा लगाएका कोही पनि अस्पतालमा छैनन्।”
तर उनले अधिकांश सङ्क्रमितहरूमा युवाहरू उल्लेखनीय रूपमा देखा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
“सक्रिय सङ्क्रमितको कुरा गर्दा ८६ प्रतिशत त ५० वर्ष मुनिका मानिसहरू छन्,” ड्यानिएल एन्ड्रुजले भने।
यसै गरी, आफ्नो राज्यमा कोरोनाभाइरस विरुद्ध खोपको दुवै मात्रा पाउने बासिन्दाहरूको सङ्ख्या ४० प्रतिशत पुग्नै आँटेको उनले बताएका छन्।
कोभिड-१९ सम्बन्धी आफ्नो दैनिक पत्रकार सम्मेलनका क्रममा भिक्टोरियाली सरकार प्रमुख एन्ड्रुजले सो जानकारी दिएका हुन्।
“राज्य सरकारद्वारा सञ्चालित खोप केन्द्रहरूका लागि हिजो सबैभन्दा ठुलो दिन थियो जहाँ ३६,७१६ मात्रा खोप मानिसहरूलाई दिइएको थियो,” उनले भने।
“पहिलो डोजको मात्रै कुरा गर्दा हामी ६२.२ प्रतिशतमा छौँ भने ३८.६ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन्।”
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
भिक्टोरियाली सरकारले भोलि राति ११:५९ बजेदेखि रिजनल क्षेत्रको लकडाउन अन्त्य हुने पनि घोषणा गरेको छ।
तर हाललाई बृहत् शेपर्टनमा भने लकडाउन थप केही समयका लागि जारी नै रहने प्रिमियर एन्ड्रुजले बताएका छन्।
उनी भन्छन् कि मेलबर्नको तुलनामा रिजनल भिक्टोरियामा सङ्क्रमण सङ्ख्या नगण्य रहेको छ।
“त्यहाँ भाइरसलाई नियन्त्रणमा ल्याइएको छ,” उनले भने।
“पाँच कारण भए मात्र घरबाट निस्कन पाइने व्यवस्था अब लागू हुने छैन।”
“स्कूलहरू फेरी खुल्नेछन् - कक्षा १, २, १२ क्लासको विषयहरू लिएर ११ क्लासमा पढ्दै गरेका र १२ कक्षाका विद्यार्थीहरूका लागि।”
यसै गरी सामाजिक दूरी लगायतका नियमहरूका साथ अन्य व्यापार-व्यवसायहरू पनि खुल्ने उनको भनाई छ।
अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर
आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।
अत्यावश्यक भनेर वर्गीकृत भएका काममा जान, कोभिड-१९ को खोप लगाउन, कोरोनाभाइरस परीक्षण र जरुरी किनमेल लगायत आफन्तजनको हेरचाह गर्न जानुहुन्छ भने चाहिँ तपाईँलाई पाँच किलोमिटरको नियम लागू हुँदैन। भिक्टोरियाली सरकारका अनुसार यस प्रकारको यात्रा प्रतिबन्ध आगामी सेप्टेम्बर २ तारिख रातीको ११:५९ बजेसम्म कायम रहनेछ।*महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:* * बान्युल, * ह्युम, * मोरल्यान्ड, * बेसाइड, * किङ्गस्टन, * मर्निङ्टन पेनिनसुला, * बुरूनडारा, * नक्स, * निलुमबिक, * ब्रिमब्याङ्क, * मनिङ्घम, * पोर्ट फिलिप, * कार्डिनिया, * म्यारीब्नङ, * स्टनिङटन, * केसी, * मरून्डाह, * ह्वाइटहर्स, * डारेबिन, * मेलबर्न, * ह्विट्टलसी, * फ्र्याङ्क्सटन, * मेल्टन, * विन्डह्याम, * ग्लेन आइरा, * मोन्यास, * यार्रा, * ग्रेटर ड्यान्डेनङ, * मूनी भ्याली, * यार्रा रेन्जेस र * हब्सन बे।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
क्यानबेरामा थप २० सामुदायिक सङ्क्रमणका मामिलाहरू मध्यरातसम्मको २४ घण्टामा पुष्टि गरिएको छ।
एसीटीका मुख्यमन्त्री एन्ड्रु बार्र भन्छन् कि ती मध्ये नौ सङ्क्रमितहरूको स्रोत पत्ता लागिसकेको छ।
यसै गरी ती सङ्क्रमितमा सात जना पहिलेदेखि नै क्वारेन्टिनमा बसिसकेका मानिसहरू रहेको र अर्को सात जना समुदायमा सक्रिय रहेका उनले बताए।
थप ११ जनाको बारेमा अनुसन्धान जारी रहेको पनि एन्ड्रु बार्रको भनाई छ।
प्रदेश सरकारले हाल १२ कक्षामा रहेका विद्यार्थीहरूलाई १७ सेप्टेम्बर अगाडी नै खोप लगाउने समय लिन भनेको छ।बार्रका अनुसार एआइएस अरिनामा सञ्चालित खोप केन्द्रलाई ०२ ५१२४ ७७०० मा फोन गरेर खोपका लागि उनीहरूले प्राथमिकताकासाथ बुकिङ गर्न सक्नेछन्।
क्वीन्सल्यान्ड
क्विन्सल्यान्डले बितेका २४ घण्टा यता कोरोनाभाइरसका कुनै पनि नयाँ सङ्क्रमण दर्ता गरेको छैन तर हाल राज्यमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या १७ रहेको छ।
उता, क्वीन्सल्यान्डमा हिजो मङ्गलवार थप २३,०१२ जनाले खोप लगाएको सरकारी भनाई छ।
योसँगै राज्यभर ३५ प्रतिशतले कोभिड-१९ विरुद्ध पूर्ण डोज खोप पाइसकेका छन्।
वैदेशिक यात्राको लागी भ्याक्सिन पासपोर्ट अर्को महिनाबाट
अन्तर्राष्ट्रिय कोभिड भ्याक्सिन पासपोर्ट अक्टोबरदेखि वितरण हुने तयारी भइरहेको बताइएको छ।
सङ्घीय सरकारले विदेश यात्राको तयारी को रूपमा उक्त व्यवस्था लागू गर्न लागेको हो।
पासपोर्टले मानिसहरूलाई आफ्नो खोपको स्थिति अन्तर्राष्ट्रिय रूपमा प्रमाणित गर्न अनुमति दिनेछ।
तर अस्ट्रेलिया फर्कने मानिसहरूले खोपका दुवै मात्रा पाइसकेको प्रमाणित गरेता पनि १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने बाध्यता भने कायमै रहने छ।
सरकारले अस्ट्रेलियाबाट मानिसहरू अन्य देश कहिलेबाट जान सक्नेछन् भन्ने बारे कुनै स्पष्ट सङ्केत भने दिएको छैन।
खोप लगाउनेलाई “विशेष” सुविधा
प्रधानमन्त्रीले खोप लगाएका मानिसहरूलाई विशेष सुविधा उपलब्ध गराइने पनि बताएका छन्।
“किनकि तपाईँले खोप लगाउनुभयो भने तपाईँले कम जोखिम प्रस्तुत गर्नुहुन्छ,” उनले भने।
“तपाईँ सङ्क्रमित हुने खतरा कम रहन्छ र अरूले तपाईँबाट सङ्क्रमित हुने मौका पनि कम हुन्छ।”
देश तेस्रो चरणमा प्रवेश गरिसकेपछि भने घर फर्किन चाहने र खोपको पुरै मात्रा लगाइसकेका अस्ट्रेलियालीहरूको सङ्ख्यामा कुनै सीमा नतोकिने पनि प्रधानमन्त्रीको भनाई छ।
यसै गरी फेज सी नामक उक्त चरणमा विद्यार्थी, आर्थिक तथा शरणार्थी भिसा वाहकहरूका लागि पनि अस्ट्रेलिया प्रवेशमा लागू सङ्ख्या माथिको सीमा बढाइने उनले बताएका छन्।
"त्यसैले म अस्ट्रेलियालीहरूलाई तुरुन्तै खोप लगाउनको लागी त्यो कदम उठाउन प्रोत्साहित गर्दछु।"
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।