अस्ट्रेलियामा रगत दानको आह्वान हुँदै गर्दा विभिन्न नेपाली सामुदायिक संस्थाहरूले नियमित रूपमा रक्तदान अभियान सञ्चालन गर्दै आएका छन्।
अस्ट्रेलियाली रेडक्रसले आफूसित सञ्चित रगत कम भएको भन्दै रक्तदानका लागि आह्वान गरिँदा नेपाली समुदाय उक्त कमी पुरा गर्नका लागि महत्त्वपूर्ण योगदान पुर्याइरहेका हुन्।
रेडक्रसका अनुसार प्रत्येक पाँच अस्ट्रेलियाली रक्तदाता मध्ये केवल एक जना मात्र विदेशमा जन्मेका हुन्छन् जस कारण कम उपलब्ध हुने रगत समूहका बिरामीहरूलाई आवश्यक पर्ने रगतको जोहो गर्दा निकै चुनौतीहरू देखा पर्ने गरेको छ।
अस्ट्रेलियामा रगत र सम्बन्धित उत्पादनहरूको सङ्कलन एवम् वितरणको लागि जिम्मेवार अस्ट्रेलियन रेडक्रसको शाखा - लाइफब्लडकी प्रवक्ता एरिन लागैडाकिस भन्छिन् कि रक्तदानले खाँचोमा परेको व्यक्तिको जीवन बचाउन मद्दत पुर्याउँछ।
अहिलेसम्म अस्ट्रेलियामा मात्र झन्डै ५० पटक रक्तदान गरिसकेका रोशन उपाध्याय उत्तरी मेलबर्न स्थित एक नेपाली सामुदायिक संस्था - एप्पिङ वलर्ट नेप्लिज कम्युनिटीका अध्यक्ष हुन्।
उपाध्याय भन्छन् कि उनले प्लाज्मा दान बढी गर्ने भएकाले पनि आफ्नो रक्तदानको सङ्ख्याले लगभग अर्ध शतक कट्न लागेको हो।
"प्लाज्मा फ्रिक्वेन्टली पनि दिन मिल्छ, त्यो भएर पनि मेरो नम्बर पनि बढेको हो," उनले एसबीएस नेपालीसँग भने।
नेपाली समुदायका थुप्रै मानिसहरू सिफ्टमा काम गर्ने भएकाले पनि अस्ट्रेलियामा नियमित रगत दान गर्ने कुरामा लाग्न नसकेको आफ्नो अनुभव उनी सुनाउँछन्।
उक्त संस्था जस्तै अन्य नेपाली सामुदायिक सङ्गठनहरूले पनि बेला-बखतमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेका छन्।
पश्चिमी मेलबर्नमा खेलकुद लगायत अन्य सामुदायिक कार्यक्रम सञ्चालन गर्ने रोयल वेस्टर्नस् क्लबले गत महिना मात्रै चार दिनसम्मको रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
क्लबका सचिव सुशील चालिसे भन्छन् कि विद्यार्थीहरूको पठनपाठन, काम लगायत समुदायका अन्य मानिसहरूको व्यस्ततालाई ध्यानमा राख्दै केही दिनको कार्यक्रम आयोजना गरेको हौं।
चालिसे ती चार दिनहरूमा लगभग ५० जनालाई रक्तदानमा सहभागी गराउन सकेकोमा सन्तोष व्यक्त गर्छन्।
उनी भन्छन् कि ती मध्ये २८ जनाले पहिलो पटक रक्तदान गरेका थिए।
रोशन उपाध्याय भने रक्तदान गर्ने मानिसहरूलाई प्रतिबद्ध भएर लाग्न अनुरोध गर्दै भन्छन् कि फुर्सद मिले गर्छु भन्नुभयो भने, समय शायदै निस्कन्छ।"
"रक्तदान गर्दा मिल्ने खुसी, रगत कहिल्यै पनि नदिएका मानिसले थाहै पाउँदैन।"
चालिसे उपाध्यायको कुरामा सहमत छन्।
उनी भन्छन् कि नेपालीहरू प्राय:लाई रक्तदान भनेको जीवनदान हो भनेर थाह छ र रगत दान पछि आत्मसन्तुष्टि पाइन्छ भन्ने पनि धेरै जनाको बुझाइमा छ, तर केही मानिसहरूमा भने रक्तदानलाई लिएर भ्रम एवम् त्रास दुवै पनि रहेको आफ्नो अनुभव उनी सुनाउँछन्।
"मैले रक्तदान गरेर, मेरो शरीरमा केही खराबी आउँछ कि ... रगत दिँदा केही भइहाल्यो भने, जस्तो एक खालको मानसिकता मैले भेटेको छु," उनले भने।
अन्य सामुदायिक कार्यक्रमहरू भन्दा रक्तदानमा खास गरेर महिलाहरूको सहभागिता एकदमै न्यून रहने गरेको दुवै उपाध्याय र चालिसेको अनुभव छ।
यसको थोरै अपवादका रूपमा केही महिलाहरू नभएका होइनन्।
कोही रगत दिनकै लागी भनेर महिना दिन अघि देखि नै आइरन सप्लिमेन्ट लिने पनि छन् भन्छन् चालिसे।
आफूले आइरन चक्की नलिए पनि रगत दिने काम चाहिँ समाजसेवाको रूपमा गरेको बताउने एक महिला हुन् बबी लामा।
सचेतना, ज्ञान र पारिवारिक कारणहरूले महिलाहरूको सहभागिता रक्तदान जस्तो अति महत्त्वपूर्ण सामुदायिक क्रियाकलापमा निकै कम हुने गरेको लामाको ठम्याई छ।
उनी भन्छिन् कि अन्य आफू जस्तो एकल अभिभावकले त समय निकाल्न सक्छन् भने अन्य मानिसहरूलाई समय निकाल्न खासै गाह्रो हुनु नपर्ने हो।
"जहाँ इच्छा, त्यहाँ उपाय त भइहाल्छ नि!" लामाले एसबीएस नेपालीसँग भनिन्।
विशेष गरेर दिदी-बहिनीहरूलाई रगत दानका लागि प्रोत्साहन गर्न साथीसङ्गीकै ठुलो भूमिका रहन्छ जस्तो लाग्छ, म पनि मेरो साथीले दिएको देखेरै नै यसमा लागेकी हुँ।
उपाध्याय अरूलाई रक्तदान प्रति उत्साहित गर्नैका लागि पनि, हरेक पल्ट आफूले रगत दान गरे पछि उक्त अवसरको तस्बिर सामाजिक सञ्जालमा हाल्छन्।
"मैले कति पल्टसम्म रगत दिएँ भनेर भन्दा पनि, रक्तदानको प्रक्रिया कति सहज, सरल र नियमित रूपमा हुनसक्छ भनेर आफ्ना साथीभाइलाई देखाउन म आफूले रगत दिएको फोटो हाल्छु," उनले भने।
"मेरो फेसबुक पोस्टहरू देखेर पनि धेरै जना मोटिभेट हुनुभएको छ।"
यस्तै प्रोत्साहनको कुरा गर्दा, सुशील चालिसे भन्छन् कि आफूहरूको कार्यक्रममा १०० औँ पटक भन्दा बढी रगत दिने एक जना सहभागीका कारण पनि धेरैमा हौसला अभिवृद्धि भएको छ।
"डा. सन्देश पन्थले अस्ट्रेलियामा ४७ पटक तथा नेपाल र बाङ्ग्लादेशमा समेत गरेर ११७ पटक (रगत) दिइसक्नुभएको रहेछ," उनले भने।
"उहाँलाई देख्दा हाम्रा नयाँ (रक्तदाता) साथीहरूमा हौसला, जोस, जाँगर बढेको पनि पायौँ।"
लाइफब्लडका अनुसार ९० प्रतिशत भन्दा बढी नयाँ रक्तदाताहरूले पहिलो पटक रगत दान गर्दा वा गरिसकेपछि रमाइलो अनुभूति गर्छन् भने एकदमै थोरै मानिसहरूले मात्र रिँगटा लागेको वा थकान महसुस गर्छन् जसको बारेमा चिन्तित हुन नपर्ने जानकारहरू बताउँछन्।
लाइफब्लडकी लागौडाकिसका भन्छिन् “कहिले काहीँ भने रगतको दबाब वा ब्लड प्रेसर एक्कासि तल झर्दा केही गाह्रो महसुस हुन सक्छ।”
“यो हुन नदिन, पर्याप्त मात्रामा पानी, जुस जस्ता पेय पदार्थ (मदिराजन्य होइन) पिउनु पर्ने र पुरुषको हकमा रगत दिने दिन भन्दा अघिल्लो दिन १० गिलास पेय पदार्थ वा महिलाहरू भए ८ गिलास पिउनुहोस् ।”
साथै, रगत दिने दिन चाहिँ आफ्नो अन्तर्वार्ता भन्दा अगाडि ३ गिलास पेय पदार्थ पिउँदा सजिलो हुने पनि उनी बताउँछिन्।
लामाको यस्तै अनुभव रहेको छ।
उनी भन्छिन् कि तन्दुरुस्त पुरुषहरूको तुलनामा महिलाहरूलाई रगत झिक्न समय बढी लाग्छ तर यसबाट प्राप्त हुने आनन्दले मन हलुङ्गो बनाउन सहयोग गर्छ।
चालिसे भने नेपाली पृष्ठभूमिका मानिसहरूमा "यस्तै हो, भइहाल्छ नि" भन्ने मानसिकताका कारण नियमहरू पछ्याइहाल्ने बानी छैन जसका कारण कहिलेकाहीँ अनावश्यक समस्याहरू देखा पर्ने गरेका छन्।
उनी भन्छन् कि रक्तदानका लागि दर्ता भएपछि लाइफब्लडले के-गर्ने, के-नगर्ने भनेर सन्देशहरू पठाउँछ जुन पालना गरे रगत दान गर्ने बेलामा सजिलो हुन्छ - जस्तो कि रगत झिक्दा सहजै आउँछ।
"तर, कतिपय साथीहरूले भने, (त्यस्ता सन्देशहरू) हेर्दा हेर्दै पनि फलो नगर्दा, सुई घोचिसकेपछि पनि रगत (राम्ररी) नआउने केस पनि मैले भेटेँ," उनले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा भने।
सुई घोचेर ब्लड नआउँदा...सुई घोचिसकियो, दुखाई भइसक्यो, समय दिइसक्यौँ, हामी गइसक्यौँ, हामीले हाम्रो तर्फबाट त्याग गरिसक्यौँ तर त्यो समय उपलब्धिहीन भयो, रगत दिन पाइएन भन्दा मनमा आत्मग्लानि पनि भयो नि त!
हालसम्म अस्ट्रेलियामा २२ पटकसम्म रक्तदान गरिसकेका चालिसे कहिले आफ्नो रगत तास्मेनिया त कहिले नर्दन टेरिटरी पुगेर अरूको जीवन रक्षामा काम आएको सुन्न पाउँदा निकै हर्षित हुने बताउँछन्।
लामा भने त्यस्तो सन्देश आँँऊदा आफ्नो अस्तित्व कसरी अन्य मानिससँग जोडिँदो रहेछ भनेर बुझ्ने मौका मिल्ने तर्क राख्छिन्।
"मलाई खुसी लाग्छ, म एउटा मानवको रूपमा अरूलाई फाइदा पुर्याइरहेको छु भनेर थाहा पाउँदा गर्व लाग्छ।"
यसरी आफ्नो रगत कहाँ र कसरी प्रयोग भयो भन्ने बारे सूचना पुरा रगत दान गर्ने मानिसहरूलाई मात्र पठाइने लाइफब्लडको भनाई छ।
उक्त संस्थाका अनुसार, प्लाज्मा वा प्लेटलेट्स विविध कार्यका लागि प्रयोग हुने भएकाले साधरणतया त्यसबारे निश्चित जानकारी दातालाई दिन सकिँदैन।
बबी लामा अरू महिलालाई एक पटक गएर रक्तदान गरेर कस्तो अनुभूति हुन्छ, सो कुरा जान्न अनुरोध गर्छिन्।
उनी भन्छिन् कि मानिस-मानिस बिचको नाता, रगत दिएर मात्रै अझ प्रगाढ हुन्छ।
उता, लाइफब्लडकी कार्यकारी निर्देशक क्याथ स्टोन भन्छिन् कि रक्तदानको महत्त्व केवल रगत उपलब्ध गराउनु मात्र होइन।
"यो रातो तत्त्वको मात्र कुरा होइन, प्लाज्मा तथा प्लाज्माजन्य औषधी कयौँ मानिसहरूका लागि उनीहरूको उपचारको अन्तिम उपाय हुन सक्छ - जस्तै कि क्यान्सर, अटो इम्युन, रक्तस्राव वा आगोले पोलिएका बिरामीहरू।"
स्टोनका अनुसार रगतमा पाइने प्लेट्लेट्सलाई शरीर भन्दा बाहिर बढीमा पाँच दिनसम्म मात्र राख्न सकिने हुँदा पनि निरन्तर रक्तदान आवश्यक छ।
जन्मदिन जस्ता दिनहरूमा केही दान दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउने रोशन उपाध्यायले आफू लगायत आफ्ना छोरा-छोरीहरूको जन्मोत्सव वा वैवाहिक वार्षिकोत्सव जस्ता विशेष दिनहरूमा पनि रगत दान गर्ने परम्परा बसाले बृहत्तर समुदायलाई सहयोग पुर्याउन सकिने पनि बताए।
नेपालमा बस्दा पनि बेला मौकामा रक्तदान गर्ने बताउने उपाध्यायका अनुसार अस्ट्रेलियामा आफूलाई पायक परेको जुन सुकै बेला पनि रगत दिन सकिने भएकाले र कामबाट पनि रक्तदानका लागि जान विशेष बिदा मिल्ने हुँदा, उता भन्दा यता धेरै पटक पालो पुगेको स्पष्ट पारे।
रक्तदान गर्दा जान्नुपर्ने कुराहरू
लाइफब्लडकी एरिन लागौडाकिसका अनुसार अस्ट्रेलियामा रक्तदान गर्न चाहने मानिसहरूको उमेर घटीमा १८ वर्ष र बढीमा ७५ हुनुका साथै उनीहरूले रगत दिने बेलामा अस्वस्थ महसुस गर्नु हुँदैन।
साथै रक्तदान गर्ने इच्छा भएका मानिसहरूको तौल कम्तीमा पनि ५० किलो हुनुपर्ने उनले बताइन्।
मानिसहरूलाई आफू रक्तदानको लागि योग्य छु कि छैन भन्ने दुबिधा भए, लागौडाकिस ब्लडलाइफलाई सम्पर्क गर्न सुझाव दिन्छिन्।
रगत दिने दिन मानिसहरूले उपवास वा वर्त लिएका छन् भने उनीहरूले त्यस्तो दिन रक्तदान दिन नहुने पनि ब्लडलाइफको भनाई छ।
लागौडाकिस भन्छिन् कि सामान्य खानपिन गर्ने दिन मात्र रक्तदानको लागि उपयुक्त हुन्छ।
पुरा रगत दान गर्दा ५-१० मिनेट भित्रै सबै प्रक्रिया पुरा हुने भएता पनि प्लाज्मा दिन अलिक बढी समय लाग्ने उनको भनाई छ।
“आफूलाई रमाइलो हुने क्रियाकलाप गर्दा समय गएको पत्तो नै हुँदैन - यसै भएर रगत दिने बेला एक्लै जानुभएको छ भने पढ्न मन लागेको पुस्तक वा ट्याब्लेट, फोन जस्ता उपकरण लिएर डोनेसन सेन्टर जाँदा रक्तदानको प्रक्रिया सजिलो र रमाइलो हुन्छ।“
"रक्तदानको समय त जम्माजम्मी ५-१० मिनेट मात्रै हो," उनले स्पष्ट पार्दै भनिन्।
तर उपाध्याय भने रगत निकाल्न समय नलाग्ने भएता पनि, प्रशासनिक कामका लागि समय बढी लाग्ने बताउँदै, डोनर सेन्टरका लागि डेढदेखि अढाई घण्टासम्म छुट्ट्याएर आफ्नो समय मिलाउन सुझाव दिन्छन्।
अस्ट्रेलियामा सबै प्रकारका रगतको उत्तिकै माग भएता पनि विशेष रूपमा 'ओ नेगेटिभ' लगायत 'ओ प्लस', 'ए प्लस' र 'ए नेगेटिभ' को ज्यादा आवश्यकता रहेको लाइफब्लडको भनाई छ।
सन् २०२० को अन्त्यदेखि लाइफब्लडले रगत दान दिने दाताहरूलाई स्वैच्छिक रूपमा आफ्नो जातीय वंशजको बारेमा जानकारी उपलब्ध गराउन आग्रह गर्न थालेको छ।
एरिन लागौडाकिस यसो गर्नुको कारण खुलाउँदै भन्छिन् कि ती जानकारीहरू उपलब्ध भए कुनै जाती विशेषमा अति कम रूपमा पाइने रक्त समूहका बारेमा जान्न सजिलो हुन्छ र सोही प्रकारले उक्त रगतको समूह कुन जातिका मानिसहरूमा बढी हुन्छ भनेर पनि थाहा हुन्छ।
हाल अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरूको आधा जति सङ्ख्या कि त विदेशमा जन्मे हुर्केका छन् कि त उनीहरूका आमाबुवा।
रेडक्रसका अनुसार प्रत्येक पाँच अस्ट्रेलियाली रक्तदाता मध्ये केवल एक जना मात्र विदेशमा जन्मेका हुन्छन् जस कारण कम उपलब्ध हुने रगत समूहका बिरामीहरूलाई आवश्यक पर्ने रगतको जोहो गर्दा निकै चुनौतीहरू देखा पर्ने गरेको छ।
उक्त संस्थाकी डा. एलिसन गौल्ड भन्छिन् कि अस्ट्रेलियाको जनसङ्ख्याको विविधतामा वृद्धि हुँदै जाँदा स्वास्थ्योपचार आवश्यक पर्ने मानिसहरूका रगतको माग पनि सोही अनुपातमा फरक फरक हुन थालेको छ।
उनका अनुसार अस्ट्रेलिया मात्र नभएर विश्वका अन्य मुलुकहरूमा पनि यस्तै समस्याहरू देखा परिरहेका छन्।
पहिलो पटक रगत दिने मानिसहरूका लागी उपयोगी सुझावहरू
पहिलो पटक रगत दिन आउने मानिसहरूले आफ्नो डोनर सेन्टरका कर्मचारीहरूलाई मनमा लागेका कुराहरू निर्धक्क भएर सोधे, सजिलो हुन्छ।
कहिले काहीँ भने रगतको दबाब वा ब्लड प्रेसर एक्कासि तल झर्दा केही गाह्रो महसुस हुन सक्छ।
रगत दिँदा, हातका माँसपेशीहरुको साधारण व्यायाम गरेर पनि ब्लड प्रेसरलाई सही गर्न सकिन्छ।
हाल भौतिक दूरी कायम गर्नुपर्ने नियमहरूका कारण, रगत दिन जाँदा आफ्नो अन्य साथीभाइ वा आफन्तजनलाई कुरा गर्ने साथीका रूपमा लिएर नजानुहोस्।
तर, कोही यसो बोल्न आइदिए हुन्थ्यो भन्ने लाग्छ भने आफूले रगत दिन ठाउँका कर्मचारीलाई यस बारेमा अनुरोध गर्न सक्नु हुनेछ।