हाल ठुलो सङ्ख्यामा दर्ता भएका पार्टनर भिसाका आवेदनहरुलाई सक्दो छिटो टुंगाउन जरुरी रहेको प्रतिनिधि सभाका सदस्यको भनाइ छ।
कोरोनाभाइरसका कारण हाल बन्द रहेका अस्ट्रेलियाली सीमा पुनः खुल्न थालेपछि हाल प्रदान गरिने पार्टनर भिसाको सङ्ख्यामा व्यापक वृद्धि गरिनुपर्ने सङ्घीय लेबर सांसद जुलियन हिल ले बताएका छन्।
सन् २०१८ -१९ को तुलनामा आगामी आर्थिक वर्ष अस्ट्रेलिया भित्रिने आप्रवासी सङ्ख्या ८५ प्रतिशतले घट्ने भनि गत महिना प्रधानमन्त्री स्कट मोरिसनले बताए पछि, कोरोनाभाइरसका कारण परेका आर्थिक असर बाट देशलाई उकास्न आप्रवासीहरुको भूमिकाबारे राजनीतिक बहस पनि सुरु भैसकेको छ।
यसैक्रममा ब्रुस नामक भिक्टोरियाली सङ्घीय सिट बाट अस्ट्रेलियाली लेबर पार्टीको लागि निर्वाचित भएका जुलियन हिल ले हाल अध्यागमन बिभाग समक्ष रहेका पार्टनर भिसाका झन्डै एक लाख आवेदनहरु सक्दो चांडो टुंगाउन जरूरी रहेको बताएका छन्।
त्यसो गर्नु आर्थिक र नैतिक कारणले पनि महत्वपूर्ण रहेको उनले एसबीएसलाई बताए।
"हाल देशको सीमा बन्द रहेको समयमा, आप्रवासी सङ्ख्या पनि धेरै घटेको छ, यस्तो अवस्थामा टुंगाउन बाकी रहेका पार्टनर भिसाहरु बारे कदम चाल्नुनै सबै भन्दा उपयुक्त कदम हुनसक्छ, देशको आप्रवासी कार्यक्रमलाई पुनः सुरुगर्ने यो नै सबै भन्दा उपयुक्त कदम हुनसक्ने छ," हिल बताउछन्।
"यी मानिसहरुको पहिले देखिने अस्ट्रेलियासंगको बलियो पारिवारिक सम्बन्ध रहेको छ, उनिहरुसंग बस्ने ठाउँ छ, यहाँ आएको पहिलो दिन देखिनै उनिहरुलाई बसोबास र अस्ट्रेलियाको लागि आर्थिक योगदान प्रदान गर्न सहयोग उपलब्ध रहने छ।"
"साथै हाल गृह मामिला बिभागसंग रहेका झन्डै एक लाख भिसाका आवेदनहरु बारे कदम चाल्ने अहिले उपयुक्त समय भएको छ, साथै अस्ट्रेलियाको सीमा खुल्ने बित्तिकै उनिहरुले यहाँ आफ्नो जीवन सुरुगर्न सहयोग गर्न जरुरी रहेको छ," उनले भने।
गृह मामिला बिभागका अनुसार सन् २०१७ -१८ मा सङ्घीय सरकारले ४० हजार भन्दा कम पार्टनर भिसा प्रदान गरिएको थियो। र उक्त सङ्ख्या सन् २०१६-१७ मा ४७,८२५ रहेको थियो।
लेबर सांसद हिलले सरकार द्वारा प्रदान गरिनुपर्ने भिसा सङ्ख्या त तोकेनन तर उक्त निर्णय 'माग' अन्तर्गत केन्द्रित रहनुपर्ने बताए।
"नक्कली आवेदन र झुठो सम्बन्धहरुका साथ् हालिएका आवेदनबारे उपयुक्त कदम चालिनु जरूरी रहेता पनि, विदेशमा विवाह गर्ने र आफ्नो श्रीमान वा श्रीमतीलाई यहाँ ल्याउने अधिकार अस्ट्रेलियालीहरु समक्ष रहन आवश्यक छ।"
हाल पार्टनर भिसाको लागि आवेदन हालेकाहरुले दुई वर्ष सम्म पर्खनु परेको गृह मामिला मन्त्रालयले बताएको छ।
यस्ता ढिलाईहरुले आफ्नो श्रीमान वा श्रीमती बाट टाढा बस्न हजारौं अस्ट्रेलियालीहरुलाई बाध्य बनाइरहेको जुलियन हिलको भनाइ छ।
केहि हप्ता अगाडी बिपक्षी लेबर पार्टीकि गृह मामिला सम्बन्धि छायाँ मन्त्री क्रिस्टिना कनेली ले कोरोनाभाइरसका कारण अर्थतन्त्र बन्द रहेको अवस्थामा देशको आप्रवासी नीतिमा बदलाव गर्दै अस्थायी कामदारहरुको सङ्ख्या घटाउनु पर्ने बताएकी थिइन्।
जुलियन हिलले पनि आफ्ना सहकर्मी द्वारा व्यक्त गरिएका केहि विचारहरु प्रति आफ्नो समर्थन रहेको बताएका छन्।
सङ्घीय सरकारले स्थायी आप्रवासीहरुको सङ्ख्या घटाएर राष्ट्रिय हीतको लागि काम नगरेको उनले आरोप लगाए। अस्थायी भिसा योजनालाई प्राथमिकतामा राखेर सरकारले गलत काम गरेको उनको भनाइ थियो।
गत महिना मात्र कार्यवाहक अध्यागमन मन्त्री एलन टज ले पार्टनर भिसाका लागि आवेदन हालेकाहरुलाई कोरोना भाइरसको संकटले झनै गारो अवस्थामा पुर्याएको आफुले बुझेको बताएका थिए।
आवेदनहरु प्रक्रियामा दबाब रहेकोबारे पनि उनले एबीसीसंगको कुराकानीमा सुइकार गरेका थिए।
तर अहिलेको अवस्थामा सरकारले खालि अस्ट्रेलियाली नागरिक र स्थायी वासीहरुलाई मात्र देश भित्र्याउन आफ्नो ध्यान केन्द्रित गरिरहेको उनको भनाइ थियो।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: