"यस नयाँ सहायता प्याकेजले आफ्नो कुनै गल्ति बिना ठुलो कठिनाइको सामना गरिरहेका अस्ट्रेलियालीहरुलाई अत्यावश्यक बनेको राहत प्रदान गर्ने र मानिसहरुको ज्यान र जीविका सुरक्षित सरकारको ध्यान केन्द्रित रहेको छ।"
कोरोनाभाइरसको महामारी बाट प्रभावित भएका अस्ट्रेलियालीहरुका लागि मानसिक स्वास्थ्य, घरेलु हिंसा, मेडिकेयर र आपतकालीन खाद्य सहयोगका लागि १.१ अर्ब डलरको आर्थिक प्याकेजको प्रधानमन्त्री स्कट मोरिशनले गरेका छन्।
आज राजधानी क्यानबेरा स्थित संसद भवनमा आयोजना भएको एक पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले भने कि तुरुन्तै लागु हुने उक्त सहयोगले कोरोनाभाइरसको फैलादो सङ्क्रमण का कारण देखिएका स्वास्थ्य र आर्थिक संकट बाट मानिसहरुलाई राहत प्रदान गर्नेछ।
अस्ट्रेलियालीहरु पछिल्लो अवस्था प्रति चिन्तित र भयभीत रहेको बारे आफुले राम्रोसंग बुझेको उनले बताए।
"यस नयाँ सहायता प्याकेजले आफ्नो कुनै गल्ति बिना ठुलो कठिनाइको सामना गरिरहेका अस्ट्रेलियालीहरुलाई अत्यावश्यक बनेको राहत प्रदान गर्ने र मानिसहरुको ज्यान र जीविका सुरक्षित सरकारको ध्यान केन्द्रित रहेको छ।"
मेडिकेयर मार्फत घरबाटै चिकित्सक परामर्श
कोरोनाभाइरसका कारण देशभरका अस्पताल र स्वास्थ्य निकायहरु माथिको भार कम गर्न भन्दै अब देखि मानिसहरुले आफ्नो घर बाटै आफ्ना डाक्टरहरुसंग परामर्श गर्न सक्ने भएका छन्।
मेडिकेयर अन्तर्गत सहुलियत प्रदान गरिने उक्त प्राथमिक स्वास्थ्य सेवाका लागि सरकारले ६६९ मिलियन डलर लगानी गर्ने छ।
साथै जीपी र अन्य स्वास्थ्यकर्मीहरु पनि उक्त योजनामा संलग्न भएको सुनिश्चित गर्न प्रोत्साहनका थप नीति अगाडी ल्याउने पनि प्रधानमन्त्री स्कट मोरिशनले बताएका छन्।
उक्त पछिल्लो सरकारी कदमको मतलब अब मानिसहरुले आफ्नो घर बाटै आफ्ना नियमित डाक्टर, मानसिक स्वास्थ्य, गर्भवती परामर्श, लगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन्।
टेलिफोन, वा फेसटाइम जस्ता भिडियो संवाद सेवाको प्रयोग गर्दै मानिसहरुले अटिजम र नियमित कार्यालय समय भन्दा बाहिर पनि स्वास्थ्य अधिकारीहरुलाई सम्पर्क गर्न पाउने छन्।
आगामी ३० सेप्टेम्बर २०२० सम्म लागु हुने उक्त योजनाका साथ् बिरामीहरुले व्यक्तिगत रूपमा आफ्ना डाक्टरहरुलाई शुल्क तिर्न नपर्ने बनाउन, 'बल्क - बिलिङ्ग" गर्ने जीपीहरुलाई प्रदान गरिने आर्थिक दर दोब्बर बनाइने छ, साथै टेलि-हेल्थ मार्फत परामर्श गर्न नसकिने मानिसहरुलाई भेटेरै उपचार प्रदान गर्न पनि थप प्रोत्साहन नीति लागु गरिने सरकारको भनाइ छ।
घरेलु हिंसा सहयोग
कोरोनाभाइरस सङ्क्रमणका कारण घरेलु, पारिवारिक र यौन हिंसाको सामना गरिरहेकाहरुका लागि पनि सरकारले १५० मिलियन डलरको प्रारम्भिक राहत सहयोगको घोषणा गरेको छ।
पछिल्ला समयमा घरेलु हिंसा विरुद्ध उपलब्ध रहेका सहयोगहरु बारे गुगलमा ठुलो संख्यामा जानकारी मानिसहरुले खोजि गरेको उदाहरण दिंदै सरकारले महिला र बालबालिका विरुद्धको हिंसा घटाउने राष्ट्रिय योजना अन्तर्गत पछिल्लो आर्थिक लगानी गरिने छ।
हिंसा बाट पीडित भएका उआ पीडित हुने सम्भावना रहेकाहरुको अल्प र दीर्घकालीन सहायताको लागि परामर्श सेवाहरुमा थप लगानी गरिने, मानव तस्करी, श्रम शोषण र जबर्जस्ती भएका विवाहका पीडितहरुलाई पनि सहयोग प्रदान गरिने छ।
मानसिक स्वास्थ्य सहयोग
अस्ट्रेलियालीहरुको मानसिक स्वास्थ्यलाई सहयोग गर्न ७४ मिलियन डलरको प्रारम्भिक लगानी गर्ने पनि स्कट मोरिशनले घोषणा गरेका छन्।
यस अन्तर्गत कोरोनाभाइरसका कारण आइसोलेसनमा बसेका परिवार र बालबालिकाहरुलाई कसरी सहयोग गर्ने, उनीहरुलाई स्पष्ट र तथ्यमा आधारित जानकारी कसरी दिने बारे बुझाउन सरकारले एक वेबसाइट पनि सुरु गरेको छ।
www.headtohealth.gov.au ठेगाना रहेको उक्त वेबसाइटमा मानिसहरुले आफुलाई स्वस्थ राख्न अपनाउन सक्ने उपायहरु बारे पनि जानकारी रहेका छन्।
कोरोनाभाइरसका कारण आफ्नो जागिर गुमाएका वा आर्थिक संकटमा परेका मानिसहरुले बियोण्ड ब्लु नामक मानसिक स्वास्थ्य परामर्श संस्थाबाट थप सहयोग पाउन सक्ने छन्। उक्त सेवा प्रदान गर्न बियोण्ड ब्लुलाई सरकारले १ करोड डलर दिंदै छ।
साथै मानसिक स्वास्थ्य सहयोग प्रदान गर्ने संथाहरुका लागि १ करोड ४० लाख डलर प्रदान गरिने छ।
कोरोनाभाइरसको उपचार र रोकथाममा लागेका स्वास्थ्य कर्मीहरुलाई परामर्श र सामाजिक सहायताका लागि विशेष अनलाइन सेवा पनि सुरु गरिने सरकारको भनाइ छ।
जोखिममा रहेका मानिसहरुलाई सहयोग गर्न भन्दै आपतकालीन बसोबास र खाना प्रदान गर्ने च्यारिटी र अन्य सामुदायिक संस्थाहरुका लागि पनि सरकारले थप २०० मिलियन डलरको घोषणा गरेको छ।
सामुदायिक सहायता प्याकेज अन्तर्गत खाना र बस्ने लगायत बिल तिर्न पनि सहयोग उपलब्ध गराइने छ।
साथै ब्याज दर बिनाको ऋण उपलब्ध गराउन र आर्थिक संकटमा परेकाहरुलाई निशुल्क परामर्श उपलब्ध गराउन पनि सरकार तत्पर रहेको प्रधान मन्त्री स्कट मोरिशनले बताए।
कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।
यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।
कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र अन्य जानकारी यहाँ उपलब्ध छन्: https://www.sbs.com.au/language/nepali/coronavirus-updates