अस्ट्रेलियाले शरणार्थी भिसा प्रदान गरेको १,२०० भन्दा बढि मानिसहरूको देश भित्रन चाहिने यात्रा सम्बन्धि छुटका लागि परेका निवेदन अस्वीकृत गरिदिएको छ।
आफ्नो खोजबिनका क्रममा गृह मामिला मन्त्रालयबाट पाएको आँकडा अनुसार गत वर्षको अगस्ट महिना यता १,२५१ जनाको निवेदन अस्वीकृत भएको एसबीएस न्युजले पाएको हो।
कोभिड-१९ महामारीका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा हाल अस्ट्रेलियाली नागरिक, अन्य स्थायी बासिन्दा र उनीहरूका केही अत्यन्त निकट सम्बन्धीहरूका लागि मात्र खुला छ।
अन्य सबै मानिसहरूले भने अस्ट्रेलिया प्रवेश गर्नु परेमा विशेष अनुमतिका लागि दरखास्त हाल्नुपर्छ।
यस्तै "अन्य" को कोटीमा पर्छन् शरणार्थी भिसाका आवेदकहरू पनि।
प्राय गरेर अस्ट्रेलियामा शरण माग्ने मानिसहरूलाई उनीहरू विदेशी भूमिमा नै रहँदा मानवीय भिसा प्राप्त हुन्छ।
स्थायी रूपमा अस्ट्रेलिया बस्न पाउने अधिकार सहितको भिसा भने उनीहरूले यहाँको भूमिमा पाइला टेके पछि मात्र पाउँछन्।
तर, महामारी सुरू भए यता, अस्ट्रेलियामा शरण पाउने आस राखेका थुप्रै मानिसहरू विदेशी भूमिमा नै रोकिएका कारणले गर्दा ती शरणार्थीहरूलाई मानवीय दृष्टिकोणले पनि यात्राका लागि छुट हुनुपर्ने माग अगाडी सार्न थालिएको छ।
सन् २०२० को अगस्ट १ तारिखदेखि गत मे महिनाको २४ तारिखका बिचमा शरणार्थी भिसा पाएका १,८२६ जनाले अस्ट्रेलिया यात्राका लागि निवेदन दिएकोमा १,२५१ वा ६९ प्रतिशतको अनुरोध अस्वीकृत भएको थियो।
तर, अस्ट्रेलियाली सीमा सुरक्षा हेर्ने अस्ट्रेलियन बोर्डर फोर्सका एक प्रवक्ताका अनुसार भने यात्रा छुटका लागि परेका निवेदनहरू अस्वीकृत गर्ने निर्णय हल्का रूपमा नहुने बताउँछन्।
"मानवीय भिसा धारक वा उनीहरूका तर्फबाट परेको निवेदन माथि कमिस्नरद्वारा अन्तिम निर्णय हुनु अघि एक वरिष्ठ कार्यकारी अधिकृतद्वारा मानवीय कार्यक्रमको दृष्टिकोणबाट ध्यानपूर्वक विचार गरिन्छ," ती प्रवक्ताले भने।
"जब बोर्डर पुनः खुल्छ र अन्तर्राष्ट्रिय यात्रा सुचारु हुन्छ, तब विभागले प्रत्येक भिसाका शर्तहरूको पुनरावलोकन गर्नेछ र आफ्ना सेवाग्राहीहरूलाई उनीहरूको अस्ट्रेलियासम्मको यात्रा कसरी मिलाउन सकिन्छ भनेर सल्लाह दिनेछ।"
तर रेफ्युजी काउन्सिल अफ अस्ट्रेलिया भनिने अस्ट्रेलियाको शरणार्थी परिषद्मा एक वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्यरत रहेकी लुइस ओलीफ भन्छिन् कि अस्ट्रेलियाको शरण पाएर पनि अन्य मुलुकमा अत्यन्त दयनीय स्थितिमा बस्न बाध्य हुनु निकै अचम्म लाग्दो कुरा हो।
उनका अनुसार मानवीय भिसा पाइसकेकाहरूलाई अस्ट्रेलिया प्रवेशको स्वीकृति प्रदान गरिनुपर्छ जसको मद्दतले उनीहरू आफ्नो यात्रा बारे काम गर्न सक्छन्।
"समाधानहरू हाल उपलब्ध रहेकै क्षमताहरू भित्रबाट नै प्राप्त गर्न सकिन्छ," उनले भनिन्।
"अस्ट्रेलिया प्रवेशको अनुमति पाए भने उनीहरूले आफ्नो टिकट बुक गर्ने लगायतका काम गर्न सक्थे।"
ओलीफ अगाडी भन्छिन् कि शरणार्थीहरूलाई लामो समयसम्म न यताको न उताको बनाएर राख्दा उनीहरूले आफ्नो विस्थापित जीवनको समाधान नपाउन पनि सक्छन्।
"अन्योलको स्थिति लम्बिँदै जाँदा उनीहरू थप असुरक्षित पनि हुन्छन् किनकि आफ्ना बालबालिकाको पढाई र स्वास्थ्य हेरचाहको आवश्यकता हुने परिवारजनका लागि समय त्यसै व्यथित हुन्छ," उनी भन्छिन्।
"यसका परिणामहरू जिन्दगीभरका लागि भोग्नुपर्छ।"
क्यानबेरामा रहेको शरणार्थीका लागि संयुक्त राष्ट्र उच्चायुक्त (युएनएचसीआर)को बहु-देशीय कार्यालयले पनि सबै मानवीय भिसा धारकहरूको हकमा यात्रा छुट दिने बारे मोरिसन सरकार समक्ष आग्रह गरेको छ।
उक्त कार्यालयका एक प्रवक्ताले एसबीएस न्युजलाई भने कि पुनर्वासका लागि भिसा लिएका शरणार्थीहरू अस्ट्रेलियामा प्रवेश गर्न पाउने बारे सबै विकल्पहरू माथि ध्यान दिन युएनएचसीआर माग गर्दछ।
"घरेलु रूपमा हामी सबै दबाबमा रहेता पनि जोखिममा रहेकाहरूको अवस्थाले हामीलाई अगाडी बढ्ने बाटो पहिल्याउनै पर्ने बाध्यता छ।"
हामीलाई कृपा गरेर आसा दिनुहोस्
अस्ट्रेलियाले माथि उल्लेखित बाहेकका मानिसहरूलाई देश भित्रिन यात्रा छुट दिने बारे खासै चासो नदेखाएता पनि असुरक्षित भिसा धारकहरूले त्यस्ता छुटका लागि निवेदन हाल्ने क्रममा कुनै कमी नआएको बताइएको छ।
अफगानिस्तानबाट भागेकी हजारा समुदायकी सिदिका फकीहीलाई सन् २०२० मा मानवीय भिसा प्रदान गरिएको थियो।
गएका सात वर्षदेखि इन्डोनेसियामा रहेकी उनीसँग न त काम गर्ने अधिकार नै छ, न त अनुदानित औषधोपचारसम्मको पहुँच।
उनले अस्ट्रेलिया आउनका लागि दुई हप्ता अगाडी यात्रा छुट बारे निवेदन हालेकी छिन्।
फकीही भन्छिन् कि उनीहरू कुरेर बसेका छन्, आसा र प्रार्थना गर्दै।
""सबैभन्दा खराब कुरा यो हो कि यहाँ हामीमध्ये धेरैलाई मानवीय भिसा दिइएको छ र हामी अस्ट्रेलियाको नजिक छौँ, तर फसेका छौँ; हामी यो भिसा पाएकोमा आभारी छौँ र नयाँ जीवन सुरु गर्न चाहन्छौँ," उनले भनिन्।
"यदि शक्तिमा रहेका मानिसहरूले यो पढिरहेका छन् भने कृपया हामीलाई आशा दिनुहोस्।"