Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

४८५ भिसामा रहने नेपाली विद्यार्थीहरूलाई पढाइ अनुसारको काम पाउन किन गाह्रो?

फाइल फोटो: नेपाली विद्यार्थीहरु एक कार्यशालामा Source: Niraj Thapa Magar

टेम्पोररी ग्राजुएट वा ४८५ भिसा पाउने नेपाली लगायतका अन्तराष्ट्रिय विद्यार्थीहरुको सङ्ख्या अस्ट्रेलियामा बढ्दै जाँदा, उनीहरुले आफ्नो दक्षता अनुसारको काम पाउन नसकेको एक अध्ययनले देखाएको छ।

हालसालै सार्वजनिक भएको "इम्प्याक्ट्स अफ पोस्ट-स्टडी वर्क राइट्स पोलिसी इन अस्ट्रेलिया" रिपोर्टका अनुसार, उच्च अध्ययनका सिलसिलामा आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो पढाई सकेपछि काम गर्न पाउने सुविधाका कारण अस्ट्रेलिया निकै लोकप्रिय गन्तव्य रहेता पनि यथार्थमा भने उनीहरूले सोचे अनुसार काम पाउन सजिलो नरहेको बताइएको छ ।

एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू माझ गरिएको एक अनलाइन सर्वेक्षण माथि आधारित उक्त प्रतिवेदनकी सह-लेखिका ली ट्रानका अनुसार, ७६ प्रतिशत स्नातकहरूले ४८५ भिसा उपलब्ध भएका कारण नै आफूहरूले उच्च अध्ययनका निमित्त अस्ट्रेलिया छानेको बताएका थिए।

“आर्थिक वर्ष २०१८/१९ को आखिरीसम्म ९२,००० स्नातकहरू ४८५ भिसामा यहाँ थिए। अब यसलाई अघिल्लो वर्षसँग तुलना गरेर हेर्दा, स्नातकहरूको सङ्ख्या करिब २९ प्रतिशतले वृद्धि भएको देखिन्छ,” ट्रानले एसबीएस नेपालीलाई बताइन।

Ly Tran, ARC Future Fellow, Deakin University
सह-प्राध्यापक, ली ट्रान
Supplied

अध्ययनको क्रममा अस्ट्रेलिया आएर स्नातक भइसकेपछि पाइने ४८५ भिसा नीतिले नेपालीहरूलाई धेरै नै आकर्षित गरेको उनको दाबी छ।

“अब त हेर्दा हेर्दै, ४८५ भिसा पाउनेहरूको सूचिमा नेपाली स्नातकहरू भारतीय र चिनियाँ पछि तेस्रो नम्बरमा पुगिसकेको स्थिति छ।”

“एक वर्षको अन्तरालमा २१ हजार स्नातकहरू आफ्नो पढाइ सकेर अस्ट्रेलियामा नै बसेका छन्, यसमा नेपाली स्नातकहरूको मात्र तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष १७/१८ मा ५,१६५ जना ४८५ भिसामा अस्ट्रेलियामा अडिएका थिए भने १८/१९ मा यो सङ्ख्या बढेर ७,५३३ पुगेको छ।”

ट्रानका अनुसार, यो बढोत्तरी “मास्टर्स बाई कोर्स वर्क” गर्ने नेपालीहरूको सङ्ख्यासँग सिधा रूपले जोडिएको छ।

“सन् २०१३ मा ४८५ भिसा नीति सङ्घीय सरकारले पुनः लागू गरेपछि, नेपाली लगायत चिनियाँ र भारतीय विद्यार्थी माझ यो निकै लोकप्रिय भएको हामीले पायौँ,” उनले भनिन्।

आर्थिक वर्ष १३/१४ मा २,३७३ जना नेपाली स्नातकहरूले ४८५ भिसा प्राप्त गरेका थिए भने ७,००६ भारतीय र ३,७७२ चिनियाँहरूले उक्त ग्राजुएट भिसाको सुविधा लिएका थिए। यो वर्षको जुन महिनासम्म आइपुग्दा भने हाल १२,७०९ भारतीय र १९,४२० चिनियाँहरू उक्त भिसामा रहेका छन्।

तर, आफूले पढेकै विषयसँग सम्बन्धित हुने गरी काम भने सबैले नपाएको उक्त “टेम्पोररी ग्राजुएफिकेसन: इम्प्याक्ट्स अफ पोस्ट-स्टडी वर्क राइट्स पोलिसी इन अस्ट्रेलिया” नामक अध्ययनले देखाएको छ।

“हामीले सर्वेक्षणको नतिजालाई आधार बनाएर हेर्दा, आफूले दक्षता हासिल गरेको क्षेत्रमा काम पाउन सफल स्नातकहरूको सङ्ख्या, ४८५ भिसा पाउने कुल सङ्ख्याको ५० प्रतिशत भन्दा पनि कम रहेको पायौँ,” ली ट्रान भन्छिन्।

तर, यसलाई अस्ट्रेलियाको समग्र कार्यबलसँग जोडेर हेर्नुपर्ने उनको धारणा छ।

“स्थानीय स्नातकहरूले नै आफूले पढेको विषय अन्तर्गतका कार्यक्षेत्रमा रोजगारी नपाइरहेको अवस्थामा बाहिरबाट आउनेहरूलाई थप कठिनाइ हुने आश्चर्यको विषय नै भएन नि!,” उनले स्पष्ट पार्दै भनिन्।

त्यसैले पनि, सरकारी तथ्याङ्कलाई आधार बनाएर हेर्दा हाल सर-सफाइ, लन्ड्री र खुद्रा व्यापारहरूमा “सेल्स असिस्स्ट्यान्ट” जस्ता कामहरू ४८५ भिसामा रहेकाहरूले काम गर्ने पहिलो तीनमा पर्ने देखिएको छ।

ट्रानले यस्तो स्थितिबाट अगाडी बढ्न विभिन्न सेवा प्रदायक संस्थाहरूलाई लक्ष्य गर्दै सरकारले विशेष जागरण कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिन्छिन्।

उनको अनुसार स्पष्ट रूपमा ४८५ भिसावालाहरुले “फुल टाइम” काम गर्न पाउने कुरा बताउनु सरकारको दायित्व पनि हो।

“पहिलो त सरकारले निजी सङ्घ संस्थाहरूलाई ४८५ भिसामा रहेकासँग काम गर्न पाउने अनुमति छ भनेर राम्ररी भनिदिनुपर्यो। त्यो पहिलो कदम राम्ररी चालियो भने, ती सङ्घ संस्थाहरूले पनि ४८५ भिसामा रहेकाहरूलाई मिल्ने अवधि - जस्तै ६, १२, १५ महिने करारमा अनुबन्ध गर्ने गरी काम गर्ने वातावरण सृजना गर्न मद्दत हुनेछ।”

साथै, उनले यसका लागि नेपाली विद्यार्थीहरू चनाखो हुनुपर्ने पनि बताइन्।

“सरकारले नीति बनाइदिने हो, रोजगारदाताले काम गर्न मौका प्रदान गरिदिने हो तर अन्ततोगत्वा मौका हात पार्न स्नातकहरूले पनि केही पापड त बेल्नै पर्छ। नेपाली विद्यार्थीहरू अन्य देशका स्नातक भन्दा अलिक अगाडी बढ्न, नेटवर्किङ गर्न, भोलन्टियरिङ्ग गर्न उदासीन रहेको हामीले पाएका छौँ,” उनले भनिन्।

 

नेपाली स्नातकलाई सुझाव

कहिलेकाहीँ आफ्नो पढाई योग्य काम भन्दा पनि त्यसै क्षेत्रमा तर कनिष्ठ पदमा छिरेर पनि आफ्नो हित हुने दूरगामी नतिजा प्राप्त गर्न सकिने ट्रानको धारणा छ।

“अब लेखा विषयका नेपाली स्नातक कै कुरा गरौँ - एउटा उदाहरण स्वरूप। उनीहरूले सिधै डेलोइट र केपीएमजी जस्ता विश्व स्तरका ठुलठुला कम्पनीहरू ताक्नुको सट्टा स्थानीय रूपमा स-सानो लेखा फर्ममा क्याजुअल वा छोटो समयको लागि करारमा काम गर्ने सोच्नुपर्छ। त्यसो गर्दा आफूले पढेको क्षेत्रैमा काम गर्न त पाइयो-पाइयो, त्यसको साथै आफ्नै क्षेत्रमा अस्ट्रेलियाली कामको अनुभव।”

यसो गर्दा, आफ्नो सञ्जाल पनि बढ्ने र आफूले विशेषज्ञता हासिल गरेको क्षेत्रमा काम गरिरहेका मानिसहरूसँग घुलमिल हुने वातावरण पनि बन्ने उनको सुझाव छ।

“अब अन्य देशबाट आउने विद्यार्थीहरूले चाहिँ आफ्नो रणनीति नै बदलेको हामीले अनुसन्धानको क्रममा पत्ता लगायौँ। सीक डटकम भन्दा उनीहरूले गमट्री तिर काम खोज्न थालेका छन्। त्यहाँ आफूले पढेको विषयसँग मिल्दोजुल्दो क्याजुअल काम गर्दागर्दै उनीहरूले ठुला-ठुला कम्पनीहरूमा स्थापित पदहरूमा जान थालेका छन्।”

उनका अनुसार अन्य क्षेत्रभन्दा सूचना प्रविधिको क्षेत्रमा काम पाउन अहिले सहज हुँदै आएको छ।

त्यसका कारणहरू उल्लेख गर्दै उनले भनिन्, “पहिलो त, यस क्षेत्रमा छोटो करार अवधिको कामहरू प्रशस्त छन्। दोस्रोमा, आइटी पढेका स्नातकहरू आफ्नो विषयवस्तुमा पारङ्गत छन् भने उनीहरू त्यही क्षेत्रमा काम गरिरहेका मानिसहरू भन्दा पनि अद्यावधिक हुन्छन्। र, तेस्रो कुरा भनेको, अस्ट्रेलियाको सूचना प्रविधि क्षेत्रमा कार्यरत प्रबन्धकहरू अन्तर्राष्ट्रिय पृष्ठभूमिका रहेका हुनाले उनीहरू अन्तर्राष्ट्रिय कामदार प्रति उदार हुन्छन्।”