Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

एभकाडोको बढ्दो लोकप्रियताले ल्याएको अर्को सङ्कट

Autumnal salad with squash, pomegranate seeds, avocado and walnuts Source: Westend61

एभकाडो, अहिले धेरैको प्रिय फल-फुलको कोटिमा पर्छ। चाहे त्यो मध्य शहरमा रहेका क्याफेहरूमा होस् वा स्वास्थ्य जीवन-यापनका लागि खाना चयनको क्रममा होस- एभकाडो धेरैको अग्रपङ्क्तिमा आउँछ।

अझ नाम चलेका केही सेफहरूले एभकाडोलाई आफ्नो मिष्टान्न व्यञ्जनमा मिसाएर यस फलको झनै लोकप्रियता बढाइदिएका छन्। 

बढ्दो मागका कारणले दाम पनि बढेको यस एभकाडोलाई लिएर अस्ट्रेलियामा कुनै समयमा ‘घर किन्न पैसा जम्मा गर्नेहरूले एभकाडो नखानु’ भन्ने सल्लाह निकै चर्चामा आएको थियो।

उपभोक्ताहरू माझ रहेको बढ्दो मागका कारण अहिले एभकाडोको खेती मेक्सिकोमा  निकै बढेर गएको छ।

गत २० वर्षको अन्तरालमा एभकाडोको उत्पादन विश्वव्यापीकरण दोब्बर भएको छ।

अस्ट्रेलियाको कुरा गर्ने हो भने- प्रति व्यक्तिलाई झन्डै ४ किलोग्राम पुग्ने गरी- यस फलको यहाँ खपत हुने गरेको छ।

तर अधिकांशलाई मन पर्ने यस फलको कालो पाटो पनि रहेको छ।

Avocado
Avocados are displayed for sale in a large market in Mexico City

एक फल भई निस्कन एभकाडोले सोस्ने श्रोतका कारणले- यस फलप्रति केहीको लगाव घट्दै गएको छ।

अमेरिका, बेलायत र क्यानाडा लगायतका देशहरूमा रहेको लोकप्रिय रहेका केही मेक्सिकन रेस्टुरेन्टहरूले आफ्नो व्यञ्जनको तालिकाबाट एभकाडोलाई हटाएका छन् यसको ठाउँमा बोडी वा हरियो फर्सीबाट बनेका ग्वाकामोलको उपयोग सुरु गरेका छन् ।

अब प्रश्न के आउँछ भने- धेरैलाई रिझाएको एभकाडो फलमा खराबी के रहेको छ त?

वातावरणविद्हरूले यस फलको सबैभन्दा ठूलो समस्या भनेको यसले सोस्ने पानी रहेको बताएका छन्।

एउटा एभकाडो फल उमार्न सयौँ लिटर पानीको खर्च हुने गर्दछ।प्रचुर मात्रामा पानी खपत गर्ने यस फलले जलवायु, आर्थिक र सामुदायिक सन्तुलन बिगार्न सक्दछ।

प्लान्ट लाइफ नामक एक वातावरणप्रति सजग रहेको संस्थाकी अनर एल्डरिजले एभकाडोको बढ्दो उत्पादनले वातावरणमा नकारात्मक प्रभाव पार्ने बताउँछिन्। 

“अधिकांश एभकाडो मेक्सिकोबाट आउँछ र यस दक्षिण अमेरिकी मुलुक एक गर्मी ठाउँ हो।यसरी एभकाडो खेतीका लागि पानी खर्च गरिएमा समुदायलाई चाहिने पानीको आपूर्तिमा प्रभाव पर्ने सक्छ,” उनले भनिन्।

Farmers work at an avocado plantation in El Carmen ranch in the community of Tochimilco, Puebla State, Mexico,
Farmers work at an avocado plantation in El Carmen ranch in the community of Tochimilco, Puebla State, Mexico,
AFP

उनको भनाइमा - एभकाडो खेतीले राम्रो आम्दानी दिने भएकाले- त्यहाँका धेरै कृषकहरूले अन्य बालीहरू त्यागेर एभकाडो खेतीमा लागेका छन्।

वन-जङ्गल फाँडेर पनि यसैको खेतीमा धेरैको ध्यान केन्द्रित भएकाले एभकाडोको लोकप्रियताले स्थानीय वातावरणलाई प्रभाव पारेको उनी बताउँछिन्।

लन्डनमा रहेको एक मेक्सिकन रेस्टुरेन्टका सेफ सानटिएगो लास्ट्राले ग्वाकामोलको उदाहरण दिँदै यसमा एभकाडोको ठाउँमा- पिस्तासियाको प्रयोग गरेको बताउँछन्।

उनको भनाइमा पिस्तासियाबाट बनेको ग्वाकामोलमा पनि एभकाडो जस्तै मिठास अनि बाक्लोपना रहेको छ। पिस्तासियालाई भुटेर पिसेपछि एभकाडोको स्वादलाई जित्ने व्यञ्जन बन्ने उनको भनाई छ।

मेक्सिकोमा हुने एभकाडो खेतीमा आपराधिक समूहहरूको बढ्दो प्रभावले गर्दा पनि लास्ट्रा लगायत अन्यले यस फलप्रति बेग्लै धारणा राख्ने गरेका छन्।

मेक्सिको सिटीमा रहेको अन्तराष्ट्रिय सेवा प्रदायक संस्थामा कार्यरत फाल्को अन्ष्टका अनुसार एभकाडो खेती गरी अधिपात्य जमाउने समूहहरूले साधारण कृषकहरूलाई त्यहाँबाट खेदिरहेका छन्।

त्यही बसी खेती गर्ने मौका पाएकाहरूले भने यी आपराधिक गिरोहहरूलाई नियमित रूपमा पैसा बुझाउनु पर्ने हुन्छ। 

“यस किसिम को डर, धम्की र अपराधका कारण धेरैले ज्यान गुमाउन पुगेका छन्, कतिपयले आफ्नो ठाउँ छोड्नु परेको छ,” उनले भने।

उता लन्डनमा रहेका सेफ लास्ट्राले भने एभकाडोको ठाउँमा व्यञ्जनमा मिश्रण गरिएका अन्य कुराहरूलाई आफ्नो उपभोक्ताहरूले मन पराउन थालेको बताउँछन्।