गत साल कोरोना महामारी फैलदैं जाँदा, अब कहिल्यै अस्ट्रेलिया नफर्कने भन्दै एक नेपालीले हामीलाई सिड्नी विमानस्थलमा बताएकी थिइन्। हाल आएर, त्यस्तै भनाई अन्य समुदायका मानिसहरूद्वारा पनि अभिव्यक्त गरिने क्रम अस्ट्रेलियामा सुरु भएको छ।
सन् २०२० को जुन महिनामा पहिलो पटक नेपाली विमान चढेर २५८ जना नेपाल फर्किए।
कोरोनाले संसारलाई नै गाँज्दै गरेको बेला, अस्ट्रेलिया पनि त्यो बेला महामारी र त्यसको असरबाट अछुतो रहन सकेको थिएन।
अस्ट्रेलियामा घरजम गरिरहेका आफ्ना प्रियजनलाई भेट्न आएका नेपाली नागरिकहरूका अलावा कोरोनाका असरले खर्च धान्न धौ-धौ परेका विद्यार्थी अनि ग्र्याजुएट लगायतका अस्थायी भिसामा रहेकाहरू घर फर्किन लालायितको पहिलो खेप थियो, उक्त उडान।
मार्च महिनामा कामबाट निकालिए पछि तीन महिना निकै कठिनाइमा बितेको बताउने अंशु शर्माले हामीसँग नेपाल उड्नु अघि भनेकी थिइन, "अब सधैँका लागि नेपाल जाने।"
शर्माले त्यसो भनेको नौ महिना बितिसक्दा र अस्ट्रेलियामा जनजीवन सामान्यता तर्फ उन्मुख हुँदै गर्दा पनि यहाँबाट अन्यत्र जानेको घुइँचो घटेको छैन, बरु बढेकै देखिन्छ।
सरकारी तथ्याङ्कहरूका अनुसार, महामारी सुरु भएयता मात्र करिब ५००,००० अस्थायी भिसा धारकहरूले अस्ट्रेलिया छाडिसकेका छन्।
पीआर पाउने मार्ग थप साँघुरो र लामो बन्दै जाँदा अनि यस कोटीका आप्रवासी प्रति महामारीका बेला सरकार उदासीन देखिँदै गर्दा सो सरकारी आँकडा अचम्म लाग्ने किसिमको भने छैन।
अंशु शर्मा जस्तै थुप्रै अस्थायी भिसामा रहेका आप्रवासीहरूले पनि अस्ट्रेलियामा आफ्नो जीवनका महत्त्वपूर्ण समय गुजारे।
रेस्टुरेन्ट, क्याफेमा काम गरे, सुपरमार्केटमा तखताहरू भरे र अस्ट्रेलियाले माया नगरेको देखे पछि यहाँ बसिरहनुको औचित्य पनि देखेनन्।
हङ्गेरीबाट अस्ट्रेलिया आएका आकोस् पर्सी र मरिना आङको पनि अस्ट्रेलियामा बसाई सर्ने सोच कोरोना र अस्थायी भिसा धारक प्रति यहाँको सरकारी नीतिका कारण रोकियो।
शर्मा जस्तै विद्यार्थी भिसामा अस्ट्रेलिया आएका उनीहरूले एसबीएस समाचारसँग भने, "हामीले पढाइका लागि यहीँ खर्च गर्यौँ, ट्याक्स यहीँको सरकारलाई बुझायौँ, सबै नियमहरूको पालना गर्यौँ, कसैसित पनि आर्थिक सहयोगका लागि हात फैलाएनौँ।"
"सरकारका लागि हामी दुहुने गाई जस्तै भयौँ।"
अस्ट्रेलियाबाट यसरी निराश भएका अस्थायी भिसा धारक झैँ यी जोडीको ध्यान अब क्यानडा तर्फ मोडिएको छ।
माइग्रेसन एजेन्टहरूका अनुसार पनि, अहिले युरोप र क्यानडा अस्थायी आप्रवासीहरूका लागि सबैभन्दा आकर्षक गन्तव्यका रूपमा देखिन थालेका छन्।
माइग्रेसन इन्स्टिच्युट अफ अस्ट्रेलियाका जन हरिगन भन्छन् कि भिसाको उच्च लागत, लामो समयसम्मको अन्यौलता र महामारीका बखत जबकीपर र जबसीकर जस्ता कुनै सरकारी सहायता उपलब्ध नरहेका कारण युरोप र क्यानडा अस्थायी आप्रवासीहरूले बढी रुचाएका छन्।
"पीआर पाउनु अघि ती अस्थायी भिसा धारकहरूका लागि अवरोध थुप्रै भए," उनले भने।
अस्ट्रेलियामा दोस्रो मास्टर्स सिद्ध्याएका आकोस् हाल ४८५ टेम्पोरेरी ग्र्याजुएट भिसामा अस्ट्रेलियामा त छन् तर यहाँको पीआर पाउने उनको धोको १८९ स्किल्ड इन्डिपेन्डेन्ट भिसामा वृद्धि भएको सर्तहरूका कारण पुरा भएन।
तर, "तँ चिता, म पुरा गरुँला" भने झैँ सन् २०२२ मा क्यानडा प्रवेश गर्ने गरी उनीहरूले त्यहाँको पीआर पाइहाले।
"हामीलाई खासै नचिने पनि त्यो देशले हामीलाई दुवै हात खोलेर स्वागत गरेको अनुभूति भएको छ," मरिनाले भनिन्।
यस्तै घटनाका कारणहरूले हुनसक्छ, यही हप्ता मात्र प्रधानमन्त्री स्कट मोरिसनले अस्थायी भिसालाई आफ्नो सरकारले प्राथमिकतामा राख्ने सङ्केत दिएका।
माइग्रेसन काउन्सिल अस्ट्रेलियाकी प्रमुख कार्यकारी कार्ला विल्शायर भन्छिन् कि पहिले-पहिले अस्थायी भिसामा अस्ट्रेलिया आउने मानिसहरूका लागि पिआरसम्मको बाटो सहज हुन्थ्यो।
तर, अध्यागमन नीतिमा फेरबदल हुँदै गर्दा पीआर पाउन सहज बाटाहरू बन्द भए।
"अब, कोभिड-१९ को अवस्थाबाट बाहिर निस्कँदै गर्दा, अस्थायी भिसामा रहने मानिसहरूको कमीको हाम्रो आप्रवासनमा कस्तो प्रभाव देखिन्छ, त्यो बुझ्न एकदम जरुरी छ," उनी भन्छिन्।
सरकार तथा अध्यागमन विभाग भने अस्ट्रेलिया "बेस्ट एन्ड दी ब्राइटेस्ट"लाई आकर्षण गर्न तल्लीन छ।
गृह मामिला मन्त्रालयका एक जना प्रवक्ताले एसबीएस न्युजलाई बताए अनुसार अस्ट्रेलियाको स्किल्ड माइग्रेसन प्रोग्राम अन्तर्गतका भिसाका लागि उच्च माग यथावतै छ।
उनले अर्गानाइजेसन फर इकोनोमिक को-अपरेसन एन्ड डिभेलप्मेन्ट (ओएसीडी)को इन्डिकेटर्स अफ ट्यालेन्ट अट्र्याक्टिभ्नेस नामक प्रतिभा सूचकाङ्क तर्फ हेर्न भने जसमा अस्ट्रेलिया लगायत क्यानडा, न्यु जिल्यान्ड, स्विडेन र स्विट्जरल्यान्ड ओएसीडी राष्ट्रहरू मध्य सबैभन्दा बढी दक्ष कामदार आकर्षण गर्ने मुलुकहरूमा पर्छन् भनेर उल्लेख गरिएको छ।
उता, क्यानडाले भने सन् २०२१ मा मात्र ४०१,००० नयाँ स्थायी बासिन्दा स्वागत गर्ने योजना बनाएको छ जुन गएको १०० वर्ष यताकै सबैभन्दा उच्चतम सङ्ख्या हो।
यही अवधिमा अस्ट्रेलियाले भने त्यसको आधा भन्दा पनि कम - जम्मा १६०,००० जनालाई पीआर दिने बताएको छ।
जनसङ्ख्याको आधारमा पनि करिब ३ करोड ७० लाख मानिसहरू बसोबास गर्ने क्यानडाले अस्ट्रेलियालाई उछिनेको छ। सरकारी तथ्याङ्क अनुसार अस्ट्रेलियामा हाल लगभग २ करोड ५० लाख बासिन्दाहरू छन्।
हाल अस्ट्रेलियाको आप्रवासन कार्यक्रम बारे सङ्घीय संसद्को अध्यागमन माथि जोइन्ट स्ट्यान्डिङ कमिटीले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी रहेको छ कि छैन र के-कस्तो सुधार गर्न मिल्छ भनेर छानबिन गरिरहेको छ।
तर अंशु, आकोस् वा मरिना जस्ताका लागि यो ढिलो गरी आएको छ।
उनीहरू भन्छन्, "हामीले लामो समय अस्ट्रेलियालाई खुला हृदयले मद्दत गर्यौँ, सरकारबाट पनि त्यस्तै अपेक्षा राख्यौँ तर अब हामी यो देशलाई थप योगदान दिन सक्छौँ जस्तो लाग्दैन किनकि यहाँको सरकारले हामीलाई स्वागत र आदर गरे जस्तो लागेन।"
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali