विमान दुर्घटनामा ४९ को मृत्यु
गत सोमबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगला विमानमा यात्रारत ४९ जना यात्रुको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । युएस बंगला एयरको चालक दलका ४ सहित ७१ यात्रु लिएर ढाकाबाट काठमाडौँ उडेको विमान त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ४९ यात्रुको ज्यान गएको थियो।
नेपाल प्रहरीका अनुसार ३३ नेपाली, ३२ बंगलादेशी, १ चिनियाँ र १ माल्दिभ्सका नागरिकसहित चालक दलका ४ जना विमानमा सवार थिए । त्यसमध्ये २१ घाइते भएका थिए । दुर्घटनालगत्तै यूएस बंगलाका चालक र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद सार्वजनिक भएपछि नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम अनुसार पनि विमानको ब्ल्याक बक्स, एटीसीसँगको सम्वाद र उड्डयनसम्बन्धी आँकडा सार्वजनिक गर्न नमिल्ने भएकाले छानविन गर्न लागिएको जानकारी दिएका थिए ।
...
राष्ट्रपतिको सपथ
नवनिवार्चित राष्ट्रपति विद्यादेवी भण्डारीले गत बुधबार पद तथा गोपनीयताको सपथ लिएकी छन् । दोस्रो कार्याकालका लागि राष्ट्रपतिमा निवार्चित भण्डारीलाई शीतल निवासमा आयोजित विशेष समारोहमा पदमुक्त भएका प्रधानन्यायाधीश गोपाल पराजुलीले सपथ गराएका थिए । राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निवार्चित भएकी थिइन्। उनको कार्यकाल पाँच वर्षको हुनेछ।
...
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध
उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । शनिबार उपराष्ट्रपति निर्वाचन कार्यालयले तोकेको उम्मेदवारी दर्ता समयभित्र पुनको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएका थिए ।
पुनको प्रस्तावकमा सुवास नेम्बाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र पर्शुराम नेगी गुरुङ थिए । त्यस्तै देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण बिडारी र राजेन्द्रप्रसाद गौतमले उनलाई समर्थन गरेका थिए । राष्ट्रपतिमा उम्मेदवारी दिएका कांग्रेसलगायत अन्य दलहरुले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएका थिएनन् ।
...
प्रधानन्यायाधीश पदमुक्त
जन्म मिति ढाँटेर पाउनेभन्दा बढी अवधिसम्म पदमा बसेको प्रमाण फेला परेपछि न्यायपरिषद्ले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त गरेको छ । गत बुधबार पराजुलीलाई पदमुक्त गराएलगत्तै न्यायाधीश दीपकराज जोशीले सर्वोच्च अदालतको कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए ।
पराजुलीले सार्वजनिक नगरेको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त भएसँगै किर्ते गरेर पदमा बसिरहेको प्रमाणित भएपछि परिषद्का सचिव नृपध्वज निरौलाले उनलाई पदमुक्त गरिएको पत्र लेखेका थिए । परीक्षा नियन्त्रण कार्यालयबाट बुधबार न्यायपरिषद् सचिवालयमा पुगेको पत्रमा पराजुलीको जन्ममिति २००९ साउन २१ गते रहेकाले उनले ६५ वर्षको पदावधि सकिएको ठहर भएको थियो ।
नागरिकता लिँदाको मितिका कारण कायम भएको जन्ममिति २००९ साउन २१ गते र शैक्षिक प्रमाणपत्रहरूमा उल्लिखित २०१० वैशाख १६ गतेमध्ये कुन जन्ममिति कायम गर्ने भन्ने विवाद थियो ।
...
मन्त्रिपरिषद विस्तार
प्रधानमन्त्री केपी ओलीले एमाले र माओवादीका तर्फबाट ११ मन्त्री र ४ राज्यमन्त्री थप्दै तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका थिए।
एमालेबाट परराष्ट्र प्रदीप ज्ञवाली, श्रम तथा रोजगार गोकर्ण बिष्ट, पर्यटन रवीन्द्र अधिकारी, भौतिक तथा योजना रघुवीर महासेठ र युवा तथा खेलकुद जगत विश्वकर्मा, कानून मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङले पाएका छन् । त्यस्तै गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री, पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री र धनबहादुर बुढा पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री बनेका छन्। यसअघि एमालेका तर्फबाट ईश्वर पोखरेल, थममाया थापा र लालबाबु पण्डित मन्त्री बनिसकेका छन्।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा तथा जलस्रोत, गिरिराजमणि पोखरेल शिक्षा तथा विज्ञान प्रविधि, शक्ति बस्नेत वन, चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगरले खानेपानी तथा सरफफाई मन्त्रालयको जिम्मेवारी पाएका छन्। रामकुमारी चौधरीले कृषि राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेकी छन्। यसअघि माओवादीबाट रामबहादुर थापा गृह र मात्रिका यादव उद्योमन्त्री बनिसकेका छन्।
...
नेपाललाई एकदिवसीय अन्तराष्र्टि«य मान्यता
विश्वकप छनोटको प्लेअफ अन्तर्गत गत बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तराष्र्टि«यको मान्यता प्राप्त गरेको छ । अर्को खेलमा भने नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो ।
त्यस्तै एकदिवसीय मान्यता पाएको नेपालले शनिबार विश्वकप छनोटको सातौं स्थानको खेलमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएको थियो । कमजोर ब्याटिङका कारण विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रहेको छ । शनिबारको खेलमा १९० रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्र बनाएको थियो ।