कम्युनिस्ट पार्टी गठन
नेपालका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको छ। गत असोज १७ मा एकीकरण प्रक्रिया सुरु गर्ने घोषणा गरेका दुवै ठुला दल सात महिनापछि औपचारिक रुपमा एकीकृत भएका थिए। एकीकरण घोषणासँगै निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ।
हाल एमाले १२१ सिटसहित पहिलो र ५३ सिटसहित माओवादी तेस्रो दल हुँदै संघीय संसदमा सहभागि भएको छ ।
एकीकृत भएसँगै नयाँ पार्टीले प्रतिनिधिसभामा एक सय ७४ सिट प्राप्त गर्नेछ ।यो संघीय संसद्मा झन्डै ६४ प्रतिशत हो। एकीकरण भएपछि ५२ प्रतिशतभन्दा बढी जनमत नेकपाको पोल्टामा परेको छ।
बिहीबार आयोजित एकीकृत पार्टी घोषणासभामा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले नयाँ युगको सुरु भएको घोषणा गरेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरणले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याएको प्र्रतिक्रिया दिएका थिए ।
त्यस्तै बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले नौ सदस्यीय केन्द्रीय सचिवालय गठन र केन्द्रीय समिति ४५सदस्यीय बनाउने निर्णय लिएको नेता ईश्वर पोखरेलले बताए। केन्द्रीय सचिवालयको मर्यादाक्रमको पहिलो नम्बरमा अध्यक्ष ओली रहेका छन्।

..
कामीरिताको २२ औं पटकको कीर्तिमानी आरोहण
आरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथामा २२ पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । ४८ वर्षीय शेर्पाले यसअघि २१ औ पटक आरोहणको आफ्नै कीर्तिमान तोेडेका थिए। आधार शिविरबाट आरोहण थालेका उनी बुधबार शिखरमा पुगेका थिए ।
उनले सन् १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए।
अमेरिकन ट्राभल कम्पनीमार्फत २९ सदस्यीय टोलीका साथ उनले सगरमाथाको कीर्तिमानी २२ औं पटक आरोहण गर्न सफल भएका थिए। आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सोमबारसम्म ५० जना स्वदेशी र विदेशीले सगरमाथाको सफल आरोहण गरिसकेका थिए भने झन्डै सय जना अनुकूल मौसमको प्रतिक्षामा छन् ।
..
मकालु एयरको विमान दुर्घटनामा दुई पाइलटको मृत्यु
मकालु एयरको बेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि उडेको नाइन एन एयूजे कलसाइन कार्गो विमान दुर्घटना हुदाँ पाइलट किरण भट्टराई र आदित्य नेपालीको मृत्यु भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएको थियो ।

..
स्पोर्टस अवार्डमा क्रिकेटको वर्चस्व
राष्ट्रिय कप्तान पारस खड्का चौथोपल्ट वर्षका उत्कृष्ट खेलाडी घोषित हुँदै एनएसजेएफ स्पोर्टस अवार्ड २०७४ प्राप्त गर्न सफल भएका छन् । बिहीबार आर्मी अफिसर्स क्लबमा नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित अवार्डमा टमाटाले वर्ष प्रशिक्षकको उपाधि हात पारेका थिए । स्पोर्ट्स अवार्डमा युवा क्रिकेटर सन्दीप लामिछानेले वर्षको युवा खेलाडी र क्रिकेटर करण केसीले स्पेसल अवार्ड प्राप्त गरेका थिए ।
त्यस्तै ब्याडमिन्टनकी शोभा गौचनले वर्षकी उत्कृष्ट खेलाडी महिला, फुटबलका अशोक केसीले लाइफटाइम एचिभमेन्ट अवार्ड र हिमाल अर्यालले पारा एथलिट अवार्ड हात पार्न सफल भएका थिए ।
पिपुल्स च्वाइस अवार्ड भने टेबलटेनिसका स्यान्टु श्रेष्ठले जिते । वर्षका उत्कृष्ट खेलाडी पुरुष र महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विजेतालाई एनएस १६० सीसीको मोटरसाइकल प्रदान गरिएको थियो भने अन्य चार विधाका विजेताले ५० हजार रुपैयाँ पाएका थिए ।

..
नक्कली नोट कारोबार अभियोगमा फिल्म निर्माता पक्राउ
नेपाली नक्कली नोट राखेको आरोपमा फिल्म निर्माता माधव वाग्ले पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले बुधबार उपत्यकाका तीन विभिन्न स्थानबाट वाग्लेसहित प्रकाश सुवेदी, विकेश नापीत, महेन्द्र बोगटी, सुजित तामांग, साजन तामांगलाई नक्कली कथित नेपाली नोट सहित पक्राउ बताइएको थियो।
समाचारहरुका अनुसार प्रहरीले निर्माता वाग्लेलाई उनकै कोठाबाट दुई करोड ५२ लाख रुपैया बराबरको नक्कली नोटसहित पक्राउ गरेको थियो । नेपाल राष्ट्र बैंकले कुनै पनि प्रयोजनका लागि नक्कली नोट छाप्न अनुमति नदिने हुँदा अपराध प्रमाणित भएमा मुलुकी ऐन अन्तर्गत बरामद नक्कली नोट बराबरको रकम जरिवाना र १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था रहेको छ।
‘फस्ट लभ’ बाट फिल्म निर्माणमा सक्रिय वाग्लेले ‘चंगा चेट’ फिल्मका लागि उक्त नक्कली नोट छपाएको र उक्त नोटहरु आर्ट डाइरेक्सन टिमबाट दुरुपयोग भएको हुनसक्ने अनुमान गरिएको छ । निर्माता वाग्लेले ‘लुट’ ‘लुट २’, ‘छड्के’, ‘रेशम फिलिली’ लगायतका फिल्म निर्माण गरेका छन्।

...
आईपीएलमा चम्किए सन्दीप
नेपाली क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो दोस्रो खेलमा उत्कृष्ट प्रर्दशन गरेका छन्। शुक्रबार आईपीएल अन्तर्गतको खेलमा चेन्नई सुपर किग्ंसमाथि उनको टिम दिल्ली डेयरडेभिल्सले विजय हात पारेको थियो । उनले खेलमा ‘स्टाइलिस प्लेयर अफ द म्याच’ भएर १ लाख भारु पाएका थिए।
आईपीएलमा आफ्नो दोस्रो खेलमा ४ ओभर फाल्दै उनले २१ रन दिएर एक विकेट लिएका थिए ।
१४ औं ओभरमा आफ्नो तेस्रो स्पेल गर्न आएका सन्दीपले चेन्नई सुपर किग्ंसका सुरेश रैनालाई आउट गर्दै उत्कृष्ट प्रदर्शन दिएका थिए । उनको प्रदर्शनसँगै दिल्लीले चेन्नईमाथि ३४ रनको विजय प्राप्त गर्न सफल थियो ।
दिल्लीले ३४ रनको विजय हात पारेको हो । अंक तालिकामा चेन्नई दोस्रो स्थानमा रहेको छ भने चौथो जित हात पारेको दिल्ली प्रतियोगिताको पुछारमा रहेको छ । सन्दिपलाई दिल्ली डेयरडेभिल्स्ले २० लाख भारुमा किनेको थियो ।




