लभस्टोरीभन्दा पनि प्रेरणात्मक पुस्तक लेखिरहेको छु ः लेखक सुबिन
लभस्टोरी विधामा सफल मानिएका लेखक सुबिन भट्टराई अहिले प्रेरणात्मक पुस्तक लेखिरहेका छन् । उनको ‘कथाकी पात्र’, ‘समर लभ’, ‘साया’ र ‘मनसुन’ लगायत कृतिहरु सार्वजनिक भइसकेका छन् । उनले आफ्नो नयाँ पुस्तक र लेखन यात्राबारे एबिएस नेपालीसँग गरेको कुराकानी ः
१.रोमान्टिक लेखकको रुपमा युवाहरुमाझ चर्चित तपाईले आफ्नो मूल्यांकन कसरी गर्नुभएको छ ?
मैले लेखेका पुस्तकहरु पढ्ने पाठकहरुले मलाई रोमान्टिक लेखकको रुपमा स्थापित गरिदिनु भएको हो । मैले आफ्नो मूल्यांकन गर्नुभन्दा पाठकले मेरो पुस्तक पढेर मूल्यांकन गरिदिने गर्नुहुन्छ । राम्रा पुस्तकहरु लेखेको हुँदा धेरै पाठकहरु पाएको छु । मलाई रोमान्टिक विधाभन्दा बाहिरको विधामा पनि लेख्ने इच्छा छ । भविष्यमा अन्य विधामा पुस्तकहरु लेखेपनि लभस्टोरीलाई निरन्तरता दिनेछु ।
२.तपाई आफैंचाँहि कस्ता खालका पुस्तकहरु पढ्ने गर्नुभएको छ ?
कुनैपनि पुस्तकले पाठकको मनलाई छुनुसक्नु पर्छ जस्तो लाग्छ । भावनात्मक पुस्तकले मनलाई छुने गर्छन् । म हाँस्नभन्दा रुनु मनपराउने हुने हुँदा भावनात्मक पुस्तक धेरै पढ्ने गर्छ ।
३.एमएसीको सिध्याउनु भएको सफल लेखकको रुपमा स्थापित हुनुहुन्छ । करियरको सुरुवात कसरी गर्नुभएको थियो ?
मास्टर सिध्याएर जागिरको लागि विभिन्न अफिसमा आवेदन दिंदा छनोट हुन सकिरहेको थिइन् । त्यसैबेला मैले लेखेका कथाहरुलाई सकंलन गरेर ‘कथाकी पात्र’ नामक पुस्तक निकालेको थिए । त्यो पुस्तकले राम्रो प्रतिक्रिया पाएपछि मैले लेखन यात्रालाई निरन्तरता दिइरहेको छु । अहिले पाँचौ पुस्तक सार्वजनिक गर्ने तयारीमा लागि परेको छु ।
४.तपाईको चर्चित पुस्तक ‘समर लभ’माथि नेपाली फिल्म बन्दैछ । फिल्ममा आफूले लेखेका कथा र पात्रहरुले कत्तिको न्याय पाउलान जस्तो लाग्छ ?
मैले फिल्मको पटकथा हेर्ने अवसर पाएको थिए । त्यसैले पुस्तकको कथाले न्याय पाउँछ भन्नेमा ढुक्क छु । फिल्म पुस्तकमा केन्द्रित भएर बनेको छ । पात्रहरु छनोटमा भने पुस्तक पढेका पाठकहरु खिन्न हुन सक्छन् । मैले सोचेर लेखेको पात्र र फिल्ममा देखिएका पात्रको तालमेल नमिलेको मैलेपनि महशुस गरेको छु । कल्पना गरेको कुरा वास्तविकतामा ठ्याक्कै मिल्छ भन्ने छैन् । फिल्म हेरुन्जेल पात्रहरुले कथालाई न्याय गर्छन् भन्नेमा आशावादी छु ।
५.तपाईले लेखेका पुस्तकहरु कलेज पढ्ने युवाहरुमाझ चर्चित हुने गर्छन् । अहिले त्यस्तो केही लेखिरहनु भएको छ कि ?
नयाँ पुस्तकको पाण्डुलिपि तयार भइसकेको छ । त्यसैले दसैंसम्ममा सार्वजनिक गर्ने तयारीमा लागेको छु । यसपटक लभस्टोरीमात्र नभएर प्रेरणात्मक फिक्सन लेखिरहेको छु ।
६.अहिलेको स्थितिमा लेखक भएर बाँच्न सकिन्छ कि सकिन्न् ? सफल लेखकको रुपमा स्थापित हुँदासम्म आर्थिक अभावबाट कत्तिको गुज्रिनुपर्यो ?
सुरुवाती दिनमा सबै पेशामा ग्राहो हुन्छ । पुस्तक बिक्री हुनथालेपनि राम्रै आम्दानी हुने गरेको छ । एमएसी सिध्याएर जागिर खोजिरहेको अवस्थामा आर्थिक अभावबाट गुज्रिएको थिए । अहिले पुस्तक बिक्रीबाट आएको रकमले बाँचिरहेको छु ।
७. ‘समर लभ’ र त्यसको सिक्वेल ‘साया’, तपाईको वास्तविक जीवनमा आधारित छन् भनिन्छ । यो कथाहरुको सृजना कसरी भयो ?
नेपाली समाजमा भेटिने कथालाई पुस्तकमा समावेश गरिरहेको हुन्छु । त्रिभुवन विश्वविद्यालय (टियु) पढ्दा साथीहरुको संगतले ‘समर लभ’ नामक पुस्तक सृजना गरेको थियो । आफ्ना अनुभव र केही सृजनशील सोचले नयाँ कथाहरु जन्मने गर्छन् ।
८. त्यस्तो कुनै कथा छन् कि जसमा लेख्ने इच्छा भएर पनि लेख्न पाउनु भएको छैन् ?
स्वभाविक रुपमा अरुले लेखेका कुनैपनि पुस्तक पढ्दा मैले किन लेख्न सकिन भनेर ईश्या लाग्छ ।
९. अधिकांश लेखकहरुले आफ्ना कथाहरुमार्फत पिडा पोख्ने गरेका छन् । तपाईको हकमा चाँहि केही फरक छ कि ?
मैलेपनि आफ्ना कथाहरुमार्फत पिडा पोख्ने गरेको छु । मेरो पुस्तकमा पात्रहरु फरक भएपनि उनीहरुमा प्रेमको भावहरु मेरो अनुभवले भर्ने गरेको हुन्छु ।
१०.तपाईले नेपाली साहित्यमा रुचि नराख्ने युवाहरुलाई पुस्तक किनेर पढ्न बाध्य बनाउनु भयो भनेर प्रतिक्रिया आउने गर्छन् । तपाईले चाहि नेपाली साहित्यको स्तर बृद्धिमा कत्तिको योगदान पुर्याउनु भयो जस्तो लाग्छ ?
त्यो मैलेभन्दा पनि पाठकले मूल्यांकन गर्ने कुरा हो । समग्रमा मेरो पुस्तक पढेर अरु साहित्यकारको पुस्तक पढ्ने धेरै पाठकहरु भेटेको छु । त्यसैले नेपाली साहित्यमा सिँडी थप्ने काम गरेंकीजस्तो लाग्छ ।