Nepal government criticises European Union's report on Nepal's federal and provincial elections and more than 16 thousand Nepali workers apply to go to South Korea, on the first day the application was opened. These are some of the news that made headlines in the last 7 days in Nepal.
इयुको रिपोर्टमा सरकारको आपत्ति
सरकारले युरोपेली युनियन (इयु)को निर्वाचन प्रतिवेदनमा आपत्ति जनाएको छ। इयुको रिपोर्टले नेपालको संविधान र सार्वभौमसत्तामाथि प्रहार भएको भन्दै बुधबार साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिवेदनको विरोध गरेको थियो।
परराष्ट्र मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसन (ईयुइओएम)को रिपोर्टले सफल रुपमा सम्पन्न शान्तिपूर्ण र निष्पक्ष निर्वाचनलाई कमजोर देखाउन खोजेको र अन्तर्राष्ट्रिय निर्वाचन अवलोकनको दायरा र मापदण्ड विपरित भएको उल्लेख छ।
यसअघि युरोपेली युनियनले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम रिपोर्ट सार्वजनिक गर्दै निर्वाचन आयोग पारदर्शी नभएको भन्दै निर्वाचन क्षेत्र पुनरावलोकन, निर्वाचनका कानूनमा खस क्षेत्रीलाई आरक्षण कोटामा नराख्ने सम्मका २९ वटा सुझाव दिएको थियो।
दशैंअघि काठमाडौंमा मेलम्चीको खानेपानी आउँछ ः मन्त्री मगर
खानेपानी तथा सरसफाईमन्त्री विना मगरले आगामी ०७५ साललाई राष्ट्रिय सरसफाई वर्षको रुपमा घोषणा गरेर काम गर्ने प्रतिक्रिया दिएकी छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले केही वर्षभित्र बाग्मती, विष्णुमति र धोबीखोलालाई पर्यटकीय रुपमा विकास गर्ने बताइन् ।
मन्त्री मगरले कम्तीमा पनि आफ्नो कार्यकालमा बाग्मतीमा र्याफ्टिङ र स्विमिङ गर्न सक्ने वातावरण बनाउने प्रतिबद्धता जनाइन। मन्त्री मगरले दशैंअघि नै काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने दाबी गरिन। मन्त्री मगरले दशैंअघि नै मेलम्चीको पानीलाई स्वागत गर्न काठमाडौंवासीहरुलाई आग्रह समेत गरिन्।
...
उपराष्ट्रपति पुनले लिए सपथ
नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति पुनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए ।
सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, सांसद लगायतको उपस्थिति थियो । उपराष्ट्रपति पुन आइतबार उपराष्ट्रपति पदमा दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका थिए ।
..
कोरिया भाषा परिक्षाको पहिलो दिन १६ हजारको आवेदन
सन् २०१९ मा कोरिया जानका लागि खोलिएको दरखास्तमा पहिलो दिन बिहीबार १६ हजार आठ सय दुईजनाको आवेदन दिएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको इपिएस कोरिया शाखाले देश, विदेश जतासुकैबाट अनलाइनमार्फत आवेदन बुझाउन सकिने व्यवस्था गरे पनि रकम बुझाउन बैंकमा भीड लागेको थियो ।
शाखाले दरखास्त फारमसँगै प्रतिव्यक्ति २४ अमेरिकी डलर वा त्यसबापतको नेपाली मुद्रा बुझाएपछि अनलाइनबाट आवेदन गर्न सकिने व्यवस्था मिलाएको थियो । शाखाले फारम भर्ने अन्तिम मिति चैत १७ गतेसम्म तोकेको छ। फारम भरेकाले जेठ २७ र २८ गते कोरियन भाषाको परीक्षा दिनेछन्।
..
राष्ट्रिय फुटबल टोली घोषणा
अर्को साता यमनविरुद्ध खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योतोकु कोजीले २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका छन् । नेपालले एएफसी एसियन कपको छनोट चरणअन्तर्गत समूहका आगामी चैत १४ मा समूहको अन्तिम खेलमा यमनको सामना गर्दैछ । खेल कतारको राजधानी दोहामा हुँदैछ ।
२० सदस्यीय नेपाली टिममा गोलरक्षकहरु किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने छन् भने डिफेन्डरहरुमा विराज महर्जन, रजिन धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी, आदित्य चौधरी र देवेन्द्र तामाङ छन् ।
यस्तै मिडफिल्डरहरु रोहीत चन्द, विशाल राई, सुजल श्रेष्ठ, अञ्जन विष्ट, सुनिल वल, हेमन गुरुङ र हेमन्त थापामगर छन् । स्ट्राइकरमा विमल घर्तिमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र सुमन लामा छन् । नेपाली राष्ट्रिय फुटबल टोली आइतबार कतार प्रस्तान गर्दैछ ।
सन्दीपले आइपिएलमा एक नम्बर जर्सी लगाउने
आइपिएलमा दिल्ली डेयरडेभिल्स क्लबमा आबद्ध भएका क्रिकेटर सन्दीप लामिछानेको जर्सी गत साता सार्वजनिक गरियो। सन्दीपले दिल्लीमा १ नम्बरको जर्सी लगाउने छन्।
राजधानीमा आयोजित कार्यक्रममा दिल्ली डेयरडेभिल्सका सिइओ हेमन्त दुवा र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले सन्दीपको जर्सी सार्वजनिक गरेका थिए । सन्दीपले मार्च २७ देखि आइपिएलका लागि सुरु हुने प्रशिक्षणमा सहभागि हुनेछन्।





