ओली बने प्रधानमन्त्री
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी (खड्गप्रसाद) शर्मा ओलीलाई नेपालको संविधानबमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् ।
नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मुलुकमा दोस्रो पटक प्रधानमन्त्री बनेका छन् । नयाँ संविधान निर्माणमा भूमिका निर्वाह गर्दै संविधान जारीपछि पहिलो पटक २०७२ बहत्तर असोज २४ गते प्रधानमन्त्री बनेका अध्यक्ष ओलीले २०७३ त्रीहत्तर साउन २० मा राजीनामा दिएका थिए ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागी भएका थिए ।
...
पण्डित र थापा मन्त्रीमा नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापालाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा बिहीबार नियुक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा नेकपा(एमाले)बाट प्रतिनिधिसभामा क्रमशः प्रत्यक्ष र समानुपातिकबाट निवार्चित उनीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । मन्त्री पण्डित यसअघि सामान्य प्रशासनमन्त्री र थापा एमाले संसदीय दलका सचेतक भइसकेका छन् ।
त्यस्तै नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद उद्यानमा पुगेर शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । प्रधानमन्त्री ओलीसँगै नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा पनि श्रद्धाञ्जलि अर्पणका लागि शहीद उद्यान पुगेका थिए ।
...
प्रधानमन्त्रीले देउवाले दिए राजीनामा
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार राजीनामा दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो कार्यकालमा भएका कामको उल्लेख गर्दै राजीनामाको घोषणा गरेका थिए ।
आफ्नो नेतृत्वको सरकारले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सफल गराएको र आफ्नो सरकारले गरेका राम्रा कामको अब बन्ने नयाँ सरकारले निरन्तरता दिनेमा आफू आशावादी रहेको उनले बताए । मन्त्री परिषद बैठकपछि देउवाले सम्बोधन गरेर राजीनामा दिएका थिए ।
यसअघि निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फ निवार्चित सदस्याको नामावलीसहित प्रतिनिधिसभा निर्वाचनको पूर्व प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको थियो । यो प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले देउवाले राजीनामा दिएका हुन् ।
देउवा गत जेठ २३ मा नेपालको ४० औँ प्रधानमन्त्रीमा निवार्चित भएका थिए । गणतन्त्र नेपालका नवौँ प्रधानमन्त्री बनेका देउवाको यो प्रधानमन्त्रीका रुपमा चौथो कार्यकाल हो । देउवाले राजीनामा दिएपछि अब वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नेछ ।
...
फागुनमा राष्ट्रपति निर्वाचन हुने
राष्ट्रपतिको निर्वाचन यही फागुन २१ मा गर्ने विषयमा दलहरुबीच सहमति भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग बिहीबार गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ मा गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने संवैधानिक व्यवस्था छ । छलफलमा नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डे, अग्नि खरेल, नेपाली कांग्रेसका विमलेन्द्र निधि, मीनेन्द्र रिजाल, नेकपा (माओवादी केन्द्र)का नारायणकाजी श्रेष्ठ र प्रल्हाद बुढाथोकी, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो र केशव झा तथा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ र शिवजी यादव सहभागी भएका थिए ।
...
डिभिजन टूको उपविजेता बन्दै नेपालले विश्वकप खेल्ने
करण केसीको सनसनीपूर्ण ब्याटिङसँगै बुधबार नेपालले क्यानाडामाथि १ विकेटको विजय हासिल गर्दै जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने भएको छ। जिम्बाब्वेको टिकट पक्का गर्न नेपाल र क्यानाडा दुवैलाई जित्नैपर्ने दबाब थियो । कप्तान पारस खड्काले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिए ।
श्रीमान्था विजेरत्नेको शतकप्रेरित क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा लक्ष्य पूरा गर्दै फागुन २० बाट जिम्बाब्वेमा हुने ग्लोबल क्वालिफायरका लागि स्थान सुरक्षित गरेको थियो ।
त्यस्तै बिहीबार युएईसँगको फाइनल खेलमा भने ७ रनले पराजित हुँदै उपविजेता बनेको छ । पारस खड्काको शतकका बाबजुद नेपालले यूएईसँग ७ रनले पराजित भएको थियो । २ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पुरा गरेपनि पर्याप्त भएन । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाएको थियो । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले ‘म्यान अफ टुर्नामेन्ट’को उपाधि जितेका थिए ।
...
महाशिवरात्रि मनाइयो
गत साता हिन्दु धर्मावलम्बीको महान् पर्व शिवरात्रि नेपाललगायत भारतका विभिन्न स्थानमा धुमधामसाथ मनाइएको छ । मंगलबार पशुपतिनाथको दर्शन गर्न भारतलगायत विभिन्न देशका हजारौं हिन्दु धर्मावलम्बीको घुइँचो लागेको थियो । हरेक वर्ष लगभग ३५ सयको हाराहारीमा साधु आउने गरेको गुठी संस्थानले जनाएको छ । सोही दिन सैनिक दिवसपनि परेको हुँदा सेनाले टुँडिखेलमा बढाइँको आयोजना समेत गरेको थियो ।
त्यस्तै महाशिवरात्रि मेलाको अवसरमा पशुपतिनाथ आएका साधुसन्तलाई बाटो खर्चसहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित महाशिवरात्रि मेलामा आएका साधुसन्तहरुलाई १६ सयदेखि २९ सय रुपैँयासम्म नगद बाटो खर्चसहित बिदाइ गरिएको थियो।