Decades ago, Taekwondo was only seen as a sport for hooligans and was considered wrong for women to participate in the sport but now things have changed a lot says former champion Sangina Baidhya. Baidhya, who was the first Nepali athlete to compete in Olympic games, is now a Taekwondo coach. She spoke to SBS Nepali about her experience with the sport.
दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुद जस्तो प्रतियोगिता आएपछि धेरैले सम्झिने एउटा नाम संगीना बैध हुनुको कारण के होला?
विगतमा मैले अन्तराष्ट्रिय खेलहरुमा गरेको राम्रो प्रदर्शनले गर्दा यस्तो खेलाडी आओस् भनेर हुन सक्छ । नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय खेलमा उजस्तो खेलाडी भइदिए नेपाली खेलको स्तर बढ्न सक्छ कि भनेर मलाई सम्झिन्छन जस्तो लाग्छ ।
ओलम्पिकमा छनोट भएर प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुनुले तपाईका लागि कतिको अर्थ राख्छ?
ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुँदा खुसीको कुरा हो । कारण त्यो क्षणले नेपालमा पनि खेलकुद र खेलाडीहरुको भविष्य छ भन्ने सकारात्मक सन्देश मिलेको थियो । अझ ओलम्पिकमा मेरो छनोठले महिला खेलाडीहरुलाई प्रोत्साहित गरेको थियो । त्यो माहोल सकारात्मक भएकाले अहिलेसम्म सबैको मनमा बस्न सफल छ ।
ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्नु, एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु, दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण जित्नु मध्ये सवैभन्दा बढी तपाईको मनमा कुन चिज बसेको छ?
मेरो लागि ओपम्पिक छनोट हुने पहिलो नेपाली खेलाडी हुनु गौरवको विषय हो । त्यसबाहेक एसियन च्याम्पियनसिप र दक्षिण एसियालीमा मैले गरेको प्रदर्शन महत्वपूर्ण रहेका छन् ।
तपाईलाई भनिने ‘तेक्वान्दो क्विन’ कसले जुराई दिएको उपनाम हो ? यो भन्दा तपाईलाई कस्तो महसुस हुन्छ ?
यो उपनाम मेरो गुरुहरु र मिडियाले जुराइदिएका हुन् । सबैले माया दिएको नाम पक्कैपनि सुन्दा खुसी लाग्छ ।
अहिलेको नेपाली खेलकुदमा महिला खेलाडी भएर आउनु कतिको सहज छ?
करिव २० वर्ष अघि नेपालमा खेलकुदलाई हेर्ने दृष्टिनै नराम्रो थियो । अझ महिला भएर खेलकुदमा लाग्नुनै गलत हो भन्ने बुझाई थियो । त्यसबेला मार्सल आर्ट भनेको गुण्डागर्दी गर्ने खेल भनिन्थ्यो । मैलेपनि परिवारलाई बुझाउन ग्राहो परेको थियो । मलाई पनि नकारात्मक रुपमा समाजले हेरेको थियो । मैले राम्रो खेलेर परिवारलाई हौसला मिलेको थियो । त्यो बेलाको तुलनामा अहिले आकाश जमिनको फरक छ । राखेपाले सबै सुविधा प्रदान गरिरहेको छ। तैपनि खेलको स्तर भने बढ्न सकेको छैन् ।
तपाई आफै प्रशिक्षकको भुमिकामा हुनुहुन्छ । संगिना बैध जस्तो अर्को खेलाडी निस्किन कति समय लाग्छ ?
मैले खेलाडीको रुपमा जुन सफलता पाएको थिए । अहिले प्रशिक्षकको रुपमा पनि त्यही सफलता पाउनतर्फ जुटेको छु । मैले राखेको रेकर्डहरु मैले तयार गरेको खेलाडीहरुले तोड्न सक्नुपर्छ भनेर लागिपरेको छु ।
सफल खेलाडी र राम्रो प्रशिक्षकको रुपमा स्थापित भइसक्नु भएको छ । जिन्दगीमा कहिल्यै फेल्यर हुनुपरेन ?
अहिलेसम्म फेल्यर भन्ने कुराबारे महशुस गर्न नपाउँदा मपनि आश्यर्चमा छु । मेरो खेलाडी तुलनात्मक रुपमा सफल भएको छ । अहिले प्रशिक्षकको जिम्मेवारीपनि राम्ररी निर्वाह गरिरहेको छु । मेरो अवको लक्ष्य भनेको अन्तराष्ट्रिय खेलमा नेपालको प्रदर्शन राम्रो गर्नतर्फ केन्द्रित रहनेछ ।
नेपालले दक्षिण एसियाको तेक्वान्दोमा पनि साख गुमाउदै जानुको कारण के जस्तो लाग्छ ।
हाम्रो स्तरचाँहि जहाँको त्यही सीमित भएको छ । अन्य देशमा भने सबै कुराहरु सुधारिएर अगाडी बढेको स्थिति छ । त्यसबाहेक लगानीपनि धेरै गरेका छन् । नेपालमा भने स्तर बढाउन कुनै किसिमको कार्य हुन सकेको छैन् ।
राखेपा च्याम्पियनसिप जस्ता प्रतियोगिताले दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुद जस्तो प्रतियोगितामा कतिको तयारी गर्छ ?
राष्ट्रिय खेलाडीले जहिल्यैपनि खेलिरहनुपर्छ । हरेक दिनको अभ्यासले खेलाडीहरु निखारिन्छन् । अझ सकिन्छ भने खेलाडीहरुलाई अभ्यासको लागि अन्तराष्ट्रिय खेलमा सहभागि गराइरहनुपर्छ ।





