मधेसलाई भारतसँग जोड्नु गलत होः अधिवक्ता दीपेन्द्र झा
अधिवक्ता दीपेन्द्र झाद्धारा लिखित 'Federal Nepal: Trials and Tribulations' पुस्तक बजारमा आएको छ । संविधान निर्माणपछिको राजनैतिक अन्यौलता र मधेस आन्दोलनका मुद्दाले पुस्तकमा प्राथमिकता पाएको छ ।
तराई ह्युमन राइट्स डिफेन्डर्स् एलाइन्स् (Terai Human Rights Defenders Alliance)का अध्यक्ष समेत रहेका उनीसँग एसबिएस नेपालीले गरेको कुराकानी :
१. Dipendra Jha’s 'Federal Nepal: Trials and Tribulations' नामक पुस्तकमा के छ ? मधेस आन्दोलनका विषय पुस्तकमा उल्लेख भएका छन् ?
यस पुस्तकमा सन् २०१५ देखि २०१७ को राजनैतिक घटनाक्रम र संविधान निर्माणको अवधीमा देखिएको असन्तुष्टीलाई प्राथमिकता दिएको छु ।
राजनैतिक अन्यौलता र मधेस आन्दोलनको भावहरु पुस्तकमा समेटिएका छन् ।
२.राजनीतिक परिवर्तनसँग तराई र मधेसको मुद्दालाई सम्बोधन गर्न राज्य कहाँ चुकेको जस्तो लाग्छ ?
केबल ११ मतले दोस्रो संविधान संशोधनको विषय संसदमा पारित हुन सकेन् । जसले गर्दा मधेसलाई सम्बोधन गर्ने प्रक्रियानै अवरुद्ध हुनपुग्यो ।
त्यसलगत्तै राजनैतिक दलहरु निर्वाचनमा व्यस्त भए । अव चाँहि मधेसको सविधान संशोसनमा बहस केन्द्रित हुन्छ कि भन्नेमा आशावादी छु ।
३.मधेस आन्दोलन र नेपालको संविधान निर्माण प्रक्रियाका समर्थन र विरोधमा आवाज उठिरहेको बेला तपाईँ एक अधिवक्ता र अधिकारकर्मी भएको नाताले कसरी हेर्नुभएको छ ?
राजनैतिक परिवर्तनले प्रत्यक्ष रुपमा जनताको जीवन शैलीलाई प्रभावित गर्छ । पछिल्लो निर्वाचनमा अधिकांश पहाडी क्षेत्रमा वाम गठबन्धनले जनमत पाएको छ ।
तराई र मधेसमा पनि मधेस आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दल र दलका प्रतिनिधिहरुलाई जनताले निर्वाचनमा जिताएका छन् । त्यसैले उनीहरु संविधान संशोधन गर्न जुट्नुपर्ने देखिन्छ ।
४.अधिकांश तराई र मधेसबाट राजनीतिक नेताहरुले किन त्यहाँको विचारलाई प्राथमिकतामा राख्न नसकेका होलान् ?
वास्तवमा राज्य सत्ताले तराई र मधेसप्रति पूर्वाग्रही राख्ने गरेको छ । मुख्य राजनैतिक दलहरु मधेसको मुद्दाको विपक्षमा एकजुट भएका छन् ।
सामाजिक धुव्र्रकरण हुन नसक्दा तराई र मधेसको मुद्दाले प्राथमिकता पाएको छैन्। फेरि मधेसको प्रतिनिधित्व गर्ने दल र नेताहरुले खासै संघर्ष गर्न नचाएको हुँदा समस्या देखिएको हो ।
५.नयाँ संविधानले आरक्षणको अवधारणालाई सीमान्तकृत समुदायको हकमा आत्मसात गरेपछि आरक्षण पाउनुपर्ने समुदायले किन पाउन सकेका छैनन् ?
आरक्षणको अहिलेको बनावटलाई भत्काएर सबैलाई समेट्नु जरुरी देखिएको छ ।
६.भारत सरकारले गर्ने कुनै पनि निर्णयको आधार केन्द्र मधेसका विषय र नेताहरु हुने गर्छन् । तपाईँले यसलाई कसरी लिनु भएको छ ? लेखकको रुपमा देखिनुभएको तपाईले भारतको भूमिका र मधेसीहरुको भारतप्रतिको दृष्टिकोणलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
भारत र चीनको प्रभाव नेपालको राजनीतिमा प्रत्यक्ष रुपमा रहेको छ । हाम्रो भौगोलिक परिभेषको कारण तराई र मधेसमा भारतको प्रभाव देखिन्छ ।
मधेसका विषयमा भारतको प्रभाव भएको जनताले महशुस गरेका छन् । फेरि मुख्य राजनैतिक दलमा दुई देशको प्रभाव भएको हुँदा हामीले हेर्ने दृष्टिकोणलाई फराकिलो पार्नुपर्ने देखिन्छ ।
७.भारतले मधेस र मधेसीलाई प्रयोग गरेको भन्ने सुनिन्छ । के यो साँचो हो ?
भारत नेपालको राम्रो छिमेकी हो । नेपालको राजनीतिमा उसले पक्कै प्रभाव पारेको छ । तर विभिन्न मुद्दाहरुमा भने मधेसको प्रतिनिधित्व गर्ने दल र नेताहरुले तर्कपनि गरिरहेका हुन्छन् ।
तत्काल मुख्य राजनैतिक दलले तर्क क्षमतामा वृद्धि गर्नुपर्ने जरुरी छ ।
८.मधेसको समस्यालाई सम्बोधन गर्न राज्यले ढिला गरेपनि मधेसी नेताको नेतृत्वमाथि जनताहरुले किन प्रश्न गर्दैनन् ? तपाईको विचारमा मधेसी भावनाको प्रतिनिधित्व भएको छ जस्तो लाग्छ ?
हामी नेपालीहरु एकजुट भएर देश विकास गर्ने हो । त्यसैले तराई र मधेसको कुरा भारतमा लगेर जोग्नु सही होइन। भारतको प्रभाव नेपाली राजनीति भएको कुरालाई नकार्न सकिन्न ।
त्यसो त नेपालले गर्दा भारतको सिमामा प्रत्यक्ष असर गरेको देखिएको छ । यसबारेमा राजनैतिक दलमात्र नभएर सरकारको नेतृत्वले सोच्नु जरुरी छ ।
९.मधेसी नेताहरुको स्वार्थका कारण मधेसी जनताहरुले दुःख पाएका छन् भन्ने कुरामा तपाईको तर्क के छ ?
यो वास्तविकतालाई जनताले स्वीकार गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही नेता र दलहरुलाई जनताले फेरि मौका दिएका छन् । त्य-
सबाहेक तराई र मधेसको प्रतिनिधित्व गरेर प्रतिनिधि सभा र प्रदेश सभामा नयाँ क्षमता भएका व्यक्तिहरु आएका छन् ।
१०.कस्ता खालका मानव अधिकार उल्लङ्घनका घटनाहरु मधेसमा मुख्य प्राथमिकतामा रहेका छन् ?
पछिल्लो समय यातना, बल प्रयोग र महिला हिंसा र वैदेशिक रोगजार र त्यसमा हुने ठगी लगायतका मुद्दा देखिन्छ ।
११.मधेसी युवाहरुलाई प्रोत्साहन गर्न तपाई भूमिका कति महत्वपूर्ण छ जस्तो लाग्छ ?
युवाहरु सामाजिक संञ्चालको कारण एकजुट भइरहेका छन् । मैले सकेसम्म युवाहरुलाई प्रोत्साहित गरेको छु ।




