
This article is more than 5 years old
अस्ट्रालोटाइटान कुपरेन्सिस: अस्ट्रेलियामा पत्ता लगाइएको सबैभन्दा ठुलो डाइनोसर
अङ्ग्रेजी भाषामा कुपर नाम दिइएको उक्त भीमकाय शरीर भएको प्राणी हाल क्विन्स्ल्यान्डको दक्षिण-पश्चिम ग्रामीण भूभागमा पर्ने गाई पालन हुने एक क्याटल स्टेसनमा भेटिएको थियो।
कुपर क्रिक नामक एक सानो खोल्सो नजिकै भेटिएको भएर पनि उक्त डाइनोसरलाई कुपर नामाकरण गरिएको हो।
झन्डै एउटा बास्केटबल कोर्ट जत्तिकै लम्बाई र नौ अफ्रिकी हात्तीहरू जति नै तौल भएको मानिएको कुपरका अवशेष रोबिन र स्टुवर्ट मकेन्जीले भेटका हुन्।
साधारण मानिसका लागि केही रोचक लाग्ने ढुङ्गाहरू मकेन्जी दम्पतीका लागि भने नौलो थिएनन्।
भर्खरै अन्तर्राष्ट्रिय जर्नल पीयर जीमा अस्ट्रालोटाइटन कुपरेन्सिसको बारेमा वैज्ञानिक विवरण छापिए पछि भने उनीहरूको उक्त विश्वासलाई वैज्ञानिक आड पनि मिलेको हो।
आफूले पहिलो दक्षिणी टाइटन पत्ता लगाएको निकै समयपछि उक्त जीवले नाम पाएकोमा रोबिन मकेन्जी प्रसन्नता व्यक्त गर्छिन्।
उनको उक्त खोजले नामसँगै वैज्ञानिक विवरण मात्र होइन कीर्तिमान समेत स्थापित गर्न सफल भएको छ, अस्ट्रेलियाली डाइनोसरहरूको परिप्रेक्ष्यमा।
विश्वमा हालसम्म भेटिएका अन्य डाइनोसरहरूसँग तुलना गर्दा भने दक्षिणी टाइटन १५ औँ ठुलो रहेको बताइएको छ।
इरोमाङ्मा प्राकृतिक इतिहास सङ्ग्रहालयको महाप्रबन्धकका रूपमा भने आफ्नो उक्त खोजलाई सार्वजनिक गर्न उनलाई अझै केही समय लाग्ने छ।

कुपरको थ्री-डी छपाई प्रविधि मार्फत निर्माणका लागि अर्डर दिइएको पूर्ण कदको अस्थिपञ्जर राख्न चाहिने भवन तयार गर्नै बाँकी रहेको उनी बताउँछिन्।
झन्डै १० करोड वर्ष पुरानो र वास्तविक हाड खोरहरू राम्रो अवस्थामा नभएका कारण तिनको प्रदर्शन सङ्ग्रहालयको विभिन्न ठाउँमा निकै जतनका साथ गरिनुपर्ने बताइएको छ।
करिब ९ करोड २० लाखदेखि ९ करोड ६० लाख वर्ष अघि क्रेटासियस समयमा कुपर लगायतका उक्त प्रजातिका डाइनोसरहरु जीवित रहेको अनुमान छ।
यस कामका लागि अनवरतरुपमा आर्थिक सहयोग जुटाउने कार्यमा पनि लागेकी रोबिन मकेन्जी भन्छिन् कि ढिलो चाँडो आफूले कुपरको अस्थिपञ्जर भेटेको स्थानमा नै ग्यालरी बन्ने कुरामा उनी निश्चिन्त छिन्।
"स्टुवर्ट र मेरा लागि यो नितान्त महत्त्वपूर्ण थियो कि हामीले पत्ता लगाएका अवशेषहरू सान्दर्भिकताका निमित्त पनि हाम्रो क्षेत्रमा नै रहुन्," उनले भनिन्।
"पहिले भेटिएका वस्तुहरू अन्यत्र लगिए जस कारण ती पत्ता लागेका स्थानहरूले सामाजिक, आर्थिक लगायत वैज्ञानिक फाइदाहरू उठाउन सकेनन्।"
क्विन्सल्यान्ड सङ्ग्रहालयका जैविक इतिहासविद् स्कट हक्नल भविष्यलाई लिएर उत्साहित छन्।
उनी भन्छन् कि इरोमाङ्मा क्षेत्रले आफ्नो प्रागैतिहासिक रहस्यहरू भर्खरै मात्र उजागर गर्न थालेको हो।
हक्नलका अनुसार उक्त स्थान वरपर अझै थुप्रै अस्थिपञ्जरहरू छन् जसको वैज्ञानिक अनुसन्धान हुन बाँकी नै छ।
"यी मध्ये १०० मिटर लम्ब्याइको ढुङ्गे तखता सबैभन्दा रोचक छ," उनले भने।
"डाइनोसरहरू हिँड्दै, हिलो खेल्दै आफ्नो वजनले नरम जमिनमा छाप छोड्दै गएको ठाउँ हो त्यो।"
क्विन्सल्यान्ड रहेको भूभागको करोडौँ वर्षदेखिको कथा भन्नु आफूहरूको अन्तिम लक्ष्य रहेको बताउँदै उनले त्यसो गर्न सकिए वैज्ञानिक, सङ्ग्रहालय र पर्यटकहरू सबैलाई फाइदा हुने पनि उल्लेख गरे।यदि डा. हक्नलले भने जस्तै इरोमाङ्माले थप रहस्योद्घाटन गरिदियो भने टन्नै काम हुनेछ उनीजस्ता अन्वेषकहरूका लागि।
एउटा अस्ट्रालोटाइटन कुपरेन्सिसको बारेमा मात्र काम गर्न झन्डै डेढ दशकको समय लागेकोबाट पनि यसको सहजै अनुमान लगाउन सकिन्छ।
कुपरको सन्दर्भमा कुरा गर्दा खेरि, मकेन्जी दम्पतीले भेटेको अस्थिपञ्जरहरू क्विन्सल्यान्डमा पहिले पाइएका अन्य नमुनाहरूसँग तुलना गरियो, त्यसपछि विश्वका अरू ठाउँका सोही प्रकारका हाड खोरहरूसँग।
डाइनोसरका हड्डीहरू ठुला, गह्रौँ तर सजिलैसँग टुटफुट हुनसक्ने प्रकारका भएकाले यस्ता कार्य प्राय: गरेर निकै चुनौतीपूर्ण हुने गरेको जानकारहरू बताउँछन्।
