Nepal Communist party UML's leader KP Sharma Oli has accused the government of trying to make the country broke and eye surgeon Dr Sanduk Ruit has received a top award from the Indian government. These are some of the stories that made headlines in Nepal in the past 7 days.
६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने मन्त्रीपरिषद निर्णय
सरकारले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता ६५ वर्षमै दिने निर्णय गरेको छ । गत बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले वृद्ध भत्ता ६५ वर्ष उमेरमा दिने निर्णय गरेको थियो । यसअघि ७० वर्षको उमेरमा दिदैं आएको वृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिएका थिए ।
त्यसै सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय समेत गरेको थियो । बैठकले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको थियो ।
सरकारले यसअघि भूकम्प पीडितलाई अनुदानस्वरुप ३ लाख रुपैयाँ दिँदै आएकामा थप एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
===
नेपाली डा.सन्दुक रुइतलाई भारतको पद्मश्री
नेपाली आँखा चिकित्सक डा. सन्दुक रुइतलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मान गर्ने भएको छ । गणतन्त्र दिवसको अवसरमा गत बिहीबार भारत सरकारले विभिन्न पुरस्कारहरूको घोषणा गरेको थियो । अनि, भारतरत्न, पद्मभूषण तथा पद्मविभूषणपछिको चौथो दर्जाको नागरिक सम्मान पाउनेहरूको सूचीमा डा. रुइतको नाम पनि समेटिएको थियो।
'सस्तो मूल्यमा मोतीविन्दुको शल्यक्रिया गरी डा. सन्दुकले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका छन्,’ भारतको प्रेस इन्फर्मेसन ब्युरोले आफ्नो आधिकारिक ट्विटरमा ट्वीट गरेको थियो ।
ब्युरोका अनुसार डा. रुइतले आविष्कार गरेको प्रविधिबाट विभिन्न ३० भन्दा बढी देशमा मोतीविन्दुको शल्यक्रिया कम मूल्यमा हुने गरेको छ ।
अष्ट्रेलियामा अध्ययन सिध्याएर नेपाल फर्किएर डा. सन्दुकले अन्धोपन हटाउन सस्तो प्रविधिको लेन्स र शल्यचिकित्सा प्रविधिको आविस्कार गरेका थिए । उनले हप्तामा २५ सय हाराहारीका बिरामीहरुको उपचार गर्छन् भने पैसा तिर्न नसक्नेलाई निःशुल्क सेवा प्रदान गरिरहेका छन् ।
===
विश्वमै नेपालको हावाको गुणस्तर खराब
नेपालको हावाको गुणस्तर विश्वकै खराब भएको पछिल्लो अध्ययनले देखाएको छ । गत साता सेन्टर फर इन्भारोमेन्टल ल एण्ड पोलिसी (येल विश्वविद्यालय), सेन्टर फर इन्टरनेशनल अर्थ साइन्स इन्फर्मेसन नेटवर्क, कोलम्बिया युनिभर्सिटी र वर्ल्ड इकोनोमिक फोरमको संयुक्त टोलीले नेपालसहित १८० देशको वातावरणीय अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको थियो।
टोलीको रिपोर्टमा नेपाल हावाको गुणस्तर निकै खराब रहेको जनाएको थियो । अझपनि नेपालका घरहरुमा दाउरा बाल्ने र अत्यधिक वायु प्रदुषणले गर्दा हावा पीएम २.५ रहेको उल्लेख गरेको थियो ।
इन्भारोमेन्ट पफर्मेन्स इन्डेक्स–२०१८ मा सहभागी १८० देशमा नेपाल १७६ औं स्थानमा परेको थियो ।
===
सरकारले देशलाई कंगाल बनाउन खोजेको एमाले अध्यक्षको आरोप
सरकारले देशलाई कंगाल बनाउन खोजेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन् । एमालेले गत बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारका पछिल्लो निर्णयहरुको आलोचना गरेको थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छाड्ने बेलामा जथाभावी निर्णय गरेर देश र अर्थतन्त्रलाई नै संकटमा पार्न खोजेको उनले बताए ।
===
नेपाली हिमालकी विकिपेडिया मानिने एजिलावेथको निधन
नेपाली हिमालको विकिपेडिया उपमा पाएकी एलिजावेथ हलीको ९५ वर्षको उमेरमा निधन भएको छ । फोक्सोमा संक्रमण भएपछि अस्पताल भर्ना गरिएकी हलीको गत शुक्रबार निधन भएको थियो ।
फर्चुन पत्रिकाबाट करिअर सुरू गरेकी उनी, सन् १९६० मा नेपाल आएकी थिइन् । त्यसैताका उनले नेपालबाट टाइम म्यागेजिन र रोयटरका लागि हिमाल आरोहणसम्बन्धी रिपोर्टिङ गरेकी थिइन्।
आफैँले कहिल्यै हिमाल आरोहण नगरेकी हलीले हिमाल अनुसन्धानमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई मानार्थ नागरिकता प्रदान गरेको थियो।
===
गायिका कोमल ओली राष्ट्रिय सभा सदस्य
गत सोमबार र मंगलबार बसेको एमाले स्थायी समितिको बैठकले तीन प्रदेशमा एमालेले पाएका १३ सिटहरुको टुङ्गो लगाएको थियो।
एमाले स्थायी समितिले प्रदेश–५ बाट दाङकी गायिका कोमल ओलीलाई महिला कोटाबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो। उनी यसअघिनै राष्ट्रिय सभामा निर्विरोध भइसकेकी छिन्।
राप्रपाको निर्वाचित केन्द्रीय सदस्य पद त्यागेर एमाले प्रवेश गरेकी गायिका ओलीलाई राष्ट्रिय सभामा पठाउनु पर्ने भन्दै प्रदेश–५ का एमाले ईञ्चार्ज विष्णु पौडेलले नाम सिफारिस गरेका थिए ।
===
मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारलाई
मनाङ–मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै मदन भण्डारी मेमोरियल इटहरी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । मदन भण्डारी फाउण्डेशनको सहयोगमा शनिबार इटहरीमा आयोजित फाइनल खेलमा थ्री स्टारले ३७ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो ।
विमल घर्तीमगरको पासमा चेम्जोङले गोल गरेका थिए । उपाधिसँगै थ्री स्टारले १२ लाख रुपैँया प्राप्त गरेको थियो ।
प्रतियोगितामा थ्री स्टारका अनन्त तामाङ उत्कृष्ठ खेलाडी घोषित हुँदै २५ हजार र सोही क्लबका प्रशिक्षक मेघराज केसीले उत्कृष्ठ प्रशिक्षकको उपाधिसहित २० हजार प्राप्त गरे । उपविजेता मनाङले पाँच लाख हात पारेको थियो ।




