आज भन्दा २० वर्ष अघि १२ अक्टोबरका दिन इन्डोनेसियाको पर्यटकीय क्षेत्र कुटा सदाझैँ पर्यटकहरूको स्वागतमा रमाइरहेको थियो।
रातिको ११ बजे, त्यहाँका रात्रि क्लब र पर्यटक पुग्ने गतव्य अधिकांस भरिभराउ थिए।
अकस्मात् कोलाहल मच्चाउने गरी करिब एकै समयमा तीन वटा ठुला विस्फोटहरू भए र यसले पुरा विश्वलाई नै एक पटक झस्काइदियो।
पहिलो विस्फोट प्याडिस् बार नामक एक निकै व्यस्त नाईटक्लवमा भयो, विस्फोटको केही सेकेन्ड भित्रै नजिकैको अर्को क्लब स्याडी बाहिर रहेको एक गाडीमा विस्फोट गराइयो।
त्यसपछि भने डिनपासरमा अमेरिकी कन्सुलेट कार्यालय अघि अर्को एक विस्फोट भयो।
ति विस्फोटमा परि ८८ अस्ट्रेलियालीहरुले ज्यान गुमाउन पुगे भने, विभिन्न २० देशका २०२ जनाको ज्यान गयो।

अस्ट्रेलियाको इतिहासमै यति धेरै मानिसहरूले आतङ्कवादी घटनामा ज्यान गुमाएको यो नै पहिलो पटक थियो।
यस घटनाले विश्वलाई स्तब्ध त बनायो नै अस्ट्रेलियालीहरू घर र विदेशमा रहँदा, सुरक्षा ठुलो चिन्ताको विषय बन्न पुग्यो।
क्वीन्सल्याण्ड विश्वविद्यालयका सह-प्राध्यापक इयान केमिस, तत्कालीन समयमा विश्वभर रहेका अस्ट्रेलियाली कन्सुलर सेवाका प्रमुख थिए।
उक्त दिनको स्मरण गर्दै, घटनाको जानकारी पाएसँगै आफू मध्यरातमा व्युझिएको उनी बताउँछन्।
“मैले अघिल्लो वर्ष सेप्टेम्बर ११ लाई भोगिसकेको थिए, मलाई फेरी के हुने हो भन्ने लागि रहेको थियो,” उनले भने।
त्यतिबेला, भर्खरै मोबाइल फोनको प्रचलन सुरु भएको समय भए पनि युवाहरूले मोबाइल फोन प्रयोग गर्न सुरु गरिसकेका थिए।
मोबाइल फोनका कारण पनि त्यहाँको जानकारी पाउन सजिलो भएको इयान केमिस स्मरण गर्छन्।
“नयाँ भएता पनि, यसका प्रयोगकर्ताहरू बढ्दै थिए, यसका माध्यमबाट हामीले प्रत्यक्ष जस्तै घटनाका बारेमा जानकारी लिइरहेका थियौ,” उनले भने।
“घटनास्थलबाट मानिसहरूले हामीलाई फोन गरेर, आफ्ना दिदी-बहिनी, भाइ वा श्रीमान नभेट्टीरहेको रहेको गुनासो गरिरहेका थिए, उनीहरूलाई के गर्ने भनेर पनि थाहा थिएन।”
मानिसहरूले हामीलाई फोन गरेर, आफ्ना दिदी-बहिनी, भाइ वा श्रीमान नभेट्टीरहेको रहेको गुनासो गरिरहेका थिएसह-प्राध्यापक इयान केमिस
“अवस्था यस्तो थियो कि, हाम्रा सहायक काउन्सलर डेभिड घटनाको पहिला घण्टा मर्दै गरेका मानिसहरूका हात समाउँदै, मेडिकल सेन्टरमा रगत पुछ्दै बसेका थिए, उनले जीवनको अन्तिम पटक कैयन मानिसहरूलाई आफ्ना आफन्तसँग अस्ट्रेलियामा फोनमा कुरा गराइरहेका थिए।”
बाली विस्फोटका बारेमा पुस्तक लेखेका प्राध्यापक केमिसका अनुसार घटनामा घाइते भएका सबै मानिसहरूलाई उपचारका लागि अस्ट्रेलिया ल्याइएको थियो।
भियतनाम युद्ध पछि पहीलोपटक विमान मार्फत ६६ भन्दा बढी सख्त घाइते भएकाहरूलाई उद्धार गरी डार्बिन पुर्याइएको थियो।
“जलेर सख्त घाइते भएकाहरूले आफ्नो देश वा जातियताका बारेमा बोल्न सकिरहेका थिएनन्, त्यसैले घाइते भएका र उपचार आवश्यक भएका सबैलाई अस्ट्रेलियाले उद्धार गर्यो,” उनले भने।

घटनामा को जिम्मेवार थियो?
उक्त घटना दक्षिण पूर्वी एसियामा सक्रिय रहेको जेमाह इस्लामिक भनिने आतङ्कवादी सङ्गठनबाट भएको थियो।
अलकायदासँग साठगाँठ राख्ने उक्त समूहका तीन सदस्यलाई पछि घटनाको जिम्मेवारी पुष्टि भएपछि मृत्युदण्डको सजाय दिइयो।
बालिका रात्रि क्लबहरू पश्चिमाहरूका लागि सहज र धेरै पुग्ने स्थान मध्ये पर्ने भएकाले, अस्ट्रेलियाली मात्र यसको निशानमा थिए वा सम्पूर्ण पश्चिमाहरु प्रति घटना लक्षित थियो भन्ने कुरामा बहस रहेको प्राध्यापक केमिस बताउँछन्।

“उक्त घटना अस्ट्रेलियालीलाई लक्षित गरी गराइएको थियो या पश्चिमाहरू प्रति लक्षित थियो र त्यसमा अस्ट्रेलियाली पनि परे भन्ने कुरामा मानिसहरूको विभिन्न धारणाहरू छन्,” केमिस भन्छन्।
तर घटनाको दुई वर्ष पछि जेमहा इस्लामिक समूहले जार्कता स्थित अस्ट्रेलियाली एम्बेसी अघि बम राखे पछि यो कुरा स्पष्ट भएको केमिसको भनाई छ।
उनका अनुसार अलकायता प्रमुख ओसामा विन लादेनले पनि सन् २००१ सेप्टेम्बरको घटना पछि, नोभेम्बर महिनामा अस्ट्रेलियालाई दुस्मनका रूपमा टिप्पणी गरेका थिए।

बाली विस्फोट घटना पछि ३० भन्दा बढी मानिसहरू पक्राउ परेका थिए, जसमा विस्फोट पर्दाथ बनाउने उमर पटेक पनि एक थिए।
सन् २०१२ मा उनलाई घटनामा दोषी पाइयो र उनी २० वर्ष जेल चलान भए।
तर जेल बसाइँका क्रममा डाराकटालाइजेसन् भनिने अतिवादी विचार त्याग्ने कार्यक्रममा समावेश भएको भन्दै दुई पटकसम्म उनको जेल सजाय घटाइयो, जसको अस्ट्रेलियालीहरुले खुबै विरोध गरे।
तत्कालीन घटनामा आफ्ना ६ जना साथी गुमाएका पल भानीले एसबिएससँग कुरा गदै त्यति धेरै जनाको ज्यान लिने व्यक्तिलाई १० वर्षमै जेलबाट मुक्त गरिने निर्णय उदेक लाग्दो भएको प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री एन्थोनि एल्बनिजीले पनि यस निर्णयले परिवारलाई गहिरो प्रभाव पार्ने बताए।
“अस्ट्रेलियाले यस विषयमा कूटनीतिक दृष्कीकोण स्पष्ट रूपमा बुझाउनेछ,” प्रधानमन्त्रीले भने।
१२ अक्टोबरमा संसद् नबस्ने भएका कारण, २८ सेप्टेम्बरका दिन घटनाको बारेमा सरकारले स्मरण गरेको छ।
प्रधानमन्त्रीले घटनामा मारिने मध्ये चार जना किशोर रहेको र एक जनाको उमेर केवल १३ वर्ष रहेको बताए।
“हामीले त्यस रात चोरी भएका भविष्यहरूलाई स्मरण गर्दै छौ,” प्रधानमन्त्रीले भने।
जीवनको अर्को पाटोमा पुग्दै गरेका किशोर-किशोरी, विवाहका बारेमा सोच्दै गरेका युवा-युवति, अभिभावकको दायित्व निर्वाह गर्न आतुर जोडीहरू, ती सपनाहरू कहिल्यै पुरा भएनन्प्रधानमन्त्री एन्थोनि एल्बनिजी
“त्यो निकै युवा भेला थियो, जीवनको अर्को पाटोमा पुग्दै गरेका किशोर-किशोरी, विवाहका बारेमा सोच्दै गरेका युवा-युवति, अभिभावकको दायित्व निर्वाह गर्न आतुर जोडीहरू,”
“ती सपनाहरू कहिल्यै पुरा भएनन्।”
प्रधानमन्त्रीले अस्ट्रेलियाली, इन्डोनेसियाली नागरिक अन्य विदेशी एवम् घटना हुँदा सहयोगमा उत्रिएका धेरैका लागि त्यो घटना बिर्सन लायक भएको पनि बताएका छन्।
घटना पछि तत्कालीन समयमा प्याडीज बार रहेको स्थानमा एक स्मरण भवन निर्माण गरिएको छ, जहाँ हरेक वर्ष विस्फोटमा मारिएकाहरूको सम्झना गरिन्छ।
