गत बर्षको ३ नोभेम्बर देखि शुरु भएको यसपल्टको सिजनमा अब केहि हफ्ताका खेलहरु मात्र बाँकी रहेका छन्।
अहिलेसम्मको नतिजाका अनुसार बेनी फुटबल क्लबले खेलेको १० खेलमध्ये ९ मा विजयी भई- २८ अंकका साथ अग्रस्थानमा रहेको छ।
आईतबारको खेलमा, माछापुच्छ्रे एफसीलाई एक गोलले पराजित गर्दै, बेनी फुटबल क्लब यस प्रतियोगिता अन्तर्गतको प्रिमियर लिगको विजेता पनि बन्न पुगेको छ।

उक्त टोली, जि एन सि फुटबल सिल्ड २०२०को लागि पनि एउटा बलियो समूहको रुपमा हेरिएको छ।
यसैगरी, द राईजिङ्ग गुर्खाज – २६ अंकका साथका दोस्रो, र माछापुच्छ्रे अनि सगरमाथा फुटबल क्लब भने – २१ अंकका साथ हाल संयुक्त रुपमा तेस्रो स्थानमा रहेका छन्।
अहिलेसम्म भएको प्रिमियर लिगको खेलमा सेन्ट जोर्ज फ्रेन्डस र क्लब नेपालले भने कुनै खेलमा जीत प्राप्त नगरेकाले अंक तालिकामा सबैभन्दा तल रहेका छन्।

यसैगरी, माईनर लिग प्रतियोगिताको अंक तालिकाको उच्च स्थानमा गोर्खा स्पर र लाँली गुराँस- १८ अंकका साथ संयुक्त रुपमा प्रथम स्थानमा रहेका छन्।
क्याम्सी एफ्सी र अबर्न नेपलिज क्लबले भने क्रमश: १३ र १२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
माईनर लिगमा भने, प्यारा पार्क फुटबल क्लब खेलेको सबै आठ प्रतिस्पर्धाहरुमा असफल रहेकाले अंक तालिकामा सबैभन्दा तल रहेको छ।
यसैगरि, ३५ बर्षभन्दा माथि उमेरकाहरुले खेल्ने भेट्रन खेल प्रतियोगितातर्फ भने माछापुच्छ्रे र सेन्ट जोर्ज नेपलिज क्लब क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन्।
यस प्रतियोगिता अन्तर्गत, लाँलीगुराँसले खेलेको सबै चार खेलमा पराजय बेहोर्नु परेका कारण, अंक तालिकामा सबैभन्दा तल रहेको छ।
जीएनसीका ईराज थापा का अनुसार प्रतियोगिता अन्तिम चरणमा आईसकेको, र आउँदो २९ मार्चका दिन फाईनल हुने छ।
“मौषम अनुकल रहेमा, यहि मार्च २२ मा - जि एन सि भेट्रन्स फुटबल सिल्ड २०२० को लागि चार उच्च भेट्रन टोलीहरुबिच प्रतिस्पर्धा हुनेछ। र मार्च १५ तारिखभित्र, माईनर लिग र भेट्रन्स लिगका विजेता थाह भईसक्नेछ,” थापाले एसबीएस नेपालीलाई बताए।
प्रत्येक आईतवार – पश्चिम सिड्नी स्थित चेष्टर हिलको नोरफर्ड पार्कमा भईरहेको यस प्रतियोगितामा गत आईतवारको खेलमा पनि उत्साहित दर्शकहरुको उपस्थिति रहेको थियो।
हरेक बर्ष, यस प्रतियोगितामा दर्शकको रुपमा आउने सन्तोष रानाले यसपल्ट खेलाडीहरुले थप कौशलता देखाएको बताउछन्।
“हरेक बर्ष पहिले नदेखिएका केहि नयाँ खेलाडीहरुले प्रभावित गर्ने गरेका छन्। यस बर्ष पनि मैले त्यहि चलन भेटेको छु,” उनले भने।

यता जीएनसीका अध्यक्ष जीतमान लिम्बुले पनि खेलाडीहरु र दर्शकहरुको उत्साह यो बर्ष पनि मनग्गै देख्न मिलेको बताएका छन्। साथै प्रतियोगिता सफल बनाउने श्रेय समुदायको सबैलाई जाने पनि उनले जोड दिए।
उनले प्रतियोगिताको ईतिहासमै पहिलो पटक दुई पक्ष बीच भएको झडपका कारण प्रहरी बोलाउन बाध्य भएको बताएका छन्।
“फुटबल खेल भावनासँग जोडिएको खेल हो। जित-हार र खेलको दवावले झगडा शुरु हुने संभावनालाई नकार्न सकिदैन। तर हामी यसलाई न्यून गर्न कटिबध्द छौ,” लिम्बुको भनाइ थियो।
