सिड्नीकी लर्ड मेयर क्लोभर मूरका अनुसार आफ्ना हजारौँ बासिन्दाहरूको इच्छा अनुसार उक्त सिटी काउन्सिलले सिड्नीको रात्रि अर्थतन्त्रलाई टेवा पुर्याउने योजना लागू गर्न लागिएको बताएकी छिन्।
“मानिसहरू घाम अस्ताउने बित्तिकै सहर बन्द होस् भन्ने चाहँदैनन्,” उनले अगिल्लो वर्ष करिब १०,००० भन्दा बढी बासिन्दाहरू बिच गरिएको एक सर्वेक्षणको नतिजालाई आफ्नो आधार बनाउँदै भनिन्।

हाल सिटी काउन्सिलमा विचाराधीन रहेको उक्त परिवर्तनकारी योजनामा बिना लाइसेंस चल्ने पसलहरू खुला रहने समय सीमा बढाइने, बाराङ्गगारु र ग्रीन स्क्वेर जस्ता द्रुत गतिमा बाक्लिंदै गएका नयाँ बस्तीहरूमा अबेरसम्मै बन्द-व्यापार खुल्ला राख्ने लगायतका कुराहरू छन्।
त्यसै गरी, अलेस्क्जाण्ड्रियामा एक नयाँ २४ घण्टे सांस्कृतिक हाताको निर्माण गरिने पनि बताइएको छ।
तर, यी मध्ये केही परिवर्तनहरू न्यु साउथ वेल्स राज्यको “लक् आउट” नियमहरू भित्र पर्ने हुँदा राज्य सरकारको सहमतिमा निर्भर हुने पनि बताइएको छ।
ती “लक् आउट” नियमहरूका अनुसार सिड्नीको केन्द्रीय व्यापारिक क्षेत्र - सीबीडी र किंग्स क्रसका पब तथा क्लबहरू रातिको साँढे एक बजे बन्द हुनुपर्दछ।

तर, काउन्सिलले स्वीकृति दिने बिना लाइसेंस चल्ने पसलहरूमा पुस्तक, लत्ता-कपडा, ड्राइ क्लिनर्स, हजाम, ब्युटी पार्लर लगायत बैङ्कहरू पनि समावेश हुनेछन्।
आज राति हुने आफ्नो मासिक बैठकमा सिड्नी सिटी काउन्सिलले यस विषयमा छलफल गर्ने छ।
काउन्सिलले उक्त योजना पारित गरे, व्यापार-व्यवसाय चलाउनेहरूले नयाँ कायम हुने “बिजिनेस आवर”का लागि आवेदन हाल्न सक्ने पनि बताइएको छ।
