राष्ट्रिय स्तरको खेलका लागी २४ नेपाली फुटबल टोली न्यू साउथ वेल्स मैदानमा

एक दिनमा २८ म्याचहरू खेलाउँदै माछापुछ्रे फूटबल क्लब कप २०१८ अन्तर्गतको पहिलो चरणको खेल शनिबार सम्पन्न भएको छ। दुई दिवसीय प्रतियोगिताको यो तेस्रो संस्करण हो जसले अस्ट्रेलियामा रहेका नेपाली फुटबल टोलीहरूलाई एउटा मैदानमा उतारेको हो।

players singing national anthem

Source: sbs nepali

एमएफसी कप २०१८ मा ५ वटा भिन्न राज्यका टिमहरूलाई सहभागी गराएर अस्ट्रेलिया भर रहेका नेपाली फुटबल क्लबहरूको लागी राष्ट्रिय स्तरको खेलको आयोजना गरिएको छ।

१० मिनेट भित्र आफ्नो फुटबल खेल्ने कला प्रस्तुत गर्नु पर्ने यो प्रतियोगितामा प्रत्येक टिममा ९ जना खेलाडीहरू रहन्छन्।

खेलमा सिड्नीका साथै ब्रिसबेन, मेलबर्न, क्यानबेरा र अलबरीमा अवस्थित अस्ट्रेलियाको नेपाली फुटबल सङ्घ (एन्फा) मा दर्ता भएका क्लबहरूको सहभागिता रहेको छ।

स्तरियतालाई प्राथमिकता दिँदा एन्फामा आबद्ध सबै टिमहरूलाई सहभागी गराउन असमर्थ भएको एन्फाका अध्यक्ष बिजेन बटाजूले बताए।

आफैँ पनि माछापुछ्रे फुटबल क्लबको भेटेरन समूहबाट खेल खेलेका बटाजू भन्छन् "सिड्नी मै २२ वटा क्लब छ, सबैलाई समावेश गर्न सम्भव भएन। "

दुई दिवसिय खेलमा सम्पूर्ण उमेर समूहमा १६ वटा क्लबहरू र ८ क्लब फरएभर योङ्ग वा भेटेरन समूहमा रहेका थिए। पहिलो पटक एमएफसी कपमा भुटानी क्लबको पनि सहभागिता रहेको थियो।

भुटानी नेपाल भाषी ड्रुक फुटबल क्लब पहिलो खेलमा नै गोरखा फुटबल क्लब ब्रिसबेनसँग पराजित भएता पनि क्लबका कप्तान सोनम यसलाई सुरुवातको रूपमा हेर्छन्।

क्लबको स्थापना भएको एक वर्षमा यति ठुलो प्रतिस्पर्धामा सहभागी हुँदा खेलाडीहरू नै आत्तिएको बताउँदै उनले उचित व्यवस्थापनको अभावमा क्लब कमजोर रहेको स्विकारे। सोनम भन्छन् ड्रुक क्लब यो खेलको फाइनलमा पुग्न धेरै गाह्रो छ।

Druk FC from Canberra spoke to SBS Nepali with team captain Sonam (1st bottom right)
Druk FC from Canberra spoke to SBS Nepali with team captain Sonam (1st bottom right) Source: SBS Nepali

हार र जित सँग मात्र जोडेर खेललाई नहेर्ने सोनम मात्र होइनन्।

खेल मैदानमा भेटिएका द ब्रिगेड क्लबका कप्तान प्रज्वल राईका लागी फुटबल एउटा खेल मात्र नभएर एक अर्का सँग भेट्ने, शारीरिक सुगठन र मानसिक रूपमा आफूलाई बलियो पार्ने माध्यम रहेको छ। 

डिफेन्डींग च्याम्पियन ब्रिसबेनका गोर्खा फुटबल क्लबले पहिलो खेलमा ड्रुक क्लबमाथि विजय हासिल गर्न सफल भएकोमा खुसी व्यक्त गर्छन् क्लबका कप्तान नोर्देन शेर्पा।

सहभागी समूहहरूमा अलि कमजोर मानिएको ड्रुक क्लबलाई जितेर आत्मविश्वास बढेको बताउने शेर्पा खेलमा हुने अप्रत्याशित नतिजाबारे सजक पनि छन्।

कतिपय खेलाडीले सुत्न पनि नपाएको प्रसङ्ग उठाउँदै ब्रिसबेनबाट सिड्नीमा फुटबल खेल्न आउनु पछाडि फुटबल प्रतिको मोह नै प्रमुख रहेको उनको भनाइ थियो।

Norden Sherpa
Norden Sherpa from Gurkha FC in Brisbane spoke to SBS Nepali. Source: sbs nepali

खेलाडीहरूमा देखिएको लगनशीलताको प्रशंसा गर्दै उनले क्लबहरूको सङ्ख्या सँगै गुणस्तर पनि बढिरहेको बताए।

"२००५ मा स्थापित गोर्खा क्लब सँगै ब्रिसबेनमा मात्र ४ वटा राम्रा फुटबल टिमहरू रहेका छन्।" शेर्पाले बताए।क्यानबेरा नेप्लिज फुटबल क्लब का कप्तान नीराजन प्रधान पनि फुटबललाई सामुदायिक खेलको रूपमा हेर्छन् र यसले भाइचारा बढाउन मद्दत पुर्‍याउने बताउँछन्।

क्यानबारेमा पैसा तिरेर अभ्यास खेलका लागि मैदान लिनु पर्ने भएकाले केही अप्ठ्यारो हुने गरेको भएपनि एक अर्काको साथ र सहयोगले अगाडी बढिरहेको बताए।

र उनले यो प्रतिस्पर्धामा राम्रो खेल प्रदर्शन गर्न सके फुटबल खेलका अस्ट्रेलिया फूटबल छनौट निकायको आँखामा पर्न सक्ने आशा व्यक्त गरे।

खेल प्रतिको लगावले गर्दा सानोतिनो योगदान दिन नहिच्किचाउने पनि उनको भनाइ थियो।

Canberra Nepalese Football Club captain Nirajan Pradhan (2nd from right) with his team mates spoke to SBS Nepali.
Canberra Nepalese Football Club captain Nirajan Pradhan (2nd from right) with his team mates spoke to SBS Nepali. Source: SBS Nepali

राष्ट्रिय स्तरकै टुर्नामेन्टको आयोजना गरेको माछापुच्छ्रे फुटबल क्लबको स्थापना २०१३ मा मात्र भएको हो। गोर्खा ब्वाइज र नेप्लिज थन्डर दुई क्लब मिलेर बनेको माछापुच्छ्रे फुटबल क्लबको यो तेस्रो संस्करण हो।

क्लबका सभापति यज्ञधर बज्राचार्य एमएफसी स्तरिय खेल मैदानमा प्रतिस्पर्धा गराउने र पुरस्कार राशि बढाउने आफूहरूको सपना पुरा भएको बताए।

साथै उनले आफूहरूले गरेको सुरुवातको सिको गर्दै आगामी दिनमा अरू क्लबहरूले आयोजना गर्ने खेलहरूको पनि स्तर वृद्धि हुनेमा आफू आशावादी रहेको बताएका छन्।दोस्रो चरणको खेल आइतबार बिहान ९ बजे क्यानबेरा नेप्लिज र द ब्रिगेड क्लब बिचको प्रतिस्पर्धा सँगै सुरु हुनेछ।

 


3 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now