SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्समा थप ४४ सामुदायिक सङ्क्रमणका घटना, प्रतिबन्धहरू कडा बन्दै

प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आफ्नो राज्यका धेरैभन्दा धेरै बासिन्दाहरूलाई कोभिड-१९ परीक्षणका लागि अगाडि आउन भनेकी छिन्।

SW recorded 44 new locally acquired cases of COVID-19 in the 24 hours to 8pm last night. (AAP Image/Mick Tsikas) NO ARCHIVING
Source: AAP

3 min read

Published

Updated



Skip to article content

गए राती आठ बजेसम्मको गणना अवधिमा थप ४४ जनामा न्यु साउथ वेल्समा सामुदायिक सङ्क्रमण पुष्टि हुँदै गर्दा बेरिजिक्लियनले उक्त आग्रह गरेकी हुन्।

शुक्रवार बिहान घोषणा गरिएका ती मामिलाहरू मध्ये २९ जना आंशिक वा पूर्ण रूपमा समुदायमा घुलमिल गर्दै समय व्यथित गरेका मानिसहरू रहनु निकै चिन्ताको विषय रहेको उनको भनाई थियो।

"जब हामी सामुदायिक सङ्क्रमणको कुरा गर्छौ, हामीलाई आइसोलेसनमा बसेका सङ्क्रमितहरूको बारेमा खासै चिन्ता छैन किनभने उनीहरूले भाइरसलाई थप फैलाइरहेका छैनन्," बेरिजिक्लियनले भनिन्।

न्यु साउथ वेल्स प्रिमियरले यसबारे गहिरो चिन्ता व्यक्त गर्दै आउँदा दिनहरूमा सामुदायिक सङ्क्रमणका घटनाहरू अझै बढ्न सक्ने प्रति राज्यवासीहरूलाई सतर्क गराएकी छिन्।

उनी भन्छिन् कि डेल्टा भाइरससँगको लडाइँमा सबैभन्दा उत्तम अस्त्र भनेकै खोप हो।

"हाम्रो खोप दर ९ प्रतिशत मात्र रहँदा न्यु साउथ वेल्स सरकारले हामी यस भाइरससँग जिउन सक्छौँ भनेर सोचेको छ भन्ने नठान्नुहोस्," ग्लाडिस बेरिजिक्लियनले शुक्रवार सिड्नीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भनिन्।

"यदि हामीले खोप दर केवल ९ प्रतिशत हुँदा नै यो भाइरस समुदायमा रहँदै गर्दा आफ्नो जीवनयापन सामान्य रूपमा निर्वाह गर्न सक्छौँ भनेर लाग्यौँ भने हामीले हजारौँ मानिसहरू अस्पतालमा भर्ती भएको देख्ने छौँ र अन्य थुप्रै मृत्युको मुखमा पुग्नेछन्।"

कोभिड-१९ का कारण अस्पतालमा भर्ना भएकाहरू बारे बोल्दै उनले एक २० वर्ष उमेर कटेका युवापिंढीका व्यक्ति भेन्टिलेटरमा रहेको पनि खुलाएकी छिन्।

प्रिमियरले मानिसहरूलाई अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन चेतावनी दिँदै लकडाउन अवधि थप लम्बिने पनि सङ्केत गरेकी छिन्।

उनी भन्छिन् कि शुक्रवार उनले जारी गरेको सन्देश धेरै मानिसहरूका लागि अप्रत्याशित हुनेछ।

"तर म सबै जना स्तब्ध हुन् भन्ने चाहन्छु," उनले भनिन्।

"महामारी सुरु भएयता न्यु साउथ वेल्समा हामीले सबैभन्दा ठुलो चुनौती भोगिरहेका छौँ, केही नाटकीय परिवर्तन भएर सङ्क्रमण सङ्ख्या घट्यो भने अर्कै कुरा हो, नत्र आगामी शुक्रवार कसरी प्रतिबन्धहरू खुकुलो हुन्छन् मलाई थाहा छैन।"

पछिल्लो अवस्थाको प्रतिक्रिया स्वरूप थप प्रतिबन्धहरू लागू गरिने पनि प्रिमियर बेरिजिक्लियनले बताएकी छिन्।

उनका अनुसार शुक्रवार बेलुका ५ बजेदेखि मानिसहरूले बढीमा दुई जनाको समूह वा आफ्नै घर परिवारको समूहमा मात्रै व्यायाम गर्न सक्नेछन्।

यसै गरी आफ्नो घरभन्दा १० किलोमिटरको परिधिभित्र मात्र व्यायाम गर्न सकिनेछ भने आइतवारदेखि मलामी जाने मानिसहरूको सङ्ख्या बढीमा १० जनामा सीमित गरिएको छ।

NSW recorded 44 new locally acquired cases of COVID-19 in the 24 hours to 8pm last night. (AAP Image/Mick Tsikas) NO ARCHIVING
NSW Chief Health Officer Dr Kerry Chant at a press conference to provide a COVID-19 update in Sydney, Friday, July 9, 2021. Source: AAP

पत्रकार सम्मेलन कै क्रममा न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी च्यान्टले आफू पनि प्रिमियर जस्तै राज्यमा देखिएको डेल्टा भेरिएन्टको सङ्क्रमणलाई लिएर निकै चिन्तित रहेको बताएकी छिन्।

उनले १० जनाको सघन उपचार कक्षमा उपचार भइरहेको बताउँदै भनिन् अस्पताल भर्तीको क्रमलाई घटाउन सामुदायिक सङ्क्रमणका घटनाहरूमा गिरावट आउनै पर्छ।

विशेष रुपमा सिड्नीको दक्षिण-पूर्वी क्षेत्रका सदर्ल्यान्ड, करीइला, सिल्भेनिया, हर्स्टभिल र मरौब्राका बासिन्दाहरूलाई सतर्क रहन पनि उनले आग्रह गरेकी छिन्।

"महत्त्वपूर्ण स्वास्थ्य सन्देशहरू बाँड्नुहोस् र स्वास्थ्य सल्लाहहरूको पालना गर्नुहोस्," च्यान्टले भनिन्।

साथै उनले बस्ली पार्क, स्मिथफिल्ड, फेयरफिल्ड, ग्लेनफिल्ड, वेस्ट हक्सटन, बास हिल, ग्रिनएकर, सेन्ट जन्स पार्क, बोन्नीरिग हाइट्स, ब्याङ्क्सटाउन, केन्ली भेल, आरामार्क, चेस्टर हिल, एड्मन्डसन पार्क, ग्रिनफिल्ड पार्क, मूरब्याङ्क, नरेएल, डेल, कसुला लगायतका स्थानमा पनि थप सङ्क्रमित रहेको उनले बताएकी छिन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now