राष्ट्रिय आदिवासी टेलिभिजन (एनआइटिभी)मा काम गर्ने हाम्रा सहकर्मी ड्यानी टीस-जन्सनका अनुसार कतिपय मानिसहरू कहिले काहीँ एबोरिजिनल व्यक्तिहरूसँगको संवादको क्रममा अफ्ठेरोमा पर्छन्।
उनका अनुसार, एबोरिजिनल संस्कृति र चालचलन नबुझेका कारण कहिले काहीँ लाज मर्दो अवस्था भएर रातो मुख लाउनु पर्ने अवस्था समेत हुन आउँछ।
विशेष गरी हामी जस्तो अस्ट्रेलिया बाहिर हुर्केर आएकाहरूको लागि भने यहाँका आदिवासीहरू मध्ये एबोरिजिनी मानिसहरू तथा उनीहरूको संस्कृतिको बारेमा निकै भ्रम, गलत धारणाहरू, मिथक र रुढीवादी सोचहरू व्याप्त रहने गरेको पाइन्छ।

हाम्रा सहकर्मी टीस-जन्सन भने गोमेरोई आदिवासीको राज्यबाट आएका मानिस हुन् जसलाई कामिलारोई वा गामीलारेको नामबाट पनि चिनिन्छ।
उत्तरी न्यु साउथ वेल्सको ट्यामवर्थ देखि उत्तर पश्चिम फैलिएको यो राज्यमा क्विन्सल्याण्डको केही स-साना भूभागहरू पनि पर्दछन्।
उनका अनुसार अस्ट्रेलियामा युरोपेली प्रभाव पूर्व करिब ७०० भिन्दा भिन्नै भाषाहरू बोलिन्थ्यो जुन हाल २५० जतिमा सीमित भएको छ।
“हामी सबै एबोरिजिनी मानिसहरू उस्तै देखिए पनि हाम्रा भाषा, संस्कृति लगायतका चाल-चलनहरू फरक फरक छन्,” उनी बताउँछन्।
टीस-जन्सनले एबोरिजिनी मानिसहरू माथि भएका अपमानजनक दुर्व्यवहारहरू निकै नजिकबाट आफ्नो उपस्थितिमा नियालेका छन्।
उनका अनुसार, नयाँ एबोरिजिनी साथीहरू बनाउनु भएको छ भने तलका ५ कुराहरू गर्नबाट आफूलाई रोक्नु रामो हुनेछ र रातो मुख पनि बनाउन पर्नेछैन।

१. आपत्तिजनक नामहरू
अस्ट्रेलियाका आदिवासी भनेर एबोरिजिनी र टोरेस स्ट्रेट वरिपरि रहेका टापुका बासिन्दाहरू भनेर दुई मुख्य समूहका मानिसहरूलाई वर्गीकृत गरिएको छ।
अस्ट्रेलियामा आदिवासीहरूलाई “इन्डीजिनीयस पिपुल”, “एबोरिजिनल” वा “टोरेस स्ट्रेट आइल्याण्डर” भनेर सम्बोधन गर्दा राम्रो मानिन्छ।
यहाँ, उनीहरू एबोरिजिनी हुन् वा टोरेस स्ट्रेट वरिपरि रहेका करिब २७० भन्दा बढी सङ्ख्यामा रहेका स-साना टापुका बासिन्दाहरू हुन् भनेर छुट्ट्याउन चाहिँ जरुरी छ।
अब तपाईँलाई अस्ट्रेलियाको हावाले छोई सकेको छ र ब्रेकफास्टलाई “ब्रेक्की” अनि आफ्टरनुनलाई चाहिँ “आर्भो” भन्ने बानी परिसकेको छ भने पनि एबोरिजिनी मानिसहरूलाई झुक्किएर पनि “आबो” चाहिँ नभन्नु होला!
“आबो” उनीहरूका लागि निकै होच्याएर विगतमा धेरै प्रयोग भएको एक आपत्तिजनक शब्द हो।
त्यसै गरी “कून” र “बूंग” को प्रयोग पनि उनीहरूलाई अपमानजनक लाग्ने गर्छ।
२. तपाईँ कति प्रतिशत एबोरिजिनी हुनुहुन्छ?

अस्ट्रेलियाका आदिवासीहरूलाई निकै सोधिने तर उनीहरूलाई एकदमै घोच्ने प्रश्न हो - तपाईँ कति प्रतिशत एबोरिजिनी?
“जति प्रतिशत भए पनि फरक पर्दैन, हामी सबै आदिवासीहरू आ-आफ्नो माटोसँग गाँसिने गहिरो सम्बन्धमा विश्वास गर्छौँ र हाम्रो लागि त्यो सबैभन्दा महत्त्वपूर्ण कुरो हो,” टीस-जन्सन भन्छन्।
“यस कारण यो प्रश्नको कुनै औचित्य नै छैन।”
उनका अनुसार यदि तपाईँ अस्ट्रेलियाका आदिवासीहरूलाई आदर गर्न चाहनु हुन्छ भने यो कुराको उठान नगर्दा नै राम्रो होला।
३. एबोरीजिनीहरुले त सित्तैमा घर पाउँछन् रे नि!
केन्द्रीय तथा राज्य सरकारहरूले आ-आफ्नै तवरबाट यहाँका आदिवासीहरूलाई सहयोग पुर्याउने गर्दछन्। तर यसको यो मतलब होइन कि सरकारले सबै एबोरिजिनी मानिसहरूले सित्तैमा घरै दिन्छ।
धेरै ठाउँहरूमा त थुप्रै आदिवासीहरूको एकदमै गरिब समुदायहरू छन् जहाँ उनीहरूलाई कुनै सहयोग प्राप्त हुँदैनन्।
त्यस माथि झन् ती समुदायहरू भित्र पनि उनीहरूको आ-आफ्नै प्रकारका चुनौतीहरू हुन्छन्।

अब त्यस्ता पिछडिएका समुदायहरूमा बस्ने मानिसहरूलाई “तिमीहरूले त बसी-बसी खान पाएका छौ, हगी?” भन्दा नराम्रो हुने भई हाल्यो, सहरमा अलि हुने खाने आदिवासी पृष्ठभूमिका मानिसहरूलाई पनि त्यसो भन्नु एकदमै गलत हुने टीस-जन्सनको भनाइ रहेको छ।
“हामीहरूलाई इतिहासको कुनै कालखण्डमा गरिएको दुर्व्यवहार धेरैले भोगेका छैनन्। तपाईँले त्यसो भन्दा हाम्रो घाउमा झन् नुन-खुर्सानी छर्केको अनुभूति हामीहरूले गर्ने गरेका छौँ,” उनी स्पष्ट पार्दै भन्छन्।
४. स्वीकार्यताको कमी
तपाईँ कुनै औपचारिक समारोह वा कार्यक्रमहरूमा जाँदा “देशमा परम्परागत स्वागत” वा “हामी आज यस देशमा उभिएका छौँ” भनेको सुन्नु भएकै होला।
माथि भने झैँ यस विशिष्ट कार्यको कारण भने आदिवासीहरूको जमिनसँगको नाता नै हो।
यसरी माटोको संरक्षकहरूको मनन नगर्नु भनेको उनीहरू उपेक्षा सरह हो भन्छन् हाम्रा सहकर्मी टीस-जन्सन।
“यदि तपाईँ कुनै औपचारिक कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ र आफूहरू उभिएको उक्त जमिन र त्यसका संरक्षकका बारेमा केही पनि बोल्नु हुँदैन भने त्यो त ठाडै हामीहरू एनोरिजिनी मानिसहरू यहाँ छैनन् भन्नु बराबर हो।”
“यी जमिन त हाम्रा पुर्खाहरूले चालिस हजार वर्ष भन्दा पनि पहिले देखि रेखदेख गर्दै आएको पो हो,” उनी बताउँछन्।
त्यस कारण आफूले कुनै औपचारिक कार्यक्रम गर्नु पूर्व उक्त स्थान बारे अलिक सोधखोज गर्नुहोस् र त्यहाँका परम्परागत संरक्षकहरूका बारे जानी राख्नु राम्रो हुनेछ।

५. एबोरिजिनी मानिसहरूका तर्फबाट भनेर अरूले बोलिदिने
र, यी मध्ये सबैभन्दा चित्त दुख्ने कुरा चाहिँ आदिवासीहरूको कुरा भन्दै उनीहरूलाई उक्त संवादमा निमन्त्रणा नै नगरी “उनीहरूको लागि” गरिने चर्चा एवम परिचर्चा रहेको ड्यानी टीस-जन्सन उल्लेख गर्दछन्।
“विशेष गरेर मूलधारे सञ्चार माध्यमहरूमा हामी के देख्छौँ भने जसको अस्ट्रेलियाका आदिवासीहरूसँग गोरु बेचेको पनि साइनो छैन, उनीहरू एक-आपसमा यहाँका आदिवासीहरूका मुद्दामा बहस गर्दै बसेका हुन्छन्।”
“यसले आदिवासीय अस्ट्रेलियालाई नराम्रो क्षति पुर्याईरहेको छ, किनकि गलत जानकारीका कारण जातीय भेदभाव, रुढीवादी एकल काँटे सोचलाई मात्र फैलन मद्दत गर्दैन।
त्यसले त हामी र हाम्रो संस्कृतिबारे विकृत धारणाहरूलाई मलजल गर्दै एकदमै गलत किसिमको सन्देश प्रवाह गरिदिन्छ,” उनी भन्छन्।

