कोरोनाभाइरसको सङ्क्रमण फैलँदै गर्दा यसको प्रभाव अस्ट्रेलियाका विद्यालयहरूमा पनि परेको छ जस कारण केही निजी स्कूलहरूले आफ्नो ढोका बन्द गरिसकेका छन्।
कुनै स्कुल, विद्यार्थी वा तिनका नजिकका नातेदारलाई कोरोना सङ्क्रमण भएका कारण बन्द भएका छन् भने कुनै चाहिँ कर्मचारी सङ्क्रमित भएका कारण बन्द भएका हुन्।
यसैले पनि, अभिभावकहरूले आफ्ना बालबालिकाहरूको कोरोनाभाइरस तथा त्यसले उत्पन्न गरेको अभूतपूर्व अवस्था बारे रहने सक्ने अन्योलतालाई केही हदसम्म भए पनि हटाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।
हालसम्म बालबालिकाहरू सङ्क्रमित भएको खबर आए पनि, कोरोनाभाइरसकै कारण हताहत भएको घटना छैन। तर, कोभिड-१९ विरुद्धको लडाइँमा उनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तथ्यलाई भने नकार्न मिल्दैन।
त्यसैले यहाँ तल, अभिभावक र उनीहरूका बच्चाहरूलाई सुसूचित रहन मद्दत पुग्ने केही सल्लाहरू छन्:
अनिश्चितताको बेला संयमता अपनाउनुहोस्

सार्स-सीओभी-२ नामक कोरोनाभाइरसले कोभिड-१९ भन्ने रोग लाग्छ जुन सामान्य रुघा खोकी जस्तै हो तर त्यो भन्दा यो अलिक बढी गम्भीर एवं जटिल प्रकृतिको रहेको पाइएको छ।
सङ्क्रमित भएको लक्षणहरूमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र सास लिन समस्या हुने देखिएको छ। अलिक गम्भीर मामिलाहरूमा चाहिँ निमोनिया हुने, मिर्गौलाले काम गर्न छाड्नेसम्म भएर सङ्क्रमित व्यक्तिको मृत्यु पनि हुनसक्छ।
महामारी घोषित भइसकेको हालको यस सङ्कटमा मानिसहरू अब के हुने हो भन्ने कुराको ठेगान नहुँदा भयभीत रहेको पाइएको छ। यस कारण मानिसहरूमा चिन्ता व्याप्त भएर मानसिक रोगको प्रवृत्ति पनि झल्कने हुनसक्छ।
यस्तो समयमा हामीले आफ्ना बाल-बालिकाहरूलाई तथ्यमा आधारित सूचना एवम् समाचारहरूको बारेमा बताएर उनीहरूमा रहेको अनिश्चिततालाई सम्बोधन गर्न सक्छौँ।
उदाहरणको लागि हामीले उनीहरूलाई हालसम्म बालबालिकाहरू कोरोनाभाइरसबाट एकदमै कम सङ्क्रमित भएको र भएका मामिलाहरूमा पनि निकै सामान्य किसिमका लक्षणहरू मात्र देखिएको बताएर उनीहरूको मनबाट यस रोगको डर निकाल्न सक्छौँ।
हामीले उनीहरूलाई उक्त भाइरसबाट बच्ने तरिका सिकाएर पनि उनीहरूको मनोबल बढाउन सक्छौँ।
सरसफाइमा राम्रो ध्यान दिनुहोस्

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार कोरोनाभाइरस विरुद्धको हाम्रो अभियानमा सरसफाइले ठुलो भूमिका खेल्छ।
आफ्ना बालबालिकाहरूलाई राम्ररी साबुन पानीले हात धुन अभिप्रेरित गर्नुहोस्। विशेष गरेर शौचालयको प्रयोग पछि, सार्वजनिक स्थानहरूबाट घर फिरे पछि र खाना खानु र खाइसके पछि।
हाच्छ्युँ आउँदा रुमाल वा टिस्युको प्रयोग गर्न भन्नुहोस् र टिस्यु प्रयोग गरिए पछि त्यसलाई फोहोर फ्याँक्ने बिनमा हाल्न सम्झाउनुहोस्।
समाचार एवं मिडियाको स्रोत छान्दा होसियारी अपनाउनुहोस्
तपाईंले कोरोनाभाइरस बारे इन्टरनेट वा सामाजिक सञ्जालहरूमा यसो आँखा डुलाउनु भयो भने “Australia’s coronavirus death rate could proportionally be worse than China’s, expert warns” जस्ता रिपोर्टहरू प्राप्त गर्न सक्नुहुन्छ।
यो रिपोर्टमा त अझ कोरोनाभाइरस लागेर तपाईँको मृत्यु हुने सम्भावना कति छ भनेर ग्राफ समेत उपलब्ध छ।

यस्ता समाचारहरूले बालबालिकामा डर एवं मानसिक चिन्तालाई बढवा दिनुका साथै उनीहरूलाई जीवन पर्यन्त भय अनि त्रासमा राख्न सक्छ भन्ने कुरालाई पनि राम्ररी मनन गर्नुहोस्।
यस कारण आफ्ना बालबालिकाले कस्तो समाचार तथा मिडियाको उपभोग गरिरहेका छन् भनेर सतर्क रहनुहोस्।
सम्भव भएसम्म उनीहरूसँगै बसेर समाचार हेर्नुहोस्, सुन्नुहोस् वा पढ्नुहोस् ताकि उनीहरूलाई मनमा लागेका कुराको जवाफ उनीहरूले तत्काल पाउन्।
तथ्यमा आधारित रहनुहोस्

आफ्ना बालबालिकाद्वारा कोरोनाभाइरस बारे सोधिएको प्रश्नहरू उत्तर दिनु पहिले डब्लुएचओ र अन्य भरपर्दो स्रोतहरू हेरेर आफूलाई सूचित गर्नुहोस्।
कोभिड-१९ लाई लाग्न नदिन वा त्यसको प्रतिरोधका लागि लसुन खाने, तातो पानीमा नुहाउने जस्ता भ्रामक जानकारीहरू हुन् भनेर आफ्ना परिवारलाई बताउनुहोस् र त्यसको सट्टामा सही सूचना उनीहरूसम्म पुर्याउन पहल गर्नुहोस्।
आफ्नो बालबालिका समक्ष गलत सूचना पुर्याउने व्यक्तिको रूपमा आफूलाई स्थापित नगर्नुहोस्।
आफ्नो मनमा लागेका कुराहरू व्यक्त गर्नुहोस्

यस प्रकोपबाट अछुतो कोही पनि छैन र त्यस कारण पनि चिन्तित हुनु स्वाभाविक नै हो।
आफ्नो मनको कुरा अरूसँग बाँड्दा केही हदसम्म भए पनि तनावमुक्त हुन सकिन्छ।
आफ्नो चिन्तालाई दबाउन खोज्नुभयो भने त्यसले तपाईँको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ भनेर सम्झनुहोस्।
एक अभिभावकको रूपमा तपाईंले आफ्ना सन्तानको चिन्ता सुन्न मात्र सक्नुहुन्छ, यसै गर्न सक्छु र उनीहरूलाई हरदम भाइरस सङ्क्रमणबाट बचाइराख्न सक्छु भनेर वाचा गर्न सक्नुहुन्न।
तर, भविष्यमा जे आउला हामी सबै मिली त्यसलाई सम्बोधन गर्नेछौँ भनेर उनीहरूलाई तपाईंले आश्वासन अवश्य दिन सक्नुहुन्छ।
तपाईँको आफ्नो डर उनीहरूलाई नसार्नुहोस्

एक शोधका अनुसार सन् २००९को स्वाइन फ्लु महामारीका बखत बालबालिकाहरू त्यस प्रकोप प्रतिको डर उनीहरूका अभिभावकको सन्त्रासका कारण रहेको पाइएको थियो।
भयभीत हुनुपर्ने कुनै कारण नभए पनि अभिभावकहरूले आफ्नो सन्त्रास उनीहरूका बालबालिकाहरूमा बीजारोपण गरिदिएका थिए।
एक अर्को शोधका अनुसार भने अभिभावकहरूले कुनै पनि हानी नोक्सानी नहुने कुराको नकारात्मक जानकारी दिँदा त्यसले बालबालिकाहरूमा भय एवं त्रास उत्पन्न गराइदिन्छ।
त्यसैले, तपाईँमा कोभीड-१९ बारे सन्त्रास छ भने पनि आफ्ना बालबालिकाहरूको अगाडी उक्त भय प्रदर्शन नगर्नुहोस्। आफू यसबारेमा शान्त छु भन्ने देखाउनुहोस्।
आफ्नो जीवन जिउन नछाड्नुहोस्

भविष्यमा के होला भनेर त्यसैको बहकाइमा लागेर अत्यास लाग्न पनि सक्छ। भविष्यको बारेमा मात्र केन्द्रित हुँदा त्यसले मानसिक तनाव उत्पन्न गर्न सहयोग पुर्याउँछ।
आफ्ना बालबालिकाहरूलाई वर्तमान समयमा ध्यान दिन सहयोग गर्नुहोस्। यो उनीहरू हातमा रहेको कुरा हो - स्कुलमा मेहनत गर्नु, बास्केटबलका लागि अभ्यास गर्नु आदी।
उनीहरूको दैनिकी चालू राख्नुहोस् र हरेक पलको मजा उठाउनुहोस्।
मिलेर काम गर्नुहोस्

यो कुनै पूर्वाग्रह राखेर स्वार्थी हुने समय होइन, बरु हातेमालो गर्दै एक अर्कालाई सहयोग गर्ने समय हो।
अरूसँग नरम व्यवहार गर्नुहोस् (अर्काको टोइलेट पेपर नचोर्नुहोस्!) र आफ्ना लालावालाहरूलाई पनि अरू प्रति नम्र हुन सिकाउनुहोस्।
कम आत्म केन्द्रित हुँदा तनाव कम गर्न र जीवनको अर्थ बुझ्न सहयोग मिल्छ।
म्याण्डी शीन एदिथ कोवन विश्वविद्यालयको स्कुल अफ एजुकेसनमा लेक्चरर छिन्।
