हालका राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा रहेका ती प्रदर्शनकारीहरुले राष्ट्रपतिय चुनावको नतिजा ट्रम्पबाट खोसिएको बताउदै प्रदर्शन गरेका थिए।
अमेरिकी संचार माध्यमहरुले, त्यस भवन भवनमा एक महिलामाथि गोली प्रहार भएको जनाएको छ। यस सम्बन्धमा थप विवरण अहिलेसम्म आएको छैन।
अहिले त्यहाँको संसद भवनलाई निषेधित क्षेत्र बनाईएको र थप सुरक्षाको प्रबन्ध गरिएको समाचारहरुमा उल्लेख गरिएको छ। राष्ट्रपति ट्रम्पको समर्थनमा झण्डा र ब्यानर बोकेका प्रदर्शनकारीहरुमध्येका एकले उप-राष्ट्रपति माईक पेन्सको कुर्सीमा गई बसेको तस्विर पनि सार्वजनिक भएको छ।
यसअघि, राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकहरुलाई राजधानी वाशिङ्गटन डि.सि.मा सम्बोधन गर्दै चुनाव आफूबाट खोसिएको दावी गरेका थिए। साथै उनले उप-राष्ट्रपति पेन्ससँग यो राष्ट्रपतिय चुनावको नतिजालाई उल्टाउन नसकेको भन्दै उनीप्रति असन्तोष व्यक्त गरेका थिए।
“यो चुनाव हामीले सजिलै जितेका छौं,” ट्रम्पले भने। “माईक पेन्सलेले सहि निर्णय लिएमा हामी फेरि विजेता बन्ने छौं,” ट्रम्पले भने। उप-राष्ट्रपतिले संसदमा भईरहेको मत-गणनाको औपचारिकतालाई स्थगित गर्न अघि सर्नु पर्ने ट्रम्पको आशय थियो।
यसपछि, ट्रम्पका समर्थकहरु संसद भवनमा प्रवेश गरका थिए। यसको लगत्तै, सुरक्षकर्मीहरुले त्यहाँको संसदलाई निषेधित क्षेत्र घोषित गरे। त्यपछि पुरै शहरमा कर्फ्युको घोषणा भयो।

यसैबिच, उप-राष्ट्रपति पेन्सले चुनावको नतिजा उल्टाउने अधिकार आफूसँग नभएको बताउदै एक प्रेस विज्ञप्ति जारी गरेका छन।
उता, संसदमा भएको प्रदर्शनको समाचार प्रकाशमा आएपछि, राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीहरुलाई शान्त रहन आग्रह गरेका छन्।
यसैबिच, नव-निर्वाचित राष्ट्रपति जो वाईडेनले भने संसदमा जम्मा भएका प्रदर्शनकारिहरुलाई कानूनको सम्मान नगर्ने अतिवादीहरु रहेको बताएका छन्।
“अमेरिकाको सहि प्रतिनिधित्व यो समूहले गर्दैन। यिनीहरुलाई पछि हट्न र प्रजातान्त्रिक अभ्यासलाई आफ्नो बाटोमा चल्न दिन मेरो अपील छ,” उनले भने।
