आफ्नो नातिका लागि तातो पानीको व्यवस्था गर्दा गदै रमिलाले घरको भुईमा 'कालो लामो' केही चिज देखिन्।
“एक्कासि मेरो आङ जिरिङ्ग भयो, हातका रौँ ठाडा भए,”अग्रेंजी बोल्न सिक्दै गरेकी रमिलाले हिन्दी र अङ्ग्रेजी मिसाएर बोलिन।
जङ्गल वा झाडीतिर गएका बेला जनावर देखिनु स्वाभाविक हो, तर एडिलेड स्थित सिमेन्टबाट बनेको आफ्नै घर भित्र अनौठो, कहिल्यै नदेखेको जीव देखेपछि उनी अत्तालिने भई हालिन्।
“मलाई थाहा थिएन कि यो के थियो, चम्किलो थियो र घस्रँदै थियो,” उनले भनिन्।
“सर्प हो भन्ने मलाई थाहा नै भएन, जब त्यो चल्न थाल्यो म झनै डराएँ ।”
पछि पत्ता लाग्यो कि यो विश्वकै दोस्रो खतरनाक मानिएको इस्टन ब्राउन भन्ने सर्पको बच्चा रहेछ।
३० सेन्टिमिटर लामो यो प्रजातिको सर्पको बच्चामा समेत ४० जना मानिसलाई मार्ने सक्ने विष हुने रहेछ।
उक्त सर्प रमिलाको खाली खुट्टाबाट घस्रँदै गर्दा उनले आफूलाई कक्षामा सिकाइएको “स्टिल” अर्थात् हलचल नगरी उभिइरहनु भन्ने शब्द सम्झिइन्।

दुई हप्ता अघि मात्र उनको अङ्ग्रेजी कक्षामा सर्प समात्ने व्यावसायिक मानिस आएका थिए र सर्पका बारेमा धेरै कुरा सिकाएका थिए।
वयस्क आप्रवासी अङ्ग्रेजी भाषा कक्षाका दौरान बिद्यार्थीहरुलाई अस्ट्रेलियाका खतरनाक जनावर र तिनीहरूको सामना गर्नु परे के गर्ने भन्ने कुरा सिकाइन्छ।
समस्या पर्दा उनलाई कक्षामा सिकाइएका कुराको सम्झना आयो, जहाँ उनलाई हलचल नगरी बस्न र सर्पलाई छुन वा हिर्काउन हुँदैन भनेर सिकाइएको थियो।
पाँच वर्ष अघि भारतबाट अस्ट्रेलिया आएकी रमिला साउथ अस्ट्रेलियामा टेफ अन्तर्गतको एडल्ट माइग्रेसन इङ्लिस प्रोग्राम भनिने आप्रवासीका लागि सञ्चालित अङ्ग्रेजी भाषाको कक्षामा सहभागी भइन्।
सङ्घीय सरकारको अनुदानमा सञ्चालित निःशुल्क भाषा कार्यक्रम अन्तर्गत अङ्ग्रेजी भाषामा सर्टिफिकेट थ्रि गर्न सकिन्छ।
हालै मात्रै यस कार्यक्रमलाई बिस्तार गरी धेरै भन्दा धेरै आप्रवासी माझ पहुँच योग्य बनाइएको छ।
रमिला भारतको उत्तरी राज्य राजस्थानको ग्रामीण क्षेत्रमा जन्मिएकी हुन्।
सर्प हो कि भन्ने मलाई थाहा नै भएन, जब त्यो चल्न थाल्यो म झनै डराएँ।
त्यति बेला उनको पढ्न चाहेकी भए ५० किलोमिटर पर रहेको विद्यालयमा जानु पर्थ्यो, तर त्यो पनि उनको भाग्यमा जुरेन।
सोह्र बर्सकी हुँदा उनको एक ४० वर्षका पुरुषसँग बिवाह भयो, जसका पहिल्यै चार सन्तान थिए र श्रीमती बितेकी थिइन्।
उनीहरू बिहे पछि भारतकै अर्को सहरमा मुम्बईमा बस्न थाले जहाँ उनले थप दुई सन्तानलाई जन्म दिइन्।
बिहे भएको करिब एक दशक पछि उनका श्रीमानको पनि मृत्यु भयो, ६ सन्तानको रेखदेख एक्लैको जिम्मेवारीमा परेपछि भने चाहेर पनि उनले शिक्षा लिन पाइनन्।
तर चालिस वर्षको उत्तरार्धमा उनलाई पढाइको संयोग पुनः जुरेको छ।
अस्ट्रेलिया आएर रमिलाले भाषा मात्र सिकेकी छैनन्, जीवन सहज बनाउने कयौँ ज्ञानहरू पनि बटुल्न सफल भएकी छिन्।
र उनी आफूलाई भाग्यमानी सम्झन्छीन कि भर्खरै मात्र कक्षाकोठामा उनले सर्पका बारेमा ज्ञान लिने मौका पाएकी थिइन्।

सर्प देखे के गर्ने?
सानो नातिको रेखदेख गरिरहेका बेला भएको घटनामा उनले आफूलाई सिकाइएका कुराहरू पालना गरेकी थिइन्।
जब उनी हलचल नगरी उभिन सर्प बिस्तारै उनी सुत्ने कोठा तिर गयो, उनले ढोका बन्द गरेर सर्पलाई त्यहीँ थुनी राखिन्।
जब उनका छोरा योगेश घर आए, आमाले अपनाएको तरिका देखेर उनी निकै खुसी भए।
“मलाई के गर्न पर्छ भनेर थाहै थिएन, मेरी आमाले टेफको एक पुस्तक पल्टाउँदै शिक्षकले भनेका कुराहरू मलाई बताइन्,” योगेशले भने।
साउथ अस्ट्रेलियाको वातावरण र पानी सम्बन्धी विभागको वेबसाइटका अनुसार “सर्पहरू निकै लजालु हुने र उनीहरूलाई हानि नपुर्याएसम्म केही नगर्ने” उल्लेख गरिएको छ।
“घरमा सर्प आएको देखे, घरका सबै परिवार र घरपालुवा जनावरलाई बाहिर निकाल्ने र ढोका बन्द गर्ने, ढोकाको चेपहरूलाई सर्प बाहिर निस्कन नपाओस् भनेर कपडाले बन्द गर्नु पर्छ"
त्यस पश्चात उनले व्यवसायीक सर्प समात्ने मानिसलाई बोलाइन्।
एडिलेड रहेको सर्प समात्ने संस्था स्नेक क्याचरका सञ्चालक रोली बुरेलको भनाइमा घरहरूमा बेबी ब्राउन जातका सर्प आउनु त्यति अस्वाभाविक होइन।

यस्ता सर्पले सेप्टेम्बरमा ४० वटासम्म अण्डा पार्छ। फेब्रुअरी महिनामा त्यहाँबाट बच्चा निस्कन्छन्।
“तिनीहरू जहाँ पनि निस्कन सक्छन्, र उनीहरूसँग यति विष हुन्छ कि ४० जना मानिसहरूलाई मार्न सक्छन्,” उनले भने।
रमिला भन्छिन् कि यदि उनी अग्रेंजी कक्षाका लागि भर्ना नभएको भए यस्ता कुरा कहिल्यै थाहा पाउने थिइनन्।
आप्रवासीहरूलाई अङ्ग्रेजी भाषा सिक्नका लागि थप अवसर
वयस्क आप्रवासीहरूका लागि सञ्चालित निःशुल्क अङ्ग्रेजी कक्षाको नीतिलाई सरकारले परिवर्तन गरेपछि गत साल रमिला जस्ता १४ हजार मानिसले यसबाट फाइदा लिएका छन्।
पुरानो नियम अनुसार अप्रिल २०२१ सम्म योग्य विद्यार्थीहरुले ५१० घण्टाको कक्षामा सामेल हुन पाउँथे भने अस्ट्रेलिया आएको पाँच वर्ष भित्र उक्त कक्षामा भर्ना भइसक्नु पर्दथ्यो।
तर समुदायबाट निरन्तर दबाब आएपछि सरकारले यसको नीतिमा हेरफेर गरेको छ।
हामीसँग १० वर्ष देखि अस्ट्रेलियामा रहेका तर अङ्ग्रेजी कक्षामा सामेल नभएका मानिसहरू पनि आएका छन्।
गृह मामिला विभागका प्रवक्ताले अङ्ग्रेजी भाषा सिक्नमा रहेका अवरोधहरूलाई हटाउन कार्यक्रममा फेरबदल गरिएको बताए।
“अङ्ग्रेजी भाषाको ज्ञानले आप्रवासीलाई शिक्षा र रोजगारीका लागि थप अवसर दिन्छ र अस्ट्रेलियाली समाजमा घुलमिल गर्न सहज बनाउँछ,” प्रवक्ताले भने।
पाठ्यक्रमको समेत स्तर उन्नति गरी बिद्यार्थीहरुलाई व्यावसायिक पहुँच दिने कोसिस गरिएको छ।
मार्च २०२२ को अन्त्यसम्म देशैभर करिब ५४,००० विद्यार्थी अग्रेंजी कक्षामा भर्ना भएका छन् जस मध्ये २० प्रतिशत रिजनल क्षेत्रका छन्।
साउथ अस्ट्रेलियाको टेफमा पाठ्यक्रम प्रबन्धकका रूपमा कार्यरत पिटर बेग भन्छन् कि ५१० घण्टाको कक्षा अग्रेजीमा सामान्य दक्खल भएका आप्रवासीका लागि मात्र उपयुक्त थियो।
“हामीसँग १० वर्ष देखि अस्ट्रेलियामा रहेका तर अङ्ग्रेजी कक्षामा सामेल नभएका मानिसहरू पनि आएका छन्।”
सरकारले कार्यक्रमलाई समायोजन गरे तापनि यसको पहुँच सबैमा नभएको रिफ्युजी काउन्सिलले जनाएको छ।
काउन्सिलका एक अनुसन्धानकर्ताले अस्ट्रेलियामा शरणार्थी बन्न रूपमा आवेदन दिएका करिब एक लाख मानिसहरू यसबाट वञ्चित रहेको एसबीएससँगको कुराकानीमा बताएका छन्।
गृह मामिलाका प्रवक्ताले भने यो कार्यक्रम आप्रवासी र मानवीय भिसा अन्तर्गत रहेका अङ्ग्रेजी भाषाको कम दक्षता रहेका मनिसहरुलाई उपलब्ध रहेको बताएका छन्।
पर्मानेन्ट रसिडेन्सी (पीआर), पीआरमा रहेर नागरिकता लिएका वा योग्य अस्थायी भिसामा रहेकाहरूलाई यो कार्यक्रम उपलब्ध रहेको प्रवक्ताको भनाइ छ।
अक्टोबर १, २०२० पछि अस्ट्रेलिया आएका आप्रवासी र मानवीय भिसाबाहकहरुले भने दर्तासँगै तोकिएको समय भित्रै कार्यक्रम सुरुवात र अन्त्य गर्नु पर्ने बताइएको छ।
थप दोभासेहरूको माग
साउथ अस्ट्रेलियाको टेफमा शिक्षिकाका रूपमा कार्यरत जुलीयन वार्नर, दोभासे सेवामा थप लगानी गरिए अङ्ग्रेजी सिक्न आउने मानिसहरूलाई कक्षा कोठामा प्रोत्साहन गर्न र रोजगारीका लागि तैयार गर्न पनि सहयोग पुग्ने बताउँछिन्।
“यदि दोभासेहरू नहुने हो भने केही बिद्यार्थीहरु पढ्नका लागि आउनै चाहँदैनन् किनकि उनीहरूलाई अप्ठेरो लाग्छ,” उनले भनिन्।
“उनीहरू आफ्नै भाषामा केही प्रोत्साहनका कुरा सुन्न चाहन्छन्, उनीहरूलाई आफ्नै भाषामा निर्देशन दिइयो भने उनीहरू पढ्नलाई इच्छुक हुन्छन्।”
स्वंयसेवीहरुको सहयोगमा उनले आफ्नो कक्षालाई निरन्तरता दिइरहेकी छन्। उनको कक्षामा करिब पाँच जना स्वयंसेवकले हरेक दिन सहयोग पुर्याइरहेका छन्।
रमिला यतिखेर आफूले चाहे जति कक्षा लिन पाएकोमा खुसी छिन्।
पहिलेको सीमित कक्षाबाट नयाँ भाषा बुझ्न पर्याप्त नभएको उनको भनाई छ।
यदि दोभासेहरू नहुने हो भने केही बिद्यार्थीहरु पढ्नका लागि आउनै चाहँदैनन् किनकि उनीहरूलाई अप्ठेरो लाग्छ
उनले अहिले थुप्रै अतिरिक्त कक्षाहरू लिइसकिन् र अङ्ग्रेजी सिक्न र सुधारका लागि तत्परता देखाइरहेकी छन्।
उनले अङ्ग्रेजी बोल्न मात्र नभएर पढ्न र लेख्न पनि सिकिरहेकी छन्।
“अब म धेरै सिक्न सक्छु किनकि मसँग असीमित कक्षामा भाग लिने अवसर छ,” उनले भनिन्।
एडल्ट माइग्रेन्ट इङ्लिस प्रोग्रामका बारेमा थप जानकारीका लागि homeaffairs.gov.au/amep जानुहोस्।
सजिलो भाषामा समाचार सुन्न एसबीएस न्युज इन इजी इङ्लिस सुन्नुहोस्। https://www.sbs.com.au/news/podcast/sbs-news-in-easy-english
