ए-लीगको ब्रिसबेन रोर टिमका गोलकीपर रहेका जेमी यंग, यसपालि आफ्ना अन्य खेलाडी साथीहरू झैँ सिजनको समापन पछि घुम्न युरोप वा अमेरिका जाने छैनन्।
उनी नेपाल जाने छन्, नेपाली बालबालिकाहरूलाई फुटबलको माध्यमबाट खुसी बाँड्न!
वर्ल्ड युथ इन्टरनेश्नल नामक एक च्यारिटीसँग आबद्ध रहेका यंग, उक्त संस्थाद्वारा नेपालमा चलाइएको एक स्कुलले “जेमी यंग” कपको आयोजना गर्दैछ।
नेपाल जाने बिचार

“नेपाल एकदमै आकर्षक देश हो भन्ने सुनेको छु र फुटबल मन पराउने मान्छेहरूलाई मद्दत गर्न पाउँदा म एकदमै खुसी छु, उनले एसबीएस दी वर्ल्ड गेमलाई भने।
अस्ट्रेलियामा दिइने मान्यता भन्दा नेपालमा फुटबललाई कयौँ गुणा महत्त्व दिइने आफ्नो बुझाई रहेको भन्दै उनले अगाडी बोले, “मलाई कहिले नेपाल पूँगुं र त्यहाँ कसरी फुटबल खेलिँदो रहेछ भन्ने जान्न एकदमै मन लागिरहेको छ।”
“मलाई संस्कृतिको अध्यन गर्न पनि एकदमै मन पर्छ। त्यसैले नेपाल गएर त्यहाँको संस्कृतिमा भिज्न पाउनु मेरो लागि अहोभाग्य हुनेछ।”
ह्युण्डाइ ए लीगको ट्रफी सन् २०१७ मा बदलिए पछि धेरैले यसलाई ट्वाइलेट सिट जस्तै भनेर सामाजिक सञ्जालमा उडाए।
यसै सन्दर्भमा यंगले पनि गर्न पाएको व्यङ्ग्य किन छोड्थे र!
“अँ साँच्ची, उनीहरूसँग ए लीग जित्दा पाइने “ट्वाइलेट सिट” ट्रफी भन्दा पनि राम्रो जेमी यंग कप छ!,” उनले हाँस्दै भने।
नेपालका अधिकांश बालबालिकाहरूलाई धेरै मनोरञ्जनका साधनहरू उपलब्ध नरहेको हुनाले फुटबल त्यहाँ निकै लोकप्रिय रहेको ठम्याई उनको छ।

“फुटबलले बच्चाहरूलाई आफ्नोपनको अनुभव र साथी बनाउने मौका दिन्छ।"
"साथै, यस्ता खेलहरू खेल्दा शारीरिक विकास गर्दै साथीहरू बिच कोभन्दा को कमको भावना विकास गरिदिन्छ, जुन मेरो बिचारमा उनीहरूलाई रमाइलो लाग्छ,” क्विन्सल्याण्ड विश्वविद्यालयमा “साइकोलोजी अफ स्पोर्ट्स कोचिङ्ग”मा विद्यावारिधि गरिरहेका पहिलो अस्ट्रेलियन व्यावसायिक खेलाडी यंगले भने।
प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए)ले मेलबर्नमा आयोजना गरेको एक गोष्ठीमा भारत पुगेका एक वक्ताको भाषण सुनेर आफू एक सामान्य फुटबलर भन्दा माथि उठ्न प्रेरणा पाएको उनले बताए।
“ती मानिसको कुरा, मेरो मनमा निकै गढ्यो - सबै म जस्ता भाग्यशाली छैनन् भन्ने कुराले मलाई पिरोल्न थाल्यो।र, मलाई यो फुटबलको तिलस्मी संसार भन्दा बाहिर के छ त भन्ने जान्न मन लाग्यो।”
ब्रिसबेन रोरको यो सिजन

ब्रिसबेन रोरका लागि यो सिजन बिर्सन लायकको छ। जम्मा ४ खेलमा जीत हासिल गरेर उसले उल्टोबाट दोस्रो स्थान हासिल गरेको यो सिजनमा केवल यंग नै एक मात्र सकारात्मक पक्ष रहे।
यंग ब्रिसबेन क्लबको “प्लेयर अफ दी सिजन” मात्र भएनन्, प्रतियोगिता कै तेस्रो उत्कृष्ट गोल रक्षकका रूपमा नामाङ्कन भए।
आफ्नो क्लबको यस्तो दुरावस्था भएता पनि आगामी सिजनहरू राम्रै हुने सङ्केत प्रशस्त छ भन्न हिच्किचाउँदैनन् जेमी यंग।
“जोन अलोइसिले टिम छोड्नु र ड्यारेन डेविस आउनु अनि त्यसका साथै थुप्रै खेलाडीहरूको कन्ट्रयाक्ट सक्किनुले पनि हामीलाई धेरै अफ्ठेरोमा पार्यो,” उनले आफ्नो विचार व्यक्त गर्दै भने।
रब फाउलरको आगमनसँगै आफ्नो टिमले पुन: एकचोटी लय र गति पक्रिन थालेको बताउँदै उनी थप्छन्, “अब यही उत्साह माथि टेकेर हामीले भविष्यमा राम्रो गर्नेछौँ, यसमा कुनै शङ्का छैन।”
