

Feature
Published
Updated
गएको मार्च महिनामा अस्ट्रेलियाभर महिलाका लागि न्याय माग गर्दै दर्जनौँ प्रदर्शनहरू आयोजना गरिए।
'मार्च फो जस्टिस' नाम दिइएका ती ४० भन्दा बढी र्यालीहरूको प्रमुख माग अस्ट्रेलियामा लिङ्गका आधारमा हुने हिंसा र भेदभावको अन्त्य गर्ने माग रहेको थियो।
विशेष गरेर लिबरल पार्टीकी पूर्व कर्मचारी ब्रिट्नी हिगिन्सको क्यानबेरा स्थित संसद् भवनमा कथित रूपमा भएको बलात्कारमाथि सङ्घीय सरकारको प्रतिक्रिया र मन्त्रीपरिषद्का एक वरिष्ठ सदस्यमाथि लागेको अर्को भिन्नै ऐतिहासिक यौन दुर्व्यवहारको आरोपबाट भड्किएका प्रदर्शनकारीहरूले अस्ट्रेलियाभरका महिलाहरूद्वारा अनुभव गरिएको अन्यायलाई सम्बोधन गर्न ठोस कदम चालिनुपर्ने बताएका थिए।

ती प्रदर्शनहरू नजिकबाट नियाल्नुका साथै त्यहाँ उठान भएका मागहरू कान ठाडो पारेर सुनेको नारी निकुञ्ज अस्ट्रेलियाकी जानकी पौडेल बताउँछिन्।
आफू स्वयम् पनि कार्यस्थलमा उत्पीडनको सिकार भएको अनुभव सुनाउने उनी भन्छिन् कि त्यस प्रकारका प्रदर्शनहरूले नेपाली समुदायका अन्य महिलाहरूलाई पनि आफ्नो आवाज बुलन्द पार्न अभिप्रेरित गर्ने आसा आफ्नो रहेको छ।
"जसरी ब्रिट्नी हिगिन्सले उनीमाथि कथित रूपमा क्यानबेरा स्थित संसद् भवनमा घटेको घटना बारे बोलिन् र जसरी अहिले थुप्रै अन्य महिलाहरू आफूहरूमाथि जे घटेको थियो त्यसबारे बोल्दै छन्," उनले एसबीएस नेपालीलाई भनिन्।
"यिनै कारणहरूले गर्दा अस्ट्रेलियामा रहेका नेपाली महिलालाई यी मुद्दाहरूको बारेमा सचेत गराउनु आवश्यक छ, जसले गर्दा उनीहरूको यौन वा घरेलु हिंसाका अनुभवहरू बाँड्न प्रोत्साहित हुन सक्छन्।"

गैर आवासीय नेपाली सङ्घको ओसियाना शाखाकी संयोजक समेत रहेकी पौडेलले घरेलु हिंसा तथा दुर्व्यवहार भोगेका दर्जनौँ महिलाहरू सकुशल उद्धार आफूले गरेको बताइन्।
तर, उनी अगाडी भन्छिन् कि कतिपय महिलाहरूलाई आफूले भोगेको अनुभवहरूलाई हिंसाका रूपमा व्याख्या गर्न मिल्छ भनेर थाहा नै छैन।
"हामीसँग घरेलु हिंसा र यौन हमलाको बारेमा सिक्न धेरै नै मुद्दाहरू छन्। जस्तो कि श्रीमान् र श्रीमती बिचको जबरजस्ती यौन सम्बन्ध बलात्कार हो भनेर बुझ्नु," उनी थप्छिन्।
"यद्यपि दुरुपयोग र हिंसाको सामना गरिरहेका धेरै महिलाहरू के भन्छन् भने उनीहरूले सामाजिक र आर्थिक सहयोगको अभाव र समुदायमा व्याप्त कलङ्कका कारण उजुरी हाल्न सक्दैनन्।"
के नयाँ देशमा पुगेपछि पुरुषहरूको नारी प्रतिको दृष्टिकोणमा परिवर्तन आउँछ त?
जानकी पौडेलका अनुसार अस्ट्रेलिया जस्तो नियमित रूपमा आमसञ्चारका माध्यमबाट घरेलु हिंसा र यौन उत्पीडनको मुद्दा बारे खुला बहस हुने मुलुकमा बसाइँ सरे पनि, मानिसहरूको सोचाइमा खासै परिवर्तन हुँदैन।
उदाहरण दिँदै पौडेल भन्छिन् कि आफूले एक घरेलु हिंसाबाट पीडित महिलालाई सहयोग गर्दा ती महिलाका श्रीमानले उनलाई नै धम्क्याएका थिए जसलाई ती व्यक्तिले पछिबाट आफ्नो व्यवहारको दोष पारिवारिक वा सांस्कृतिक पृष्ठभूमिमाथि थोपरेर उम्किन खोजेका थिए।
पुरुषहरू महिलाहरू प्रति आफ्नो व्यवहार नराम्रो रहेको भन्ने बुझेर भन्दा पनि भिसा चट हुने वा रोजगारीबाट निकालिने अथवा पक्राउ पर्ने डरका कारण परिवर्तित भएको उनले देखेको बताइन्।
मेलबर्न निवासी कुमारीको यसबारे अलि भिन्नै धारणा छ।

आफ्नो जीवनको तेस्रो दशकमा भर्खरै पाइला टेकेकी उनी घरेलु हिंसाका कारण हाल एकल अभिभावकका रूपमा आफ्नी छोरीसँग बस्छिन्।
कुमारी* भन्छिन् कि नेपालमा अधिकांश पुरुषहरूले गर्ने जस्तै व्यवहार अस्ट्रेलियामा पनि गरेको देखिनुपर्ने बाध्यताको बोझ आफ्ना पूर्व श्रीमानले बोके पछि आफूहरूको दाम्पत्य जीवन नै धरापमा पर्यो।
"वास्तवमा भन्ने हो भने उनीहरूले समुदायबाट आएको दबाब, आफू बस्ने वातावरण र आफ्नो मानसिक स्वास्थ्यको अवस्थालाई समस्या भनेर नै लिदैनैन्," उनले भनिन्।
"उनीहरूले जे गरिरहेका छन्, त्यो दुर्व्यवहार हो भन्ने उनीहरूले बुझेकै छैनन्।"
तर जानकी पौडेल यसलाई बहाना मात्रैको रूपमा लिनुपर्ने बताउँछिन्।
उनी भन्छिन् कि अस्ट्रेलिया आएर बसेको, पढेलेखेको मानिसले सही र गलत पनि छुट्ट्याउन सक्दैन भने त्यो आफ्नो आचरण लुकाउन बहाना बनाएको भनेर बुझ्नुपर्छ।
यस्ता बहाना टिका लिम्बूले आफ्नो व्यावसायिक जिन्दगीमा थुप्रै पटक देखेका छन्।

सन् २००९ मा नेपालबाट एक विद्यार्थीका रूपमा आएका उनले केही समय भिक्टोरियाली न्यायिक प्रणालीमा रहेर काम गरे जहाँ उनले घरेलु हिंसाका पिडकलाई त्यस्ता घटनाबारे बुझाउनु थियो।
नेपाली लगायत दक्षिण एसियाबाट आएका थुप्रैजनालाई उनीहरूले के गल्ती गरे भनेर थाहा नै नभएको लिम्बूले एसबीएस नेपालीलाई बताए।
"अदालतले घरेलु हिंसा सम्बन्धी चेतनामूलक कार्यक्रममा भाग लिनुहोस् भनेर कर गरेको भएर मात्र उहाँहरूले त्यस्ता कार्यक्रममा भाग लिनुभएको भनेर भन्नुहुन्थ्यो," उनले भने।
टीका लिम्बूका अनुसार अदालतको आदेशअनुसार आउने यस्ता मानिसहरू विशेषतः पुरुषहरूको बानी ब्यहोरा सम्बन्धी २० हप्ते कार्यक्रममा सहभागी हुन्छन् र ती सहभागी मध्ये जम्मा ६० प्रतिशत जतिले मात्र अन्ततोगत्वा पारिवारिक हिंसा भनेको के हो भनेर बुझ्छन्।

तर, उनी के स्विकार्छन् भने धेरै जना परिवर्तन चाहिँ कानूनी फन्दामा परिने डरका कारण हो।
"दशकौँसम्म रहेको कसैको पनि सोच तपाईंले २० मिनेटमा चेन्ज गर्न सक्नुहुन्न," लिम्बू अगाडी भन्छन्।
उता, सिड्नी निवासी क्षितिज बुढाथोकी भने नयाँ देशको रहनसहन र संस्कृतिको कम सचेतनाले पनि नेपालबाट अस्ट्रेलिया आएका थुप्रै जना प्रभावित भएको बताउँछन्।
सन् २०१५ मा अस्ट्रेलिया आएर केही समय अघि मात्रै ग्र्याजुएट भएका उनी भन्छन् कि मानिसहरूलाई आफ्नो समस्याबारे बोल्न समुदाय भित्रैबाट सचेतना अभियानहरू चलाइनुपर्छ।
"हामी प्राय: गरेर के देख्छौँ भने पीडितहरू खासै बोल्दैनन् बरु अभियानकर्ताहरू जसले खासै केही समस्या हल गर्दैनन्, उनीहरू चाहिँ बोलिरहेका हुन्छन्।"
समुदाय भित्रै पनि उत्पीडन र दुर्व्यवहारका धेरै आरोपहरू आफूले सुनेको २७ वर्षीय बुढाथोकीको भनाई छ।

आफू जस्तै युवाहरू घरबाट टाढा रहँदा प्राप्त हुने 'स्वतन्त्रता'लाई यो समस्यासँग जोडेर हेरिनुपर्ने उनी बताउँछन्।
"हाम्रो संस्कारले हामीलाई महिलाहरूलाई आदर गर्नुपर्छ भनेर सिकाएको छ र यो देशमा प्राप्त हुने स्वतन्त्रताले त्यसमा केही प्रभाव पक्कै पारेको पनि हो।"
नेपालमा रहँदा जस्तो आफ्ना आमाबाबु प्रति उत्तरदायी हुनु नपर्ने र त्यहाँको जस्तो परिवेश अस्ट्रेलियामा नहुँदा पनि थुप्रै मानिसहरू थाहै नपाईकन 'गलत बाटो'मा लाग्ने ठहर क्षितिज बुढाथोकीको छ।
"हुनसक्छ जसले गलत काम गर्दै छ, उसले बुझेकै छैन कि त्यो गलत हो भनेर।"
उनी के पनि भन्छन् भने महिलाले पुरुषलाई र पुरुषले महिलालाई दोषारोपण गर्दैमा समस्या समाधान हुँदैन।
"बरु दुवै पक्ष मिलेर हातेमालो गर्दै काम गरेको खण्डमा चाहिँ समस्या समाधान गर्न मद्दत पुग्ला," बुढाथोकीले एसबीएस नेपालीलाई भने।
टीका लिम्बू भने बद्लिँदो परिस्थितसँगै मानिसहरूको सोचमा पनि परिवर्तन आउनुपर्ने बताउँछन्।
अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूका लागि उनको एउटा सुझाव छ, "यदि तपाईँहरूको साथीले आफ्नो पार्टनरलाई दुर्व्यवहार गरिरहेको देख्नुभयो भने, त्यसको प्रतिकार गर्नुहोस्, आवाज उठाउनुहोस् र भन्नुहोस् कि जे भइरहेको छ, त्यो ठिक छैन।"

अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा
*गोपनियतका कारण नाम परिवर्तन गरिएको छ।
यदि तपाईँ वा तपाईंले चिनेको कोही व्यक्ति पारिवारिक वा घरेलु हिंसाबाट प्रभावित भएका छन् भने, राष्ट्रिय यौन हमला, घरेलु र पारिवारिक हिंसा परामर्श सेवा १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्न सकिनेछ अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्।
विपद्को समयमा वा आपत्कालीन सहायताको लागि ००० मा फोन गर्नुहोस्।