आउदो मे महिनामा हुने निर्वाचन पछि सरकार बनाएको खण्डमा, अभिभावकहरुको लागि शुरु गरिएको यस ३ तथा ५ बर्षे भिसा, सबैका लागि सर्व-सुलभ हुने उद्देश्यक साथ लेबरले आफ्नो नीति अघि सारेको बताएको छ ।
हाल सरकारले नयाँ घोषणा गरिएको भिसाको शुल्क म्याद अनुसार ५,००० डलरदेखि २०,००० सम्म तोकिएको छ। यस बिषयलाई लिएर आप्रवासी समुदायहरूले यो नयाँ भिसा अपुरो भएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्। खासगरी, यसको शुल्क चर्को रहेको धेरैको गुनासो रहेको छ।
यस बिषयमा रहेको असन्तुष्टिलाई मद्धेनजर गर्दै लेबर पार्टीले आफ्नो नीति सार्वजनिक गरेको छ।
आप्रवासीहरुको बाहुल्यता रहेको सिड्नीका निर्वाचन क्षेत्रहरु ब्यंक्स, रीड तथा बेनेलोङ्गमा बिपक्ष नेता बिल शोर्टनले पछिल्ला दिनहरुमा निकै मेहेनेत गरिरहेका छन्। यसैगरी, प्रधानमन्त्रि तथा लिबरल पार्टीका नेता स्कट मरिसन पनि मेलबर्नको पूर्वमा रहेको चिस्लोम निर्वाचन क्षेत्र, जहाँ निकै आप्रवासीहरु रहेका छन्, त्यहाँ निकै प्रचार-प्रसार गरि रहेकाछन्।
"हालको सरकारले यी जायज मागको वास्ता गरेको छैन र यसको प्रक्रिया पनि न्यायसंगत रहेको छैन "
साथै लेबर पार्टीले अस्थाई अभिभावकहरूको लागि छुट्टाईएको १५,००० भिसाको संख्या सीमालाई पनि हटाउने बताएको छ।
उक्त दलको अध्यागमन सम्बन्धिक प्रवक्ता शेन न्युम्यानले लेबर पार्टीको यस नीतिले अप्रवासी समुदायका परिवारहरु एक-अर्कासंग नजिक हुने मौका अझ सजिलै पाईने भनि बताउछन्।
"हालको सरकारले यी जायज मागको वास्ता गरेको छैन र यसको प्रक्रिया पनि न्यायसंगत रहेको छैन, " न्युम्यानले आरोप लगाए।
लेबर पार्टीको नीति अनुसार, तीन बर्षे भिसाका लागि १,२५० डलर लाग्ने छ भनी, पाँच बर्षे अस्थाई अभिभावक भिसाका लागि २,५०० डलर लाग्ने छ। न्युम्यानले, आफ्नो पार्टीले अघि सारेको यो नीति लोकप्रिय हुने कुरामा आफू आशावादी रहेको बताउछन्।
तर उता अध्यागमन मन्त्रि डेभिड कोलमनले - सरकारले अघि ल्याएको अभिभावकहरुको लागि अस्थाई भिसाको शुल्क उचित रहेको बताउछन्।

"दीर्घकालिन रुपमा यो कार्यक्रमलाई अगाढी बढाउन करदाताहरुको पैसाले मात्र भ्याउदैन, त्यसैले यसको शुल्क महँगो देखिएको हो," कोलमनले भने।
अहिले कायम रहेको व्यवस्था अनुसार अभिभावकहरुले स्थायी भिसा पाउन निकै मुस्किल छ।
“कन्ट्रीब्युटरी” भनिने अधिक शुल्क सहितको भिसा पाउन औसतमा ४५ महिना आफ्नो पालो कुर्नुका साथै ४७,१२० प्रतिव्यक्तिका दरले शुल्क अस्ट्रेलियन सरकारलाई बुझाउन पर्छ ।
“ नन् कन्ट्रीब्युटरी” भिसाको हकमा भने ६,००० डलर शुल्क लाग्छ र यो पाउन ३० बर्षसम्म कुर्नुपर्ने हुन्छ।
साथै, यो भिसा पाउन अभिभावकहरुले “ब्यालेन्स अफ फ्यामिली” भनिने एक अवरोध पनि पार गर्नुपर्छ।
“ब्यालेन्स अफ फ्यामिली”को नियमानुसार स्थायी भिसाका लागिआवेदन हाल्ने अभिभावकहरुको आधा भन्दा बढी सन्तानहरु अस्ट्रेलियाका स्थायी बासिन्दा हुनुपर्छ।
थप रुपमा त्यस्ता सन्तानका परिवारको बार्षिक कुल आय पनि ८३,४५५ डलर भन्दा बढी हुनुपर्दछ।
