SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली आदिवासी कार्यकर्ताहरूको जर्ज फ्लोइड प्रदर्शनकारीहरूलाई समर्थन, स्वदेशी अत्याचार बारे पनि बोल्न जोड

न्यु साउथ वेल्स प्रहरीको हिरासतमा रहँदा ज्यान गुमाएका आदिवासी अस्ट्रेलियाली डेभिड डंगे जुनियरका एक जना आफन्तका अनुसार डंगे जुनियर र काला वर्णका अमेरिकी जर्ज फ्लोइडको मृत्युमा समानता छ।

News Bulletin 2211
David Dungay's cousin Lizzie Jarrett and his mother Leetona Dungay and nephew Paul Silva outside the Lidcombe Coroner's Court in Sydney. Source: AAP

3 min read

Published

By Jarni Blakkarly



Skip to article content

सन् २०१५ को डिसेम्बर महिनामा जेलका पाँच जना गार्ड मिलेर २६ वर्षका डेभिड डंगे जुनियरलाई थिचे पछि उनको ज्यान गएको थियो।

कैदबाट छुटकारा पाउनु केही हप्ता अघि मात्रै घटेको उक्त घटनामा लङ्ग बे जेलका कर्मचारीले डंगे जुनियरलाई बिस्कुट नखान आदेश दिए। आफूहरूको उक्त आदेश उनले नमाने पछि उनलाई गार्डहरूले अर्को कोठामा सारे र उठ्न नसक्ने गरी भुइँमा थिचेर राखे जसबाट उनको मृत्यु भयो।

अनुसन्धानको क्रममा जेलको सिसिटिभी फुटेज हेर्दा डंगेले “आई कान्ट ब्रिद” वा म सास फेर्न सक्दिन भनेर कम्तीमा पनि १२ पटक भनेको खुलेको थियो।

डंगेका आफन्त पल फ्रान्सिसका अनुसार अमेरिकी सहर मिनेसोटाका प्रहरीले स्थानीय जर्ज फ्लोइड माथि गरेको व्यवहारले अमेरिकामा काला जाति र अस्ट्रेलियामा एबोरिजिनी समुदायका मानिसहरू भोग्ने ज्यादतीका घटनाहरू पुनः सतहमा ल्याइदिएको छ।

जर्ज फ्लोइडका लागि न्याय माग्दै अमेरिकी सडकमा सङ्घर्षशील सबैलाई हामी यस अभियानमा साथ-साथै छौँ भन्ने आशयको सन्देश एक अनलाइन पोस्ट मार्फत व्यक्त गर्दै उनले अगाडी लेखेका छन्, “संयुक्त राज्य अमेरिकाको सडकमा जनताले न्यायको आह्वान गर्दै ओर्लनु अचम्मको कुरा हो। पुलिसलाई जवाफ देही बनाउन सक्ने केवल यही एक मात्र शक्ति हो।”

Indigenous voices on Twitter pointed out the similarities between what's happening in the US and Australia.
Indigenous voices on Twitter pointed out the similarities between what's happening in the US and Australia. Source: AAP

“म जर्ज फ्लोइडको परिवारको दुख साँच्चै महसुस गर्दछु र उनीहरूलाई थाहा होस् हामी उनीहरूको दुखाई महसुस गर्दछौँ र तिनीहरूसँगै उभिन्छौँ,” उनले अगाडी लेखेका छन्।

फ्रान्सिस भन्छन् कि फ्लोइडलाई हिंसात्मक रूपले गिरफ्तार गरेको देखेर थुप्रैजनालाई आहत त पुग्यो तर उनका आफन्त डेभिड डंगे र फ्लोइड माथि भएको दुरुस्त अत्याचारले उनी भने नराम्ररी झस्किए।

“जब मैले जर्ज फ्लोइडको हत्या भइरहेको भिडियो हेरेँ तब मलाई उक्त फुटेज बिचैमा रोक्न कर लाग्यो। दुवै मानिसहरूलाई एक भन्दा बढी अधिकारीहरूले बन्धक बनाएका थिए, उनीहरूलाई जमिनमा धकेली राखेका थिए र उनीहरूको चीत्कारलाई सुने नसुने गरे, सास नगएसम्म।”

Image

यसैबिच अस्ट्रेलियाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि जर्ज फ्लोइडको मृत्यु माथि आक्रोश जनाउँदै, #Ican’tbreathe र #BlackLivesMatter जस्ता ह्याशट्याग प्रयोग गर्दै एकबद्धयता जाहेर गर्ने क्रम सुरु भएको छ।

अनि अन्य सामाजिक कार्यकर्ताहरूले पनि स्थानीय रूपमा प्रहरी हिरासत भित्र आदिवासी अस्ट्रेलियालीहरूले गुमाउने जीवन माथि पनि सबैको ध्यान जानु आवश्यक रहेको अभिव्यक्ति सार्वजनिक गरेका छन्।

पत्रकार समेत रहेकी एमी मक्ग्वायरले आफ्नो ब्लगमा भनेकी छिन् कि मूलधारका मिडियाहरूले एबोरिजिनी महिला जोइस क्लार्क र एबोरिजिनी किशोर कुमानजायी वाकरको प्रहरीका कारण मृत्यु भएको थियो र ती घटनामा संलग्न रहेका प्रहरीलाई हत्याको आरोप लगाइएको छ।

“दुवैको मृत्यु पछि उनीहरूका समुदायले तत्काल विरोध गरे पनि तिनले अहिले जत्तिकै आक्रोश पैदा गर्न सकेको थिएन। हाम्रा सङ्घर्षहरू एक आपसमा जोडिएका छन्। यदि तपाईँ ‘ब्ल्याक लाइभ्स म्याटर’ लाई समर्थन गर्नुहुन्छ भने आफ्नै देशका सङ्घर्षहरूलाई पनि समर्थन गर्नुहोस्।”


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now