टेला ह्यारिसको संसार हल्लाउने तस्बिर

माइकल विल्सनले गत आइतबार एक खेलाडीले गोल हान्दै गरेको एउटा फोटो खिच्दा शायदै सोचेका थिए होलान् कि उनको त्यो तस्बिरले यति विघ्न संसार हल्लाउने छ भनेर।

Tayla Harris' kick photo boots trolls out

Source: Michael Willson via Twitter (Tayla Harris)

अस्ट्रेलियन रुल्स फुटबल (एएफएल) र त्यसमा पनि महिला एएफएलमा रुचि नहुनेहरूलाई टेला ह्यारिसको उड्दै बललाई “किक” गरेको तस्बिरले एकाएक आफ्नो तिर ध्यान तान्न यो हप्ता सफल भयो।

एएफएलका खेलहरूलाई टेलिभिजन मार्फत प्रसारण गर्न इजाजत पाएको च्यानल सेभेनले यदि ह्यारिसको उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा हालेर पुन: नहटाएको भए शायदै यस्तो चर्चा हुने थियो।

ह्यारिसको कार्ल्ट्न टिमले वेस्टर्न बुल्डग्स विरुद्ध गत सप्ताहन्तमा खेल्दै गर्दा फोटोग्राफर माइकल विल्सनले खिचेको उक्त फोटोमा उनले गज्जबसँग हावामा उड्दै बललाई “फ्लायिंग किक” दिएर आफ्नो दाहिने खुट्टा सोझो पारेको दृश्य कैद थियो।

“वर्ष फोटो” भन्ने क्याप्सन राखेर आफ्नो एएफएल फेसबुक पेजमा च्यानल सेभेनले उक्त तस्बिर सोमबार पोस्ट गरेको थियो। तर, भोलिपल्टै त्यसलाई हटाएपछि हङ्गामा नै मच्चियो।

अनि, सेभेनले उक्त फोटोलाई लिएर निकै भद्दा कमेन्टहरू आएको भन्दै ट्विटरमा लेख्यो र आफ्नो निर्णयको बचाओ गर्दै दोष जति इन्टरनेट ट्रोलहरु माथि थोपरी दियो।

तर, घटना सेलाउनुको साटो त्यो तस्बिर हटाउने उसको कदमले उल्टो काम गर्‍यो। वनमा डढेलो लागे झैँ, सामाजिक सञ्जालमा मानिसहरूले च्यानल सेभेनको ठुलै आलोचना गर्न थाले। उसले ट्रोलहरुको सामु आफ्नो घुँडा टेकेर उनीहरूलाई थप हौसला प्रदान गरेको तर्क राखे।

च्यानल सेभेनले माग्यो माफी

सङ्घीय सरकारमा महिला मामिलाकी मन्त्री केली ओ’ड्वायरले आफू च्यानल सेभेनको उक्त निर्णय निन्दनीय रहेको वक्तव्य दिइन।

“ती ट्रोलहरुलाई तह लाउनुको साटो च्यानल सेभेनले तस्बिर हटाएर दिक्क लाग्दो काम गरेको छ, उनले भनिन।

त्यसै गरी, दुई पटक ओलम्पिक्समा स्वर्ण पदक जितिसकेकी अन्ना मियर्सले उक्त तस्बिर आफ्नो ट्विटर एकाउन्टमा राखिन र आफू च्यानल सेभेनको कदमबाट अच्चम्ममा परेको बताइन।

जब ह्यारिस स्वयम्ले जब आफ्नो उक्त तस्बिर ““यो म काम गर्दाको फोटो हो …यसलाई विचार पुर्‍याएर मात्र आफ्नो घटिया कमेन्ट गर, जनावरहरू” भन्दै ट्विटरमा राखिन्, यसले पुन: सबैलाई तरंगित गरिदियो।

यसरी, विवाद लम्बिँदै जाँदा थुप्रै खेलाडीहरू तथा अरू प्रसिद्ध मानिसहरूले पनि फोटो हटाउनु राम्रो काम नरहेको भनेपछि च्यानल सेभेनले माफी माग्यो।

“हामीलाई माफ गरिदिनुहोला। फोटो हटाउने कामले गलत सन्देश दियो। फोटो पोस्ट गरेपछि त्यहाँ निक्कै सङ्ख्यामा निन्दनीय टिप्पणीहरू आए, अब हामी ट्रोलहरुलाई हाम्रा पेजहरूबाट हटाउन अझ बढी मिहिनेत गर्नेछौँ,” उसले फेरी ट्विट गर्‍यो।

सामाजिक सञ्जालमा यौन दुर्व्यवहारको सिकार

रेडियो आरएसएनसँग बुधवार कुरा गर्दै ह्यारिसले आफू सामाजिक सञ्जाल मार्फत यौन दुर्व्यवहारको सिकार भएको बताइन।

साथै, त्यस्ता घृणित कार्य गर्नेहरू माथि कडा भन्दा कडा कारबाही हुनुपर्ने आफ्नो धारणा सार्वजनिक गरिन् ।

“मैले देखेका ती कमेन्टहरू यौन दुर्व्यवहार (को एउटा रूप) थिए किनकि ती घिनलाग्दो र मलाई असजिलो बनाउने खालका थिए।”

“यदि उनीहरूले सार्वजनिक मञ्चमा आफूले नचिनेको मान्छेलाई त यस्तो भन्ने आँट राख्छन् भने आफ्नो निजी जीवनमा के गर्दा हुन्?,” उनले भनिन्।

एएफएलका प्रमुख कार्यकारी गिलन मक्लक्लनले भने यो समस्या खेल क्षेत्रको वा च्यानल सेभेन मात्रको नभएको प्रतिक्रिया दिएका छन्।

“यो एक एकल घटना होइन, यो त सामाजिक सञ्जाल र त्यसले बनाइदिएको वातावरणको उपज हो,” उनले भने।

“जरुरी के हो भने, यस्ता घटना हुने साथ हामीले त्यस विरुद्ध आवाज निकाल्नै पर्छ। जसरी हामीले यस पटक निकाल्यौँ।”

उनले ह्यारिसको उक्त तस्बिर असाधारण र उल्लेखनीय रहेको पनि बताए।

“त्यो फोटोले एक उत्कृष्ट एथलीटलाई उनको सबैभन्दा शक्तिशाली रूपमा प्रस्तुत गरेको छ,” मक्लक्लनले खुलाए।

र, ह्यारिसले अहिले #टेएलाकिक्च्यालेन्ज भन्दै आफ्नो उक्त चर्चित किक जस्तै फुटी बललाई हिर्काउने एकजनालाई एउटा उपहार दिने भनेकी छिन्, हान्ने होइन त गोल?


3 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now