कोभिड-१९ महामारी र बोर्डर बन्द गरिएपछी अस्ट्रेलियाभरका एज्ड केयरहरूमा कामदारहरूको कमीलाई हटाउन केही समय यता अस्ट्रेलिया आएका विद्यार्थीहरुले पुरा गर्न थालेका छन्।
तर अस्ट्रेलियामा एज्ड केयर वा वृद्ध स्याहार केन्द्रहरूमा काम गर्न चाहने मानिसहरूले केही सैद्धान्तिक शिक्षाका साथै विशेष तालिमहरू लिनु पर्ने वाध्यता छ।
ती न्युनतम आवश्यक्ता पुरा गरेपछि उनीहरूले व्यक्तिगत स्याहार सम्बन्धी प्रमाण पत्र पाउँछन्।
पछिल्लो समयमा भने यस्ता तालिम वा शिक्षा पूरा नगरेका वा नलिएका व्यक्तिहरूले उक्त प्रमाणपत्र पाएको भन्दै वृद्ध स्याहार क्षेत्र भित्रैबाट चिन्ता व्यक्त गरिएको छ।
मेलबर्नकी सुष्मिता महतले स्थानिय वृद्ध स्याहार क्षेत्रमा काम गरेको ७ वर्ष भएको छ।
ती मध्ये उनेल चार वर्ष एआइएनको रूपमा बिताइन्।
अहिले रजिस्टर्ड नर्सका रूपमा काम गर्दै गरेकी महत पछिल्लो केही समय यता भर्ती भएका नयाँ कर्मचारीहरूले उपयुक्त तालिम नलिएको अनुभव सुनाउँदै भन्छिन्, "एआइएन हुँदा पनि हामीले एउटा नयाँ मान्छे बडी शिफ्टको लागी हामीसँग हुँदा खेरि, त्यो मान्छेले ट्रेनिंग लिएको छ या लिएको छैन भनेर यत्तिकै थाहा हुन्छ।"
नयाँ ठाँऊमा काम गर्दा त्यहाँको सिस्टम र रूटिन फरक परेर अलमलमा परिने भएता पनि, एउटा एआइएनको आधारभूत काम भने तालिम र पढाइका क्रममा सिकिने महतको भनाइ छ।

नियामक निकाय छैन
सर्टिफिकेट थ्री इन इन्डिभिजुअल केयर (Certificate III in Individual Care) - नर्सिङ सहायक हुन चाहिने न्यूनतम योग्यता हो।
राष्ट्रिय स्तरमा नै मान्यता प्राप्त यो कोर्स दर्ता भएका तालिम प्रदायक संस्था (रजिस्टर्ड ट्रेनिङ अर्गनाजेसन)हरूबाट लिन मिल्छ।
शिक्षा तथा रोजगारी विभागका अनुसार, यो प्रमाण पत्रका लागी विद्यार्थीहरूले कुल १४ वटा युनिट पढेको हुनुपर्छ।
ती मध्ये १० अनिवार्य र ४ ऐच्छिक युनिटहरू छन्।
यो सैद्धान्तिक विषयहरूका साथमा विद्यार्थीहरूले व्यवहारिक कामको १२० घण्टाको प्रशिक्षण पनि लिनु पर्ने अधिकारीहरूको भनाई छ।
वृद्ध स्याहारको क्षेत्रमा काम गर्ने एक उच्च निकाय लिडीङ एज सर्भिसेस अस्ट्रेलिया (लासा) का प्रमुख कार्यकारी अधिकृत सन रूनी भन्छन्, "(व्यवहारिक प्रशिक्षणका क्रममा, विद्यार्थीहरूले) एक लग बुकमा आफूले प्रशिक्षणमा बिताएको समय र लग बुकमा उल्लेखित कार्यहरू गरेको रेकर्ड राख्नुपर्छ र त्यसमा उनीहरूको पर्यवेक्षकले कार्य पुरा गरेपछि हस्ताक्षर गर्नु पर्छ।"
उनका अनुसार नर्सिङ सहायक, व्यक्तिगत स्याहार कर्ता वा व्यक्तिगत स्याहार सहायकको कुनै नियामक निकाय नहुँदा नयाँ कामदारहरूको योग्यता जाँच गर्ने कार्यमा भने बाधा पुगेको छ।
लासाले नर्सिङ सहायक तथा व्यक्तिगत स्याहार कर्ताहरू पनि आप्रा (अस्ट्रेलियाली स्वास्थ्य कर्मचारीहरूको नियामक निकाय) वा त्यस्तै निकायहरू अन्तर्गत दर्ता हुनु पर्ने सुझाव शाही आयोग समक्ष राखेको थियो।
दुई वर्ष अगाडी नै अस्ट्रेलियाली सरकारले वृद्ध स्याहारका कामदारहरूलाई एक दर्ता योजना अन्तर्गत राख्ने कार्य भई रहेको बताएको थियो।
सन् २०२० मा ज्येष्ठ नागरिक तथा वृद्ध स्याहार मन्त्री रिचर्ड कोल्बेकले "सम्पूर्ण वृद्ध स्याहारका कामदारहरूको योग्यता जाँच गर्न उनीहरूको दर्ता गर्ने योजनामा काम भई रहेको छ" भनेका थिए ।

व्यवहारिक ज्ञानको अभाव
सिड्नीको एक वृद्ध स्याहार केन्द्रका नर्सिङ निर्देशक माधवराज पौडेलले सामाजिक सञ्जालमा केही समय अघि राखेको एक भिडियोले यस क्षेत्रमा रहेको गलत अभ्यासको विषयलाई सतहमा ल्याएको थियो।
उक्त भिडियोमा बोल्दै उनले आफू निर्देशक रहेको केन्द्रमा नर्सिङ सहायक पदका लागी दुई जनालाई लिईएको र अन्तर्वार्ताका क्रममा ती दुवैले पूर्ण योग्यता पाएको भनेर ढाँटेको आरोप लगाएका छन्।
"हामीले दुई जना भर्खर नेपालबाट आउनु भएका भाइ बहिनीहरूको अन्तर्वार्ता लियौँ। एज्ड केयरमा काम गराउनको लागी," पौडेलले भिडियोमा भनेका छन्।
र दुर्भाग्यवश हामीले के थाहा पायौँ भने केही नेपाली ट्रेनिङ प्रोभाइडर्सले उहाँहरूलाई सर्टिफिकेट बेच्नु भएको रहेछ, कुनै पनि ट्रेनिङ नदिईकन, कुनै क्लिनिकल प्लेसमेन्ट नगराई कन।
तालिम प्रदायकहरूले उनीहरूलाई तालिम नदिएको तर अन्तर्वार्ताका लागी तयार गराएको दाबी पौडेलको छ।
साथमा उनले सबै प्रशिक्षणहरू पुरा गरेको भनेर विद्यार्थीहरूलाई कथित रूपमा ढाँट्न समेत लगाएको बताएका छन्।
"हाम्रो कम्प्रिहेनसिव अन्तर्वार्ताको जुन प्रोसेस हुन्छ, त्यसमा केही प्रश्नको जवाफ दिन नसकेपछि यो कुरा स्विकार्नु भएको छ कि उहाँहरूले सर्टिफिकेट किन्नु भएको छ," पौडेलले भिडियो सन्देशमा बोलेका छन्।
उता, केयर म्यानेजरका रूपमा सिड्नी कै एक अर्को वृद्ध स्याहार केन्द्रमा कार्यरत श्रद्धा गुरुङले पनि अन्तर्वार्ता लिने क्रममा झुटो बोल्ने उम्मेदवारहरू भेट्टाएको अनुभव रहेको एसबीएस नेपालीलाई बताएकी छन्।
एक अन्तर्वार्ताका लागी आएको व्यक्तिले नर्सिङ सहायकका रूपमा नेपालमा पनि काम गरेको भनेर ढाँटेको पाइएको खुलाउँदै भनिन्, "एक जना बहिनीलाई अन्तर्वार्तामा बोलाको थियौँ। उहाँले चाहिँ रेज्युमीमा नेपालमा पनि एआइएनका रूपमा चार वर्ष काम गर्नु भएको भनेर लेख्नु भएको थियो।"

महिलाले दाबी गरेको अस्पताल र वार्डका बारेमा विस्तृतमा प्रश्न गर्दा उनले उत्तर दिन नसकेको गुरुङले बताइन्।
मैले त्यो हस्पिटलमा डाक्टर नर्सहरू पनि चिन्छु तपाइले कुन वार्डमा काम गर्नु भयो भनेर सोधे पछि चाहिँ उहाँले केही पनि भन्न सक्नु भएन।
एक दशक बढी नर्सिङ क्षेत्रमा नै बिताएकी श्रद्धा गुरुङलाई अन्तर्वार्तामा निकै प्रभावकारी हुने तर काम गर्न थाले पछि चाहिँ व्यवहारिक ज्ञान निकै कम भएको पाउनु कुनै नौलो कुरा लाग्दैन।
उनी यस क्षेत्रमा भर्खरै काम सुरु गर्ने सोच बनाएकाहरूलाई नढाँटिकन पनि काम पाउन सकिने सन्देश दिन्छिन्।
यदि तपाईँहरू नयाँ हुनुहुन्छ (र) तपाइहरूसँग अनुभव छैन भने चाहिँ, अन्तर्वार्तामा जाँदा खेरि चाहिँ 'मैले अवसर खोजी राखेको हो' भन्नु भयो भने कति(पय) कम्पनीहरूले त्यो अवसर (तपाईँलाई) दिन्छ।

छोटो बाटो छैन
सन रूनी भन्छन् कि सहायता कामदारहरूलाई नियमन गर्ने निकाय नभए पनि धेरै जस्तो वृद्ध स्याहार केन्द्रहरूले नयाँ सुरुवात गर्नेहरूका लागी काम सिकाउन अनुभवी कामदारसँगै राख्ने व्यवस्था गर्ने गर्दछन्।
"साथै ६ महिनाको परीक्षण काल हुन्छ जसलाई म्यानेजरहरूले सो व्यक्तिको क्षमता विश्लेषण गर्ने र काममा राख्न योग्य भए-नभएको मूल्याङ्कनका लागि प्रयोग गर्न सक्छन्।"
अस्ट्रेलियाली दक्षता र गुणस्तर सम्बन्धी आधिकारिक निकाय आस्क्वाले अस्ट्रेलियाका व्यावसायिक शिक्षा र तालिम प्रदान गर्ने क्षेत्रको नियमन गर्दछ।
जेक (नाम परिवर्तन) एक वृद्ध स्याहार केन्द्रमा उच्च ओहोदामा रहेका छन् र यो कुराकानीका क्रममा आफ्नो संस्थालाई प्रतिनिधित्व गर्न चाहँदैनन्।
कोभिड-१९ महामारीका समयमा केही तालीम प्रदायकहरूले आफ्ना विद्यार्थीहरूलाई व्यवहारिक प्रक्षिक्षणका लागी पठाउन नसकेको एसबीएस नेपालीलाई नाम नखुलाउने सर्तमा उनले बताएका छन्।
यसले गर्दा त्यस्ता सेवा प्रदायकहरूले प्रमाण पत्र बेच्न बाध्य भएको उनको दाबी छ।
जेक भन्छन् कि यस्ता प्रमाण पत्र किन्ने भनेको काम को खोजीमा रहेका विद्यार्थीहरू नै हुन्।

मैले पहिले केही तालीम प्रदायकहरूले असाइनमेन्टहरूको मामिलामा सर्टकट लिएको सुनेको थिएँ, तर कुनै तालिम नै नगरी यसरी सर्टिफिकेट बेच्न मलाई लाग्छ महामारी नै प्रमुख कारक हो।
सुष्मिता महत नेपाली सहित अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई छिटो गर्ने भन्दैमा पर्याप्त तालिम नलिने कार्य नगर्न सुझाव दिन्छिन्।
"विश्व मै कामदारको कमी छ भनिन्छ, त्यही भएर पहिले नै कामदारको अभाव भएको समयमा ट्रेनिङ बिना नै पहिलो पटक काम गर्न आउँदै हुनुहुन्छ भने त्यो अर्को मान्छेलाई पनि एकदमै स्ट्रेसफुल हुन्छ," उनले भनिन्।
तालिम प्रदायक संस्थाहरूले पर्याप्त तालिम बिना नै प्रमाण पत्र बेचेको भन्ने आरोपहरू आएकोबारे एसबीएस नेपालीले जिज्ञासा राख्दा अस्क्वाका प्रवक्ताले भने, "हामी सम्पूर्ण किसिमका जानकारी र प्रदान गरिएको तालिमका गुणस्तरलाई लिएर यस उद्योगबाट आउने प्रतिक्रियाहरूलाई स्वागत गर्छौँ।"
साथै हामी विद्यार्थीहरूलाई पनि आफ्नो पढाइको कोर्स छान्नु पूर्व तालीम प्रदायकहरूको बारेमा अनुसन्धान गर्न पनि सुझाव दिन्छौँ।
