प्रधानमन्त्री स्कट मोरिशनले यसबाट परिवारहरुलाई आफुलाई माया लाग्ने परिवारका सदस्यले गुणस्तरीय सेवा पाएकोमा आस्वस्त पार्ने विश्वास व्यक्त गरे।
तर लेबर पार्टी उक्त क्षेत्रमा सरकारले दिदैं आएको सहायतामा पटक पटक कटौती गर्ने गठबन्धनको निर्णयलाई उदृत गर्दै मोरिशन यस क्षेत्रमा अनुसन्धानलाई अगाडी बढाउन सही मान्छे नभएको बताउँछ।
बृद्ध अस्ट्रेलियालीहरुको वकालत गर्नेहरुले उक्त घोषणाको स्वागत गर्दै यो विषय यस क्षेत्रको सुधारको लागि आधार बन्न सक्ने बताएका छन्।
प्रधानमन्त्री स्कट मोरिशनले उक्त जांचले सुविधा केन्द्र र घरेलु स्याहार दुवैको गुणस्तर हेर्ने र यस भित्र अपाङ्गता भएका अस्ट्रेलियाली रहने केन्द्रहरु पनि पर्ने बताएका छन्।
बृद्ध स्याहारको गुणस्तर मापन गर्ने एजेन्सीको लेखा परिक्षणमा ११७ प्रतिशतले बृद्ध सेवा प्रदायकहरुको संख्यामा वृद्धि भएको खुलासा गरेको थियो र एउटा गम्भीर जोखिमका बारेमा पनि पछिल्लो आर्थिक वर्षमा जानकारी आएको थियो। त्यसमा नियम संगत नचलेका सेवा प्रदायकहरुको संख्यामा पनि तिन गुणाले वृद्धि भएको देखिएको थियो।
प्रधानमन्त्री मोरिशन भन्छन, "बृद्ध अस्ट्रेलियालीहरुको रेखदेखमा गुणस्तर प्राप्त होस् भनेर सरकारले कडा मेहनत गरिरहेको छ"।
सरकारले १०६ करोड डलर त्यस्ता बृद्ध स्याहारमा काम गर्नेहरुको सुरक्षामा सुधार र तालिमहरुका लागि छुट्टयाउने अघिल्लो हप्ताको आश्वासन पश्चात यो निर्णय आएको हो।
जस अन्तर्गत बृद्ध स्याहार गुणस्तर र सुरक्षा आयोग निर्माणका लागि कानुन ल्याउने रहेको छ, र यो आयोग एउटा नया नियमनकारी निकाय हुनेछ जसले सेवा प्रदायकहरुलाई मुल्यांकन गर्ने छ साथै गुनासाहरुलाई पनि सम्बोधन गर्ने छ।
तर लेबरले भने स्कट मोरिशनले २०१५ मा ट्रेजरर भए देखि नै बृद्ध स्याहार लगानी कटौती गरेको बताउँछ। लेबर कोषीय प्रवक्ता जिम च्याल्मर्स भने मोरिशन यो समस्यालाई समाधान गर्नबाट धेरै बर्षदेखि चुकेको बताउँछन्।
तर स्कट मोरिशनले उक्त दाबीहरुलाई 'लेबरको झुठ' भन्ने आरोपका साथ अस्वीकार गरेका छन्। स्वास्थ्य मन्त्री ग्रेग हन्टले एबीसीसंगको अन्तर्वार्ताका क्रममा सरकारले बृद्ध स्याहार योजनाका लागि खर्चिने रकममा वृद्धि गरेको तथ्य पछिल्लो बजेटमा देखिने बताएका छन्।
बृद्धावस्था हेर्ने परिषद कोटा अस्ट्रेलिया बृद्ध अस्ट्रेलियालीहरुको पक्षमा नीति निर्माण गर्न वकालत गर्ने समूह हो। यसका प्रमुख इयान यट्स यस्ता दाबी गर्ने प्रक्रिया दुवै सरकार र विपक्षी का लागि लगानी पासो बनेको बताउँछन्।
"वर्तमान गठवन्धन र लेबर दुबैको समयमा, हामीहरु समक्ष यस्तो परिस्थिति पनि थियो जहाँ सेवा प्रदायकहरुको व्यवहार दाबीका कारणले अचानक बृद्ध स्याहार बजेट, बजेट अनुमान बाहिर गएर ह्वात्तै बढ्यो। र गठबन्धन र विपक्षी लेबरले आफ्नो लगानीको व्यवस्थालाई उनीहरुले पनि जायज सोचेको दायरामा ल्याउन प्रयोग गरे। त्यसैले यो क्षेत्र र सरकार दुवै यतिखेर यो संघर्षमा छन्।"

यट्स भन्छन्, कोटा अस्ट्रेलियाले शाही आयोगबारेको घोषणाको स्वागत गर्दछ। उनी भन्छन् उक्त जांचले यस क्षेत्रमा भएका समस्याहरुलाई उजागर गर्न सक्नु पर्छ, साथै के कुरा प्रभावकारी स्याहारको वाधक हो र यसका लागि कस्तो लगानीको आवस्यकता पर्छ भन्ने बारेमा पनि खोज गर्नु पर्छ।
दक्षिण अस्ट्रेलियाको वोकडेन बृद्ध स्याहार सुविधा केन्द्रमा व्यवस्थित र व्यापक रुपमा बृद्ध बृद्धाहरु माथि ज्यादती हुने गरेको खुलासा भएपछि यो जांचका बारेमा चर्चा भएको हो।
केन्द्रका एक विरामी, ६६ बर्षीय बब स्प्रिग्सलाई, आवस्यकता भन्दा बढी औषधि दिइएको र उनको शरीरमा निकै डरलाग्दो निलडाम पाइएको २०१६ मा खुल्न आएको थियो। उनका परिवारले सङ्घीय सरकार समक्ष औपचारिक रुपमा उजुरी दिएपछि सङ्घीय र राज्य स्तरको अनुसन्धान सुरु भएको थियो।
उक्त केन्द्र अघिल्लो वर्ष मात्र बन्द भयो जब अन्य बृद्धहरुबाट पनि उत्पीडन र गालीगलौज भएको गुनासाहरु आउन थाले। पिडित बृद्ध स्प्रिग्सका छोरा क्ल्याइव स्प्रिग्सले एबीसीसंगको कुराकानीमा यो जांच निकै ढिला आएको बताएका छन्।
