SKIP TO MAIN CONTENT

“हामी सबैको दिमाग एकै चोटि चट भएको हो कि?”

यो वर्षको पहिलो चार महिना भित्र भिक्टोरियाका सडकहरूमा ज्यान गुमाउनेहरूको सङ्ख्या एक दशक यता कै सर्वाधिक रहेको तथ्याङ्क सार्वजनिक हुँदै गर्दा एक विशेष सम्मेलन बोलाउने तयारीमा राज्य प्रहरी लागेको छ।

Scene of a fatal crash in Victoria
All states bar Tasmania recorded road fatality figures above their targets. Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

सन् २०१९मा अहिलेसम्म ११३ जना मानिसहरूले भिक्टोरियाका सडकहरूमा आफ्नो ज्यान गुमाइसकेका छन्। अगिल्लो वर्ष भिक्टोरियामा यसरी सडक दुर्घटनामा परी ज्यान गुमाउने मानिसहरूको सङ्ख्या जम्मा ७४ थियो।

भिक्टोरियामा सन् २००८ यता नियन्त्रित हुँदै गएको घातक सडक दुर्घटनाहरू, यो वर्ष पुन उकालो लागेको छ।

“हरेक दिन एक जनाको दरले भिक्टोरियाका सडकहरूमा मानिसहरूले आफ्नो ज्यान गुमाइरहेका छन्, यो अस्वीकार्य छ,” राज्यकी सडक सुरक्षा मन्त्री जाला पल्फर्डले भनिन्।

भिक्टोरिया प्रहरीका उप महानिरीक्षक स्टेफन लियनका अनुसार, यस्ता घटनाहरू वृद्धि हुँदै जाँदा “गाडी हाँक्न संसारकै सबैभन्दा सुरक्षित ठाउँ” भनेर चिनिएको आफ्नो राज्यको साख जोगाइराख्न गाह्रो हुनेछ।

“यो वर्षका तथ्याङ्कहरूले हामीलाई स्तब्ध तुल्याई रहेका छन्,” उनले भने।

“हामी सबैको दिमाग एकै चोटि चट भएको हो कि?”

“हामी सबैले यसबारे चिन्तन गर्न जरुरी छ, मेलबर्नको एक रेडियो स्टेसन थ्री ए डब्लुसँग कुरा गर्दै उनले भने।

लियनका अनुसार, यो वर्ष ज्यान गुमाउनेहरू मध्ये १८ जनाले सिट बेल्ट लगाएका थिएनन्।

“सिट बेल्ट लगाएका भए ती मध्ये धेरैजनाको ज्यान बच्न सक्थ्यो,” उनले भने।

गएको इस्टर लामो सप्ताहन्त छुट्टीको बेलामा मात्र ३५० जनालाई सिट बेल्ट नलगाई गाडीमा सवार भएको भेट्टाइएपछि जरिवाना गरिएको थियो।

सवारी दुर्घटनामा परेर ज्यान गुमाउने मानिसहरू मध्ये धेरैले मादक पदार्थ सेवन गरेको वा लागु औषध प्रयोग गर्ने गरेको पनि बताइएको छ।

यसरी, यो वर्षको पहिलो चार महिना भित्र भिक्टोरियाका सडकहरूमा ज्यान गुमाउनेहरूको सङ्ख्या एक दशक यताकै सर्वाधिक रहेको तथ्याङ्क सार्वजनिक हुँदै गर्दा विशेषज्ञहरूको एक विशेष सम्मेलन बोलाउने तयारीमा राज्य प्रहरी लागेको छ।

ट्रान्सपोर्ट एक्सन कमिसन, भिक् रोड्स, भिक्टोरिया प्रहरी, मोन्याश युनिभर्सिटी एक्स्सिडेण्ट रिसर्च सेन्टर, आर ए सी भी, रोड ट्रमा सपोर्ट सर्भिसेस भिक्टोरियाका साथै मोटरसाइकल र साइकल समर्थकहरू पनि सम्मिलित हुने सडक सुरक्षा सम्मेलन आगामी मे ३१ तारिकका दिन हुने जानकारी पनि लियनले दिए।

यसका साथै, रिजनल भिक्टोरियामा पनि सडक दुर्घतानाहरुबारे सामुदायिक जनचेतना जागृत गर्ने हेतुले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ।

यो वर्ष रिजनल भिक्टोरियाका सडकहरूमा ७२ जनाको मृत्यु भइसकेको छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now