सात दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीको स्वास्थ्य बिग्रदो अवस्थामा रहेको नेपाल को नागरिक पत्रिकाले जनाएको छ। हिजो आइतबार बिहानै अक्सिजनको मात्रा निकै घट्नुका साथै मुटुको गतिमा गड्बडी र रक्तचाप घटेपछि चिकित्सकले डा.गोविन्द केसीलाई निरन्तर अक्सिजन दिन थालेका छन्।
यसअघि आठौं अनशनक्रममै डा.केसीको मुटुको चालमा गडबडी देखिएको थियो। पटक–पटको अनशन र वृद्ध उमेरसँगै स्वास्थ्य जोखिम झन् थपिँदै गएको छ। अनशनका समयमा नर्मल सलाइन (पानी मात्रै) लगाउन अनुमति डा.केसीले दिएका छन्। यस्तो अवस्थामा कुनै खालका स्वास्थ्य जटिलता देखिँदा उनी औषधिसमेत लिन नमानेको बताइएको छ।
डा. केसीले चिकित्सा शिक्षा र सुशासनसँग सम्बन्धित माग लिएर गत सोमबारदेखि अनशन सुरु गरेका थिए। उनले चिकित्सक शिक्षा ऐनमा पूर्वसंशोधन गरेर यही अधिवेशनबाटै पास गर्नुपर्ने, पछिल्लोपटक ६४ लाख शुल्क तोक्नेगरी गरेको सिफारिस खारेज गर्नुपर्ने र आइओएममा तत्काल डिन नियुक्तिलगायत अघिल्ला अनशनमा भएका सम्झौता कार्यान्वयनका माग राखेका छन्।
