SKIP TO MAIN CONTENT

कोभिड-१९ का कारण थप २४ जनाको मृत्यु, बिदा पछि सुरक्षित रूपमा विद्यालय खोल्ने बारेमा छलफल

भिक्टोरियामा आज लगभग ३८ हजार नयाँ सङ्क्रमित थपिंदा न्यु साउथ वेल्समा सङ्क्रमण सङ्ख्या २५,८७० पुगेको छ।

COVID-19 cases continue to grow across Australia.
Maambukizi ya COVID-19 yaendelea kuenea Australia. Source: AAP

4 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

ओमिक्रन भेरीएन्टले अग्रपङ्क्तिका कामदारमा पारेको प्रभावका विषयमा वार्ता गर्न प्रधानमन्त्री स्कट मोरिसन समक्ष युनियनहरूको आह्वानका बिच भिक्टोरिया र न्यु साउथ वेल्समा केस सङ्ख्यामा वृद्धि देखिएको हो।

भिक्टोरियामा आज ३७,९९४ जनामा सङ्क्रमण पुष्टि हुँदा १३ जनाको कोरोनाभाइरसका कारण ज्यान गएको छ।

बढ्दो केस सङ्ख्याले सार्वजनिक सेवामा समस्या पारेको छ भने एम्बुलेन्स सेवा समेत प्रभावित हुन पुगेको छ।

राज्यका सङ्क्रमित मध्ये  १९,४९१ जना पिसिआर र १८,५०३ जना रया्पिड एन्टीजेन परीक्षण विधिबाट पत्ता लागेका स्वास्थ्य विभागले जानकारी दिएको छ।

हाल भिक्टोरियाका अस्पतालमा ८६१ जना कोभिड-१९ बिरामीको उपचार भइरहेको छ।

ती मध्ये सघन उपचार कक्षमा ११७ जनाको उपचार भइरहेको छ भने २७ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।

हाल राज्यभर कुल १७१,३६९ जना सक्रिय सङ्क्रमित रहेका छन्।

न्यु साउथ वेल्समा भने २५,८७० जना सङ्क्रमित थपिँदा ११ जनाको कोरोनाभाइरसका कारण ज्यान गएको छ।

राज्यमा हाल २,१८६ जना अस्पतालमा छन् भने १७० जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

सङ्क्रमितको सङ्ख्यामा वृद्धि सँगै भिक्टोरियामा पारामेडिक्सहरुले एम्बुलेन्स सेवामा ढिलाइ हुन सक्ने चेतावनी दिएका छन्।

एम्बुलेन्स भिक्टोरियाका अनुसार मेट्रो क्षेत्रमा “एम्बुलेन्सको अत्यधिक माग” रहेको छ।

"तपाईंलाई एम्बुलेन्स चाहियो भने पहिले जस्तै तत्काल आइपुग्ने सम्भावना कम छ,” मंगलबार जारी गरिएको एक विज्ञप्तिमा एम्बुलेन्स भिक्टोरियाले भनेको छ।

"हाम्रो प्राथमिकता जीवन बचाउन सहयोग चाहिरहेका भिक्टोरीयालीहरुलाई हो।”

एम्बुलेन्स भिक्टोरियाले ट्रिपल जिरोको प्रयोग आपतकालिन अवस्थामा मात्र गर्न, अन्यथा आफ्नो चिकित्सक वा नर्स अन कलमा सम्पर्क राख्न भनेको छ।

People queue for a COVID-19 PCR test at a doctors surgery in Sydney.
People queue for a COVID-19 PCR test at a doctors surgery in Sydney. Source: AAP

समन्वयित ढङ्गले विद्यालय खोल्न प्रधानमन्त्रीको आग्रह

कोभिड-१९ केस सङ्ख्या निरन्तर बढ्दै गर्दा बिद्यार्थीहरु कसरी सुरक्षित रूपमा विद्यालय फर्कन सक्छन् भन्ने कुरामा अन्यौलता कायमै रहेको छ।

विद्यालय खुल्ने समय नजिकिँदै गर्दा, बिहीवारको राष्ट्रिय मन्त्रीपरिषद् बैठक अघि अस्ट्रेलियाको प्रमुख स्वास्थ्य सल्लाहकार समितिले यसका विषयमा छलफल गरेको छ।

न्यु साउथ वेल्स र भिक्टोरिया सरकारले पनि सङ्घीय सरकारको समन्वयात्मक दृष्टिकोणलाई समर्थन गरेका छन्।

ती राज्यका प्रिमियरहरुको सोमबार बसेको बैठकले विद्यालय खोल्ने योजना सहित कोरोनाभाइरसका विषयमा छलफल गरेका छन्।

उता क्वीन्सल्याण्डले भने विद्यालय खोल्ने समय दुई हप्ता पछि धकेलेको बताएको छ।

विद्यार्थीहरु कक्षा कोठामा फर्कनु अघि खोप लगाउन थप समय आवश्यक पर्ने भन्दै ढिलाइ गरिने बताइएको छ।

साउथ अस्ट्रेलियामा चाहिँ शिक्षकहरूले ऱ्यापिड एन्टीजेन परीक्षण मार्फत भाइरसलाई ट्र्याक गर्न मद्दत पुग्ने अधिकारीहरूको भनाई छ ।

जनवरीको अन्त्यबाट विद्यालयहरू पुन: खोल्ने र सोही समयमा ओमिक्रनका केसहरू पनि दशैभर चरम अवस्थामा पुग्न सक्ने अनुमान गरिएका छन् ।

हिजो सोमबारबाट पाँच देखि ११ वर्ष उमेर समूहका करिब २३ लाख योग्य बालबालिकाका लागि फाइजर खोप लगाउन सुरु गरिएको छ।

प्रधानमन्त्री स्कट मोरिसनले विद्यालय खुलाउने योजनाका बारेमा यसै हप्ता छलफल हुने बताएका छन्।

“अभिभावकहरूका लागि यो स्पष्ट रूपमा एउटा प्रमुख मुद्दा हो किनकि उनीहरू आफ्ना छोराछोरीलाई केही हप्तामा स्कुलमा फर्कने बारेमा सोचिरहेका छन्,” प्रधानमन्त्री मोरिसनले सोमबार भने।

“त्यति बेलासम्म हामी प्रबन्धहरूका बारेमा स्पष्ट भइसक्ने छौ।”

प्रधानमन्त्रीले विद्यालय खुल्ने पहिलो दिनमै विद्यार्थीहरु कक्षाकोठामा फर्काउने आफ्नो प्राथमिकतालाई दोहोर्‍याएका छन्।

यसैबिच अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक पाउल केलिले एकीकृत दृष्टिकोणका बारेमा निर्णय गर्नु अघि स्वास्थ्यमा आधारित मुद्दाहरुलाई ध्यानमा राखिने बताए।

यता विपक्षी नेता एन्थोनि एल्बानेजीले आफूले विद्यार्थी कक्षाकोठामा फर्केको हेर्न चाहेको भन्दै मानिसहरूलाई स्वास्थ्य सल्लाह पालना गर्न आग्रह पनि गरे।

'अस्ट्रेलियाली कामदार अहिलेको अवस्थामा ठिक छैनन्'

ओमिक्रन भेरीएन्टका कारण अग्रपङ्क्तिका कामदार थकित बनेको भन्दै युनियनहरूले प्रधानमन्त्री स्कट मोरिसनलाई तत्काल वार्ताका लागि आह्वान गरेका छन्।

अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनकी सचिव स्याली म्याकमनुसले प्रधानमन्त्रीलाई एक पत्र लेख्दै “अनौपचारिक लकडाउनले” कामदारलाई प्रभावित बनाइरहेको भन्दै मागहरू सहितको चेतावनी पत्र पठाएकी छन्।

“प्रधानमन्त्रीले काम गर्ने मानिसहरूका कुरा सुनेका छैनन्, र हामी अग्रपङ्क्तिमा छौ,” एक विज्ञप्ति मार्फत उनले भनिन्।

“अस्ट्रेलियाका कामदार अहिले ठिक छैनन्, एकै पटक यति धेरै कामदारहरू कहिल्यै बिरामी परेका थिएनन्।”

प्रधानमन्त्री सामु राखिएका माग मध्ये घरायसी मात्र नभएर सहकर्मीका कारण 'क्लोज कन्ट्याक्ट'मा परेका मानिसहरूलाई समेत महामारी बिदा भुक्तानीका लागि योग्य बनाइनु पर्ने भन्ने समावेश छ।

युनियनहरूले पनि अग्रपङ्क्तिका कामदारका लागि निःशुल्क एन्टीजेन परीक्षण किट दिइनुपर्ने साथै आपूर्ति समस्याहरू समाधान नभएसम्म अग्रपङ्क्तिका कामदारका लागि परीक्षणमा प्राथमिकता र काममा पि-टु वा एन-९५ मास्क लागु गर्नु पर्ने माग राखेका छन्।

“कतिपय कामदारहरुको बिरामी बिदा नभएका कारण तलब गुमाइरहेका छन्,” सचिव स्याली म्याकमनुसले भनिन्।

“अनौपचारिक लकडाउनका कारण व्यवसाय बन्द हुँदा वा कम क्षमतामा चल्दा कतिपयले रोजगारी वा काम गर्ने घण्टा गुमाएका छन्।”


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now