एंग्लो- केल्टिक (बेलायती) पृष्ठभूमि बाहिरका पहिलो अस्ट्रेलियाली प्रधानमन्त्री बनिरहँदा एन्थनी एल्बनिजीले यसले 'बहु सांस्कृतिक अस्ट्रेलियालीहरूलाई यो देशमा जे पनि गर्न सकिन्छ' भन्ने सन्देश दिएको बताएका छन्।
निकै भावुक भएर शनिवार उनले भनेका थिए, "अस्ट्रेलियाली जनताले परिवर्तनका लागी मत हालेका छन्। यो जितले मलाई नम्र बनाएको छ र म ३१ औँ प्रधानमन्त्रीका रूपमा सेवा गर्ने अवसर पाएकोमा निकै सम्मानित भएको अनुभव गरेको छु।"

उनले परम्परागत भूमिका मालिकहरूलाई सम्झँदै उलुरु सम्झौतालाई हृदयदेखि नै स्विकार्ने समेत बताएका छन्।
जित सँगै उनले आफ्ना छोरा नेथन र आमा मेरीएनलाई धन्यवाद दिएका थिए।
हुन त उनले सम्पूर्ण चुनावी अभियानका क्रममा आफ्नी एकल आमाले आफूलाई सरकारी आवासमा कसरी हुर्काएको भन्ने बारे पटक पटक उल्लेख गरेका थिए।
"मेरी आमाको लागी, जसले तल हामीमाथि प्रकाश छरिरहनु भएको छ, तपाइलाई धन्यवाद।" उनले भने।
"अनि मैले आशा गरेको छु कि त्यस्तै सरकारी आवासमा बसेका परिवारहरूले आज राती यो हेरी रहनु भएको होला। किनकि म चाहन्छु कि हरेक अभिभावकले उनीहरूका बच्चालाई भन्न सकुन्, जहाँ बसे पनि र जहाँबाट आएको भए पनि, अस्ट्रेलियामा सबैका लागी अवसरका ढोकाहरू खुल्ला छन्।"
इटालियन र आइरिश पृष्ठभूमिका एल्बनिजीको सन् २०२२ को सङ्घीय निर्वाचन जितलाई नौ वर्ष देखि सत्ता बाहिर रहेको लेबर पार्टीका लागी मात्र नभएर अस्ट्रेलियाली समुदायमा रहेको विविधताको पनि जितका रूपमा हेरिएको छ।
को हुन् एन्थनी एल्बनिजी?
भित्री पश्चिमी सिड्नीको ग्राण्डलर निर्वाचन क्षेत्रबाट १९९६ देखि नै निर्वाचित हुँदै आएका एल्बनिजी छायाँ मन्त्री, मन्त्री साथै उप- प्रधानमन्त्री समेत बनिसकेका छ।
सिड्नी युनिभर्सिटीमा अध्ययनरत रहँदा नै विद्यार्थी राजनीतिमा लागेका एल्बनिजी लेबर र त्यसमा पनि वामपन्थी धारको लेबरको हिस्सा बनेका थिए।

सांसद बन्नु पूर्व एल्बनिजीले लेबर पार्टीको सचिवका रूपमा र तत्कालीन न्यु साउथ वेल्स प्रिमियर बब कार का लागी समेत काम गरेका थिए।
सन् २०१९ मे १८ को सङ्घीय निर्वाचनमा लेबर पार्टीको हार पछि रिक्त भएको लेबर पार्टी नेताको पदमा एन्थनी एल्बनिजी निर्विरोध नियुक्त भए।
चुनावी हार पछि तत्कालीन नेता बिल शर्टनले उक्त पद बाट आफू हट्ने घोषणा गरेपछि नेता र उप-नेताका पद पनि रिक्त घोषित गरिएको थियो जसका लागी तत्कालीन उप-नेत्री तान्या प्लिबर्सेक लगायत वरिष्ठ सांसद द्वय क्रिस बोवेन र जिम चाल्मर्सले पनि आफूहरू नेता पदको लागि नलड्ने भन्दै एन्थनी एल्बनिजी प्रति आफ्नो समर्थन रहने बताएका थिए।
लेबर नेता बने पछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफूलाई समर्थन गर्नेहरूलाई धन्यवाद दिँदै आगामी तीन वर्षमा आफ्नो पार्टीलाई सरकारमा ल्याउन मिलेर काम गर्नु पर्नेमा जोड दिएका।
जुन सपना अहिले पुरा भएको छ।
यो त भयो राजनीतिक यात्रा एल्बनिजीलाई एक डिजेका रूपमा पनि चिनिन्छ भन्दा अचम्म लाग्न सक्छ।

विद्यार्थी जीवन देखि नै सक्रिय राजनीतिमा लागेका अल्बनिजीको गीत सङ्गीत प्रतिको मोह र डिजेइङ्ग कला सन् २०१८ को अक्टोबरमा क्यानबेरामा पनि देखिएको थियो।
