नेपाली भाषीहरूको ठुलो उपस्थिति रहेको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यका अदालतहरूमा प्रस्तुत हुने मुद्दामा नेपालीहरूको नामहरू पनि प्रायः देखिने नै गरेको बताइएको छ।
सिड्नीमा कार्यरत नेपाली मूलका एक वकिलले एसबीएस नेपालीलाई बताए अनुसार, प्रत्येक हप्ता दुई वा तीन घटनाका बारेमा मानिसहरू उनी कहाँ राय सल्लाह लिन आउँछन्।
ती मध्ये कतिपय त कानुनी प्रक्रिया वा भाषाका समस्याका कारण समयमै उजुरी नहुँदा कतिपय पिडा सहन बाध्य रहेको पनि ती कानूनी परामर्शदाताको भनाई छ।
घरेलु हिंसाकी पिडित रिताको कहानी

विद्यार्थी भिसामा अस्ट्रेलिया आएकी रिता* (गोपनीयताका कारण नाम परिवर्तन गरिएको) त्यस्तै एक घरेलु हिंसाको सिकार हुन्।
अस्ट्रेलिया आएको केही समय पश्चात् उनको विवाह भयो र रिताका श्रीमान पनि उनीसँगै यहाँ आए।
बिस्तारै आफ्नो श्रीमानको व्यवहारमा परिवर्तन देखेपछि रितामा निराशा छाउँदै गयो।
पराई भूमिमा आफ्नो अभिभावकका रूपमा समेत रहेका श्रीमानबाट दिन प्रतिदिन आफूप्रति बढ्दै गएको वितृष्णाका कारण उनी मानसिक रूपमा पनि पिडित भइन्।
तर हिंसाको क्रम रोकिएन।

आफू माथि शारीरिक रूपमै श्रीमानबाट आक्रमण हुन थालेपछि भने उनले छाँगाबाट खसे जस्तै महसुस गरिन्।
अझ उनका पतिको आक्रमण यस्तो अवस्थामा भयो, जुन बेला उनलाई सबैभन्दा बढी माया र हेरचाहको खाँचो थियो ।
“बच्चा जन्मिएपछि सबै कुराहरू ठिक हुन्छ होला भन्ने सोचेकी थिए तर तिन चार महिना ठिक भयो जस्तो मात्र के लागेको थियो, उनको व्यवहारमा फेरी परिवर्तन आयो, साथी भाइका सामु यसलाई छोड्दिन्छु भन्दै हिँड्ने र बेला बेला रिस उठ्दा हात हाल्ने समेत हुन थाल्यो,” उनले एसबीएस नेपालीसँग कुरा गर्दै भनिन्।
एक वर्षको बच्चाको जिम्मेवारी, कामको तनाव, बेवास्ता त छदै थियो, महेशले आफन्त र साथीभाइ कहाँ जानबाट समेत रोक्न थाले पछि उनले आफ्नो पिडा बिसाउने ठाउँ पनि पाइनन्।
अन्ततः रिताले अब यसरीसँगै बस्न सकिन्न जस्तो लागे पछि अस्ट्रेलियामा नै रहेका केही आफन्तसँग सबै कुरा राखिन्।
तर पनि उनले आफूले गर्भवती हुँदा आफू माथि हातपात भएको कुरा त अझै पनि भन्न सकिनन्।

पारपाचुकेको सहमति पछि पनि आफ्नी आमा र सन्तानका अगाडी समेत हातपातको क्रम नरोकिएको रिताको भनाई छ।
यस्तैमा केही वर्ष अघिको नोभेम्बर दुईमा घटेको घटना आफूले कहिल्यै नभुल्ने बताउँदै उनी भन्छिन्, “महेशले एक्कासि मेरी आमा र म माथि हातपात गर्न थाले ३ वर्षमा टेकेको सन्तान र मेरी बुढी आमाको ज्यान जोगाउनका लागि पनि मैले प्रहरीमा फोन गरे र प्रहरी आएर मेरो साहयता गरे।”
यो एउटा प्रतिनिधि घटना मात्रै हो जहाँ एक महिला आफ्ना पार्टनरबाट घरेलु हिंसामा परेकी छन्। अस्ट्रेलियाका विभिन्न स्थानमा नेपाली समुदाय भित्रै हुने यस्ता घरेलु हिंसाका थुप्रै घटनाहरूमा अदालतमा पेशीमा परेका छन्।

के घरेलु हिंसा शारीरिक हिंसा मात्र हो त?
नेपाली लगायत प्राय समुदायहरूमा शारीरिक रूपमा हात पात गरिनुलाई मात्र घरेलु हिंसा भनेर बुझ्ने गरेको पाइन्छ। तर के घरेलु हिंसा शारीरिक हिंसा मात्र हो त ?
वर्तमान वा पूर्व निकटतम सम्बन्धमा रहेकाहरूबाट दबाब र आक्रमण गरी डर उत्पन्न गराउने, नियन्त्रणमा राख्ने प्रयास गर्ने, शारीरिक र मानसिक रूपमा हानी पुर्याउने कार्य गरिएमा त्यसलाई अस्ट्रेलियामा घरेलु हिंसाको दायरामा राखिएको छ।
यस अन्तर्गत शारीरिक रूपमा आक्रमण गरिनु त परि हाल्छ नै साथमा आफ्नो पार्टनर नै किन नहोस् तर आफ्नो इच्छा विपरीत शारीरिक सम्बन्ध राख्ने प्रयास गरिनु पनि हिंसा हो।

सरकारी स्तरबाट कानुनी सहायता प्रदान गर्ने लिगल एडकी प्रतिनिधि वेन्डी मुएरले नेपाली समुदाय लक्षित एक कार्यक्रममा घरेलु हिंसा अन्तर्गत के कस्ता व्यवहारहरू पर्छन् त भन्ने सम्बन्धमा विस्तृतमा बताएकी छन्।
"गाली गलौज र मानसिक तनाव दिने कार्य पनि हिंसा अन्तर्गत नै पर्दछन्। पारिवारिक वातावरणमा आर्थिक नियन्त्रण, प्रविधिहरूको प्रयोग गर्दै त्रास वा दबाब सिर्जना गरिनु पनि घरेलु हिंसा नै हो," मुएर भन्छिन्।
त्यसै गरी, घरेलु वातावरणमा एक व्यक्तिले अर्को व्यक्तिलाई शारीरिक, मानसिक, आर्थिक वा अन्य कुनै पनि माध्यमबाट दबाबमा राख्ने अभ्यासलाई घरेलु हिंसाको परिभाषा भित्र पर्ने कानुनविद् कुशल भट्टराईको भनाइ छ।
सिड्नीमा वकिलका रूपमा लामो समयदेखि कार्यरत भट्टराई यस्ता किसिमका घरेलु हिंसाका घटनाका बारेमा हरेक हप्ता आफू कहाँ परामर्श लिन मानिसहरू आउने बताउँछन्।
यस्तो हिंसा श्रीमान् श्रीमतीमा मात्र सीमित नभई बालबच्चा, पार्टनर वा घरेलु वातावरणमा रहँदै आएका जो कोहीका बिचमा पनि हुन सक्ने उनी बताउँछन् ।
“घरायसी बतावरणमा बसेर अर्को मानिसलाई गर्ने दबाब नै घरेलु हिंसा हो , मौखिक रूपमा, शारीरिक वा आर्थिक रूपमा कुनै पनि मानिसमा यदि नकारात्मक प्रभाव पर्ने गरी कुनै हिंसा हुन्छ भने त्यो घरेलु हिंसा भित्र पर्दछ” कुशल भट्टराई भन्छन्।

मुएर भने कानुनी व्यवस्थाको आडमा बिना कसुर अदालत लानु वा लाने धम्की दिनु पनि हिंसा अन्तर्गत पर्ने बताउँछिन्।
प्रहरी समक्ष उजुरी परेको भन्दा झन्डै तीन गुणा बढी घरेलु हिंसाका घटना हुने गरेको भट्टराईको अनुमान छ।
कम्युनिटी एन्ड लिगल एड सर्भिसकी अन्तर्गत डाइभर्सिटि भनिने विविधता सेवा इकाईकी सम्पर्क व्यक्ति - डीलाइला शिन्का आफ्नो इकाईले विभिन्न सामुदायिक र सांस्कृतिक पृष्ठभूमिका व्यक्तिहरूलाई - अस्ट्रेलियामा उपलब्ध कानुनी सेवाका बारेमा जानकारी दिने गरेको बताउँछन्।
उनी भन्छिन् कि आफ्नो जन्मभूमिबाट अस्ट्रेलिया आउँदा धेरैलाई यहाँको कानुनबारे थाहा नहुने भएकाले यसका सम्बन्धमा उनीहरूलाई सुसूचित गर्नु महत्त्वपूर्ण हुन्छ र उनले घरेलु हिंसाका सम्बन्धमा पनि अन्य धेरै समुदाय जस्तै नेपाली समुदायले पनि खुलेर बोल्न सक्दैनन्।
विशेष रूपमा आप्रवासी पृष्ठभूमिका पीडितहरूले कानुनी प्रक्रिया थाहा नपाउँदा, भाषाको समस्या हुँदा र सांस्कृतिक मूल्य मान्यताका कारणले पनि उजुरी गर्न हिचकिचाउने प्रवृत्ति देखिने गरेको अधिवक्ता भट्टराईले एसबीएस नेपालीलाई बताए।
साथै, कतिपय मानिसहरू भिसा वा "इमिग्रेसन स्ट्याटस"मा समस्या आउने अनि आर्थिक रूपमा पनि अफ्ठेरो हुने डर तथा चिन्ताले गर्दा पनि उजुरी नगर्ने उनको ठम्याई छ।
श्रीमान् श्रीमती बिचको कुनै घटनालाई निजी मामिलाको रूपमा मात्र लिन नहुने कुशल भट्टराई बताउँछन्।

कथित पीडित र पीडक साथै उनीहरूको गतिविधि माथि निगरानी राखेर समुदायले यस्ता घटनामा पनि आफ्नो भूमिका निर्वाह गर्न सक्ने तर प्राथमिक रूपमा कानुनी उपचार नै खोज्न उनी सुझाउँछन्।
घरेलु हिंसा भएमा विभिन्न सामुदायिक समूहहरूले सहायता प्रदान गर्ने र कहाँ जाने भनेर मार्ग निर्देश गर्न सक्छन्।
त्यसै मध्येको एक हो गैरआवासीय नेपाली सङ्घ-अस्ट्रेलिया।
एनआरएनए-अस्ट्रेलिया अन्तर्गतको नारी निकुञ्जले विशेष गरी घरेलु हिंसाका गुनासाहरूलाई हेर्ने र सोही अनुसारको मार्ग निर्देशन गर्ने गर्दछ।
नारी निकुञ्जकी राष्ट्रिय संयोजक रहेकी सन्ध्या साहले आफूहरू कहाँ हप्तामा एक जस्तो नै घरेलु हिंसाका गुनासाहरू आउने गरेको बताएकी छन्।
विशेष गरी, एप्रिहेन्डेड भायलेन्स अर्डर (एभीओ)सँग सम्बन्धित धेरै मामिलाहरू अदालत समक्ष दर्ता भएका छन्।
अस्ट्रेलियाको कानुनले कुनै पनि पारिवारिक परिवेशमा एक सदस्यले अर्को सदस्यलाई दिने गरेको दबाबका लागी एभिओ लिन सकिने भए पनि नेपाली समुदायमा हातपात नभएसम्म एभिओ लिने नगरिएको भट्टराईको अनुभव छ।

पीडितले आफू माथि घरेलु हिंसा भयो भनेर प्रहरीमा उजुरी दिने बित्तिकै राज्यले सो व्यक्तिको प्रतिनिधित्व गर्ने भएकोले, कुशल भट्टराई र उनी आबद्ध भए जस्ता निजी कानूनी फर्महरूमा चाहिँ प्रतिवादीहरू वा जो माथि उजुरी परेको हो, ती व्यक्तिहरू सेवा लिन आउने गर्दछन्।
अनि कहिले काहीँ त पिडक भनिएका व्यक्ति स्वयम् नै पीडित भएको पनि देखिने तथ्य समेत उनले उजागर गरे।
यदि आफू हिंसामा परेको छु भन्ने लाग्छ भने वा हिंसात्मक गतिविधिमा आफू नउत्रे पनि कसैले आफूलाई आरोप लगाउँदै छ जस्तो लागेको खण्डमा आवश्यक प्रमाणहरू जुटाउनु जरुरी हुने कानुनविद् भट्टराईले बताए।
उनका अनुसार त्यसता अवस्थामा सकेसम्म फोन रेकर्डिङ वा विद्युतीय सन्देश (मेसेज) आदान प्रदान भएका प्रमाणहरू राख्न जरुरी हुन्छ।
“सिस्टमको मेनुपिलेसन गरेर कहिले काहीँ फेक क्लेम हुने गर्छन्” भट्टराई भन्छन्।

घरेलु हिंसा पारिवारिक वातावरणमा विगत वा बर्तमानमा पारिवारिक सम्बन्ध भएका व्यक्तिहरूद्वारा हुने गर्दछ चाहे त्यो महिला हुन् वा पुरुष।
तर, राष्ट्रिय आँकडाले पुरुषले महिला माथि गर्ने गरेको हिंसाको सङ्ख्या बढी रहँदा पीडित प्राय महिलाहरू नै हुने गरेको देखिन्छ।
अधिकांश समयमा महिलाहरू पीडित देखिने गरे पनि कतिपय समयमा पुरुष पनि पीडित हुने कुराको पुष्टि भट्टराईले पनि गरे।

“कुटपिट मात्रै घरेलु हिंसा होइन, हामीले घरेलु हिंसा भनेको के हो भन्ने नै हाम्रो समुदायमा सिकाउन जरुरी छ ” कुशल भट्टराई जोड दिन्छन्।
भट्टराईको कुरासँग सहमत देखिन्छन् एनआरएनए-अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्स राज्यका संयोजक देव गुरुङ।
गुरुङ भन्छन् कि नेपाली समुदायमा अझै पनि रहेको पितृसत्तात्मक सोचका कारण पुरुषले महिलालाई कमजोर सम्झेर दमन गर्न खोज्ने मानसिकताको उपज नै घरेलु हिंसा घट्ने प्रमुख कारण मध्येको एक हो।
तपाईंले एसबीएस नेपालीलाई स्पटीफाइ, एप्पल पोडकाष्ट्स र गुगल पोडकाष्ट्समा पनि सुन्न सक्नुहुनेछ।



