SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली शेयर बजारमा व्यापक गिरावट; चीन र संयुक्त राज्य बीचको सङ्कट बढ्दै

चीनले आफ्नो मुद्रालाई एक्कासि अवमूल्यन गरेपछि संयुक्त राज्यसँगको उसको व्यापार युद्धले नयाँ मोड लिनुका साथै विश्व अर्थतन्त्रमा गम्भीर सङ्कट निम्त्याउने सम्भावना बढेको बताइएको छ।

US assessing if China is manipulating curency value
a man walking past oversized Chinese yuan (RMB) notes, Source: AAP

3 min read

Published


Skip to article content

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सेप्टेम्बर महिना देखि लागु हुने गरी आफ्नो देश भित्रिने चिनियाँ सामग्रीहरु माथि १० प्रतिशतले सीमा शुल्क बढाइने घोषणा गरेका थिए।

संयुक्त राज्यले आफ्नो सीमा शुल्क सम्बन्धी नयाँ घोषणा गरे लगत्तै चीनले आफ्नो मुद्रा अमेरिकी डलरको तुलनामा तल झर्नबाट नरोकेर कडा जवाफ दिएको छ।

बेजिङ्गद्वारा आफ्नो मुद्रा - युवानलाई अवमूल्यन गराए लगत्तै त्यसले अमेरिकी शेयर बजारमा सोमबार निकै नकारात्मक प्रभाव पारिदिएको छ।

सोमबार वाल स्ट्रिटमा देखिएको गिरावट सन् २०१९ सुरु भए यता एक दिनमा भएको सबैभन्दा ठुलो रहेको बताइएको छ।

यसैको प्रभाव स्वरूप मङ्गलवार बिहान अस्ट्रेलियाको शेयरबजारमा पनि परेको छ। बजार खुल्नासाथ एएसएक्स भनिने अस्ट्रेलियन शेयर बजार ३ प्रतिशतले ओरालो लागेको थियो।

लगत्तै, अमेरिकी राष्ट्रपति ट्रम्पले बेजिङ्गद्वारा आफ्नो मुद्रालाई अवमूल्यन गरेको आरोप लगाएका छन्।

ट्विटर मार्फत आफ्नो भनाई राख्ने क्रममा ट्रम्पले अमेरिकी व्यापार र कारखानाहरू चोर्न चीनले आफ्नो मुद्रा खस्किँदा पनि आँखा चिम्लिएको बताएका छन्। 

यसका साथै, एक अर्को ट्वीटमा भने उनले चीनलाई मुद्रा हेरफेर कर्ता भनेर सम्बोधन  गरेका  छन्।

आफ्नो मुद्रा कमजोर बनाएर चीनले आफ्नो भूमिमा उप्त्पादित सामाग्रीहरू अमेरिका निर्यात गर्दा केही मात्रामा भए पनि अमेरिकी सिमाशुल्कको मार कम हुनेछ।

अमेरिकी राष्ट्रपतिको उक्त भनाइलाई आधार बनाउँदै त्यहाँको ट्रेजरीले पनि एक वक्तव्य मार्फत चीनलाई मुद्रा हेरफेर कर्ता भएको आक्षेप लगाएको छ।

साथै, चीनको उक्त कदमबाट उत्पन्न अनुचित प्रतिस्पर्धात्मक लाभलाई निराकरण गर्न उसले अन्तर्राष्ट्रिय मुद्रा कोष - आईएमएफलाई आग्रह गर्ने उल्लेख गरेको छ।

अमेरिकाको यो कदम भने प्रतिकात्मक मात्रै हुनेछ किनकि आईएमएफले मुद्रा हेरफेर गर्ने देशलाई छलफल गर्नका लागि मात्र बोलाउने गर्छ।

तर, यसको वाणिज्य विभागले भने आफ्नो मुद्रा अवमूल्यन गरेको भेटमा त्यस्ता राष्ट्रलाई सीमा शुल्क लगाउने योजना सार्वजनिक गरेको कारण यो घटनामा थप कारबाही हुन सक्नेछ।

उता, चिनियाँ सरकारद्वारा पनि अमेरिकी सीमा शुल्क विरुद्ध आफ्नो आधिकारिक कदमको रूपमा अमेरिकी कृषि उत्पादन आफ्नो देशमा आयात हुँदा थप सिमाशुल्क लगाउने निर्णय गरेको छ।

यसका साथै, चिनियाँ सञ्चार माध्यमहरूका अनुसार त्यस्ता कृषिजन्य अमेरिकी उत्पादन बेजिङ्गले सोमबार बेलुकी देखि नकिन्ने पनि बताएको छ।

यी दुई आर्थिक “पावर हाउस” मुलुकहरू बिचको घम्साघम्सी-घम्सीले एक अर्काको वाणिज्य एवं व्यापार जगतलाई त घात गरेकै छ, वैश्विक अर्थतन्त्रलाई पनि सुस्त पारेको छ।

रिजर्भ बैङ्कले ब्याजदर यथावत् राख्यो

मङ्गलवार बसेको रिजर्भ बैङ्कको बैठकले आफ्नो आधिकारिक ब्याजदर यथावत् नै राख्ने निर्णय गरेको छ।

यो भन्दा अगाडी लगातार दुई महिना ०.२५ प्रतिशतले आफ्नो आधिकारिक ब्याजदर घटाउने निर्णय गरेको रिजर्भ बैङ्कले बजारमा ती कटौतीको प्रभाव हेरेर अर्को कदम चाल्ने जनाएको छ।

विश्वभरका शेयर र मुद्रा बजारमा देखिएको उथल पुथल एवं अमेरिका र चीन बिचको व्यापार युद्धले सबैको ध्यान तानिरहेको बिच रिजर्भ बैङ्कको उक्त निर्णय आएको हो।

जानकारहरूका अनुसार रिजर्भ बैङ्कले आगामी नोभेम्बर महिनामा पुन: ०.२५ प्रतिशतले कटौती गर्ने योजना छ।

अनि, आगामी वर्षको मे महिनामा फेरी अर्को ०.२५ प्रतिशतले कटौती गरेर आफ्नो आधिकारिक ब्याजदर .५ मा झार्ने उनीहरूको विचार छ।

कोर लजिकका अनुसन्धान प्रमुख टिम ललेसका अनुसार आधिकारिक ब्याजदरमा यसपालि कुनै फेरबदल नहुनु अनौठो कुरो होइन।

“यसपालि ब्याजदरमा कटौती नगरेर रिजर्भ बैङ्कले आफूले अघिल्ला महिनाहरूमा चालेको कदमको समीक्षा गर्न समय पाएको छ,” उनले फेयरफ्याक्सलाई बताए।

“तर, यसले अब ब्याजदरमा पुन: कटौती हुने सङ्केत पनि दिएको छ,” ललेसले भने।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now