कुनै आम चुनाव नभई यसरी नयाँ प्रधानमन्त्री हुँदा धेरैलाई अचम्म लाग्न सक्छ। तर पछिल्ला केहि बर्षहरुमा अस्ट्रेलियाको राजनीतिमा यो प्रवृति देखिदै आएको छ। बिगत दश बर्षमा मात्र अस्ट्रेलियामा ६ प्रधानमन्त्रीहरुको चयन भएको छ। किन यसरी देशको उच्च पदमा परिवर्तन भई रहन्छ त?
यसमा दुई मुख्य कारणहरु देखिन्छ।
पहिलोमा त लगातार हुने जनमत सर्वेक्षण। राजनितिक दलले आन्तरिक रुपमा गर्ने र बाह्य कम्पनीहरुबाट हुने जनमत सर्वेक्षणले कुनै दलको नेता कत्तिको लोकप्रिय रहेको छ भनेर त्यस समय रहेको जनभाब उल्लेख गर्ने गर्दछ।
जस्तो, यस अघि टोनी एबट प्रधानमंत्री रहेकै बेला, उनको लोकप्रियतामा लगातार ३० हफ्ताको जनमत सर्बेक्षणले गिरावट आएको जनाए पछि, मालकम टर्नबुलले आफ्नो दल समक्ष नेता परिबर्तनको प्रस्ताब राखेका थिए, जुन सफल भएपछि उनी प्रधानमन्त्रीको रुपमा चुनिएका थिए।

तर यी जनमत सर्बेक्षणहरु अकाट्य सत्य हुन्छन् भन्ने चाहिं छैन। धेरै पटक जनमत सर्वेक्षणमा बताईएको बिपरित चुनाबी नतिजाहरु आईरहेका छन्। तर अन्य कुनै जनभाव बुझ्ने उपाय नरहेको बेला, जनमत सर्बेक्षणलाईनै एक मापदण्ड मानिएको छ।
यसरि लगालग प्रधानमन्त्री परिबर्तन हुनुको अर्को मुख्य कारण भने दुबै मुख्य दल- लेबर र लिबरलमा रहेको उदारपन्थी र दक्षिणपन्थीबीचको द्वन्द हो। मालकम टर्नबुलको पद जानुमा यसको कारण रहेको बताईन्छ।

टर्नबुल लिबरल पार्टिको नीतिमा उदारबादमा विश्वास गर्छन्, जुन पूर्व प्रधानमन्त्री टोनी एबटको सहमति बिपरित रहेको छ। आफ्नो अन्तिम पत्रकार सम्मेलनमा टर्नबुलले, यिनै दुई धारणाका कारण, एबट लागायत उनका सहयोगीहरुले आफ्नो प्रधानमन्त्रित्व गिराएको आरोप लगाए।
साथै, टर्नबुल परिवर्तन गर्नुको कारण हफ्तै पिच्छे आउने जनमत सर्बेक्षणले देखाएको उनको लोकप्रियतामा आएको ह्रास पनि रहेको बताईएको थियो।
कहिलेकाहि भने, दलिय नेता परिवर्तन गर्दा उनको व्यक्तिगत आचरणलाई पनि दोष लगाईएको पाईएको छ। सन् २०१० मा तत्कालिन प्रधानमन्त्री केभिन रडको लोकप्रियतामा ह्रास आउनुको साथै उनको अरुलाई हेप्ने प्रवृति भएको भन्दै जुलिया गिलार्ड प्रधानमन्त्री भएकी थिईन्।

यता नयाँ प्रधानमन्त्री स्कट मरिसन पनि, टर्नबुलझैं उदारवादमै विश्वास राख्छन् र उनी पनि दक्षिणपन्थीहरुको दबावमा प्रधानमन्त्रित्व बचाउन काम गर्न बाध्य हुने विश्लेषकहरुले अट्कल काट्न शुरु गरिसकेका छन्।
प्रधानमंत्रीको कार्यकाल सामान्यता तीन बर्षको हुने गर्दछ। तर नजिकै आउन लागेको चुनावमा आफ्नो नेताको अलोकप्रियताका कारण सत्ता गुम्ने डरले, कार्यकाल पूरा नहुँदै प्रधानमंत्री परिवर्तन गर्नु कत्तिको उचित हो त? मतदाताहरुले आगामी चुनावमा यस कुराको निर्णय त गर्नेनै छन्।
