SKIP TO MAIN CONTENT

अस्ट्रेलिया मेरो देश हो जसलाई म प्रेम गर्छु र यहीँ नै मर्छु!

सन् २०१४ मा बहाराइनबाट भागेर अस्ट्रेलियामा शरण लिएका हकिम अल-अरीबी अहिले चर्चाको शिखरमा छन्। आज उनलाई मेलबर्न विमानस्थलमा भव्य स्वागत गरिएको थियो।

Hakeem al-Araibi
Footballer Hakeem al-Araibi (C) speaks to the media beside ex-Socceroos captain Craig Foster (L) Source: AFP

4 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

हनिमुन मनाउन आफ्नी श्रीमतीसँग करिब दुई महिना पहिले थाइल्याण्ड पुगेका हकिम अल-अरीबीलाई त्यहाँको प्रहरीले पक्राऊ गरेको थियो।

बहाराइनी सरकार द्वारा अन्तराष्ट्रिय प्रहरी निकाय इन्टरपोल मार्फत जारी गरेको "रेड नोटिस" को आधारमा उनि गत नोभेम्बर २७ तारिक पक्राउ परेका थिए।

अल-अरीबीले अस्ट्रेलियाबाट थाइल्याण्डका निम्ति उडान भरेपछि अस्ट्रेलियन सङ्घीय प्रहरीद्वारा थाई प्रहरीलाई उनीबारे सतर्क गरेको समाचारहरुको भनाइ रहेको छ तर यसबारे छानबीन सुरु भएको पनि अधिकारीहरुको भनाइ छ।

Bahraini soccer player with Australian refugee status Hakeem Al-Araibi (C) escorted by Thai prison officers
Source: AAP

तर, पछिल्लो समय आएर उक्त "रेड नोटिस" अवैध भएको खुलेको थियो। अस्ट्रेलियाले उनलाई सन् २०१४ मै शरणार्थी दर्जा दिई यहाँको स्थायी बसोबासका निम्ति चाहिने भिसा प्रदान गरिसकेको अवस्थामा बहाराइनले उक्त "रेड नोटिस" जारी गर्नै नमिल्ने थियो।

"त्यो (रेड नोटिस) जारी गर्नै नमिल्ने थियो किनकि अल-अरीबी एक संरक्षित शरणार्थी हुन्। यसले इन्टरपोलको नियमहरूको ठाडो उलंघन गरेको छ," अस्ट्रेलियन राजदूतावासद्वारा केही दिन अघि जारी गरिएको एक विज्ञप्तिमा उल्लेख छ।

अस्ट्रेलियन सरकार यसबारे पूर्णरुपमा अनभिज्ञ रहेको र भविष्यमा फेरी यस्तो हुन नदिने गरी आफ्नो कार्य प्रणालीको समीक्षा गरिने पनि राजदूतावासले जनाएको छ।

अल-अरीबी माथिको आरोप के हो त?

२५ वर्षीय अल-अरीबीले सन् २०१२ मा एक बहराइनी प्रहरी चौकी माथि "फायर बम" भनिने आगो सुरु गर्ने गोलाहरू कथित रूपमा फ्याँकेको तथा तोडफोडमा संलग्न भएको आरोप छ।

बहराइनी अधिकारीहरूका अनुसार अल-अरीबीलाई उनी अदालतमा अनुपस्थित रहेको बेलामा उक्त आरोप प्रमाणित भएको र १० बर्से कैदको सजाय सुनाइएको छ।

अल-अरीबी भने आफू बहराइन फर्केको खण्डमा त्यहाँका अधिकारीहरूले आफूलाई यातना दिने र आफ्नो ज्यानैसम्म पनि लिन सक्ने बताउँछन्।

आफ्नो प्रभाव देखाउँदै अस्ट्रेलिया

दुई महिना भन्दा बढी समयसम्म थाई अधिकारीहरूको नियन्त्रणमा रहेका अल-अरीबी यति चाँडै रिहा हुनसक्ने कुनै सङ्केत थिएन।

"रेड नोटिस"का कारण समातिएका अल-अरीबीलाई थाइल्याण्डले बहारईनको अनुरोधमा प्रत्यापर्ण गर्न कानुनी उपचार सुरु गरिसकेको थियो।

उक्त "रेड नोटिस" सूचना गैरकानुनी रहेको भन्ने अस्ट्रेलियन दूतावासको पत्र पाएपछि पनि थाइल्याण्ड अल-अरीबीलाई बहारईन पठाउन नै तल्लीन रहेको सङ्केत दिइरहेको थियो।

"अल-अरीबी यहाँ आएको केही समय पछि मात्र अस्ट्रेलियन अधिकारीहरूले हामीलाई उक्त सूचना रद्द भएको जानकारी दिनुभयो। अदालतमा कानुनी प्रकिया सुरु भइसकेकोले अब हामीले यसलाई उल्ट्याउन सक्दैनौ," भनेर थाइल्याण्डको विदेश मन्त्रालयले गत बुधवार मात्र भनेको थियो।

त्यसको लगत्तै अस्ट्रेलियामा भने थाई प्रधानमन्त्री प्रयुत चां-ओ-चाले व्यक्तिगत रूपमै हस्तक्षेप गर्नुपर्ने लगायतका कुराहरू उठ्न थालिसकेका र्थिए।

अनि, अस्ट्रेलियन प्रधानमन्त्री स्कट मरिसनले पनि आफ्ना थाई समकक्षीलाई फोन गरेर अल-अरीबीको कारण दुई देश बिच रहेको घनिष्ठ सम्बन्ध बिग्रनु राम्रो कुरा नभएको बताएका थिए।

"We look forward to seeing you back home, Hakeem": Scott Morrison.
"We look forward to seeing you back home, Hakeem": Scott Morrison. Source: AAP

"यदि यो मुद्दाका कारण अस्ट्रेलियन तथा थाई जनता बिच फाटो आएमा म निकै निराश हुनेछु," उनले मेलबर्नमा पत्रकाहरुलाई यस विषयमा आफ्नो प्रतिक्रिया दिने क्रममा भनेका थिए।

यसैबिच, अस्ट्रेलियाको दबाब, आफ्नो कानुनको पालन र बहराइनसँगको सम्बन्ध बिग्रने डरका कारण थाई अधिकारीहरू यो मुद्दालाई सेफ ल्याण्डिङ्ग आतुर थिए।

बहराइनको सरकारी सञ्चार माध्यमहरूद्वारा आइतबार थाई प्रधानमन्त्रीले उनको बहराइनी समकक्षी खलिफा बिन सलमान अल-खलिफासँग फोनबार्ता भएको खबर प्रेषित गर्‍यो। जसपछि बहराइनले आधिकारिक रूपमै अल-अरीबी विरुद्दको प्रत्यापर्ण मुद्दा फिर्ता लियो र उनको अस्ट्रेलिया फर्कने बाटो खुला भएको थियो।

अस्ट्रेलियन सरकार, विभिन्न मानव अधिकार समूहहरू, फिफा लगायत अनेकौँ खेल निकायहरू र सर्वसाधारणद्वारा बिन्ती, अनुरोध आग्रह सुनेर अल-अरीबीलाई अन्ततः रिहाइ गरेकोमा प्रधानमन्त्री मरिसनले थाइल्याण्डलाई धन्यवाद दिएका छन्।

"अल-अरीबीलाई उनको श्रीमती, परिवारजन तथा उनका मित्रहरूसँग पुनर्मिलन गराउने यस निर्णय प्रति सम्पूर्ण अस्ट्रेलियनहरुले हृदयदेखि नै आभार प्रकट गरेका छन् भन्ने हामीलाई थाहा छ," उनले एक विज्ञप्ति मार्फत भनेका छन्।

साथै, उनले भूतपूर्व अस्ट्रेलियन फुटबल खेलाडी तथा एसबीएसका फुटबल समीक्षक क्रेग फोस्टरले देखाएको अगुआई, अल-अरीबी आबद्ध मेलबर्नको पास्को भेल फुटबल क्लब तथा अस्ट्रेलियन फुटबल महासङ्घलाई पनि विशेषलाई इङ्गित गर्दै यस मुद्दाले कसरी सबै तप्काका अस्ट्रेलियनहरुलाई छोएको छ भनेर देखाउन सफल भएको अभिव्यक्ति दिएका छन्।

अल-अरीबीको प्रतिक्रिया

मेलबर्नको टुलामरिन अन्तर्राष्ट्रिय विमानस्थमा उत्रेपछि आफ्ना दर्जनौँ समर्थकहरू अगाडी उभिँदै उनले भने, "म अस्ट्रेलियालाई धन्यवाद दिन चाहन्छु।"

"यो मेरो देश हो … म अस्ट्रेलियालाई प्रेम गर्छु।"

उनलाई छुटाउन महत्त्वपूर्ण भूमिका खेलेका फोस्टरले भावुक हुँदै भने, "मलाई अस्ट्रेलिया माथि निकै गर्व लागिरहेको छ।"

"कसैले नाचिनेका, एक शरणार्थी युवा खेलाडीलाई न्याय दिलाउन हामीले निकै अफ्ठेराहरू पार गरेर यहाँसम्म आइपुगेका छौँ। यसले हाम्रो नियत, चरित्र र अस्ट्रेलियन हुनुमा हामी किन गौरवान्वित हुन्छौँ भनेर प्रस्ट पारेको छ। "

अल-अरीबीले आफ्ना समर्थकहरूलाई धन्यवाद ज्ञापन गर्दै भने, अस्ट्रेलिया मेरो देश हो, मसँग यहाँको नागरिकता त छैन तर पनि "यो मेरो देश हो … म अस्ट्रेलियालाई प्रेम गर्छु र यहीँ नै मर्छु।"

मेलबर्न स्थित पास्को भेल फुटबल क्लबबाट अर्ध-पेशेवर रूपमा फुटबल खेल्ने अल-अरीबीकी श्रीमतीले पनि आजै एक विज्ञप्ति गरेकी छिन्। त्यसमा उनी भन्छिन्, "अहिले मेरो मुटु कृतज्ञताबाट भरिएको छ। बस यति आभारी छु कि यो आँसु राहत तथा हर्षको हो।"

मुद्दा अझै कायम

अल-अरीबी रिहा भएता पनि बहराइनले उनी विरुद्ध आफ्नो एक अदालतद्वारा सुनाइएको १० बर्से जेल सजाय कायमै रहेको भनेको छ।

"हकीम अल-अरीबीलाई बहराइनी कानुनको दायरा ल्याउन हामी सबै किसिमका कानुनी कारबाहीहरू अगाडी बढाउने छौँ," बहराइनी विदेश मन्त्रालयले भनेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now