एक समय थियो, दसैँमा टिका लगाउन जमरा कहाँबाट ल्याउने बारे धेरै सोच्नु पर्ने हुन्थ्यो अनि सामान्य नेपाली खाना बनाउने सामाग्रीहरू पनि काहीँ पाइँदैन थियो।
लामो समयसम्म नबिग्रने खानेकुरा र मर मसला समेत नेपालबाट ल्याउनु पर्ने अवस्था हुन्थ्यो र त्यो पनि केही समयको अन्तरालमा सकिए पछि नेपालबाट आउने कोही छन् कि र आफ्नो लागी केही ल्याइदिन मान्छन् कि भन्दै खोजी गर्न थाल्नुपर्थ्यो।

"दसैँमा टिका लगाउनु त पर्यो, रातो टिका चाहिने तर पटक्कै अबिर कतै पाइएन, हामीले के गर्यौँ भन्दा म्याकडोनाल्डस्मा गएर त्यहाँ पाइने केचअप मिसाएर घाल्लघुल्ल पारेर टिका लगाइयो," सन् १९९६ मा अस्ट्रेलिया आएका फोर करनर्सका प्रमुख श्याम केसीले सन् १९९८ ताकाको समय सम्झिए र हाँस्दै भने।
तर, अहिले नेपालीहरूको बाक्लै उपस्थिति रहने अस्ट्रेलियाका कुनै पनि सहरमा नेपाली किराना पसलदेखि चाडबाड र विशेष दिनमा लगाउने पहिरनहरू राखिएका पसलहरू प्रशस्तै भेटिन्छन्।
त्यसैले अहिले अस्ट्रेलियाका प्रमुख सहरहरू र त्यसमा पनि सिड्नीमा बसेका नेपालीहरूलाई खाने कुरा देखि पहिरन सम्म नेपालबाट नै मगाउनु पर्ने बाध्यता भने छैन।

सन् १९९८ मा अस्ट्रेलिया आएका युवराज भट्टराई, त्यो बेला सिड्नीमा नेपालीहरूको कुल सङ्ख्या १००० भन्दा बढी नभएको अनुमान गर्छन्।
सङ्ख्या थोरै भए पनि कुनै पनि भेटघाटका कार्यक्रमहरूमा लगभग सबै जना भेला हुने र नेपाली भएकै आधारमा आत्मीयता छल्किने उनी बताउँछन्।
एभरेस्ट कम्युनिकेसन एक मोबाइल पसल सञ्चालन गर्दै आएका भट्टराई, अहिले नेपालीहरू हरेक क्षेत्रमा कार्यरत रहँदा नेपाल भन्दा धेरै फरक महसुस नहुने बिचार राख्छन्।
"पहिला पहिला चाहिँ के हुन्थ्यो भने, मान्छेहरूलाई चाहिने सेवाहरू - मानौँ एउटा प्लम्बर चाहियो, इलेक्ट्रिसियन चाहियो, कुनै कानुनी समस्या पर्यो र वकिल चाहियो, मोबाइल किन्नु पर्यो पसले चाहियो, किराना सामान किन्नु पर्यो त्यो चाहियो, ती सबै कुरा गरिदिने नेपाली पाइँदैन थियो।"

अर्का नेपाली व्यवसायी राजु अधिकारीका अनुसार, भन्न खोजेको कुरा सहजै बुझाउन सकिने भएकाले पनि जति धेरै क्षेत्रमा नेपालीहरूले आफ्नो उपस्थिति बढाउँछन् समुदायका लागी त्यो खुसीको कुरा हुन्छ।
भट्टराईलाई त नेपालमा भन्दा बढी जमघट अस्ट्रेलियामा हुने गरेको आभास हुन्छ।
“अस्ट्रेलियामा आफ्नो परिवार र केही नजिकका साथी बाहेक नेपालका अन्य केही कुराको अभाव नै महसुस हुँदैन,” उनले आफ्नो विचार राखे।
नेपाली किराना सामाग्री

पहिलो पटक नेपाली किराना सामाग्रीहरू ठुलो परिणाममा अस्ट्रेलिया भित्र्याउने श्रेय जान्छ फोर करनर्सलाई।
उक्त व्यवसायको थालनी गर्ने श्याम केसी भन्छन्, “यो यति धेरै लोकप्रिय होला भनेर सोचेकै थिएनौँ।”
केसी नेपाल छँदा सरकारी विद्यालयमा निकै कम खर्चमा पढे।
पछि गएर अस्ट्रेलिया नै कर्मथलो हुन गयो र मातृभूमिका लागी केही गर्न नपाएकोमा उनलाई हुटहुटी भयो।
"नेपाल मै गएर सेवा गरे त ल ठिकै छ पढ्न गएको थियो आएर गरियो भन्न सकिन्थ्यो, पढाइ पनि आधा जस्तो नेपाल मै पढियो त्यो पनि सित्तैमा; यता तिर आएर बसिसके पछि त आफूलाई ऋणी जस्तो पो महसुस हुन थाल्यो,” उनले एसबीएस नेपालीसँग भने।
अनि, उनले एक लाख नेपाली रुपैयाँ बाराबार हुने १८ सय अस्ट्रेलियाली डलर जति नेपाल पठाएर २ किलो चिउरा, २ कार्टुर्न वाइवाइ चाउचाउ, भिसिडी, सजाउने खुकुरी, गुन्द्रुक, रत्नपार्कको तितौरा लगायतका सामाग्रीहरू मगाए।
र, अस्ट्रेलियामा रहेका केही अग्रज नेपालीहरूको उपस्थितिमा आफ्नो व्यवसायको आधिकारिक थालनी गरे।

पसलको उद्घाटन कार्यक्रममा उपस्थित नेपालीहरूले नै सम्पूर्ण सामान किनेर सिद्ध्याइदिए पछि उनी यो व्यवसायका लागी अझ हौसिएको बताउँछन्।
व्यावसायिक दृष्टिले मात्र होइन, उनका लागी नेपाली सामाग्रीहरू अस्ट्रेलिया ल्याउनुमा भावनात्मक सम्बन्ध पनि जोडिएको छ।
केसी भन्छन्, "गुल्मी तिर हुर्केको हामी; ५ -६ वर्षको हुँदा खुब रारा चाउचाउ खाइन्थ्यो।"
“पहिलो पटक रारा चाउचाउ (अस्ट्रेलिया)आउँदा, त्यसको बक्स उचालेर सुँघेको छु, मात्र त्यो बास्ना लिनको लागी।"
हाल भने चाउचाउ, मसला, चिउरा, अचार, गुन्द्रुक लगायतका नेपाली खाद्य सामाग्रीहरूका साथै अन्य नेपाली परिकारका लागि अत्यावश्यक हुने भाडाकुँडा तथा भगवानका मूर्ति समेत त्यस्ता किराना पसलहरूमा प्रशस्तै पाइन्छ।
“अहिले अस्ट्रेलियाली बजारमा यस्ता नेपाली सामग्रीहरू ल्याउनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ,” केसी बताऊँछन्।

उनी यसलाई प्रतिस्पर्धा भन्दा पनि प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा नेपाललाई योगदान पुर्याउने एक प्रयास बताउँछन्।
यसरी व्यवसाय गर्ने साथीहरुलाई स्वागत गर्नै पर्छ, उनले हामीसँगको संवादको क्रममा भने।
केसीका अनुसार ताइचिनको चिउरा, म:म मसला र चाउचाउ नेपालीहरू माझ अत्यधिक लोकप्रिय छन्।
उनले नेपालमा खोलेको आशीर्वाद ट्रेडिंग नामक कम्पनी अन्तर्गत यस्ता सामाग्रीहरू अस्ट्रेलियामा मात्र होइन - अमेरिका,बेल्जियम, जापान, मलेसिया, बेलायत, सिङ्गापुर लगायतका राष्ट्रहरूमा पनि निर्यात गर्छन्।
नेपाल तर्फको सम्पूर्ण व्यवस्थापन जिम्मेवारी उनका जेठो दाजुले गर्दै आएका उनले बताए।

आफ्नो उक्त कम्पनीले एक दर्जन जतिलाई नेपालमा रोजगारी दिलाउन सफल भएकोमा अत्यन्त सन्तुष्ट देखिन्छन् केसी।
सिड्नीवासी केही नेपालीले नेपालको खानेकुरामा मौलिक स्वाद बाहेक कहिले नेपालको दुर्खा (छुर्पी) नपाएको र कतिले मुस्ताङको दाल भनेर बेचिने दालमा त्यस्तो स्वाद नहुने उनको भनाइ छ।
नेपालीहरूको बाहुल्यता रहेका सबर्बहरूमा नेपाली उपभोक्ता केन्द्रित किराना पसलहरू कम्तीमा पनि एउटा भेटिन्छन् नै।
चाडबाड र विशेष अवसरहरूमा सोही सम्बन्धित सामाग्रीहरूले भरिएका हुन्छन् नेपाली किराना पसलहरू।
दसैँका समयमा मासुका परिकारका मर मसला, टिका तथा पूजाका सामाग्रीहरू त्यस्तै तिहारताका झिलिमिली बत्ती, मखमली माला, सप्तरंगी टिका र ढाका टोपीहरूले सजिएका हुन्छन् नेपाली किराना पसलहरू।
नेपाली पहिरन

विदेशमा बसेका आफन्त तथा साथी भाइहरूलाई नेपालबाट उपहार स्वरूप नेपाली खाना र मर मसला साथै नेपाली पहिचान बोक्ने पहिरनहरू ल्याउने चलनमा परिवर्तन हुँदैछ।
नेपालबाट उपहार स्वरूप ल्याइने नेपाली ब्रान्ड गोल्ड स्टार जुत्ताको पनि स्टोर खोलिसकिएको छ।
उक्त स्टोरका प्रबन्ध निर्देशक प्रदीप शाह भन्छन् “यो त गिफ्ट शप जस्तो भएको छ।”

शाहका अनुसार यो जुत्ता नेपालीले मात्र नभई विदेशीहरूले पनि उत्तिकै रुचाउँछन्।
यसको बजार बिस्तार गर्न वेस्टफिल्ड जस्ता ठुला शपिंग सेन्टरहरूमा पसल राख्न पाए थप प्रचार हुने बिचार उनले व्यक्त गरे।
“त्यसको लागी पहल भइरहेको छ,” शाहले भने।
तर, यसरी विदेशी बजारमा सामान ल्याउन सजिलो नहुने शाहको भनाइ छ।
"एकदमै गाह्रो छ, अन्तर्राष्ट्रिय निर्यातको गुणस्तर पुर्याउनु पर्ने हुन्छ, गोल्डस्टारले त्यो गुणस्तर त पुरा गरिसकेको थियो। तर त्यसमाथि पनि शिपिङ्गको प्रक्रिया चाहिँ लामो र कठिन हुने रहेछ।"
दुवै देशको भन्सारबाट जाँच गरिनुपर्ने र लामो सामुन्द्रिक यात्राले सामान आइपुग्न धेरै समय लाग्ने शाहको कथन छ।
रक्डेलमा नै अवस्थित “जय हो” मा पनि चाडबाडको समयमा निकै भिड देखिन्छ।

नेपाली चाडबाड र विशेष अवसरमा लगाइने पहिरन र गरगहना राखिएको यस बुटिकका सञ्चालक हुन् राज अधिकारी।
उनले आफ्नो पसल रहेको क्षेत्रमा केही वर्ष अगाडीसम्म पनि धेरै बिक्री हुने नगरेको तर अहिले नेपालीहरूको बसोबास बढेसँगै भने त्यो अवस्थामा धेरै परिवर्तन आएको बताउँछन्।
"अहिले त अब हरेक हप्तामा केही इभेन्टहरू भइराखेको हुन्छ। विशेष गरी महिलाहरूले त एक पटक लगाएको लुगा अर्को पटक नलगाउने हुँदा व्यापार राम्रो छ।”
त्यस्तै केही समय अगाडी मात्र एक कार्यक्रम गरी गोर्खा ब्रान्डका आकर्षक घडीहरू अनलाइनमार्फत सजिलै किन्न सकिने भएको जानकारी गराइएको थियो।
सोही अवसरमा उपस्थित अजय राजवंशी यसरी नेपाली ब्रान्डहरू अन्तर्राष्ट्रिय बजारमा आउन थाल्नु नेपालीहरूको लागी गर्वको विषय भएको विचार व्यक्त गर्छन्।

गरगहनाका लागी नेपालीहरूद्वारा सञ्चालित सुन पसल लगभग सधैँ जस्तो भिड देखिन्छ।
कुर्ता सुरुवाल, साडी तथा परम्परागत पहिरन अनलाइनमा छानी छानी किन्न सकिन्छ।
चाडबाड नजिकिँदै जाँदा साडी, कुर्ता सुरुवाल तथा गरगहनाका पसलमा देखिएको ग्राहकहरूको चापलाई हेर्दा नेपाल कै कुनै सहरमा बसिरहेको जस्तो अनुभव हुन्छ।
नेपाली रेस्टुरेन्ट
Image
न्यु साउथ वेल्सको रक्डेल नेपालीहरूको निकै बसोबास भएका सबर्बहरू मध्येको एक हो।
यहाँका सडक वरपर हेर्दा हरेक दुई तिन वटा पसल छोडे पछि एउटा नेपाली पसल त फेला परी नै हाल्छ।
रक्डेलबाट हिँडेर पुगिने दुरीमा नेपाली परिकार पाउने रेस्टुरेन्ट नै एक दर्जन बढी रहेको देखिन्छ।
अबर्न, एशफिल्ड, पेन्सहर्स्ट, हर्स्टभिल लगायतका स्थानमा पनि नेपाली खाना पाउने रेस्टुरेन्टहरूको कमी छैन।

कुनै रेस्टुरेन्ट सेकुवाका लागी प्रख्यात छन्, कुनै नेवारी खानाका लागी, सेल रोटी र तरकारी मन लोभ्याउने गरी राखिएका हुन्छन्।
थाली सेटको तस्बिर हेर्दै पनि खाइहालौँ जस्तो नलाग्ने त कमै हुन्छन्।
त्यस्तै म:म त ग्राहकहरूको सबैभन्दा बढी रोजाइमा पर्ने परिकार भइहाल्यो।
कुनै सामूहिक कार्यक्रमका लागी नेपालीहरू द्वारा सञ्चालित इभेन्ट सेन्टरहरूको पनि कमी छैन।
वर्षगाँठ, जन्मदिन, पास्नी तथा विवाहका पार्टीका कारण त्यस्ता इभेन्ट सेन्टरहरू सप्ताहान्तमा त लगभग सधैँ जसो नै भरिएको हुन्छ।

भाषाको समस्या प्रमुख रहने हुनाले हरेक सेवा सुविधा लिन नेपालीहरूले नै सञ्चालन गरेको व्यवसाय सहयोगी हुने बिचार राख्छन् अधिकारी।
यसका साथै, नेपाली आप्रवासीहरूका लागी भिसासम्बन्धी सरसल्लाह गर्ने माइग्रेसन एजेन्टहरू अस्ट्रेलियाका प्रमुख सहरहरूमा प्रशस्त रहेका छन्।
घर किन्नेहरूलाई नेपाली रियल स्टेट एजेन्टहरूको सहयोग लिन पनि त्यत्ति गाह्रो छैन।
नेपाली समुदायले लेखा सम्बन्धी सेवा प्रदायकका रूपमा नेपालीलाई नै पाउन सक्छन् भने सौन्दर्य सम्बन्धी सेवा प्रयोग कर्ताहरू छानी छानी नेपालीद्वारा सञ्चालित ब्युटी पार्लरमा जान सक्छन्।

